कविता : मैले आफैलाई थुनेको वेला
बलदेव पोख्रेल
मैले आफैलाई थुनेको छु अचेल
आफ्नै हातलाई दुस्मन ठानेको छु अचेल।
शहरहरु भागेका छन शहरबाट
गाउहरु लुकेका छन गाउबाट
दुला पसेका छन-जिजिविषा जोगाउन ।
खै कता हिस्स पर्यो
विज्ञानको आविष्कार ?
खै कता अलपत्र पर्यो
प्रविधिको चमत्कार ?
हुंकार गर्यौ हामीले प्रकृतिमाथि
नाच्यौं निर्वस्त्र भएर
सुनेनौ आमाको चित्कार
र जन्मायौ अदृष्य दुस्मनहरु
तर
कामै लागेनन
हाम्रा मिसाइल र बन्दुकहरु
बम र बारुदहरु
र त
खनिरहेछौ अब क्वारेन्टाइनका सुरुंगहरु
र रेटिरहेछौ शोकका सारँगीहरु
अनि पर्खिरहेछौ कुनै चमत्कारिक देवदुतहरु ।
१-१-२०७७
