Goraksha

National Daily

समय र अवसरलाई प्रयोग गर्न जान्नुपर्छ

नारायणप्रसाद श्रेष्ठ

समय परिवर्तनशील छ । हिजो भएको अवस्था आज हुँदैन र आज भएको अवस्था भोलि हुँदैन । यो सर्वमान्य सिद्धान्त हो र यसैमा नै वर्तमान पनि गुज्रिरहेको छ । अवसर पटक–पटक आउँछ तर त्यसलाई सदुपयोग गर्न सकिएन भने त्यो आफैमा प्रतित्पादक भएर देखापर्न सक्ने सम्भावना रहन्छ । मानिस आफूलाई हिजो जसरी बितायो वर्तमान र भविष्य पनि त्यसरी नै बितोस् भन्न चाहन्छ । सुख, सुविधा र सम्पन्नता मानिसको चाहना पनि हो र यो हुनु अस्वाभाविक पनि होइन ।

मान, प्रतिष्ठा र इज्जतका साथ जिउनु सबैको उद्देश्य पनि रहेकोृ हुन्छ । यसै अनुसार आफूलाई परिचालन गर्न मानिस पछि नपरेको देखिन्छ । तर परिस्थिति त्यस्तो नरहन सक्छ । कर्म र चाहनाले ल्याउने परिणामले मानिसको इच्छाविपरित अर्को कर्मतिर मोडिएको पनि हुनसक्छ । मन ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो भनेझैँ मनले एउटा सोच्छ र समयले अर्को नतिजा देखाउँछ । मानिसले चाहँदा नचाहँदै पनि परिस्थितिले अर्कै मोड लिएको पाइन्छ । समयले साथ नदिएको कारण मानिस विचार साध्य गराउनेतर्फ उद्यत हुँदाहुँदै पनि ऊ असफल भएको इतिहास प्रशस्त पाइन्छ । त्यसैले समय बलवान हुन्छ भनिएको हो ।

समयमा जुन कर्म र व्यवहार गर्नुपर्ने हो यदि त्यसलाई सदुपयोग गर्न जानिएन भने प्राप्त उपलब्धि पनि गुम्न जाने अवस्था रहन्छ । यसको मूल जड मानिसको स्वार्थपरक चिन्तन र व्यवहार पनि हो । जहाँ स्वार्थ हुन्छ त्यहाँ विचारमा पनि स्वार्थ प्रतिबिम्बित भइरहेको हुन्छ । स्वार्थीले आफूलाई जतिसुकै इमानदार देखाउन खोजे पनि यो कहीँ न कतैबाट चुहिएकै हुन्छ । स्वार्थीलाई त लाग्छ मैले राम्रो गरेको छु । किनकि उसमा भएको स्वार्थले उसलाई अन्धो बनाएको हुन्छ । सोच र चिन्तनमा गलत मानसिकता जगाएको हुन्छ ।

साधन त ऊसँग प्रशस्त रहेको हुन्छ तर उसले साधना गर्न जानेको हुँदैन । फलस्वरुप गलत कार्यतर्फ आफूलाई प्रस्तुत गर्न लालायित भएको पाइन्छ । समय जब आफूअनुकूल रहँदैन त्यसबेला यदि मानव आफूलाई सम्हाल्न नसक्ने स्थितिमा पुग्छ त्यसबेला उसको मन बुद्धि र विवेक पनि विपरित दिशातर्फ आकर्षित हुन पुग्छ । भनिन्छ पनि– विनाशकाले विपरित बुद्धि ।

जब नाश हुने अवस्था रहन्छ तब मानिसको सोच र चिन्तनमा नहुने कार्यतर्फ बढी झुकाव हुन थाल्छ । जसको फलस्वरुप ऊ नैतिक पतनतर्फ उन्मुख हुन पुग्छ । एकपटक नैतिकहीन र पतनतर्फ आकर्षित भएको मानिसको स्वभाव कहिल्यै पनि राम्रो कार्यतर्फ आकर्षित हुन सक्दैन । यसको लागि उसले निकै संघर्ष गर्नु पर्छ । सधैँ एकनास खोज्नु पनि मूर्खता हो । समय आफै अनुकूल छैन भनेर पनि यदि मानिसले आफूलाई सर्वोच्च ठान्दछ अहंकार र घमण्डले परिपोषित गरी उच्च दर्जा पाउने अभिलाषामा समयलाई प्रवाह गर्दैन भने उसले कहिल्यै सफलता प्राप्त गर्न सक्दैन ।

एकपटक रुखबाट खसेको व्यक्तिले पुनः रुख चढ्न खोजेर सावधानी अपनाउन सकेन भने र पुनः रुखबाट खस्दछ भने उसको शरीरमात्र अंगभंग हुँदैन ऊ कहिल्यै पनि उठ्न नसक्ने गरी कुजो र अपाहिच पनि बन्न पुग्छ । यो सत्य यथार्थ हो । तसर्थ, समय र परिस्थितिलाई आफ्नो दास बनाउने जुन चेष्टा मानव स्वभावमा देखिन्छ त्यसले विनाश नै गर्ने हो । यो कुरा सबैले ग्रहण गर्नु पर्छ । त्यसैले पुर्खाले सिकाएको समयले दिएको चुनौतीलाई बुझेर प्राप्त अवसर र उपलब्धिलाई विवेकशील भएर प्रस्तुत हुन सक्नु पर्छ ।

विनाश हुने समयमा बुद्धिले विपरित दिशातर्फ अकर्षित गर्न सक्छ भन्ने मान्यतलाई मनको तराजुमा तौलिरहनु पर्छ । मनलाई पवित्र कर्म र विचारले परिपोषित गर्नेतर्फ सधैँ सकारात्मक भइरहनु पर्छ । विनाशकाले विपरित बुद्धि भन्ने उखानलाई चरितार्थ हुन नदिनेतर्फ सधैँ सतर्क र संकल्परत रहनु पर्छ । अन्यथा आफू र आफ्ना समर्थक समेत डुब्ने सम्भावना बलियो भएर देखा पर्न सक्छ ।

आध्यात्मिक र भौतिकवादी चिन्तनभित्र गुज्रिएको समयको चक्रलाई यदि मानवीय आचरणले बुझ्न सकेन तथा आध्यात्मिक केही होइन भौतिकता नै सबै हो भन्ने मानसिकता राख्ने हो भने यसले दूरगामी असर पु¥याउन सक्छ । यो कुरा सबैले बुझ्न जरुरी छ । सबैले स्वीकारेको पौराणिक शास्त्र र ग्रन्थलाई हेर्ने हो भने पनि सत्ययुग, तेत्रायुग, द्वापर युग र कलियुग यसरी युग चार भाग भएर समयले आफूलाई परिवर्तन गरेको देखिन्छ । इतिहास र शास्त्रलाई मान्यता दिने हो भने सत्ययुग सतोप्रधान भएर बितेको पाइन्छ भने जन्ममरणको इतिहासभित्र गुज्रिए पनि सुख, दुःख, लाभ, हानी कुनै किसिमको प्रवाह नगरेर कर्म र व्यवहारमा सत्यता उजागर गर्दै यो समय बितेको देखिन्छ ।
त्यसपछि तेत्रायुगमा आएर श्रद्धा र विश्वास भएर पनि केही लोभानी, पापानी भएर क्षणिक स्वार्थ र अहंकारले प्रश्रय पाएको देखिन्छ । तत्पश्चात द्वापरयुगमा आएर तमोप्रधान भएर माया, मोह र लोभलालचले ओतप्रोत भई त्यसको मुक्तिको मार्ग पहिल्याउँदै मानिसको बुद्धि र विवेकलाई वर्गस्वार्थतर्फ उद्धत भएको देखिन्छ । त्यसपछि कलियुगमा आएर छलकपट, प्रपञ्च र स्वार्थ, अहंकारले धपक्क ढाकिएको चरित्र प्रदर्शन भएको पाइन्छ ।

यसरी चार युग चार किसिमले विस्तारै चरित्र स्खलन हुँदै गलत र स्वइच्छाचारी भएर गुज्रँदै गएको देखिन्छ । यसलाई सरसर्ती हेर्ने र मनन् गर्ने हो भने पनि समयले विस्तारै दिशा बदल्दै गएको प्रष्ट हुन्छ । अहिले कलियुग चरमविन्दुमा प्रवेश गरेको छ भन्ने गरिन्छ । यसबेला राम्रो सोच्ने शक्ति कमजोर भएको हुन्छ । यस बखत मानिसले हुने नहुने कार्यमा दिउँसै रात पर्ने कर्म गरेको देखिन्छ । यही कारणले पनि परिस्थिति पनि बदलिँदै गएको हो कि भन्ने पनि आँकलन गर्न सकिन्छ । जब विनाशको समय आउँछ तब मानिसको सोच र चिन्तनमा सकारात्मकभन्दा नकारात्मकतर्फ आकर्षित भई आफूलाई विनाश गर्नतर्फ केन्द्रित हुने अवस्था हुन्छ । लोभ, मोह र अहंकाररुपी चरित्रको कारण आफैमा गलत मानसिकता उब्जने स्थिति रहन्छ ।

यसले स्वार्थ र घमण्डलाई प्रशय दिई तमोप्रधानको आचरण हाबी हुन पुग्दछ । यसले सही र सत्य उजागर हुन सक्दैन । एकपटक नैतिकता गिराइसकेको व्यक्ति पुनः अर्को पटक पनि त्यस्तै नैतिक पतन हुने कार्य गर्छ भने, म जस्तो सर्वेसर्वा कोही छैन भनी दम्भ राखी, यी मेरा हलिया हुन् म जे भन्छु त्यो मान्नुपर्छ भनी एकाधिकारवादी चिन्तन प्रदर्शन गर्छ भने, उसको नैतिकतामा प्रश्न उठ्नु अस्वभाविक मानिँदैन । भौतिकवादी चिन्तकले इतिहास दोहोरिँदैन भनिरहेको बेला यस्ता विचारले समय र अवसर गुम्ने स्थिति हुन्छ ।

वर्तमान राजनीतिक क्षितिजलाई हेर्ने हो भने व्यवस्था साधन हो साध्य होइन भनी जबसम्म आत्मसात गरिँदैन तबसम्म सत्य उजागर नहुन सक्छ । यही आदर्शता कायम रहने स्थिति यदि भएन भने हिजो जसरी व्यवस्थाप्रति नै जनताको आक्रोश थियो त्यसरी नै अबको समयले पनि नयाँ परिदृश्य नदेखाउला भन्न सकिँदैन । एकजना तलाउमा नुहाउँदै गर्दा पौडी खेल्न नसकी डुबिरहेको थियो । उसले कहिले पानीमाथि उफ्रँदै भनिरहन्थ्यो– संसार डुब्यो । डिलमा बसेर यो तमासा हेरिरहेको अर्को व्यक्तिले सोच्दै थिए संसार त जस्तो पहिले थियो उस्तै छ । यो कसरी डुबेको छ र ? यस्तैमा एकजना सज्जन आएर ती व्यक्तिलाई भनिरहेका थिए– त्यो डुब्न लागेको व्यक्तिको लागि त संसार डुबेकै हो । ऊ मरेपछि त उसको लागि संसार त के सबै डुब्यो ।

त्यसैले उसले यो शब्द बोलिरहेको छ । त्यसैले भनिन्छ– पौडन नजान्नेले तलाउमा हाम फाल्नु पूर्व धेरै पटक सोच्नुपर्छ । यो भनाई सायद सबैको मनमा जागृत भइसकेको छ । तसर्थ, साधनलाई साध्य बनाउने, विवेकलाई समय अनुकूल परिचालन गर्ने र समयले दिएको अवसर र परिस्थितिलाई बुझेर समय र अवसरलाई सबैले गम्भीर भएर बुझ्ने बुझाउने गर्नुपर्दछ । साधनलाई साधनायुक्त भएर समयको सदुपयोग गर्नुपर्छ । तबमात्र जीवनले सार्थकता पाउँछ । अन्यथा समय त गतिशील भइरहन्छ स्वार्थी र अहंकार व्यक्ति स्वयम्् नष्ट हुँदै जाने स्थिति रहन्छ । यो सत्यलाई कदापि भुल्नु हुँदैन ।