Goraksha

National Daily

कविता : गुमनाम द्रोणाचार्य

आदिम के.सीं

संसार जितेको अहम पालेर
प्रकृतिमाथि धावा बोल्दै हिँड्ने मानिस
चन्द्रमा र मङ्गलमा बस्ती बसाल्ने
योजनाको बिस्कुन सुकाएको मानिस
आज,
आफै अलपत्र छ
आफै त्रासदीमा छ
छटपटीमा छ
पीडामा छ

शास्त्र र प्राकृतिक दर्शनको गरिमालाई
विज्ञानको सियोले छेडेर
सभ्यताको आधारशीलालाई
अँध्यारोको संज्ञा दिदै
आधुनिकताको नाममा
संस्कार र संस्कृतिको वीजलाई
विसङ्गतिको मिसाइलले
खुत्रुक्क पार्ने मान्छे
आज
सूक्ष्म भाइरसको सिकार भएको छ
पलभरमै ब्रह्माण्ड ध्वस्त पार्ने
हवाला दिने मान्छे
आज आफ्नै जिन्दगीमा
त्रासको अणुवम फिट गरेर
आफै पराजित भएको
महसुस गर्दै छ

जीवन सरल बनाउन
आविष्कार गरिएको विज्ञान
दुनियाँ जित्ने महत्वाकांक्षामा गरिएको
‘अङ्क गणितीय’ विज्ञानको विकास
आज मान्छे कै लागि
कठिन भएको छ
असहज भएको छ
अभिषाप भएको छ

हिजोको मानव महत्वाकांक्षाले नै
आज मान्छेलाई चितामा राखेर
ङिच्च हाँसिरहेको छ
मान्छे स्वयं आफैसँगको पराजितमा

यतिबेला कक्षाकोठामा
‘विज्ञान अभिषाप कि वरदान’ शीर्षकमा
पक्षमा तर्क दिनेहरूलाई
भन्न मन लागेको छ
तिम्रो विज्ञानलाई ‘वरदान’ प्रमाणित गर
खोइ तिम्रो विज्ञान
वरदान बन्न सकेको ?
तिम्रो वरदानझ तर्कलाई त
कोरोनाले
कति सजिलै खण्डन गरिदियो
विश्व नै हल्लाउने गरी

थाहा छ , तिमीलाई
यो भाइरस
भाइरस मात्र होइन
कुनै द्रोणाचार्य
संसार जित्ने सारथिका रूपमा
समृद्ध बनाएको अर्जुन हो
तर, आज
आफ्नै अर्जुनसँग
भयभित, त्रसित भएर
द्रोणाचार्य गुमनाम छ
सायद,
कुनै क्वारेन्टाइनमा
कुनै आइसोलेसनमा
गुमनाम गुमनाम छ
द्रोणाचार्य गुमनाम छ ।