लैंगिक हिंसा विरूद्धको अभियान, खोइ स्वास्थ्यमा बहस ?

  •   
  •  

खेमराज रिजाल
दाङ, २३ मंसिर । झिनो प्रतिनिधिमूलक सहभागितामा ठूलो सभाहलमा ठूला ‘इस्यु’ उठिरहेका थिए । सबैका ‘इस्यु’ आँखा स्वास्थ्यसँग जोडिएका थिए । त्यहीबीचमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको एउटा अभिव्यक्ति थियो, ‘सधैँ डोजर, लोडर, ढुङ्गा, गिट्टी बालुवा, हामीले स्वास्थ्यमा समृद्धि पाउने होइन र ?, त्यतातर्फ पनि हामी गम्भीर बनौँ ।’

नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पताल तुलसीपुरले विहीवार घोराहीमा आयोजना गरेको लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व विषयक समीक्षात्मक बैठकमा घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले दिएको अभिव्यक्ति हो, यो । उनले कार्यक्रममा भौतिक विकास सँगसँगै मानव विकासलाई पनि सँगसँगै लगे मात्र मुलुकले समग्र विकास र आर्थिक समृद्धि हासिल गर्नसक्ने पनि बताइन् ।

तर, अहिले समग्र जिल्ला ढुङ्गा, गिट्टी, बालुवाको व्यवस्थापनको तनावमा छ । मानव स्वास्थ्य, मानव सभ्यता, सुशासन, पारदर्शीतालगायतका विषय न्यून प्राथमिकतामा छन् अर्थात् ओझेलमा परेका छन् । हरेक पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत अधिकांश कर्मचारीलाई समेत नदीजन्य पदार्थको व्यवस्थापनको चटारोले दिनरात सोचनीय बनाएको छ । अरू विषयमा बहस, छलफल र पैरवी गर्ने फुर्सद स्थानीय सरकारलाई छैन ।

आफूहरूले लैङ्गिक हिंसा विरूद्धको दिवस मनाइरहँदा छिमेकी जिल्लामा जीवनसाथीको टाउको काटेर झोलामा हाली आफै प्रहरीकोमा पुग्नेहरूका विषयमा पनि चर्चा गरिन् । नवजात शिशुलाई स्तनपान गराइरहँदा सासुले चुल्ठो समाएर घिसारेका प्रशङ्ग पनि उठाइन् । यसका लागि सबैभन्दा पहिले चेतनाको जागरण ल्याउनुपर्ने पनि उनको सुझाव थियो ।

खासमा राप्ती आँखा अस्पतालले अस्पतालमा आउने बिरामीमा पनि कहीँकतै लैङ्गिक हिंसा पीडितहरू पनि हुने भएकाले यही अभियानलाई जोडेर यो कार्यक्रमको आयोजना गरेको थियो । नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा अधिकारकर्मी राधा पौडेलले अन्य सरकारी अस्पतालमा जस्तै राप्ती आँखा अस्पतालमा पनि लैङ्गिक हिंसामा आधारीत एकद्वार प्रणाली इकाई स्थापना गरी हिंसा पीडितहरूको निःशुल्क उपचारको व्यवस्थापन गर्न अस्पताल व्यवस्थापनलाई सुझाव दिएकी थिइन् । अर्का महिला अधिकारकर्मी लक्ष्मी आचार्यको अभिव्यक्ति पनि त्यस्तै थियो । आचार्यले कम्तिमा पनि हिंसा पीडित महिलाहरूलाई निःशुल्क उपचार दिन र काउन्सिलिङ गर्नका लागि अस्पतालले एउटा भिन्न इकाई बनाउन सुझाव दिइन् ।

महिला सेवा केन्द्रका अध्यक्ष कमला देउजाको भने भिन्न अभिव्यक्ति थियो । राप्तीमा यति ठूलो आँखा अस्पताल हुँदा पनि आफूहरूलाई जलविन्दुको उपचार गर्न महँगो शुल्क खर्चेर राजधानी पुग्नु परेकाले यहीँ अस्पतालमै जलविन्दु उपचार सेवाको सुरुआत गर्न आग्रह गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका महिला सेल प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले लैङ्गिक हिंसा विरूद्धको सोह्रदिने अभियानलाई सचेतना अभियानसँग जोड्न आफ्नो टिम अहोरात्र खटिरहेको बताइन् ।

कार्यक्रमको सुरुमै आफ्नो प्रस्तुतीकरणमा राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले विश्व जनसंख्या कोषको तथ्याङ्कले महिलाहरूमा स्वास्थ्योपचार सेवाको पहुँच कम भएको देखाए पनि आफूहरूले सञ्चालन गरेको अस्पतालमा भने उपचार सेवा लिनेमा महिलाहरू नै बढी भएको तथ्याङ्क प्रस्तुत गरेका थिए । केही वर्षदेखि हिंसा पीडित महिलाहरूलाई पनि सूक्ष्म रूपमा अध्ययन र काउन्सिलिङ तथा सम्भव भएसम्म निःशुल्क उपचार प्रदान गर्दै गएपछि महिलाहरू पनि आँखा उपचारको सेवामा उल्लेख्य रूपमा सहभागिता जनाउँदै आएको बताएका थिए । साथै उनले हालसम्म राप्ती आँखा अस्पतालले ४ वटा विधामा सुपरस्पेशलिस्ट सेवा प्रदान गरेको भन्दै अर्को वर्ष सम्भवतः अर्को विशेषज्ञ सेवा थपिने पनि बताएका थिए ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले आगामी वर्षदेखि जलविन्दुको उपचार सेवा प्रवाह गर्नका लागि अस्पताल व्यवस्थापन लागिपरेको बताए । ‘धेरै उपकरणहरू थप गर्नुपर्ने तथा थप विशेषज्ञ राख्नुपर्ने अवस्था छ तर पनि हामी त्यसको व्यवस्थापनमा अहोरात्र खटिइरहेका छौँ’, खड्काले भने, ‘अर्को वर्ष हामीले राप्ती आँखा अस्पतालमा जलविन्दुको पनि उपचार सेवा थप्ने छौँ ।’

कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि चौधरीले राप्ती आँखा अस्पतालको स्तर वृद्धि र स्थानीय तथा प्रदेश सरकारको सहयोग जुटाउन आफूले व्यक्तिगत तथा संस्थागत रूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले लैङ्गिक हिंसाको निराकरणका लागि समान अवसर र सेवाको व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरिन् ।

‘समान अवसर र समान सहभागिता भएमा मात्रै लैङ्गिक हिंसाको अन्त्य हुनेछ, त्यसमा मैले सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरेकी छु’, प्रमुख अतिथि चौधरीले भनिन् । आर्थिक अभावमा उपचार गर्न नसकेका नागरिकलाई निःशुल्क उपचारका लागि सहयोग गर्न आफूले दशवटै पालिकालाई आग्रह गर्ने पनि प्रतिबद्धता जनाइन् । कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । शनिवार लैङ्गिक हिंसा विरूद्धको सोह्रदिने अभियानको समापन हुँदैछ ।