Goraksha

National Daily

सुशास प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा सञ्चारको भूमिका : मुख्यमन्त्री आचार्य

गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको मङ्गलवार घोराहीमा आयोजना गरेको ‘मिडिया मन्थन’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यसका लागि सञ्चार क्षेत्रले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नु पर्ने बताएका हुन् ।

कुनै पनि तथ्यमा आधारित भएर सुधारका लागि गरिएको आलोचनाले सुधारका लागि सहयोग गर्ने भन्दै मुख्यमन्त्री आचार्यले भने, ‘कहीँकतै काम गर्दा गल्ती भए सरकार सच्चिन चाहन्छ । त्यसका लागि सञ्चार क्षेत्रले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्नु पर्छ । आलोचनाबाट रिसाउँदैनौँ, गल्ती गर्दा हामी सच्चिन तयार छौँ ।’ सकारात्मक आलोचनाले सच्चिनका लागि सहयोग गर्ने भन्दै मुख्मन्त्री आचार्यले तथ्यमा आधारित आलोचना सञ्चार क्षेत्रबाट निरन्रत आवश्यक रहेको बताएका हुन् ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेकाले वर्तमान सरकारले जनतामा आशा जगाउन काम गर्ने बताए । उनले मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्नका लागि प्रदेशमा आचारसंहिता बनाएर लागु गरिएको भन्दै आचारसंहिता पालना नभएको बारे निगरानी गर्न समेत आग्रह गरेका थिए । उनले होटेलमा बसेर मन्त्रालयबाट बिल तिर्ने परम्पराको अन्त्य गर्न लागिपरेको भन्दै त्यसका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

मुख्यमन्त्री आचार्यले भने, ‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेका छौँ । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ । जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौँ ।’ प्रदेशका पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवासुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम प्रदेश सरकारले गरेको भन्दै मुख्यमन्त्री आचार्यले जनताको सेवा गर्न आएको समयमा राज्यको सम्पत्तिको दुरुपयोग गर्न नहुने भनाइ थियो ।

यसैगरी मुख्यमन्त्री आचार्यले विकास निर्माणका काममा हुने अनियमिततालाई रोक्नका लागि पाँच लाख रुपैयाँभन्दा माथिका योजनाहरू ठेक्का प्रक्रियाबाट गर्ने सुरुवात गरेको बताए । यसले उपभोक्ताका नाममा हुने आर्थिक अनियमितासँगै गरेको कामको जिम्मेवारी लिने परिपाटीको विकास हुने भन्दै भने, ‘एक करोडसम्मका विकास निर्माणका काम उपभोक्ता समितिमार्फत् गर्ने गर्दा नाम उपभोक्ताको काम निर्माण व्यवसायीले गर्ने अवस्था देखियो । यसले एकातिर आर्थिक चलखेल हुने र विकास निर्माणको काममा समेत प्रश्न उठ्ने देखिएकाले पाँच लाखभन्दा माथिका योजना ठेक्काबाट गर्न सुरु गरेका छौँ ।’

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका छन् । पत्रकार महासंघले गरेको मिडिया सम्मेलनले जिल्लाको पत्रकारितामा नयाँ आयाम थप्ने काम गरेको भन्दै विश्वसनीय सूचना र समाचारका लागि अध्ययन र अनुसन्धानमा ध्यान दिनु पर्ने बताए । एकतर्फी सूचनाले भ्रम छर्ने भन्दै मन्त्री न्यौपानेले भने, ‘समाज रूपान्तरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । सङ्घीयतालाई बलियो बनाउने गरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।’

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले समाजलाई सही दिशा प्रदान गर्नका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि सत्य–तथ्य समाचार लेख्न ध्यान दिनु पर्ने बताएका थिए । त्यसका लागि सञ्चार माध्यमले गम्भीरतापूर्वक ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासंघका संस्थापक टीकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषद्का अध्यक्ष डा टीकाराम उदासी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए । पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको मिडिया सम्मेलनमा बहस भएको विषयसँगै पत्रकारितासम्बन्धी दाङको इतिहासलगायतका विषयलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।