इन्द्र डिसी
दाङ, चैत ३० । कोरोना संक्रमणको जोखिम कम गर्न युवा बैज्ञानिक मार्सल रोकाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण निर्माण गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएका रोकाले अहिले मुल गेटमा जडान गरेपछि त्यसवाट भित्र छिर्दा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् ।

रोकाको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् । उक्त टनेल पहिलो पटक घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जडान गरिसकिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल प्रतिष्ठानमा निःशुल्क जडान गरिदिएको छ ।
मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल (प्वाल) बाट पुरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाइ, ६ फिट चौडाइ र आठ फिट उचाइको टनेलमा मोटरसाइकल, स्कुटरलगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन् । ‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’
उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए । उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ । ‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे । यही विषयमा युवा वैज्ञानिक रोकासँग गरेको कुराकानी :
‘सेनिटाइजर टनेल’ निर्माण गर्ने योजना कसरी बन्यो ?
बजारमा सेनिटाइजर पाउन मुस्किल थियो । बनाउने सामान पनि नभएको अवस्था । हातलाई मात्र सरसफाई गरेर हुदैन । त्यसैले पुरै होल बढी नै सेनिटाइजर गर्नुपर्छ । त्यो सोचले नै यो ‘सेनिटाइजर टनेल’ बनाउने काम गरेका हौ । यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान भएको छ । मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल (प्वाल) बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ ।
यो मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गर्नुको कारण ?
यो जिल्लाको सवैभन्दा ठुलो स्वास्थ्य क्षेत्र हो । यहाँ धेरै विरामी स्वास्थ्य सेवा लिन आउने भएकोले यहाँ जडान गरेका हौ । अव अन्य ठाउँबाट समेत माग आइरहेको छ । अव अन्य ठाउँमा जडान गर्ने छौ ।
यो सेनिटाइजर टनेल निर्माण गर्न कति समय र खर्च कति लाग्छ ?
उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग भएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको छ । एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ । समयको कुरा गर्दा लगभग एक दिनमा एउटा बनाउन सकिन्छ ।
को हुन् मार्सल ?
मार्सल रोका घोराही उपमहानगरपालिका १५ निवासी युवा हुन् । बलराम रोका र उषा रोकाका छोरो उनी १४ बर्ष अगाडिदेखि अन्वेषण र आबिस्कारको क्षेत्रमा क्रियाशिल छन् । उनको जन्म २०५० बैशाख ४ गते भएको हो ।