Goraksha

National Daily

नेपाल कस्तो देश ?

युवराज शर्मा

अमेरिकामा आँधी आउँदा
नेपालमा रुख ढल्छ
जापानमा भूइँचालो जाँदा
नेपालमा घर ढल्छ
नेपालमा घनघोर वर्षा हुँदा
नेपालीका घरखेत बग्छ
युरोपमा पात हल्लिँदा
नेपालमा भूइँचालो जान्छ ।।
अष्ट्रेलियामा भेडा कराउँदा
नेपालको राजनीति बदलिन्छ ।।

नेपालमा जलस्रोतको भण्डार भए पनि खाद्य उत्पादन घटिरहेको छ । परनिर्भरता खाद्यमा हुनुपरेको अवस्था छ । नेपाली युवायुवती रोजगार नपाएर भिजिट भिसामा परदेशी बनेका छन् । विदेशी टुरिस्टहरुको नजरमा नेपाली धेरै धनीमानी देखिन्छन् । विशाल भवनहरु, महँगा गाडीहरु, रहनसहन, विलाशी जीवनशैली भए पनि सुकुम्बासी भएर थापाथलीको बगरमा रमाउन पाएका छन् । उनीहरुलाई दलको नेताले संरक्षण दिएको छ । तर काठमाडौं महानगरपालिकाले सुकुमबासीलाई हटाएर हराभरा पार्कहरु बनाउने योजना अगाडि सारेको छ ।

तर २०४६ सालदेखि काठमाडांै सहरलाई नरकमा परिणत गर्ने सुकुमबासी नभएर हुकुमबासीहरु हुन् । उनीहरुले पार्टीगत मुकुण्डो लगाएका अपराधीहरुको थलो बनेको छ थापाथली सुकुम्बासी । पहाडबाट जमिन बेचेर तराई झरेका व्यक्तिहरु भए सुकुम्बासी । तस्कर, डन, दलाल र अपराधी गिरोहहरुको समूह बनेका छन्, सुकुम्बासी । जिल्ला–जिल्ला, गाउँ–गाउँ र बस्ती–बस्तीमा सरकारी व्यक्ति, गुठी र वन किनाराका जग्गामा बसेका छन्, सुकुम्बासी ।

धेरै सस्तो शब्द बन्यो, नेपालमा सुकुम्बासी । सिधासादा जनतालाई भेँडा बनाउने नेताहरुको राजनीति नै कमाइ खाने आधार भएको छ । यस्तो परिस्थितिमा निर्वाचन पनि लोकतन्त्रात्मक गणतन्त्रको शासन प्रणाली अन्तर्गत भएन । जसको शक्ति उसको भक्तिमा सकियो । यस निर्वाचनले कसैलाई बहुमतको दल बनाएन । विगत ५ वर्षसम्म विकास र समृद्धि हेर्दा नेताहरुको भरणपोषणमा समय बित्यो । जनताले निराशा पाए । नेपाल कस्तो देश ? भनी प्रश्न गर्दा खाद्य समस्या भोग्ने देश र खाद्यमा परनिर्भरताको देश भन्छन् ।

नेपालको एक मात्र आर्थिक विकास गरेर पनि जनता समृद्ध बन्नसक्ने क्षेत्र कृषि व्यवसाय हो । यसलाई विकास गर्न बजार व्यवस्था र उत्पादनमा वृद्धि गर्नु पर्दछ । वर्तमान समयमा नेपालीको भान्सामा पाक्ने सजिलो तरकारी सिन्की हो । त्यो पनि आयात चीन देशबाट हुन्छ । हिन्दूहरुको धरै जनसंख्या भए पनि उनीहरुको धर्मधागोका रुपमा प्रयोग गर्ने जनै पनि चीनबाट आयात हुन्छ । आफ्ना उद्योग व्यवसायहरु बन्द गरेर हरेक वस्तुहरुको आयात गर्ने देश नेपाल भयो । २०४६ सालदेखिको राजनीतिले नेपालीलाई ज्ञान दिएर सीपको विकास गराएनन्, ठगी खाने भाँडोका रुपमा राजनीतिलाई नेतृत्ववर्गले देखाए ।

त्यसैको उपज नै सुकुमबासी समस्या बन्यो । काठमाडौंलगायत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुमा हुकुमबासीहरु नै सुकुमबासी बनेका छन् । सरकारी जग्गामा जमिन पनि विक्री वितरण गरेका छन् । त्यस्ता व्यक्तिहरु राजनीतिक संरक्षणमा छन् । कुनै पनि राजनीतिक दलले यो समस्याको समाधान गर्न चाहन्न, किनकि उनीहरु निर्वाचनका भोटबैंक हुन् । मतदानका समयमा प्रयोग गर्ने प्रयोगकर्ता नै सुकुमबासीहरु हुन् । त्यसैले होला एमाले दलका नेता केपी ओलीले काठमाडौंका मेयर बालेन शाहलाई सुकुमबासी टोलमा डोजर भनेका थिए । उनको यो व्यङ्ग्यलाई कडा जवाफ दिएका छन् । उनको दलको भ्रातृ संगठनले खुकुरी प्रदर्शन गरेर अपराधीहरुको कस्ती भएको झलक दियो । नेपालमा राजनीति गर्ने बुढाहरुले युवाहरुलाई जिस्क्याउनु बहुलद्दीपनको राजनीति हो । धीरवान बन्नुपर्छ ।

नेपाललाई विदेशीहरुले प्राकृतिक सुन्दरता, जलस्रोत पर्याप्त भएको र उच्च हिमशृंखलाको देश सम्झन्छन् । गणतन्त्रवादीहरुल्े कमाइ खने पालो हामी राजनीतिज्ञहरुको थलो ठान्छन् । त्यसैले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ मंसिर ४ गते भयो । कुनै पनि दलको बहुमत आएन ।जनतामा निराशा, वितृष्णा, घृणाजस्ता भावनाहरु देखिए । मतदानमा पनि जनसहभागिता राम्रो देखिएन । जसलाई कुर्सीमा बसाले पनि जनताको भलो भएन भन्नेहरु मात्र भए ।

विजेताहरुलाई हेर्दा ठेकेदार, व्यापारी, अपराधी कार्यमा सजाय पाएका व्यक्तिहरु नै निर्वाचित भए । ठेकेदारले समयमा काम गर्दैन, व्यापारीले खाद्य र उपभोग्य सामानहरुमा मूल्य वृद्धि गर्न पाए र अपराधी गतिविधिमा भएकाहरुले आपराधिक व्यक्तिहरुलाई संरक्षण दिन सक्ने वातावरण बन्ने भयो । ऐन, नियम बनाउने विधायकहरु यस्ता प्रकृतिका भएपछि कानुन बनाउने स्थानमा ालाकोटेहरुको हालीमुहाली हुने नै भयो । सांसदहरु प्रतिशोध गर्नेहरुको वर्चस्व भएको देशमा अन्तरकलह मात्र जनताले ५ वर्षमा देखे ।

अबका दिनहरुमा खबरदारी गर्न युवाहरुको जमात सांसद भएका छन् । उनीहरुप्रति जनता आकर्षित छन् । उनका देखिएको जोश र जाँगरले परिवर्तनको अनुभूति देलाजस्तो आभास जनमानसमा छ । नेपाल कस्तो देश भन्दै पर्यटक नेपाल हेर्न आउँछन् । उनीहरुले देख्ने प्रकृति र नदीनालाहरु मात्र भए । संसारमा बहादुर नेपालीको अवस्था चकनाचुर भयो । तर नेताहरुले परिवर्तन ग¥यौँ भन्छन्, आफ्नै अवस्थाको परिवर्तन भएको छ । यस पटकको निर्वाचनमा जनमत धेरैले गुमाए र जमानत जफत भएको पाइयो । आफ्नो व्यक्तित्व आफै गुमाए । यस्ता व्यक्तिहरुबाट जनताले के आशा गर्ने ? जनताको आशा र भरोसा सबै गुमाएका व्यक्तिहरुको कार्यलाई जनताले सम्झने छैनन् । अबको नेपाल विकास र समृद्धितर्फ लम्कने काम सांसदहरुले गर्नुपर्ने छ ।

नेपालीको आयस्तर धेरै कमजोर छ भने नेताहरुको आयस्रोत अकल्पनीय अवस्थामा छ । खेती गरेर वर्ष दिन खाद्य समस्यालाई टार्न नसक्नेहरु विदेशिन बाध्य छन् । कोही समुद्र पार खाडी मुलुकहरुमा रोजगारका लागि गएका छन् तर धेैजसो भारतीय सहरबजारमा रोजगारका लागि गन्तव्य स्थल बनाएका छन् । जहाँ गए पनि रोजगारी गरेर धनपैसा जुटाउँछन् । त्यो धनपैसा भारतमा खाद्य किन्ने गर्दा र उपभोग्य सामान किन्नुपर्दा भुक्तानीमा जताबाट ल्याएको हो त्यतैतिर जान्छ । यसले के देखायो भने जनता गरिब छन् ।

नेताहरु सुखी सम्पन्न छन् । उनीहरुले देशभित्र उद्योग, कलकारखानालाई मास्दै आएका छन् । युवाहरुविदेशी मुलुकमा र बुढाहरु सत्तामा भएकाले नेपाल पछि परेको छ । नेपाललाई कस्तो देश भनी अध्ययन गर्दा विदेशमा मजदुर पठाउने देश भन्छन् । यहाँ म्यानपावर कम्पनी खडा गरेर लुटको वातावरण बनाइयो । यसले नेपालको विकास नभएर विनाश गरायो । शिक्षा र स्वास्थ्य नेताहरुले ठगी खाने आधार बने ।

कृषि व्यवसाय पनि आफ्ना मान्छेलाई नेताहरुले कृषि अनुदान बाँड्ने भयो । भ्रष्टाचार, अनियमितता, पदीय दुरुपयोग, व्यापारीकरण र आपराधिक क्रियाकलाप हुने देश भयो । जनताका आँसु बग्दै गए ।नेताहरु हाँस्दै बसी खाने भए । नेपालको झल्को विदेशमा ठगहरु बस्ने देश बन्यो । आस्था, विश्वास, ममता एकआपसमा हराउँदै गए । नेपाल कस्तो देश भयो ? हल्लै हल्लाको देश भनियो ।