Goraksha

National Daily

लुम्बिनी प्रदेश : प्रशस्त अवसर, सदुपयोगमा चुनौती

गोरक्ष समाचारदाता
दाङ,१० मंसिर । पहिलो संविधानसभामा नेपालको राजधानीका बारेमा दुई विकल्प सारिए । एउटा काठमाडौँ र अर्को दाङ । यी विकल्प मै संविधानसभामा प्रश्नावली तयार समेत भयो तर विडम्बना, प्रश्नावली जनतासम्म पुग्नै पाएन, संविधानसभा विघटन भयो । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले पार्टीको घोषणापत्र मै दाङ नेपालकै राजधानी बन्नुपर्छ भनेर उल्लेख गरे । दाङलाई नै नेपालको राजधानी बनाउनुपर्छ भन्दै उनले निरन्तर जोड समेत दिँदै आए । उनको राजधानी प्रस्तावसहित दाङको बारेमा केही कारण खुलाए ।

१) ऐशियाकै ठूलो राजधानी भएकाले ।
२) भौगोलीक बनोट अति उत्तम ।
३) यहाँको वातावरण जनजीवन सुहाउँदो आदी ।

यी कारण खुलाउँदै नेपाल कै राजधानीको चर्चा पाएको दाङ अहिले लुम्बिनी प्रदेशको राजधानी कायम भएको छ । यसर्थ जानकारहरू भन्छन् ‘एशिया कै ठूलो उपत्यका रहनु यो प्रदेश कै गरिमाको कुरा हो ।’ लुम्बिनी आर्थिक, सामाजिक, पर्यटन लगायतका दृष्टिले समृद्ध प्रदेशका रूपमा कहलिएको छ ।
पर्यटन

राजनीतिक, औद्योगिक हिसाबले समृद्ध लुम्बिनी प्रदेश पर्यटनका दृष्टिले पनि सफल छ । अन्तर्राष्ट्रियस्तर मै पहिचान कायम गर्न सकेका यहाँका पर्यटकीय स्थलहरू यो प्रदेशका पहिचान हुन् । यहाँको धार्मिक पर्यटन सम्पदा यो प्रदेशको विशेष पहिचानका रूपमा रहेको संस्कृति विदहरू बताउँछन् । बुद्धको जन्मस्थल लुम्बिनीदेखि प्युठानको स्वर्गद्वारी मन्दिर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमै परिचित पर्यटकीयस्थल यो प्रदेशले पाएको छ । ‘लुम्बिनी प्रदेश पर्यटनका हिसाबले समृद्ध प्रदेशका रूपमा रहेको छ’, संस्कृतिविद् डा. शिवकुमार सुवेदी भन्छन् ‘यो प्रदेशको अर्को पहिचान के त भन्ने प्रश्नको जवाफ पर्यटन पनि मुख्य नै बन्छ ।’ हाल परिचित पर्यटकीय स्थलको विकास तथा नयाँ यस्ता सम्भावित स्थलहरूको पहिचान हुन सके यहाँको पर्यटन क्षेत्र अँझ फराकिलो बन्दै जाने उनको भनाइ छ ।
लुिम्बनी

कपिलवस्तु जिल्लामा अवस्थित लुम्बिनी, भगवान् गौतम बुद्धको जन्म स्थल । अन्तर्राष्ट्रियस्तर मै परिचित क्षेत्र हो । यसर्थ यो प्रदेशको प्रमुख चिनारी पनि हो । नेपाल कै प्रमुख धार्मिक सम्पदाको रूपमा रहेको लुम्बिनीले अन्तर्राष्ट्रिय पर्यटकको भरपुर ध्यान खिचेको छ । ‘बाहिरी मुलुकका पर्यटकको प्रमुख गन्तव्यस्थल मध्य कै पर्यटकीय क्षेत्रका रूपमा लुम्बिनी छ’, संस्कृतिविद् डा. सुवेदी भन्छन् । लुम्बिनीको प्रमुख पहिचान भनेको त्यहाँ रहेको मायाँ देवी मन्दिर हो । जुन मन्दिर स्थलमा भगवान् गौतम बुद्ध जन्मिएका थिए ।

विभिन्न राष्ट्रका नागरिकका लागि यहाँको दुई क्लस्टर क्षेत्र छुट्याइएको छ । त्यहाँ ति राष्ट्रका नागरिकले बौद्ध कै प्रचारका लागि विभिन्न क्रियाकलापहरू गरेका हुन्छन् । ‘पूर्व विहार र पश्चिमी विहार गरी बाह्य देशका नागरिकका लागि क्लष्टर छुट्याइएको छ’, उनले भने ‘त्यहाँ उनीहरूले मन्दिर निर्माणदेखि लिएर बुद्धको प्रचारका लागि विभिन्न क्रियाकलापहरू गरिरहेका हुन्छन् ।’ विदेशीहरूको यो क्रियाकलापले अन्तर्राष्ट्रियस्तरमा बुद्धको प्रचार बढिरहेको पनि उनले वताए । उनका अनुसार यी क्लस्टर चाईना, जर्मनी, कोरिया, बर्मालगायत झण्डै ५० देशका लागि छुट्याइएको छ ।

१ हजार १ सय ५५ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रको अर्को विशेषता भनेको त्यहाँको लुम्बिनी ग्राम पनि हो । यस्तै त्यहाँ रहेको घना जंगलमा रहेका जंगली जनावरको दृष्यावलोकन अर्को प्रमुख विशेषताका रूपमा रहेको काफ्ले बताउँछन् । उनका अनुसार त्यहाँ दुईसय पचास थरीका चराचुरंगी छन् । निलगाई, बँदेल, सारसको संख्या पनि अत्यधिक छ । स्वदेशीलगायत विभिन्न बाह्य मुलुकका गरी वार्षिक १० लाख बढी पर्यटक लुम्बिनीले भित्र्याउने गरेको छ । लुम्बिनीले वार्षिक पाँच करोड रूपैयाँ हाराहारीमा आम्दानी गरिरहेको छ ।
स्वर्गद्वारी महाप्रभु

प्युठानको स्वर्गद्वारी आश्रम यो प्रदेशको अर्को प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । स्वदेशीसँगै विदेशी पर्यटकको समेत मन जितेको स्वर्गद्वारी धार्मिक आस्थाले परिचित स्थल हो । यहाँ उक्लने जो कोहीको एउटै विश्वास हुन्छ ‘मनोकाक्षां पूरा हुने छ ।’ महाप्रभु अर्थात रोल्पा रुन्टीगढीका हंशानन्द गिरीले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्धारी । १९५२ मा सुरु भएको त्यो अखण्ड धुनीको आगो अहिलेसम्म बलिरहेको विश्वास स्वर्गद्वारीसँग जोडिएको छ ।

स्वर्गद्वारीको प्रमुख विशेषता भने कै त्यहीँ अग्नि कुण्ड हो । महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । ‘स्वर्गद्धारी आश्रमको विशेषता त्यही अखण्ड धुनीसँग जोडिएको छ’, आश्रमबारे लामो समयदेखि जानकार पुराना पत्रकार दधिराम सुवेदी भन्छन् ‘स्वर्गद्वारी महाप्रभुको दर्शनले मनोकाक्षां पूरा हुन्छ भन्ने विश्वास धर्मावलम्बीमा अधिकै छ ।’

स्वदेशी पर्यटकहरूको मन जितेको स्वर्गद्वारीले भारतीय पर्यटकहरूलाई पनि खुबै उतार्ने गरेको छ तर भारत बाहेकका अन्य मुलुकसम्म यसको प्रभाव पर्न सकेको देखिन्न । मुख्यतः नेपालका हरेक जिल्लाका धर्मावलम्बीहरू धार्मिक आस्था बोकेर स्वर्गद्वारी आश्रमका लागि आउने गर्दछन् । ‘नेपालका हरेक जिल्लाका दर्शनार्थीसँगै भारतका दर्शनार्थीहरू धार्मिक आस्था बोकेर स्वर्गद्वारी पुग्ने गर्दछन्’, उनले भने । स्वर्गद्वारीको अर्को विशेषता भनेको त्यहाँको गाईपालन हो । यहाँ आश्रमले नै गाईपालन गरेको छ । यस्तै यो आश्रम संस्कृत शिक्षालयका रूपमा समेत रहेको छ । यहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरूलाई अध्यापन गराइन्छ ।

वार्षिक दुईदेखि तीन लाख धार्मिक पर्यटकहरू स्वर्गद्वारीले भित्र्याउने गरेको छ । सडक सुविधा राम्रो हुन सके स्वर्गद्धारीले अँझै धेरै पर्यटक भित्र्याउन सक्ने थियो । स्वर्गद्वारीसम्म पुग्नका लागि भिङ्ग्रीसम्म मात्रै पक्की सडक छ भने बाँकी पहाडी कच्चि सडक दुर्घटनाको अति जोखिम भने छ । स्वर्गद्वारी दर्शन कै लागि गएका कैयन धर्मावलम्बीले यही जिर्ण सडकका कारण निम्तिएको दुर्घटनाका कारण ज्यानै गुमाएका समेत छन् ।
सुपा देउराली

पर्यटकीय हिसाबले सुपा देउराली, लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य स्थल हो । अर्घाखाँची जिल्लामा पर्ने सुपा देउराली मुख्तः स्वदेशी पर्यटकका लागि प्रमुख गन्तव्यस्थल बनेको छ । यो मन्दिरमा भगवतीको पुजाआजा गर्नेहरूको घुईँचो रहन्छ । यो मन्दिर प्रतिको आकर्षण पनि मनोकांक्षा पूरा हुन्छ भन्ने दृढ विश्वास हो । सुपा देउराली मै गरिने भाकल पूरा भएको र गरिएको बाचा पूरा नगर्दा सजाय पाएको भन्ने गज्जबको कथा यो मन्दिरसँग जोडिएको छ ।

जानकारकाअनुसार यसको पुरानो इतिहाँसमा बताएअनुसार एक जना व्यक्ति ‘लाहुर’ जाने क्रममा यही मन्दिरमा पुगेर भाकल गरे । भाकलका क्रममा उनले देवी भगवतीलाई दान चढाउने बचन पनि दिए । लाहुर पुगेपछि उनको मनोकाक्षां पूरा भएको र फर्कने क्रममा उनले गरेको बाचा पूरा गरेनन् । उनी सुपा देउराली मन्दिरलाई छलेर जान खोज्दै थिए, उनी उकाएक ठूलो पहरोमा टाँसिए । त्यो बेला लाहुरे टाँसिएको इतिहाँसको साक्षी त्यहाँको भित्तामा टाँसिएको मानव आकृति चित्र अहिले पनि रहेको उनले बताए । मन्दिर छेउको ठूलो पहाडको बिचमा लाहुरे पोशाकमा सजिएको मानव आकृति टाँसिएको दृष्य देख्न सकिन्छ । यो बाहेक माछापुच्छे, धौलागिरी जस्ता हिमश्रृंखलाको अवलोक गर्न सकिन्छ । वार्षिक ५ लाखको हाराहारीमा सुपा देउरालीमा पर्यटकहरू भित्र्ने गर्दछन् ।
विश्व कै ठूलो त्रिशुल

पछिल्लो समय दाङको धर्नामा रहेको धारापानी मन्दिरको चर्चा बाहिरी जिल्लासम्म फैलिएको छ । फलस्वरूप बाह्य जिल्लाका पर्यटकको संख्या बाक्लिएको छ । यसको कारण हो यहाँ ठडिएको विश्व कै ठूलो दाबी गरिएको त्रिशुल । अहिले जिल्लामा आउने नेपाल कै विशिष्ट व्यक्ति पनि विश्व कै ठूलो त्रिशुल हेर्नका लागि लालायीत देखिन्छन् । ‘ठूलो त्रिशुलका कारण यो मन्दिरको चर्चा बाक्लिएको छ’, दाङका संस्कृतिविद् डा. शिवकुमार सुवेदी भन्छन् ‘जिल्लामा आउने विशिष्ट व्यक्ति पनि अहिले त्रिशुल हेर्नका लागि धारपानीसम्म पुगे कै हुन्छन् ।’

धारपानीस्थित पाण्डवेश्वर मन्दिर परिसरमा केही वर्ष अघि ठड्याइएको त्रिशुल साढे ५५ फिट अग्लो त्रिशुल छ । त्रिशुलको तौल ८१ क्विन्टल १३ किलो रहेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यसअघि भारतकोे पिठौरागड मन्दिरमा रहेको २७ क्वीन्टल तौलको त्रिशुललाई विश्व कै सबैभन्दा ठूलो भनिएको थियो । त्यसैगरी नेपालको पाल्पामा स्थापना गरिएको १७ क्वीण्टलको त्रिशुललाई नेपालको सबैभन्दा ठूलो र विश्वको दोस्रो ठूलो त्रिशुल मानिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार यो त्रिशुल १५ लाख बढी लागतमा निर्माण गरिएको हो । विश्व कै अग्लो त्रिशुलको चर्चा चलेपछि धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीहरूको भिड दिनानुदिन बढ्दै गएको छ । जिल्ला सदरमुकाम घोराहीदेखि दक्षिण चुरेको फेदीमा रहेको पाण्डवेश्वर मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष अनुरूप यहाँ विश्व कै ठूलो त्रिशुल स्थापना गरिएको हो । चुरेको फेदीमा रहेको यो मन्दिर परिसर पर्यटकीय हिसाबले पनि मनोरम मानिन्छ ।
स्वर्ग झैँ जलजला

‘म पहिलो पटक जलजला पुगेँ, साँच्चै स्वर्ग मै पुगेको अनुभूति भयो’, रोल्पाका कांग्रेस नेता अमर पुनले जलजला बारे सुनाउँदै थिए ‘पर्यटकीय क्षेत्रका रूपमा परिचित हुनै पर्ने ठाउँ जलजला हो ।’ वरपर फुल्ने अनेकन थरिका सुन्दर फूलहरू । नजिकै देखिने अनेकन हिम श्रृङ्खला । वरीपरि रहेका सुन्दर तलाउ तथा बराह मन्दिरहरू । मन त्यसै लोभ्याइदिन्छ जलजलाले । त्यहाँको अर्को विशेषता भनेको जलजला गर्ने माटो । ‘त्यहाँ जो कोही पुग्यो भने फर्कन मन लाग्दैन’, पुनले भने ‘त्यहाँको हावापानी त्यो मनोरम दृष्य जीवन्त याद आउने स्थल हो जलजला ।’ रोल्पा जिल्लाको उच्च पहाडी भेकमा रहेको जलजला ।

प्रमुख पर्यटकीय थलोका रूपमा चिनिन्छ । यहाँको मनोरम दृष्यले मन लोभ्याउने गरेको भएपनि यसको विकासमा देखिएको शून्यताले जलजला गुमनामै बनेर थन्किएको छ, बर्षौँदेखि । जलजला आसपासका गाउँका नागरिक मात्रै मुश्किलले १०,१५ जनाको हाराहारीमा भेटिन्छन् जलजला घुम्न गएका । यस्तै बराह देवता पुजनका लागि जाने फाट्टफुट्ट रोल्पालीका लागि मात्रै जलजला पायकमा छ ।

‘सडकले जलजलालाई जोड्न सकियो भने मात्रै त्यहाँको पर्यटन विकासलाई उँभो लगाउन सकिन्थ्यो’, उनले भने ‘जलजलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रचार गर्न सबै रोल्पालीहरू एक भएर लाग्न जरुरी छ ।’ जलजलामा खाने बस्ने सुविधा छैन । पर्यटकका लागि यो मुख्य समस्या हो । जलजलाले लोभिएका मनहरू यसको बृहत्तर विकासका लागि जागरुक बन्ने चिन्तनमा भेटिन्छन् । यी बाहेक बाँकेको बागेश्वरी मन्दिर धार्मिक पर्यटकका हिसाबले लुम्बिनी प्रदेशको अर्को परिचित थलो हो । नेपालीसँगै भारतीय तिर्थालुहरूको आस्थाको केन्द्रका रूपमा यो मन्दिर रहेको छ । मुख्यतः विवाहका लागि यो मन्दिर प्रशिद्ध मानिन्छ । नेपाल भारत सीमा क्षेत्र रहेकाले पनि भारतीय तिर्थालुहरूको भीड यो मन्दिरमा अधिक रहने गर्दछ ।

औद्योगिक क्षेत्र

रूपन्देही देश कै ठूलो औद्योगिक क्षेत्रको रूपमा चिनिएको जिल्ला हो । यस्तै बाँके, कपिलवस्तु पनि यो प्रदेशको अर्को औद्योगिक पहिचान बोकेका जिल्ला हुन् । जानकारकाअनुसार रूपन्देही, कपिलवस्तु, बाँके आर्थिक समृद्धि बोकेका जिल्ला हुन् । भारतीय सीमानासँगै जुधेका यी औद्योगिक क्षेत्रको अँझ विस्तार हुन सके भोलि यी क्षेत्र अन्तर्राष्ट्रिय प्रमुख व्यापारिक केन्द्रकै सम्भावना बोकेका जिल्ला हुन् । त्यसो त, दाङ पनि पछिल्लो समय औद्योगिक गतिमा लागेको छ । अझ लुम्बिनी प्रदेश देशैभर सिमेन्ट उत्कृष्ट हब भएको प्रदेश हो ।

झण्डै दुई दशक अघिसम्म नेपालमा भारतीय सिमेन्टको बजार एक छत्र थियो । नेपाली सिमेन्ट उद्योगलाई भारतीय सिमेन्टको बजार तोड्नु चानचुने कुरा थिएन । ‘हामीहरू चुनौतीकाबिच उद्योग सञ्चालन गरेर बस्यौँ’, बाँके गनापुर नेपालगञ्जस्थित जयमंगलम् सिमेन्ट प्रालीका एमडि सञ्जय अग्रवालले सिमेन्टको पुरानो बजारबारे सुनाए ‘नेपाली बजारमा एकछत्र राज गरेका सिमेन्टको बजार तोड्नु चानचुने कुरा थिएन ।’ भारतीय सिमेन्टको विश्वासमा रहेको नेपाली बजारलाई नेपाल मै उत्पादित सिमेन्टको विश्वास दिलाउनका लागि उद्योगले अधिकतम् कसरत थाल्नु प¥यो । तथापी भारतीय सिमेन्टमा आश्रित नेपाली बजार अहिले नेपाली सिमेन्ट कै भरमा चल्ने अवस्था आइसकेको छ ।

‘अहिले नेपाली सिमेन्टको डिमान्ण्ड र बजार धेरै राम्रो भइसकेको छ’, उनले भने ‘भारतीय सिमेन्टको एकछत्र प्रभाव रोकियो ।’ अझ नेपालमा उत्पादित सिमेन्ट भारतमा निर्यात भइरहेको उनले सुनाए । ‘नेपालमा उत्पादित सिमेन्ट अहिले भारतीय बजारमा पनि निर्यात भइरहेको छ’, उनले भने ‘यो निकै सकारात्मक पाटो हो ।’

झण्डै दुई दशक अघिसम्म भारतीय सिमेन्टसँगको प्रतिष्पर्धा एक मात्रै चुनौती नेपाली सिमेन्ट उद्योगलाई थियो । उत्पादनमा खासै समस्या थिएन । भारतीय सिमेन्ट सामु माग पनि थोरै हुने भएकाले उत्पादनको चाप समेत उत्ति हुँदैनथ्यो तर पछिल्लो समयमा नेपाली बजार थेगेका नेपाली सिमेन्ट उद्योगलाई उत्पादनको चाप बढ्दै गएको छ । अहिले भारतीय सिमेन्टको बजार शुन्य प्राय नै बनिसकेको छ । भैरहवास्थित जगदम्बा सिमेन्ट प्रालीका महाप्रबन्धक गुणाखर खनाल भन्छन् हामीलाई भारतीय बजार तोडेर आफ्नो बजार स्थापना गर्नु निकै चुनौतीपूर्ण थियो ।’

०५७ मा स्थापना भएको भैरहवाको यो सिमेन्ट उद्योग यस क्षेत्र कै सबैभन्दा पहिले सञ्चालनमा आएको उद्योग हो । ०५७ मा स्थापित यो उद्योगसँगै रूपन्देही क्षेत्रमा सिमेन्ट उद्योगको विस्तार हुँदै गयो । अहिले भैरहवा क्षेत्रमा मात्रै ११ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । रूपन्देही क्षेत्र मात्रै हैन, समग्र लुम्बिनी प्रदेश सिमेन्ट उत्पादनका हिसाबले औद्योगिक हिसाबले समृद्ध प्रदेशको रूपमा रहेको उद्योग सञ्चालक बताउँछन् । यो प्रदेशमा तीन दर्जन बढी उद्योग रहेको जनाउँदै सञ्चालकले यो प्रदेश सिमेन्ट उद्योग कै हबका रूपमा रहेको बताउँछन् । ‘यो प्रदेश सिमेन्ट उद्योगकको हब कै रूपमा रहेको भन्न मिल्छ’, खनाल भन्छन् ‘यहाँ सिमेन्टको उत्पादन र सिमेन्ट उद्योगको संख्याका हिसाबलेभन्दा यो प्रदेशलाई सिमेन्ट उद्योगका क्षेत्रमा समृद्ध प्रदेश मान्न सकिन्छ ।’

देशभरको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी सिमेन्ट उद्योग भएको प्रदेश लुम्बिनी नै हो । झण्डै १ सय १५ उद्योगमध्य यो प्रदेशमा मात्रै ३२ उद्योग यो प्रदेशमा रहेको उद्योग सञ्चालक बताउँछन् । सबैभन्दा बढी उद्योग रहेको र उत्पादन समेत बढिरहेकाले यो प्रदेश सिमेन्टको हबका रूपमा रहेको खनाल बताउँछन् । ‘सबैभन्दा बढी सिमेन्ट उद्योग यसै प्रदेशमा छन्, र उत्पादन पनि यसै प्रदेशमा बढी हुन्छ’, उनले भने ‘यसर्थ यो प्रदेश सिमेन्टको हबका रूपमा रहेको छ ।’

यो प्रदेशमा सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थको पर्याप्तता हुनुलाई पनि सञ्चालकले उद्योग सञ्चालनको उपयुक्त थलोका रूपमा लुम्बिनीलाई मान्ने गरेका छन् । त्यसोत, यो प्रदेश अहिले नयाँ सिमेन्ट उद्योगका लागि उत्तिकै आकर्षणको केन्द्र समेत बनिरहेको छ । मुलतः पूर्वी तराईमा चलेका विभिन्न आन्दोलनका कारण व्यवसायिक सफलता नमिलेपछि त्यो बेलादेखि यो प्रदेशको रूपन्देही र कपिलवस्तु क्षेत्रमा पूर्वी तराईबाट उद्योग ओइरिए । अहिले पनि पूर्वी तराईका उद्योग यो प्रदेशमा स्थापित हुने क्रम चलिरहेको सञ्चालक बताउँछन् ।

यो प्रदेशका रहेका सिमेन्ट उद्योगले आफ्नो विस्तार नेपाल भरमै पु¥याइरहेका छन् । दाङस्थित घोराही सिमेन्ट उद्योगले अहिले आफ्नो बजारलाई काठमाडौँदेखि पश्चिम नेपाल पुरै विस्तार गरिसकेको छ । उद्योगकाअनुसार माग बढ्दो छ तर उत्पादन कमी छ । ‘पूर्वमा काठमाडौँदेखि पश्चिम नेपालमा हाम्रो उत्पादन पुगिरहेको छ’, यो उद्योगका अमर सुवेदीले भने अन्य सिमेन्ट उद्योग रहेको पूर्वी तराईमा भने हाम्रो उत्पादन खासै पुगेको छैन । ’ दाङका उद्योगका लागि कच्चा पदार्थ स्थानीय तह मै पर्याप्तता रहेको उनले सुनाए । मुख्यतया दाङको उत्तरी पहाड, रोल्पा, प्यूठान र सल्यान जिल्लाको पहाडी क्षेत्र सिमेन्ट उत्पादनका लागि चाहिने चुन ढुंगाका लागि पर्याप्त छन् ।
प्राकृतिक स्रोत

आर्थिक स्रोतको अर्को पाटो प्राकृतिक स्रोत साधनले सन्तोष गर्ने आधार पनि यो प्रदेशमा छन् । तीन ठूला नदीहरू यो प्रदेशमा छन् । दाङको राप्ती र बबई तथा रूपन्देहीको तिनाउ । यि तीन नदीको पानी सदुपयोग गर्न सके मात्रै लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार खडा हुने जानकार सम्भावना औँल्याउँछन् । लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल भन्छन् ‘भरपुर पानी बगेका नदीहरूको सही सदुपयोग गर्न सके मात्रै धेरै विकासका आधार तयार हुन्छन्, तसर्थ यहाँका नदीहरू यो प्रदेशका गहना हुन् ।’

यि नदीहरूको पानी सदुपयोग गर्न सके मात्रै कृषि क्षेत्रले फड्को मार्ने देखिन्छ तर दाङका बबई र राप्तीको पानी भरपुर प्रयोग गर्न सकिएको पाईन्न । पानीकै अभावमा खेतीपाती बिग्रने गरेका उदाहरणहरू पनि जिल्लामा छन् । ‘पानीको सही सदुपयोग भएको पाइन्न’, खनाल भन्छन् ‘यसलाई सही सदुपयोग गर्न सके मात्रै आर्थिकस्तर माथि उठ्छ ।’ यसैगरी विभिन्न खानीहरू यहाँका आर्थिक स्तरका मेरुदण्ड बन्न सक्छन् । दाङ कै सन्दर्भमा हेर्ने हो भने दाङको उत्तरी भेगको पहाडमा प्रशस्त चुन र कोइलाका खानी छन् । सोही पहाडको चुन ढुंगाकै उपयोग गर्ने गरी दाङमा धमाधम सिमेन्ट उद्योग खुलिरहेका छन् । तसर्थ अन्य जिल्लाका यस्ता प्राकृतिक स्रोतहरू प्रदेशको बलियो खम्बा बन्ने भएकाले यस्ता स्रोतको खोजी गरिनु पर्छ । यस्ता अन्य खानी क्षेत्रहरू अर्घाखाँची, रोल्पा जिल्ला पनि हुन् ।
कृषि

कृषि समृद्धिको अर्को प्रमुख आधार हो । प्रदेशको समग्र विकासका लागि कृषि क्षेत्रको विकास र प्रबद्र्धन अधिक जरुरी रहने आवश्यक्ता औँल्याइन्छन् । भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ भन्छन् ‘प्रदेशको बृहत्तर विकास चाहने हो भने यहाँको कृषि क्षेत्रलाई बढावा दिनु जरुरी छ ।’ पछिल्लो समयमा खेतीयोग्य जमिन नासेर प्लटिङ गर्ने प्रवृत्ति तराईका जिल्लामा बढी देखिन्छ । जुन कार्य कृषि क्षेत्रलाई कमजोर बनाउनु हो । कृषि क्षेत्रलाई बढावा दिन सकिए प्रदेश कृषि क्षेत्रमा पनि उत्तिकै सक्षम हुने श्रेष्ठको भनाई छ ।

मुख्यतः रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया अन्न भण्डारण क्षेत्रका रूपमा चिनिन्छन् । भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठकाअनुसार पछिल्लो समय स्थानीय उत्पादन कम बन्दै गइरहेकाले आयातितत कृषि जन्य वस्तुमा निर्भर रहनु पर्ने अवस्था छ । ‘भैरहवा अन्न भण्डारण क्षेत्र हो’, उनले भने ‘तर कृषि क्षेत्रलाई अँझ विकसित बनाउनु जरुरी भने छ ।’ कृषि क्षेत्र प्रतिको वितृष्णालाई कम गर्दै आधुनिक कृषि प्रणाली लागु गरी कृषि क्षेत्रको विकास गर्न सकिन्छ ।

भारतीय सीमाको अवसर

यो प्रदेशका ६ जिल्ला भारतसँग प्रत्यक्ष जोडिएका छन् । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया यो प्रदेशका भारतसँग सीमा जुधेका जिल्ला हुन् । सीमा जुधेकै कारण भारतीय नागरिकका लागि नेपाली बजार व्यापारिक केन्द्र बनिरहेका छन् भने नेपालीहरूले यहि निकटता कै कारण भारतबाट लाभ लिन सक्ने ठाउँ पनि सीमा जुधाईले गरेको छ । ‘अहिले पनि भारतसँंगको निकटताले हामीलाई औषधीमुलोदेखि लिएर सामान किनमेल गर्ने थलोको सहजता छ’, लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने भन्छन् ‘त्यसैले यो निकटताले लुम्बिनीका नागरिकलाई फाइदा पुगिरहे कै छ ।’
८३ किलोमिटर क्षेत्र भारतसँग जुधेको दाङका मात्रै २६ नाका छन् । यी सबै नाकाका बासिन्दा भारतीय बजारमै आश्रित छन् । यसको कारण हो, नेपालतर्फको भौगोलिक विकटता । आफ्नै सदरमुकाम आउनका लागि अधिक सास्ती मोल्नु पर्ने सीमाका नागरिकलाई भारतमा पुग्न त्यति धेरै सजिलो छ । सवारी साधनको अभाव रहँदा नेपालीहरू आफ्नै सदरमुकाम आउनका लागि पैदल घण्टौँ हिँड्नु पर्ने बाध्यता छ ।

जानकारहरू भन्छन् ‘प्रादेशिक संरचनाको कार्यान्वयन लगत्तै यस्ता सीमानाकाहरूलाई नेपाली बजारसँग सजिलै जोडिनु पर्छ ।’ दाङको मुख्य नाका कोईलावास हो । जुन नाका नेपाल भारत आउ जाउ हुने मध्य कै प्रमुख नाका हो तर अहिले कोईलावास खण्डहर बनिसकेको छ ।

बिमानस्थल

लुम्बिनी प्रदेशको समृद्धिको उदाहरण यहाँको हवाई उडान पनि प्रमुख हो । यहाँ तीनवटा विमानस्थलबाट हवाई उडान भइरहेका छन् । दुई ठूला विमानस्थल यो प्रदेशले पाएको छ । भैरहवा र नेपालगञ्ज । यसैगरी बन्द हुँदै आएको दाङ काठमाडौँको उडान पनि अहिले नियमित छ । यी विमानस्थल प्रदेश कै समग्र आर्थिक विकाससँग जोडिएका छन् । आवतजावतमा सहजता मात्रै नभई यि विमानस्थललाई पर्यटन विकाससँग जोड्न सकिने अर्को आधार हो । यहाँका पर्यटकीय स्थलको राम्रो विकास हुन सके पर्यटकहरू आउन सक्ने हवाई मार्ग समेत यो प्रदेशसँग छ । ‘यहाँको हवाई उडानलाई पर्यटन विकाससँग जोडेर लान सकिन्छ’, संस्कृतिविद् डा. शिवकुमार सुवेदीले भने ‘यहाँका पर्यटनको विकास भयो र अन्तर्राष्ट्रियस्तर मै पहिचान बन्न सक्ने भने बाह्य पर्यटकहरूलाई यहाँ आउन हवाई मार्गको सहजता समेत छ ।’

संस्कृत विश्वविद्यालय

विश्वविद्यालय नै पाउनु यो प्रदेशको अर्को सवल पक्ष हो । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदेश कै समृद्धिसँग जोड्न सकिन्छ । नेपाली भाषाको उत्पत्तिको आधार शिलाका रूपमा रहेको संस्कृत विश्वविद्यालयले अध्ययनको अवसरका लागि मात्रै नभई शिक्षा पर्यटनको समेत ढोका खोलेको छ । संस्कृत भाषाको जानकारी लिन आउनेका लागि यो थलो पर्यटकीय स्थल नै हो तर राजनीतिक आवरणको खेलले राष्ट्र कै गरिमा बोकेको यो विश्वविद्यालय पछिल्लो समयमा बदनाम बन्दै गएको छ । राजनीतिक स्वार्थका कारण पटक–पटक तालाबन्दीको शिकार बन्दै आएको यो विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गराइनु पर्ने टड्कारो आवश्यक्ता छ । यसको विकास गरी शिक्षा पर्यटक भित्र्याउने प्रयासको सट्टा राजनीतिक भागवण्डाका कारण महिनौँसम्म तालाबन्दी गरेर दलले यसलाई बन्धक बनाइरहेका छन् ।

उर्जा

यो प्रदेशमा अनेकन सम्भावना बोकेपनि उर्जाको क्षेत्रमा भने कमजोर देखिएको छ । यो प्रदेशको प्यूठानमा मात्रै एउटा मात्रै जलविद्युत आयोजना छ । प्युठानमा रहेको झिमु्रक जलविद्युत आयोजना प्युठान कै लागि मात्रै पर्याप्त छ । यो बाहेक रोल्पाका केही गाउँहरूमा पनि गाउँले कै पहलमा विद्युत उत्पादन गरिएका छन् तथापी यहाँ विकसित र ठूला आयोजना बन्न सकेका छैनन् । हाल उर्जाको क्षेत्र कमजोर रहे पनि उर्जा विकासका सम्भावनाहरू भने टाढा छैनन् । यहाँका जलाशयबाटै उर्जा क्षेत्रको विकास र प्रवर्धन हुन सक्ने देखिन्छ । ‘यहाँ अलि कमजोर भनेको उर्जाको क्षेत्र हो’, लुम्बिनी प्रदेशसभा सदस्य खनाल भन्छन् ‘तर यहाँको जलाशयबाट विद्युत उत्पादन गर्न सक्ने आधार पनि प्रशस्तै छन् ।’ राप्ती, बबई तथा तिनाउ नदी कै पानीबाट विद्युत उत्पादन गर्न सक्ने आधार उनले देखाए ।
कमजोर नीति

लुम्बिनी प्रदेशमा समृद्धिका प्रशस्तै आधार रहे पनि सम्वर्धनको नीतिको अभावमा यस्ता आधारको उचित विकास हुन सकेको देखिन्न । लुम्बिनी प्रदेश सरकारले पर्यटन तथा कृषि क्षेत्रको विकासका नाममा केही योजनागत कार्यक्रम ल्याउन खोज्यो तर यस्ता कार्यक्रम निष्प्रभावी जस्तै देखिए । पर्यटनको क्षेत्रमा गरिएको लगानी खेर गइरहेका उदाहरण प्रदेशमा छन् । एउटा उदाहरण दाङ मै एक करोड बढी लागतमा निर्माण भएको सांस्कृति डबलीलाई लिन सकिन्छ । नाच घर निर्माणका नाममा घोराही १९ मा निर्माण गरिएको नाचघर अहिले जिर्ण बन्यो, जबकी यो नाच घरले पूर्ण पाउ नै सकेन । यसैगरी कृषि क्षेत्रको विकासका लागि गरिएको लगानी खेर गएका केही उदाहरण पनि प्रदेशमा छन् । कृषी स्मार्ट गाउँ कार्यक्रम लागु गरेको प्रदेश सरकारका यस्ता कैयन कृषि गाउँहरू नामका मात्रै बनेका छन् ।