calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

कोरोनावाट जोगिन बुढी आमाको सुझाव, : ‘बाँच्यौं भने काम गर्दै गरौंला’

मेरो नाम शिबा रेउले । म अहिले ७३ बर्ष पुगेकी छुं । मेरो घर अहिले घोराही उपमहानगरपालिका १५ भरतपुरमा पर्छ । हाम्रो पुरानो घर रोल्पा डुब्रीङ भन्ने ठाउँमा पर्छ । रोल्पामा रहँदा, बस्दा काम कत्ती हो कत्ती ! बसेर खान कहाँ पाइन्थ्यो र ? एकछिन फुर्सद नै हुँदैन थियो । ग्वाला जानू घाँस काटनु, लालाबाला स्याहार्नु खेतिबारी गर्नु । यसैगरी दैनिकि बित्ने गथ्र्यो ।

त्यो समय छोरी मान्छेलाई पढाउन हुदैन भन्ने थियोे । त्यही भएर मलाई बा आमाले पढाएनन् । आँखा त देख्छु, तर संसार देख्ने आँखा भने पाइन ।

मेरो बिहे १७ बर्षको उमेरमा पाइला टेक्दै गर्दा डुब्रीङमै भएको हो । महिलाको काम भनेकै घरब्यवहार सम्हाल्नु त थियोे ! त्यो समय स्वास्थको नि खासै चेतना थिएन । त्यही भएर मैले बर्सौदे ९ वटा छोराछोरी जन्माएको हुँ, तर अहिले जिबित मेरा ४ भाइ छोराहरु छन् । सबै छोराहरु आफ्नै काममा छन् । म चाहिँ साइलो छोरासङ्ग भरतपुरमा बस्छु अरु छोराहरु दाङ मजगाउ मै बस्छन् । मसङ्ग बस्ने छोरा चाहिँ साउदीमा कमाउन गएको छ । रोल्पामा बस्दा हामीहरु लेक लाग्छ भनेर केही समय दाङ झर्थ्यौ लालाबाला सहित । अनि दाङ केहि समय बसेपछि मानपुर बिजौरीमा ठूलो बजार थियोे त्यहीबाट सामान किनेर घर रोल्पा फर्किन्थ्यौ ।

चुरा टिकि, धोती घरमा आबश्यक अन्य मरमसालाहरु सबै किनेर बान्दा टाउको भरीको कुम्लो बन्न पुग्थ्यो । त्यो पनि मात्रै २० रुप्पेमा लगेको मलाई याद छ । आजभोली त कठै २० रुप्पे त पैसा नै होइन भन्छन्, नातिहरुले पनि । फेरि सामान नि केही नै आउदैन । जमाना धेरै फरक भएको छ । हामीले त्यो बेला गाईभैसी पाले पनि दूध खासै बिक्दैनथ्यो । घरै खान ठिक्क । तर कहिलेकाही घ्यु बेच्दा ३ मोहरको १ सेयर बेचेको याद छ । दूध ५०पैसा माना थियोे तर आजभोली हरेक कुराले आकाश छोएको छ । महँगो कत्ती हो कत्ती ! साच्चिकै पैसाको मूल्य बढेको कि सामानको जस्तो लाग्छ ।

त्यो बेला त हामीले सरसफाई गर्नका लागि माटो, खलिले नुहाउने गथ्र्यौं । कपडा त खरानिमा धुने, त्यो पनि पानीमा उमाल्नुपर्थ्यो । त्यसरी सफा गर्दा नि चक्क हुन्थे, बास आउने पो हुन्थे त । तर अहिले कपडा धुनलाई साबुन, सर्फ अझ मसिनको प्रयोग हुन्छ । समयसङ्गै चल्नुपर्ने रहेछ ।
समय धेरै बदलिसक्यो, बदलिएकै समयले होला मान्छेहरु अत्ति ब्यस्त भएका । कसैलाई कसैसङ्ग बोल्नसम्म फुर्सद थिएन तर अहिले ठ्याक्कै प्रकृतिले कस्तो उपहार दिइन् त ! कोरोना पो आयो भन्छन् ! सबैजना घरमै ठप्प । यसले परिवारलाई सङ्गै बस्ने, दुख, सुख बुझ्ने गज्जवको मौका त दिएको छ, तर भयाबह र डरलाग्दो पनि रहेछ ।

मलाई ठ्याक्कै समय मिति त याद छैन, तर अझै नि बालापनमा आएको भुकम्पको याद चाहिँ छ । हामिहरु खेलिरहेका थियौ, त्यसपछि जमिनै थर्काउने गरि ठुलै भुइचालो गएको हो । पछी फेरि २०७२ सालमा पनि गयो । भुकम्प आयो, गयो । लानेलाई लग्यो, बाँच्नेहरु त बाँचे, तर कोरोनाले सबैलाई तर्साएको छ । विश्वलाई नै कायल पार्नेगरी आएको यो कोरोनाको लागि बाँच्ने उपाय भनेकै घरमा बस्नु हो भन्छन् । हुन त छोरा परदेशमा छ, राम्रोसङ्ग बस्या छुँ भन्छ । जे भए पनि मान्छेले सहनैपर्छ यो बिपतको समय नि धेरै समय टिक्दैन होला, समय त घर्कीहाल्छ नी ! हिजो जस्तो आज कहाँ छ र ? भोलि पक्कै नि अझ राम्रो हुनेछ । हामी सुरक्षित बाँचौ अनि बसौं भन्न चाहन्छु ।

हिजोका दिनमा भन्दा आजभोलि धेरै कुरामा विकाससङ्गै परिवर्तन भएको छ नि, तर प्राकृतिक समस्या आइपर्दा मै हुँ भन्ने पनि कसैको केहि डिंगै नचल्ने हुँदोरहेछ । त्यही भएर यो कोरोना शान्त नहुँदासम्म आनन्द सङ्ग घरपरिवारमा बसौं । हामी जस्ता बुढावुढिको कुरा नि सुन्देउ, हामीलाई नातिनातिनीहरुसङ्ग समय बिताउन आनन्द छ । आफु बाँच्यौं भने पछि काम गर्दै गरौला !

प्रस्तुती : पार्वती बस्नेत