Goraksha

National Daily

कोरोनाको कहर : प्राथमिक मनोवैज्ञानिक सहयोग

लक्ष्मी ढकाल धिताल

जब हाम्रो शरीरमा कुनै चोटपटक लाग्छ वा अचानक कुनै शारीरिक समस्या देखिन्छ, त्यस समयमा सुरुमा घटनास्थलमा भएको स्रोत र साधनको प्रयोग गरी अवस्थालाई थप जटिल बन्नबाट रोक्न र समस्याबाट राहत दिनको लागि गरिने प्रयास नै प्राथमिक उपचार हो । घाउ लागेर रगत बगेको छ भने त्यसलाई रोक्न वा कम गर्न मलमपट्टी गर्ने र नजिकको स्वास्थ्य केन्द्रमा पुराउने गछौ । ज्वरो आउँदा पानीपट्टी लगाउँछौँ । यी कार्यले व्यक्तिलाई केही आराम दिन्छ भने थप समस्याबाट जोगाउँछ ।

यी सबै कार्यहरू प्राथमिक उपचार हुन् । पानीमा डुब्दा, आगोले पोल्दा वा अन्य आकस्मिक समस्यामा गरिने प्राथमिक उपचारका विधि फरक हुन्छन् । व्यक्तिलाई समयमा नै ध्यान दिइएन र प्राथमिक उपचार गर्न सकिएन भने जोखिम बढ्न जान्छ । जसरी हाम्रो शरीरमा चोटपटक लाग्छ, त्यसरी नै मानिसको मनमा कुनै पनि समयमा मानसिक चोट, पीडा, दुःख, चिन्ता, तनाव र आघातजस्ता समस्याहरू उत्पन्न हुन्छन् । व्यक्तिले यिनीहरूको समयमै सही व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै जानसक्छ र यसको असर लामो समयसम्म रहिरहेमा थप मानसिक समस्या र मानसिक रोग उत्पन्न गर्नेजस्ता जटिलता आउनसक्छ । यस्तो जोखिमता कम गर्न कुनै दुर्घटना, प्राकृतिक प्रकोप तथा आकस्मिक अवस्थामा व्यक्तिलाई शारीरिक असरको साथै मानसिक र भावनात्मकरूपमा पनि गार्हो , असहज र असुरक्षित महसुस हुनसक्छ ।

यस्तो अवस्थामा व्यक्तिलाई भावनात्मक तथा संवेगात्मकरूपमा सहज बनाउनको लागि सुरुमा गरिने मनोवैज्ञानिक तथा मनोसामाजिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।
प्राथमिक मनोवैज्ञानिक सहयोगले व्यक्तिको तनावपूर्ण अवस्थालाई शान्त बनाउन र भावनात्मकरूपले सुरक्षित महसुस गराउन सहयोग गर्छ । त्यसपछि व्यक्तिले आफ्नो अवस्थाको बारेमा सचेत भई सही निर्णय गर्नसक्दछ । प्रभावित व्यक्तिहरूलाई भावनात्मक सहयोग गर्दा उनीहरूको प्रतिक्रिया र मनमा चलिरहेको समस्यालाई सक्रियरूपमा व्यवहारिक सहयोग प्रदान गर्दछ । यसको साथै आवश्यकताअनुसार सही सूचनाहरू प्रदान गरी अन्य सम्बन्धित निकाय तथा सामाजिक संजालसँग जोडनलाई मद्दत पनि गर्दछ ।

अहिलेको वर्तमान अवस्थामा कोभिड–१९ र लकडाउनको अवस्थाले विश्वभरि नै मानिसहरूको जीवन कष्टपूर्ण र चुनौैतीपूर्ण भइरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने विदेश तथा भारत बाट फर्किएका व्यक्तिहरू र उनीहरूका परिवार, क्वारेन्टाईनमा बसेका व्यक्ति, सङ्क्ररमित व्यक्ति, उपचारपछि फर्केका व्यक्ति, पहिलेदेखि नै मानसिक समस्या भएका व्यक्ति र दीर्घ रोगीहरू अस’रक्षित महश’श गरेका,द’विधामा परेका,अस्थिर भइरहेका तथा सशंकित महश’श गरिरहेका बालबालिका,किशोरकिशोरी,वयस्क अभिभावक वा हेरचाहकर्ता,बृद्धबृद्धाहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोगको अधिक आवश्यक पर्छ । स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने प्रहरी,स्वयंसेवक तथा कर्मचारीहरूलाई पनि यसको आवश्यकता हुन्छ ।
जव कुनै ठाउ वा समुदायमा प्रकोप वा दुर्घटना हुन्छ,तव त्यस समुदायको परिस्थितीको अवलोकन अनुसार सिघ्र सहयोग को आवश्यकता भएमा प्राथमिक मनोवैज्ञानिक सहयोग दिनुपर्दछ । सामान्यतया बाढी पहिरो, आगलागी, भूकम्पजस्ता प्राकृतिक प्रकोप र बम विस्फोटनजस्ता मानवनिर्मित दुर्घटनाहरू भएको परिस्थितिमा प्राथमिक मनोवैज्ञानिक सहयोग घटनास्थल वा घटनास्थलकै नजिक, अस्थायी बसोबास, शिविर, बसिरहेको ठाउँमा, स्थानीय भवनहरू स् स्वास्थ्य चौकी र स्कूलमा गएर गरिन्छ ।

तर, कोभिड–१९ को परिस्थितिमा आमने सामने बसेर प्राथमिक मनोसामाजिक सहयोग पुराउन मिल्दैन । महामारीको प्रकृति, सुरक्षा, रोकथामको दृष्टिकोणले गर्दा सामाजिक दुरी कायम राख्न जरुरी छ । अहिलेको अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोग टेलिफोन, मोइबाल अनलाइन मिडियाबाट प्रदान गरिन्छ । जसलाई हामी दूर प्राथमिक मनोवैज्ञानिक सहयोग भन्छौ ।
मनोविज्ञ, मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता प्राथमिक मनोवैज्ञानिक सहयोग तालिम प्राप्त गरेका व्यक्तिहरू(शिक्षक, स्वास्थ्यकर्मी, स्वयम्सेवक र समुदायका अगुवाहरू) ले प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्दछन् । प्राथमिक मनोवैज्ञानिक सहयोग गर्दा सेवा प्रदायकले मनोवैज्ञानिक सहयोगका तीनओटा सिद्धान्तमा केन्द्रित भएर कार्य गर्दछ । यी सिद्धान्तहरूमा हेर्ने, सुन्ने र सम्बन्ध स्थापित गर्ने कार्यहरू पर्दछन् । समग्रमा भन्नुपर्दा जसरी शरीरमा चोटपटक र समस्या हुँदा जोखिमता बढ्न नदिन र समस्या कम गर्नको लागि प्राथमिक उपचारको आवश्यकता पर्दछ त्यस्तै गरी मनमा डर,त्रास चिन्ताजस्ता समस्याले ग्रस्त भएमा प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्दछ ।