प्रेरक कथा : क्वारेन्टाइनमा नबस्दा
महेश्वरप्रसाद पौडेल
विदेशबाट नेपाल फर्केपछि कतिछिटो घरपरिवार आफन्त साथिभाइ भेटुला भन्ने हतार थियो मलाई । एअरपोर्टमा मेरो ज्वरो जाँचियो सामान्य थियोे ,कोरोना भाइरस प्रभावित देशबाट आएको हुनाले मलाई १४ दिन सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने कि घरमै छुट्टै सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भनियो । मैले म आफै सेल्फ क्वारेन्टाइनमै बस्छु भनी विश्वास दिलाए र मलाई छाडियो ।
रात परिसकेकाले म होटेलमा गएर बसे भोलिपल्ट बिहानै टिकट काउन्टरमा गई टिकट लिइ घरमा पुगे । घरमा बाआमा, श्रीमती छोराछोरी दाजुभाइ, दिदिबहिनी साथिभाइ इस्टमत्रि गाँउघरका सबैलाई भेट्दै गएं । केही कोसेलीहरु बाँडे, हात मिलाए, अँगालो मारे । सङ्गै बसेर खाए। लेखाजोखा केही भएन ४ दिनपछि मलाई रुघाखोकी लाग्यो । हल्का ज्वरो आयो हस्पिटल गए । चेक गरे कोरोना भाइरस पोजेटिभ देखियो र हस्पिटल भर्ना भए ।
मृत्युसंग लड्दै बडो संघर्ष गर्दै मृत्युलाई जितेर हस्पिटलबाट डिस्चार्ज भएर घरमा पुग्दा सुनसान थियो । घरका झ्याल ढोकाहरु सबै खुलै थिए । मैले बाआमा, श्रीमती, छोराछोरी सबैलाई बोलाए कतैबाट कसैको आवाज आएन । कता कता मन झनै चिसो भएर आयो । हत्तपत्त यताउता हेरे । गोठमा दाम्लोमै मरिरहेका बस्तुभाऊ देखें । खोरमा मरिसकेको कुखुराहरुलाई देखे । केही अलि बलिया बस्तुभाऊहरु दाम्लो चुडालेर खेतबारीमा चरिरहेको देखें । आफूसंग भएको नम्बर जति सबैमा फोन लगाए । कतै पनि फोन लागेन अब यस्तो लाग्यो कि यो संसारमा म एक्लै छु । बल्लतल्ल एकजना भाइको फोन नम्बरमा फोन लाग्यो । उ दूरिको हिसाबले धेरै टाढा थियो, जसलाई मैले बिदेशबाट आएर भेट्नै पाएको थिएन । उसले मेरो बोली सुन्नै बित्तिकै आत्तिएर खुसि हुँदै भन्यो, ‘हजुरलाई सन्चो भयो ?’ यत्तिकैमा उ डाँको छोडेर रुन थाल्यो मैले ‘के भयो भाइ ?’ भन्दै हजार पटक ‘के भयो भाइ ?’ भन्दैगर्दा बल्लतल्ल उसले भन्यो, ‘यो सबैको जिम्मेवार हजुरनै हो, हजुरले विदेशबाट आएपछि सबैलाई भेट्नु भयो कसेली बाँड्नु भयो । हजुरले त कोरोना भाइरसलाई जित्नु भयो तर घरपरिवार समाजमा भएका आफन्त इस्टमित्रहरु सबैले हार्नु भयो र यो संसार छाडेर जानू भयो । मान्छेहरु सबै कोरोना भाइरस रोगले सिद्दिए । मान्छे नभएपछि गाइबस्तुभाउ खान नपाएर सिद्दिए ।’
उसको कुरा सुनेर मेरो हातबाट मोबाइल भुईमै झर्यो । मैले टेकेको जमिन भासियो आकाश खस्यो र मलाई च्याप्यो । केही समयपछि बिउँझेको तल खोलाको बगरमा स्काभेटरले ठूलो खाडल बनाई सुरक्षाकर्मीहरुले लामो लामो लठ्ठीहरुले घोचेर मान्छेहरुलाई खाडलमा हालिरहेको देखें । अचानक ती मरेका मान्छेहरु मेरो वरिपरि घुम्न थाले र भन्न थाले,-‘विदेशबाट कोरोना भाइरस रोग ल्याएर हामी सबैलाई मारिस अब तँ बाच्नुको कुनै औचित्य छैन । तैले विदेशबाट आएपछि १४ दिन सरकारि क्वारेन्टाइनमा बसेको भए आज हाम्रो यो हालत हुने थिएन । तँ अपराधी होस, तँ हामी सबैको हत्यारा होस, तँ पनि यश खाडलमै पुरिनु पर्छ ।’ यती भन्दै उनीहरुले मलाई च्याप समातेर खाडलमा फाले र पुरे ।
म निसासिएर हसङफसङ गर्दै बिउँझेको शरीर भरि पसिनाले भिजेको रहेछ । होटलको कोठामै रहेछु । यो कस्तो सपना देखे ? यदि मैले सरकारको आँखा छलेर गए भने त सर्वनास हुने रहेछ भनी १४ दिन नै सरकारि क्वारेन्टाइनमै बसि पूर्ण रुपमा सुरक्षित भई घर जाने निधो गरे ।
काठमाडौं ।
