Goraksha

National Daily

कोरोनाले खेदेका यी मजदुरहरु …

खेमराज रिजाल

दुधरास, २ बैशाख । बडादशैंमा लालाबालालाई नयां कपडा लिएर फर्कने उनीहरुको आशा थियो । श्रीमतीलाई न्यानो कपडा किनेर ल्याइदिने योजना थियो, अनि पर्वमा चाहिने खर्चपानीको व्यवस्थापनको लक्ष थियो, उनीहरुको । यीनै आशा, चाहना र लक्ष बोकेर राजधानीको एउटा इटा उद्योगमा काम गर्न गएका यहाँका श्रमिकहरु कोरोनाका कारण खेदिएर ७२ घण्टामा दाङ आइपुगेका छन् । दुईवटा चाउचाउ र एक छाक दालभातले यो तीन दिन तीन रातको यात्रा सम्पन्न गरी उनीहरु मंगलवार दाङको तुलसीपुर उपमहानगरपालिका—१६ लहलौरा आइपुगेका छन् ।

नारायणघाटको पुल्चोकमा निशुल्क पाएको एक छाक पेटभरी दालभातले उनीहरुलाई दाङसम्म पु¥याएको छ । राहत रेडियोमा मात्र सुनेका उनीहरुले केही दिन त प्रतिक्षा गरे, तर उनीहरुलाई राहत दिन न स्थानीय सरकार आयो, न त इटा उद्योगका मालिकले बसिखाने व्यवस्थापन गर्न सके । अन्ततः भान्सामा चुलो बल्न छाडेपछि उनीहरु रित्तो झोलामा एक सरो पुराना कपडा प्याकगरी दाङसम्मको पैदलयात्रा तय गरेको उनीहरुको भनाई थियो ।

‘त्यो खाना नेपाली भान्साको थियो, नेपाली स्वादको थियो, नेपाली राष्ट्रवादको थियो, एउटा नेपालीको भोकलाई अर्को नेपालीले अनुभुति गरी पेटभरी खाना खुवाइएको थियो, दुईदिन अघि पेटभरी खाएको त्यो एकछाक भातले हामीलाई घरसम्म पु¥याएको छ’, पुल्चोकमा खाएको खानाको वर्णन थियो ।

त्रिपालमुनिको भान्छामा एक गेडा पनि अन्न थिएन । राहतको हल्ला उनीहरुले रेडियो र फेसबुकमा मात्र सुन्थे, राहत बांड्न फ्याक्ट्रिमा कुनै पनि सरकारका प्रतिनिधिहरु आएनन् । बसिरहने कुनै आधार नभए पनि भक्तपुरको चारपाते विएम इटा उद्योगमा काम गर्ने दाङका तीन जना मजदुरसंगै सल्यान र रोल्पाका गरी ३२ जना मज्दुरहरु केही स्थानमा ट्रकमा यात्रा, केही पैदल र केही स्थानमा बसमा यात्रागरी ७२ घण्टामा दाङ आइपुगेका छन् ।
‘भान्सामा खाद्यान्न रित्तिएपछि बांच्ने आशा पलायो, अनि पैदल यात्रा तय गरेरै घर पुग्नुको कुनै विकल्प थिएन, तीन दिन तीन रातमा भक्तपुरबाट दाङ आइपुगेका छौं’—मंगलवार अपराहन्न दुधरासमा पैदल यात्रा गरीरहेका मानपुर लहलौराका सुमन रोकाले भने, ‘केही केही स्थानमा ट्रक र बसले पनि लिफ्ट दिएका हुन् ।’

उद्योगमा काम बन्दभएपछि केही दिन त उद्योगले खाद्यान्न उपलव्ध गरायो, केही दिन राहतको प्रतिक्षा गरे । फेरि सरकारले घरफर्काउने यातायात सुविधा दिन्छ कि भन्ने सोंचमा पनि रात विताए, तर कतैबाट पनि जिउने आश्वासन नपाएपछि पैदल यात्रा तय गरे ।’

जेपर्ला, टर्दै जाला भन्ने ठानेर उनीहरुको अविरल यात्रा भक्तपुरबाट सुरु भयो । उद्योग मालिकले खानेबस्ने कुनै व्यवस्थापन नगरेकाले ज्यान जोगाउनका लागि पैदल भएपनि घर फर्कने सोंचका साथ आफुहरुले यात्रा तय गरेको उनीसंगै आएका बुद्धिराम पुनले बताए । ‘हामीहरुसंग दुई विकल्प थिए, पहिलो विकल्प कि त भोकभोकै मर्नुपथ्र्यो, दोस्रो विकल्प कि त पैदल यात्रा तयगरी घर पुग्नुपथ्र्यो, हामीले दोस्रो विकल्प रोज्यौं’ बुद्धिरामले भने यात्रा अविस्मरणीय रह्यो । उनी पहिलो पल्ट काठमाण्डौ गाडिमा पुगेका थिए । ठेकेदारले बताए वमोजिमको पुरै महिना काम गर्न नपाउंदै घरफर्कनुपर्यो । खालिहात घरफर्केका थिए उनीहरु ।

बुद्धिरामकै भनाइमा उनीहरु तीन दिनअघि भक्तपुरको सो इटा उद्योगबाट कलंकीसम्म पैदल यात्रा गरे । कलंकिमा संयोगले एउटा ट्रक भेटियो, धार्के सम्मका लागि । धार्केमा ओर्लिएर उनीहरु नारायणघाटसम्म पैदल यात्रा गरे । भोकले शरिर धङधङी रहेकोवेला नारायणघाटको पुलचोकमा केही युवाहरुले निशुल्क व्यवस्थापन गरेको दाल, भात तरकारी पेटभरी खाए । ‘त्यो खाना नेपाली भान्साको थियो, नेपाली स्वादको थियो, नेपाली राष्ट्रवादको थियो, एउटा नेपालीको भोकलाई अर्को नेपालीले अनुभुति गरी पेटभरी खाना खुवाइएको थियो, दुईदिन अघि पेटभरी खाएको त्यो एकछाक भातले हामीलाई घरसम्म पु¥याएको छ’, पुल्चोकमा खाएको खानाको वर्णन थियो ।
त्यसपछि उनीहरुलाइ एउटा बसले नवलपरासीसम्म लिफ्ट दियो । नवलपरासीबाट फेरि पैदल बुटवलसम्मको यात्रा । उनीहरु त एक हिसावले आफुहरु भाग्यमानी मजदुर भएको पनि कल्पना गर्छन् । किनकि उनीहरुले केहि स्थानमा बस र ट्रक सेवा पनि पाए, तर उनीहरुजस्तै हजारौं मज्दुरहरुले कोरोनाको महामारीपछि पैदलयात्रा तयगरी घर पुग्ने तयारीमा थिए । कतिपय त १३ दीनको पैदल यात्रामा पनि काठमाण्डौबाट बर्दिया पुग्न सफल भएका थिए । कतिपयले काठमाण्डौबाट विहारको यात्रा त कतिले बाग्लुङबाट सप्तरीसम्मको पनि पैदल यात्रा तयगरीरहेका थिए ।

कति हृदयविदारक थियो, त्यो यात्रा । एउटा आशा कोरोनाबाट जोगिने र परिवारलाई भेट्ने थियो भने अर्को बाध्यता भोक मेटाउने आधारनै गुमनाम… । त्यसैले राजधानीका विभिन्न इंटा उद्योगहरुबाट सयौं मज्दुरहरु यसरीनै उद्योग छाडे । अनुमानीत तथ्यांक अनुसार दाङ जिल्लाबाट मात्रै राजधानीका विभिन्न इटा उद्योगहरुमा मजदुरी गर्न बार्षिक रुपमा दुई हजार भन्दा बढि मजदुरहरु जाने गरेका छन् । दशैतीहार मानेर इटा उद्योगमा जाने दैनिक ज्यालादारीका मजदुरहरु विभिन्न ठेकेदारमार्फत राजधानी पु¥याइन्छन् । उनीहरुको काम असार अन्तिम सातासम्म चल्छ । जानकारका अनुसार सवैभन्दा बढि सैघा र स्युजाबाट इटाभट्टामा काम गर्न जाने गरेका छन् । त्यहांका कतिपय परिवार त घरमा ताल्चा लगाएरै इटाभट्टामा मज्दुरी गर्न जाने गरेको स्थानीयबासी बताउंछन् ।

प्रसंग इटा मज्दुरहरुकै । दलवीर बुढा भन्छन्, ‘हामीलाई यो यात्रा कोरोनाले जुराएको थियो । राहतका लागि उनीहरु केही दिनसम्म त आशावादी थियौं, तर प्रक्रिया हामीलाई थाहा भएन वा सरकारले बुझेन, थाहा छैन । हामीले राहतको आशैआशामा केही रात भोकै पनि गुजा¥यौं । किनकि हामीहरु त्यहांका राजनीतिक दलका स्थानीय मतदाता थिएनौं । त्यसैले उनीहरुको भोकलाई स्थानीय सरकारले सम्वोधन गर्न भ्याएन ।’
‘राहत नपाउने अनगिन्ति मज्दुरहरु छन्, काठमाण्डौका हरेक इटाभट्टामा’, दलवीर भन्छन्, तर राहत वितरणमा पनि सरकार गम्भीर देखिएको छैन ।’