नेपालमा कोरोना संक्रमीको संख्या १४, कैलालीमा सबैभन्दा बढी
काठमाडौँ, बैशाख १। नेपालमा कोरोना संक्रमीको संख्या १४ पुगेको छ । आज सोमबार कैलाल र रौतहटमा दुईजनामा यो संक्रमण देखिएको छ । रौतहट जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने आजै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।
योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
