Goraksha

National Daily

कोरोनालाई जित्न लकडाउनको पालना गर्न देउखुरी उवासंघको अपिल

शिवराज खनाल

लमही, बैशाख  २ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले सम्पूर्ण ब्यापारीबर्ग तथा आमनागरिकहरुलाई कोरोनाबाट बच्न र बचाउन आ-आफ्नो ठाउँबाट लागिपर्न विशेष अनुरोध गरेका छन् ।

मङलबार पत्रकारहरुसंग कुराकानी गर्दै बिश्वकै अदृश्य शत्रूको सामना गर्नुपर्ने यस अबस्थामा यो शत्रूसंग बिजय प्राप्त गर्नका लागि आ-आफनै घर भित्र बसेर सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । त्यसैगरी उनले सम्पूर्ण ब्यबसायीहरुलाई अत्यावश्यक बस्तुको मात्र बिक्रिबितरण गर्न भनेका छन् । उपभोक्ताहरुमा पनि सर्तकताका साथ सामाजिक दुरि कायम गरि अत्यावश्यक काममा मात्र घर बहिर निस्कन श्रेष्ठको अनुरोध छ।

देउखुरी उद्योग बाणिज्य संघ ब्यबसायीहरुको आफ्नै छाता सङ्गठन भएकाले यो लकडाउनले व्यावसायीहरुलाई पारेको अप्ठ्यारोलाई समाधान गर्न उपयुक्त समयमा लागिपर्ने बिश्वास दिलाउदै अध्यक्ष श्रेष्ठले अहिले यो महामारीमाथी बिजय प्राप्त गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) लाई पूर्णरुपमा सघाउन पर्नेमा जोड दिएका छन् । ‘यसका लागि सबै व्यापारीवर्गको सहयोग हुने बिश्वास लिएको छु’,-उनले भनेका छन् ।

साथै यो लकडाउनको समयाबधि भरी जिल्लामा उत्पादित ताजा तरकारी तथा मासुजन्य सामग्री बाहिर पठाउने अवस्था नरहेकाले जिल्लामा उत्पादित बस्तु खरिद गर्न र जिल्ला बाहिरबाट आएका ताजा तरकारीजन्य बस्तु भन्दै वसारपसार तथा बिक्रीवितरण नगर्न पनि उनले ब्यापारीहरुमा अनुरोध गरेका छन् ।

समस्त ब्यापारी, उपभोक्ता, स्थानीय सरकार, प्रहरी प्रशासन तथा आम नागरिक, सङ्घ संस्थासंग आफुले सहयोगको अपेक्षा राखेको भन्दै उनले तुल्सिपुर सब्जिमण्डिमा दाङ जिल्ला उद्योग बाणिज्य संघको ब्यानर प्रयोग गरी अनाधिकृत रुपमा भारतबाट तरकारी ल्याएको घटनाको देउखुरी उद्योग बाणिज्य संघले घोर निन्दा गरेको जानकारीदिए । ‘यसरी एउटा सस्थाको नाम प्रयोग गरेर त्यसको गरि दुरुपयोग गर्ने कार्यमा संलग्न ब्यक्तीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछु’-उनले भनेका छन् ।