मेरो खुसी : संकटको समयमा मानवीय सेवा …
करिब दुई दशक लामो समयदेखि व्यवसायमा संलग्न लमही निवासी सहाना श्रेष्ठ सामाजिक कार्यमा सक्रिय छिन् । साधारण जीवनशैली, बोलीमा मिठास र सहयोगी भावनाका कारण विभिन्न संघसंस्थामा समेत आबद्ध छिन् । सानैदेखि दुःखमा परेका मानिसलाई सेवा गर्नुपर्छ भन्ने भावबाट प्रेरित भएकी श्रेष्ठ आपूmजस्ता महिलालाई समेत सामाजिक सेवाको कार्यमा लाग्न प्रेरित गर्ने गर्छिन् ।
घरको भान्सादेखि पसलबाट समय निकालेर योग प्रशिक्षणसँगै सामाजिक कार्यमा सक्रिय हुने श्रेष्ठ सम्भवतः जिल्लाकै सबैभन्दा धेरै रक्तदान गर्ने महिला हुन् । करिब २० वर्षको अवधिमा ४४ पटक रक्तदान गरिसकेकी श्रेष्ठले संकटमा परेका मानिसलाई मानवीय सेवा गर्दाको क्षणलाई आफ्नो खुसीको क्षणका रूपमा लिने गर्छिन् । श्रेष्ठले दोस्रो कोरोना लहरका क्रममा अलपत्र परेका यात्रुहरूका लागि लमहीमा खाना खुवाउनका लागि मेस नै चलाउने साहस नै गरिन् ।
कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेपछि धेरै रोजगारी तथा अध्ययनका क्रममा पश्चिम नेपालबाट काठमाडौं, चितवन, बुटवललगायतका विभिन्न ठाउँमा गएका मानिसहरू हिड्दै फर्किने गरेका थिए । कोरोना भाइरस सर्ने डरले यातायातका साधन चल्दैन थिए न होटेल खुल्ने गरेका थिए । त्यस्तो समयमा हिडेरै काठमाडौंबाट सुदूरपश्चिमको यात्रामा मानिस गइरन्थे । उनीहरूलाई पानी खाने समेत व्यवस्था नभएको समयमा आपूmलगायतको टिमले लमहीमा मेस सञ्चालन गरेर खानाको व्यवस्था गरेका थियौँ ।
त्यस क्रममा पैदल घर जान हिडेका करिब २८ सय बढी मानिसलाई निःशुल्क खाना र खाजा खुवाउँदाको क्षण आफ्नो खुसीको क्षण भएको श्रेष्ठ बताउँछिन् । ‘कोरोना भाइरसको डरले घर बाहिर मानिस निस्कन डराउँथे । सडकमा पैदल हिड्ने मानिसका लागि पानी र खाना खाने ठाउँ थिएन’, उनले भनिन्, ‘त्यो समयमा हामीले लमहीमा पैदल हिडेर जाने मानिसका लागि निःशुल्क खानाको व्यवस्था गरेका थियौँ । भोकभोकै कति दिन हिडेर लमही आइपुगेका मानिसलाई एक छाक खाना खुवाउँदा उहाँहरूको अनुहारमा खुसी छाएको देखिन्थ्यो ।
त्यो क्षण मेरो र हाम्रो सम्पूर्ण टिमको खुसीको क्षण हुन्थ्यो ।’ दुई दिने सुत्केरी महिलादेखि बालबालिका, महिला, ज्येष्ठ नागरिकसम्मलाई लमहीमा खुवाउनेदेखि सुरक्षित यात्राका लागि गरेको सेवाका कार्य नै आफ्नो जीवनको खुसीको क्षण भएको उनी बताउँछिन् । ‘जीवनमा सुख तथा दःुखका धेरै क्षणहरू हुन्छन्, त्यी क्षणहरूबाटै सुन्दर जीवन बनेको हुन्छ’, श्रेष्ठले भनिन्, ‘तिनै क्षणमध्येको खुसीको क्षण भनेको संकटको समयमा गरेको मानवीय सेवाको कार्य हो ।’
त्यसो त उनी कोरोना संकटकै समयमा लमहीका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनहरूमा राखिएका मानिसहरूका लागि समेत सेवा गर्न सफल भइन् । लामो समय क्वारेन्टाइनमा बसेर थकित र निराश भएका मानिसलाई उनले हरेक दिन योगका माध्मयबाट मनमा आत्मविश्वास जगाउनुका साथै फ्रेस मुड बनाउन सहयोगी भूमिका खेलेकी थिइन् तर त्यसका लागि उनलाई क्वारेन्टाइनसम्म पुग्न सहज थिएन ।
कोरोना जोखिमका कारण सबै मानिसहरू घरमा सुरक्षित बसिरहेको समयमा उनलाई पनि घर परिवारसँगै छरछिमेकीबाट नजान अनुरोध गरिएको थियो । ‘क्वारेन्टाइन जाँदा त्यहाँ कोरोना जोखिम हुने र त्यसले घर र समाजमा समेत जोखिम हुने गरेकाले बाहिर नहिड्न आग्रह गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘तर आपूmजस्ता मानिसहरू स्वास्थ्य सावधानी अपनाएर अप्ठेरो र जोखिमपूर्ण रूपमा बसेका मानिसहरूको सेवा गर्नुपर्छ भनेर क्वारेन्टाइनमा बसेका मानिसलाई योग सिकाउने गरेको थिएँ ।’
त्यस क्रममा उनले सतबरिया, रातोडाँडा, देउपुरलगायतका विभिन्न ठाउँका क्वारेन्टाइनमा पुगेर योगाभ्यास गराएकी थिइन् । त्यस कार्यमा उनलाई उपाध्यक्ष सीमा डाँगीले साथ दिएकी थिइन् । करिब २०६८ सालदेखि योगमा जोडिएकी श्रेष्ठले हरिद्वारमा पुगेर रामदेवबाट आशीर्वाद लिँदाको क्षणलाई पनि खुसीको क्षणका रूपमा लिने गर्छिन् । करिब २० वर्ष अघि घोराही स्थित साविकको महेन्द्र अस्पतालमा ब्लडको अभावमा छट्पटाइरहेकी सुत्केरी महिलालाई देखेर पहिलो पटक रक्तदान गरेकी श्रेष्ठ पछिल्लो समय रक्तदानका लागि अरूलाई उत्प्रेरित समेत गर्ने गरेकी छिन् ।
अहिले पनि ब्लड दिनु हुँदैन कमजोर भइन्छ भन्ने अन्धविश्वास रहेको समयमा ४४औँ पटक रक्तदान गर्दाको क्षण आफ्नो जीवनको अर्काे महत्वपूर्ण खुसीको क्षण भएको उनी बताउँछिन् । ‘अहिले पनि मानिसहरू रक्तदानका लागि डराउँछन् । आफ्नो शरीरबाट रगत दिँदा आपूm कमजोर भइन्छ भन्छन्’, श्रेष्ठले भनिन्, ‘तर रगत दिँदैमा मात्र कमजोर भइँदैन । कमजोर हुने भए त म हिड्नै नसक्ने हुँने थिए नि भनेर अरुलाई कन्भिन्स गर्ने गर्र्दै आएको छु ।’ मानीवय सेवाको सबैभन्दा ठूलो कार्य भनेकै अर्काको जीवन बचाउनुभएको भन्दै उनले आपूmजस्ता धेरै महिलाहरूलाई रक्तदाता बनाउन सफल भएको बताउँछिन् ।
सानैदेखि पढाईमा रुचि राख्ने श्रेष्ठ प्रायः कक्षाहरूमा प्रथम वा द्वितीय हुने गर्थिन् । सल्यानकै शारदा माध्यामिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेकी उनले सोही स्कूलबाट प्लस–टु पास गरेकी थिइन् । करिब १२ वर्ष स्कूल अध्ययनका क्रममा बिताएका अनेकौँ अविष्मरणीय क्षणहरू भए पनि उनी स्कूल लेवल अध्ययन क्रममा खुसीको क्षणका रूपमा प्रथम श्रेणीमा एसएलसी पास गर्दाको क्षण भएको बताउँछिन् । एलएलसीमा राम्रो अंक प्राप्त गरेपछि उनलाई पोखराको एउटा राम्रो कलेजबाट स्कलरसिपका अफर आए पनि पढ्न नपाएको उनी बताउँछिन् ।
‘पढाइमा म सानैदेखि राम्रै थिए, प्रायः कक्षाहरूमा टप ३ मै हुने गर्दथेँ’, उनले भनिन्, ‘जसले गर्दा स्कूलबाट एलएलसी दिएका ६०÷७० जना विद्यार्थीमध्ये मैले प्रथम श्रेणीमा पास हुन सफल भएको थिएँ, त्यो पनि मेरो खुसीको क्षण हो ।’ तर विवाह भए पनि पढाइ छोडेर व्यवसायमा लागेको उनी बताउँछिन् । श्रेष्ठको परिवारले लमहीमा किराना र फेन्सी पसल गर्दै आएको छ । २०३८ साल फागुन २५ गते सल्यानको त्रिवेणी गाउँपालिकाको लुहाममा बुबा हरिप्रसाद श्रेष्ठ र लक्ष्मी श्रेष्ठको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएकी थिइन् ।
२०५५ सालमा घोराही निवासी मनोज श्रेष्ठसँग वैवाहिक बन्धनमा बाधिएकी श्रेष्ठका एक छोरा र एक छोरी छन् । देउखुरी उद्योग बाणिज्य संघ, सत्यसाई संगठन लमहीको पूर्व उपाध्यक्ष, महिला पताञ्जली दाङ जिल्ला अध्यक्ष, लमही बजार टोल विकास समितिको अध्यक्ष, नेवा सेवा समिति लुम्बिनी प्रदेश कोषाध्यक्ष हुनका साथै विभिन्न संघसस्थाहरूमा आबद्ध भएकी छिन् । श्रेष्ठले विभिन्न संघसस्थाबाट सम्मान तथा प्रशंसापत्र समेत प्राप्त गरेकी छिन् ।
