विज्ञान, आद्यात्म र पर्यावरण (Science,Spirituality & Environment)

 ब्रह्माकुमार माधव तिमिल्सेना  
 विज्ञानले विश्व ब्रम्हाण्ड तथा जीवन उत्पति र यसको विकासलाई आत्मा र मन वा मानसिकताबाट स्वतन्त्र राखी अध्ययन, अनुसन्धान र विश्लेषण गर्दछ । भौतिक यथार्थ आत्मा र मनबाट स्वतन्त्र भएको बुझेर नै विज्ञानले त्यसलाई बुझ्न खोज ,अनुसन्धान ,अन्वेषण,प्रयोग तथा परीक्षण गर्ने गरेको हो । यो विश्व संसारमा भौतिक पदार्थ नै प्राथमिक हो,आत्मा त त्यसको विकासको उपज मात्र हो भन्ने बुझाई भौतिकवादको रहेको छ । आत्मा भौतिक शरीरबाट अलग भई अस्तित्वमा रहँदैन यो भौतिक शरीरसँग जोडिएको हुन्छ र जीवनको अवसानपछि आत्मा समाप्त हुन्छ । भौतिकवादले सिकाउने शिक्षा यही हो । तसर्थ भौतिकवाद दर्शन हो,जुन आध्यात्मवादको विपरीत छ । तर,विज्ञान दर्शन र पद्दति दुबै हो । दर्शन मात्र बोक्नु वा पद्दति मात्र बोक्नुले विज्ञान अपूर्ण हुन्छ ।

 संस्कृतमा ‘अधि’ को अर्थ अगाडि हो । ‘अधि’ र ‘आत्मा’ को समासबाट आध्यात्म शब्द बन्छ । ‘वाद’ भनेको बिचार हो । त्यसैले आध्यात्मवाद भनेको ‘आत्मा अगाडि हो’ भन्ने बिचार हो । संसारमा भौतिक पदार्थ र आत्मामा कुन पहिला हो भन्ने सवालमा आध्यात्मवादले आत्मा पहिला हो भन्ने बिचारको वकालत गर्दछ । त्यस बिचारले आत्मालाई भौतिक पदार्थबाट स्वतन्त्र राख्दछ । आध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्त बनाउने पक्षमा बल दिइरहेको हुन्छ । मानव रचनाको उषा कालदेखि ज्ञानले उसको चेतनालाई परिष्कृत गर्दै वृत्ति र प्रवृत्तिलाई सुसंयमित बनाउने प्रयत्न गरिरहेको छ ।

यसका लागि  समयप्रति  समय  उदित भएका  महान् विभूतिहरूले  समाजलाई  प्रशस्त मार्गदर्शन तथा पे्ररणा प्रदान गर्ने साधन, सन्देश र उपदेश दिने दस्तावेजहरू छोडेर गएका छन् । तर दुर्भाग्य के भने तिनीहरूका सकारात्मक पक्षलाई समाजले जीवनरूपी धरातलमा प्रयोग गर्न सकेको देखिदैन । आध्यात्मिक ज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरूलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा केवल रीति, रिवाज,आडम्बर र मान्यताका रूपमा मात्रै सीमित हुन पुगेका छन् । केवल परम्परा जोगाउने हिसाबले मात्रै मनाउने गरिन्छन् । अझ कतिपय कुराहरूले विकृत रूपसमेत प्राप्त गरेका छन् । जस्तो बलि प्रथाका नाममा अमुक निहत्था पशु–पंछीहरूको निर्मम हत्या गरिनु र त्यसबाट देवी, दुर्गा, जगत् जननीलाई प्रसन्न गरी कार्य सिद्धि हुन्छ भन्ने मान्यता पूर्णरूपमा अन्धश्रद्धा तथा धर्मका नाममा अधर्मको भुमरीमा धसिंदै जानु हो भन्नुमा आपत्ति नहोला । यसरी विकृत रूपमा परिवर्तित धार्मिक वा  सांस्कृतिक  परम्पराले  मानव  जीवनको  उच्चतम  सुधारमा  खासै  भूमिका निर्वाह  गर्दैन । त्यसैले  आध्यात्मिक ज्ञानको सत्य, तथ्य, सार र निचोड तिर विवेकपूर्ण रूपमा सोच समझले संलग्न हुनाले नै कल्याण  हुनेछ । अतःआध्यात्मिक  ज्ञान जसले मानिसलाई स्व–अनुशासित, स्व–संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गरोस् । मानिसलार्ई एक असल मानिस बनाउन सकोस् जसले सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सकोस् ।

अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै आध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन । यही शुभ संकल्प र भावनाको सुन्दर भविश्य परिकल्पनामा हामी सधै चिन्तनशील वनौ ।
अपवादमा बाहेक सबै मान्छे मृत्युसँग डराउँछन् । सबैलाई थाहा छ, जति नै डराए पनि र जति नै नचाहे पनि एक दिन जो कोहीको पनि मृत्यु त हुन्छ नै । मृत्यु हुँदा मान्छेको शरीर ज्युँकात्युँ रहिरहन्छ । खालि त्यो शरीर चलायमान नभई ढुङ्गाझैं स्थिर हुन पुग्छ । त्यस्तो स्थिति त मुर्छामा पनि हुन्छ नि । तर, मुर्छित मान्छे पछि त्यस अवस्थाबाट पार गरी पुनः चलायमान हुन सक्छ । मृत्यु भइसकेपछि भने मान्छे पुनः ब्युँझिएर आउने सम्भावना शतप्रतिशत रहँदैन । किन ? किनकि, त्यो शरीरमा सम्पूर्ण जीवकोषभित्रको जैविक प्रक्रिया बन्द भइसकेको हुन्छ । त्यस अवस्थामा पुगिसकेपछि शरीरभित्रको कुनै पनि जीवकोषमा पुनः जैविक प्रक्रिया सुरु हुन सक्दैन । वास्तवमा मृत्यु त्यही नै हो । त्यसैले मृत्यु भइसकेपछिको शरीरलाई शरीर नभनी शव भनिन्छ । मृत्यु भएपछि शरीर त मर्यो, आत्मा कहाँ गयो नि ? हो, यही प्रश्नको उत्तर दिने क्रममा आध्यात्मवाद र भौतिकवादमा भेद छुट्टिन्छ । यही प्रश्नको उत्तर दिने क्रममा आदर्शवाद र विज्ञानमा फरक हुन्छ । सबै प्राणी प्रजातिहरुले एक आपसमा संचार गर्न सक्दछन् । तर, भाषाको सिर्जना र प्रयोग भने मानवले मात्र गर्न सक्दछ । यो मानवको विशिष्ट गुण हो । यो गुण ‘फक्सपि टु’ वंशाणुको उपस्थितिबाट नै प्राप्त भएको वैज्ञानिकहरु तर्क गर्दछन् । भावनाले आफू र अरुमा भिन्न देखाउँछ । र, यसबाट नै ‘म’ को अनुभूति हुन्छ । ‘म’ को अनुभूति नै आत्मा हो । त्यसैले आत्मा भनेको मानवमा मस्तिष्क विकासको क्रममा सिर्जित संवेग र चेतनाकै विकसित रुप हो । अर्थात, यो मानवमा भौतिक शरीरको विकासको क्रममा सिर्जित र विकसित विशिष्ट गुण हो । आत्मा मानवको भौतिक शरीरको विकासको उपज भए पनि यो यति विकसित छ कि यसले आफूलाई भौतिक शरीरभन्दा स्वतन्त्र देख्दछ । तर,यथार्थमा आत्मा कहिल्यै भौतिक शरीरबाट अलग र स्वतन्त्र हुन सक्दैन । आधुनिक प्रविधिको उदाहरण दिने हो भने मानवको भौतिक शरीर भनेको कम्प्युटरको हार्डवेयर हो र आत्मा चाहिँ सफ्टवेयर । सफ्टवेयर जति नै क्षमताको भए पनि हार्डवेयर बिना त्यसको कुनै अस्तित्व हुन्न । त्यस्तै जिउँदो मानव शरीर बिना आत्माको अस्तित्व हुँदैन । आत्मा अर्थात् ‘म’ भन्ने भावना मानवमा जन्मेदेखि हुने होइन । तर,उसमा त्यसको सिर्जनाको लागि क्षमता बोकेको मस्तिष्क चाहिँ हुन्छ । किनकि, यो गुण त उसको वंशाणुमै कायम भएर आएको हुन्छ । त्यस मस्तिष्कमा ‘म’ को भावना सिर्जना गर्ने वा आत्माको जन्म दिने काम आमा, बाबु, परिवार र समाजले गर्छन् ।

हावापानी, वनस्पति, माटो, खोलानालाको संगठन नै पर्यावरण हो । सृष्टिको सिर्जना निरन्तताका लागि पर्यावरणीय सन्तुलन अपरिहार्य कुरा हो । हावापानी, खोलानाला, वनजंगल, वनस्पति, जैविक विविधता स्खलन हुँदा पर्यावरण असन्तुलित बनेको हो । यसै पनि वातावरण संरक्षण, पर्यावरण सन्तुलन, जलवायु परिवर्तन र दिगो विकास २१ औं शताब्दीको साझा चिन्ता, चासो र चुनौती हो । अहिले विश्व कतै मानवीय अस्तित्वको खतरामा छैन भन्ने  यही चिन्तामा डुवेको छ । यही चासोका साथ विश्वमा अनेकौं सभा–सम्मेलन भएका छन् । पर्यावरण आफै असन्तुलित हुँदैन । पर्यावरण आफै बिग्रिँदैन । मानवीय हर्कतका कारण सन्तुलन बिग्रिएको हो । बिगार्नेले नै सपार्नु प्राकृतिक न्यायको सामान्य सिद्धान्त हो । यसको अर्थ पर्यावरण सुधार्ने दायित्व पनि मानिसकै हो । पर्यावरणीय सन्तुलन आफैमा व्यापक विषय हो । आफैंमा दीर्घकालीन अवधारणा पनि हो । पर्यावरण सन्तुलनका निश्चित सर्तहरू छन् । पर्यावरण सन्तुलनका लागि माटो, वनजंगल, पशुपन्छीको संरक्षण, विद्युतीय सवारी साधन प्रयोगमा बढावा, उद्योगधन्दामा प्रदूषणनिरोधी संयन्त्रको प्रयोग, नवीकरणीय उर्जाको प्रयोगमा जोड, ओजन तह संरक्षण, हरितगृह ग्यास उत्सर्जन व्यवस्थापन, जलवायु परिवर्तन व्यवस्थापन, पर्यावरण सन्तुलनका खातिर आधारभूत सर्तहरू हुन् । विक्षारोपण, खोलानाला, चुरेको संरक्षण,सीमसार तथा जलाधारको संरक्षण, फोहरको समुचित व्यवस्थापन, पेट्रोलियम पदार्थको प्रयोग कटौती, स्यानेटरी ल्यान्डफिलको दिगो व्यवस्थापन पर्यावरण सन्तुलनका लागि त्यत्तिकै महत्वपूर्ण कुरा हो । विश्वव्यापी प्रतिबद्धता, जनचेतना अभिवृद्धि, भएगरेका अन्तर्रास्ट्रिय सन्धि–सम्झौताहरूको अक्षरशः कार्यान्वयन, राज्यले अघि सारेका नीति, नियम, ऐन, कानुनको परिपालना पर्यावरण सन्तुलन कायम राख्ने उपाय हुन ।

एक अध्ययन एवं परिक्षणबाट के प्रमाणित भएको छ भने सवै प्रकारको प्रदुषणको मूल उद्गम स्थल मनुस्यको मस्तिष्क हो । किनकि मस्तिष्कमा उत्पन्न संकल्प नै सवै अवधारणाहरुको बीज भएकोले विज्ञानका नयाँ नयाँ आविस्कारको आधार यसैबाट सृजना हुन्छ । ओजोन तह पातलो हुदै जानु,अम्लीय वर्षा र हरितगृह प्रभाव वातावरण प्रदुषणका गम्भिर समस्याहरु हुन यि तीनवटै अवस्थालाई रोकिएन भने विश्व महाविनाश हुनेमा कुनै विवाद रहने छैन । पर्यावरण प्रदुषण शारीरिक तवरले हानिकारक छ तर मानसिक प्रदुषण शारीरिक,मानसिक एवं आद्यात्मिक स्वास्थ्यको लागि कयौ गुणा हानिकारक हुनेछ । मानसिक प्रदुषणले मन तथा वुद्धिको साथै भौतिक शरीरलाई समेत निर्वल वनाईदिन्छ जसको सिधा प्रभाव वाततावरणमा पर्दछ जसबाट समाजको विघटन हुने निश्चित छ तसर्थ पर्यावरण प्रदुषण र मानसिक प्रदुषण दुवैबाट आफ्नो रक्षा गर्नु नितान्त आवश्यक छ । नकारात्मक संकल्पहरुको  प्रकम्पले परोक्षरुपमा पर्यावरण प्रदुषण गर्न सहयोगी भूमीका निर्वाह गरेको हुन्छ । मानसिक प्रदुषण हुनुका कारक तत्वहरुमा– (क) अपवित्रता,निर्लज्जता,यौन विकृती एवं कामूकता आदि कामवासना (ख) हत्या,हिंसा आत्महत्या,क्रोध,रोष आवेश,घृणा,उत्तेजना,असहिसष्युता,उन्माद एवं निराशा आदि हिंसावृती (ग) स्वाद,अधिकार ,तृष्णा,ईच्छा,असन्तोष,ईष्र्या एवं राग–द्धैष आदि लोभ प्रवृती (घ) असमानता,क्षुद्र भाव,कायरता,स्वार्थपरता एवं लापरवाही आदि मोहजाल र (ङ) हठ,संहारक मानसिकता,मिथ्या अभिमान ,गर्व एवं घमण्ड आदि अहंकार भाव । उपरोक्त मानसिक प्रदुषणले एकातिर जनसंख्यामा तिव्रतर बृद्धि हुन्छ अर्कोतिर साम्प्रदायिक संघर्ष शुरु हुन्छ । साथै सत्तालोलुपता,विस्तारवादी नीतीले पर्यावरण प्रदुषण सहजै निम्तिन्छ । अहंकारी प्रवृतिले भय,संशय,असुरक्षा,युद्ध हुदै अन्तमा विध्वंसको कारण वन्न पुग्दछ । तसर्थ, मानसिक प्रदुषणबाट उत्पन्न हुने सवै समस्याहरुको एक मात्र समाधान भनेको आद्यात्मिक जागृती हो । समाजमा व्याप्त अनेकौ विकृती र विसंगतीलाई सरलापूर्वक अवतरण गर्न प्रत्येक व्यक्तिमा दिव्य गुण, सन्तोष समानता तथा रचनात्मकताको धारणाको आवश्यकता हुन्छ ।  विज्ञानको एउटा विशिष्ट क्षेत्रमा गरिएको अध्ययनले प्रत्येक व्यक्तिको शरीरको चारैतिर अति सूक्ष्म प्रकाशको एक आवरण हुन्छ जसले उक्त व्यक्तिको तत्कालिक मनःस्थितिलाई निर्धारण गरेको हुन्छ भनी प्रमाणित गरेको छ ।
विशेष प्रकारको प्रविधि तथा किरलियन फोटोग्राफीद्धारा रचनात्मक चिन्तन अर्थात शान्ति, स्थिरता निर्मलता, स्नेह र आनन्द भएको व्यक्तिको सूक्ष्म ज्योती आवरणको चित्र लिंदा प्रकाशको आवरणमा हल्का रंग र रेखाहरु स्पष्ट एवं सुपरिभाषित भएको पाइयो भने नकारात्मकता,दुर्वल,उदासी अथवा विध्वंस संकल्पको कारण तनाव,चिन्ता कुष्ठा,शोक, निराशा,व्यथाले वोझिलो भएकोे अर्को व्यक्तिको चित्रको आवरण वाक्लो गहिरो रंग र सीमा रेखाहरु धमिलो वा अस्पष्ट देखियो । यसबाट सिद्ध भयो कि मनुस्यको विचारको प्रवाहले पर्यावरणको नियमन गर्दछ ।

मानव समाजका लागि वर्तमान समयको माग विज्ञान एवं आद्यात्म दुवैको आवश्यकता हो । कुनै समयमा विज्ञान र आद्यात्म परस्पर विरोधीको रुपमा हेरिन्थ्यो । परन्तु हरेक मनुस्यलाई विज्ञानसँगै सामाजिक,नैतिक र आद्यात्मिक मूल्यहरुको अपरिहार्यतामा जोड दिइदैछ । समाजमा हिंसा तथा संघर्ष पैदा गर्ने अन्धविश्वास एवं विवेकहीनता,असंगत वा कट्टरपन्थी सिद्धान्त अव समाप्त हुनुपर्ने आवाज समेत उठेको पाईन्छ । पछिल्ला केही दशकतर्फ हेर्दा आद्यात्मलाई वैज्ञानिक दृष्टिकोण र विज्ञानलाई आद्यात्मिक दृष्टिकोणबाट जोड्ने प्रयासहरु गरिए । वैज्ञानिक तथा आद्यात्मवादीहरुले यो प्रतिवादन समेत गरे कि दुवै संकाय मिलेर जगत एवं चेतनालाई जानेर कसरी एक अर्काेमा पूरक भूमिका निर्वाह गर्न सकिन्छ । भौतिक विज्ञान ( Physics),आत्मविज्ञान ( Metaphysics),नीतिशास्त्र (Ethics) पर्यावरण–परिस्थिति( Ecology ),चिकित्सा एवं ध्यान योग तथा दूर सञ्चार र मनो–सञ्चारमा समान रुची राख्ने एक समुदाय विकसित भैसकेको अवस्था छ । विकास तथा पर्यावरणको सम्वन्धमा नैतिक सिद्धान्तको महत्व र त्यसको व्यवहारिक प्रयोगमाथी समेत जोड दिन थालियो । भौतिक सुख–सम्पन्नतालाई अत्याधिक महत्व दिइनु र मानवताको अस्तित्वको मुख्य आधार आद्यात्मिकतालाई उपेक्षा गर्नुको परिणाम आधुनिक समाजले भोगिरहेको छ । धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होईनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको यो भनाईबाट स्पष्ट हुन्छ ‘science without religion is lame and religion without science is blind ‘अर्थात धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ ।आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै दृष्टिविहीन(अन्धा) र शारीरिक अपांगता(लंगडो)े व्यक्ति समान हुन । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ ।

विज्ञानले प्रकृतीका विभिन्न संशाधनहरुलाई आफ्नो नियन्त्रणमा लिएर खनिज सम्पदाको दोहन गर्दे आधुनिक सञ्चार व्यवस्था हेतु अन्तरिक्ष उपग्रहहरुको सफलतापूर्वक उपयोग गरिरहेको छ । विज्ञान चन्द्रमा मानव पठाएर सफल त भयो तर मनुस्यको हृदयमा चन्द्रमाको शितलता तथा सत्य,स्नेह र आनन्दको सञ्चार गर्न सकिरहेको छैन । रकेट जेट विमानको आविस्कारले पृथ्वीको दुरीलाई त कम गर्यो परन्तु मानव भित्रको सद्भाव विश्वास र आत्मियताको दुरी वढ्दै गएको कुरा कम गर्न सकेको छ त?  विश्व संघर्षको कारण जाती,वर्ग,रंग,भाषा,धर्म एवं राष्ट्रियताको सवालमा वांडिएको छ ,। विज्ञानले प्रकृतीका पाँच तत्वहरुमा नियन्त्रण गरेपनि मनुस्य प्रवृति अर्थात उसको स्वभाव र संस्कारलाई परिवर्तन गर्न कामयाव हुन सकेन । अनियन्त्रित मनलाई सही दिशा निर्देश गर्न नसक्नुको परिणाम आजको मानवले आफ्नै कर्मइन्द्रियहरुको दास वनेर उदास भएको अवस्था छ । आद्यात्मिक चिन्तनबाट प्रकृती(कर्मइन्द्रिय) माथि पूर्ण अधिकार वा नियन्त्रण संभव छ साथै मानवको प्रवृती (स्वभाव) लाई रचनात्मक क्षमताको विकास गरी दैवी स्वभावमा रुपान्तरित गर्न सकिन्छ । जसरी हेल्मेटले हाम्रो टाउकोलाई रक्षा गर्न सक्ला तर श्रेष्ठ संकल्पले मनको रक्षा गर्दछ । चश्माले वाह्य आँखाको सुरक्षा प्रदान गर्ला परन्तु इन्द्रिय लोलुपता एवं काम वासनाको तिक्ष्ण वाणबाट अन्तःचक्षुलाई सुरक्षा प्रदान गर्न सक्दैन । अध्यात्मले  त  जीवन  र  जगतको  यथार्थ  रहस्यलाई  बोध  गराउँछ  । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । आध्यात्मिक ज्ञानले धर्मात्मा,  पुण्यात्मा  र  महात्माभन्दा  उच्च  सर्वोच्च  सत्ता  निराकार  ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । आध्यात्मिक ज्ञानद्वारा सर्वोच्च सत्ताको स्मृतिमा लवलिन हुने सहज विधि प्राप्त हुन्छ, जसले गर्दा गहन शान्ति र शक्तिको अनूभूति हुन्छ । संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । आज ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले यही आध्यात्मिक  वास्तवमा  सम्पूर्ण  ज्ञान,  विज्ञान,  नीति,  विचार,  सिद्धान्त,  खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ ।
आध्यात्मिक  ज्ञानले  मानिस  भित्र  श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । किनकि श्रेष्ठ र उच्चकोटीका चिन्तनरूपी खुराकले पोसाएको बुद्धि विवेकपूर्ण हुन्छ । उस भित्रको चित्रण शक्ति समेत प्रबल हुन पुग्दछ । बुद्धि निरन्तर सही, सुखदायी र स्वार्थरहित कर्म गर्नको लागि तत्पर रहन्छ । मानिस कुनै पनि प्रकारको कुचेष्टा र कुसंस्कार–स्वभावको वश हुन सक्दैन । आन्तरिक रूपमा जागरुक र सचेत हुनाका कारण कर्म र  व्यवहारमा  ऊ  सबैका  लागि  सुखदायी  र सहयोगी  बन्दछ  ।  आन्तरिक  चिन्तनले  सही दिशा लिँदा मनसा, वाचा र कमर्णाका बीचमा एक सुन्दर सामञ्जस्य कायम हुन आउँछ । आध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति  निरन्तर  शुभ  सोच,  परोपकारी  भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । आध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले  कुनै  पनि  अवस्था  र  परिस्थितिमा नकारात्मक  सोच  र  कुभलोका भावना  पैदा गर्दैन  । यदि आध्यात्मिक  चिन्तनका  नाममा त्यस्ता निम्न कोटीका विचारहरू पैदा हुन्छन् भने त्यसलाई आध्यात्मिक चिन्तनको नाम दिन सकिँदैन । जसले आफूप्रति मित्रवत्भाव राख्दछ, सहयोग दिन्छ, प्रशंसा गर्दछ, सम्मानको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछ त्यसलाई मित्र ठान्नु, उसको भलो चिताउनु तथा आफ्ना तर्फबाट पनि  सहयोग  र  स्नेह  दिनु कुनै  ठूलो  कुरा होइन  ।  यस्तो  व्यवहार  र  क्रियाकलाप  आम सबैले  गरि  नै  रहेका  हुन्छन् । सवाल  त  के हो भने जसले तपाईं प्रति वैरभाव, विरोधभाव, द्वेष, घृणा र ईष्र्याभाव  राख्दछ  एवं तपाईंको मार्गमा नाना थरीका बाधा,व्यवधान  र अवरोध खडा गर्दछ तथा आलोचना अपमान र मजाक जस्ता शब्दको प्रहार गर्दछ, आक्षेप र लाञ्छना लगाउँने कार्य गर्दछ  त्यस प्रति पनि आफ्ना तर्फबाट भलाइ, शुभभाव, दयाभाव तथा क्षमाभाव राखी उसको हर प्रकारको सुख, समृद्धि र कल्याणको कामना गर्नु महानता हो । आध्यात्मिक जागृति र चिन्तनको व्यवहारीक पक्ष पनि यही हो । आध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई  पचाउन  र  स्वीकार  गर्न  गाह्रो  हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व  विकास  गर्न  यस्तै उच्च आध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।
विज्ञानको घमण्ड,आद्यात्मलाई उपेक्षा गर्दे प्रकृती माथी गरिएको अत्याचार र पद,प्रतिष्ठा,आणविक अस्त्रशस्त्रको होडवाजी एवं मानिसमा देखिएको दम्भले वर्तमान विश्वमा एक सनसनीपूर्ण स्थितिको आगमन भएको हो । त्यसैले मानव अस्तित्वलाई वचाई राख्नका लागि विज्ञान,आद्यात्म तथा पर्यावरण वीचको त्रिकोणात्मक  सामञ्जस्यता कायम राख्न जरुरी छ । हामी  सबैको  साझा  चाहना  छ  कि संसार  चिरकालसम्म  सुख,  शान्ति,  समृद्धि  र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण  मानवजाति  कुनै  पनि  प्रकारको  रोग, शोक,  भोक,  चिन्ता  र  भय–त्रासले  पीडित नहोउन् । सबैले  स्वास्थ्य,  सम्पत्ति  र  खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि  प्रकारको  भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या,  हिंसा,  लडार्इं,  झगडा,  युद्ध,  संघर्षको वातावरण  सदाका  लागि  समाप्त  होस्  सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नो मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस् । प्रकृति सदा वसन्तवहार होस् । मानौ संसार स्वर्ग, पाराडाइज तथा  रामराज्य  बनोस् । मानिस मानिसकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस् । वसुधा  भौतिक प्रचुरता, विपुलताका साथै आध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । यस्तो  संसारको परिकल्पनालाई  मूर्त रूप दिन साच्चै आध्यात्मिक चिन्तन–ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ  । तसर्थ  प्रत्येक  नर–नारीको  प्रयत्न  र पुरुषार्थ आध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ । अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै आध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन । यही शुभ संकल्प र भावनाको सुन्दर भविश्य परिकल्पनामा हामी सधै चिन्तनशील वनौ । यो हाम्रो लाग िसच्चिने सुनौलो अवसर पनि हो । सदैव सकारात्मक सोचले छिट्टै यस्तो विवशपूर्ण अवस्थामा सुधार भै हामी पूर्ववत् अवस्थामा फर्किन सकौ र विगतको भूलबाट शिक्षा लिएर आगामी यात्रा अविस्मरणीय ,व्यवस्थित एवं उत्तम वनाउन सकौं । नववर्ष २०७७ ले आशा,उमंग र समाधानको सौगात लिएर आवस् यही शुभभावना र शुभकामना । ओम् शान्ति ।।।
लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,घोराही दाङका प्रवक्ता हुन् ।