कविता : प्रकृतिको अभिव्यक्ती
विनोद पोख्रेल
सफा आकाश मुनी सुस्ताएर
सफा हवाले फोक्सो पखालेर
सफा सडकमा हिड्न पाएकोमा
यो परिवेशलाई धन्यवाद दिनेहरु
घर भित्रै नजरबन्दी झैं समेटिएर
बध्यात्मक जीवन विताउनलाई
विवस पारको यो परिवेशलाई
मिछ्याट मान्दै दिन गन्नेहरु
आम नागरिकलाई बिशेष निहुँमा
घरभित्रै हुलेर, बिरोधको चिन्ता नलिएरै
मनपरी तरीकाले केही गर्न चाहनेहरु
अथवा केही गर्न नचाहनेहरु
मानिसलाई घरमै सिमित गरेर
वर्तमानमा महामारीको संकटवाट
आमनागरिकलाई बचाउन सकिने बिश्वास
र, एउटा दृढ निर्णय गर्नसक्ने क्षमता भएकाहरु
सबैसबैलाई शिक्षा दिएको छ यो परिबेशले
लिनसक्नु पर्छ शिक्षा व्यक्ती व्यक्तीले
बन्द राष्ट्रहरु पनि अझ बन्द गर्न बाध्य छन्
धनी पनि सिटामोलका लागि रोएका छन्
रोग निको पार्नेहरु आफै
कती मरेका छन्, कति भागेका छन्
प्रकृतिको प्रकोपसंग सबैले हारेका छन्
शक्ती, भक्ती, गर्व, प्रगति, क्रान्ती
सबै यहाँ निकम्मा प्रमाणित भएका छन्
आफु देखिन पनि पर्दैन जस्तो
कुनै शक्ती प्रयोग पनि पर्दैन जस्तो
हतियार पनि तिमी, प्रयोगकर्ता पनि तिमी
लक्ष पनि तिमी, निर्देशक मात्रै अरु भएजस्तो
एउटा दृष्य मञ्चन भएको छ
बिश्व बाध्य छ यसमा सहभागी हुन
प्रकृतिले आफै आफ्नो सफाई गर्दै छ
अती बिनाश गर्नेहरुसंग भरपाई गर्दै छ
सडक सफा छन्, शहर सफा छन्
नदी, समुद्रहरु सफा छन्
बर्षौं लगाएर तिमिले बिगारेको परिबेश
केही दिन तिमीलाई नियन्त्रणमा राख्दैमा
धेरै कुरा सफा भैसकेका छन्
प्रकृति आफैमा अनन्य शक्ती हो
आफुलाई अती मार परेपछि
आफुलाई बचाउन मात्रै सायद
प्रकृतिको यो अभिव्यक्ती हो ।
