Goraksha

National Daily

पोल गाडेको १२ वर्षमा बत्ती

प्रमोद आचार्य
दंगीशरण, २० बैशाख । पोल गाडेको १२ वर्षपछि गाउँलेले बत्ती बाल्न पाएका छन् । त्यो पनि गाउँपालिकादेखि १ सय मिटरको दूरीमा रहेको बस्ती हो । दंगीशरण गाउँपालिका–३ को मायाखोलाका स्थानीयको लामो प्रयास र समयपछि बत्ती बाल्न पाएका छन् ।

‘जहाँ पोल गाडिएको १२ वर्षसम्म विद्युत विस्तार हुनसकेको थिएन । देश संघीयतामा गयो स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल सकियो तर घरमा विद्युत बाल्ने सपना पूरा हुनसकेको थिएन’, स्थानीय एक महिलाले भनिन् । वडा नं. ३ र गाउँपालिकाको नियमित प्रयासपछि विगत १२ वर्षदेखि बत्ती बाल्ने गाउँलेहरूको सपना पूरा भएको हो । पोल गाडियो, तार पनि विस्तार गरियो, मिटर बक्स समेत जडान गर्न लगाइयो, तर विद्युत बाल्न नपाएका स्थानीयले आफूहरूले विद्युत बाल्ने आशा समेत मारिसकेको बताएका थिए ।

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो, नयाँ जनप्रतिनिधि आएसँगै विद्युत बाल्न पाउने आशा जागेको र त्यो पूरा भएको समेत बताए । वडा नं. ३ का वडाध्यक्ष शुकलाल चौधरी र गाउँपलिका अध्यक्ष शम्भु गिरीको नियमित सक्रियताले विगत १२ वर्षदेखि अन्धकारमा बसिरहेका मायाखोलावासीले विद्युत बाल्न पाएका हुन् । विद्युत विस्तार गर्ने ठेक्का लिएको ठेकेदारले काममा चासो नदिएपछि वडा नं. ३ ले कालोसूची प्रक्रिया अगाडि बढाएको थियो ।

कालोसूचीमा पर्ने डरले ठेकेदारले कामको प्रक्रिया अगाडि बढायो र फलस्वरूप बत्तीको उज्यालो स्थानीयले प्राप्त गरेका छन् । गाउँमा बत्ती नहुँदा मोबाइल चार्ज गर्न, पढ्न, लेख्न र हरेक काममा अर्को गाउँमा जानुपर्ने बाध्यता थियो तर त्यसको पनि समाधान भएको छ । हरेक वर्ष हरेक चाडपर्वमा अन्य गाउँमा झिलिमिली नै हुन्छ तर पालिका नजिक भएर पनि यहाँ बत्ती बाल्न यहाँका नागरिकले पाएका थिएनन् तर सबैको प्रयासबाट सफल भएको छ’, वडा अध्यक्ष चौधरीले भने ‘अब घरमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न अर्काको टोलमा जानुपर्ने समस्या टरेका छ ।’