Goraksha

National Daily

विचरो मसान्त !

विनोद पोख्रेल

आज चैत्र मसान्त । यो चैत्रको मात्र हैन, बर्षकै मसान्त हो । यस्ता मसान्त धेरै आए । ६७ बर्षको उमेरमा ६७ वटा त मेरै लागि पनि आए । त्यसमध्य ४/५वटा बारे मलाई थाहा भएन । करिव ६० वटा बारे त थाहा भयो होला । अझ संझनाको कुरा गर्ने हो भने गएको चैत्र मसान्तको केही संझना छैन । यसका दुईवटा कारण हुनुपर्दछ । मसान्तलाई कसैले पनि महत्व दिदैंन । भोलीवाट नयाँ बर्ष सुरु हुने बिशेष उल्लास र खुशीको अनुभव हुन्छ । यो बर्ष सकिएपछि वा यो बर्षले आफु पन्छेर ठाउँ दिएपछि मात्र नयाँ बर्ष आउने हो भन्ने सोंच कसैमा हुँदैन । मसान्तलाई त ओरालो लागेको मृग जस्तै खेद्ने हो । अझ त्यती पनि हैन । मसान्तको कुनै हैसियत बन्दै बन्दैन । हैसियत त संक्रान्ती वा नयाँ बर्षको शुरुवातको मात्र हुन्छ ।

विचरो मसान्त, संक्रान्तीको तप्कनीमा परेर महत्वहिन भएर जान्छ । भएको र भोगेकोलाई वास्ता नगर्ने अनी नयाँ तर्फ बढी आकर्षण राख्ने हाम्रो स्वार्थी स्वभावले मसान्त अर्थहिन झै भएर हराउँछ ।

अर्को कारण, हामीमा अहिलेसम्मको समय, जीवन, गतिबिधी कसरी बित्यो भनेर समिक्षा गर्ने चलन छैन । जसरी बित्यो, सकियो । त्यसैमा आफ्ना तर्क राखेर अती राम्ररी भनौ या सफलतापूर्वक वितेको मान्ने र आत्मरतीमा रमाउने हाम्रो चरित्र नै बनेको छ । हुन त नयाँ योजना पनि प्रायः हुँदैनन् । तर पनि केही आशा, केही अपेक्षा हुन्छ । वितेकाबाट त त्यो पनि हुँदैन । त्यसकारण पनि मसान्तलाई महत्व दिने चलन छैन ।

मेरो सोंच भन्ने हो भने, कम्तीमा पनि बितेको एक बर्षमा के कती काम आफ्नो लागि, परिवारको लागि, समाजका लागि र देशका लागि गरियो अथवा भए, त्यसको मुल्यांकन गर्दै पूर्ण समिक्षा हुनुपर्ने हो । हुन सक्ने सबै भए वा भएनन् । गर्न नसकिने तर कल्पना गरिएका काम पुरा गर्न केही उपाय छ कि ? जस्ता कुराहरु बारेमा चिन्तन(व्यक्तिगत वा सामुहिक रुपमा) हुनुपर्ने हो । त्यो चलन हाम्रोमा छैन । हामी स्वागतमा रमाउने गछौं । विदाईलाई या त वास्ता गर्दैनौ, या त राम्रो कुराका रुपमा लिदैनौं । त्यसैले महत्व दिदैनौं । बिहे गरेर छोरी विदाई गर्दा पनि रुने गर्छौं । उ नयाँ जीवनमा प्रबेश गर्दै छ । नयाँ स्थानमा आफ्नो प्रभाव पार्न, आफुलाई योग्य सावित गर्न सफल होस् भन्ने महत्वाकांक्षा समेत हुँदैन सायद । यस्तो सोंचले पनि मसान्तको महत्व हुन नसकेको हो ।

केही दिन पहिलेवाट नयाँ बर्ष बारे परिकल्पना गर्न थालिन्छ र अली बढी नै त्यता आकर्षित हुन थालिन्छ । त्यहाँ मसान्तलाई ठाउँ नै हुँदैन । हुन त मैले पनि मसान्तलाई अहिले जस्तो अभिव्यक्ति दिएँ, त्यती महत्व दिदैन जस्तो लाग्छ । त्यसैले म पनि समाजको अपवाद पटक्कै हैन । बरु नयाँ बर्षकै नाममा मसान्तकै दिनमा पनि केही कार्यक्रम भए होलान्, यसलाई स्वागत गर्ने भनेर । त्यसमा म पनि सहभागी भएको अनुभव छ । तर, वितेको समयको समिक्षा वा मुल्यांकन गर्ने चलन छैन ।

मान्छे स्वार्थी हुन्छ । यसले बलेको आगो ताप्ने गर्छ । यहाँसम्म पनि सामान्य कुरा हो भनौं । न त आफुले नयाँ आगो बाल्न सक्ने, न त आफुले प्रयोग गरे झैं आगो बुतेपछि त्यसको उचित मुल्यांकन गर्न सक्ने चरित्रले मनिसले उन्नती गर्न सक्दैन ।