Goraksha

National Daily

थिति र बेथितिभित्रको राजनीतिक गतिशीलता

नारायणप्रसाद श्रेष्ठ
एकता र सद्भावको पर्याय भएर रहेको मानव जीवनको सहज गतिशीलता नै समाज विकासको मूल आधार मानिन्छ । जाति, धर्म, र संस्कृतिमा विविधता भएर पनि एकताको सूत्रमा बाँधिएर सहअस्तित्वको भाव जागृत गर्दै समाज र राष्ट्रिय विकासका लागि चिन्तन गर्ने समुदाय, अगुवा वास्तवमा राष्ट्रिय विकासका मूलआधार पनि रहेका हुन्छन् । आचरण र व्यवहारमा परिवक्वता ल्याइ समाज र राष्ट्र हाम्रो हो र हामी नै यसका कार्णाधार हौँ भनी लागिपर्ने नेतृत्व वास्तवमा नेपाल र नेपालीको भाग्य निर्माता पनि मानिन्छ ।

यति हुँदाहुँदै पनि मानवीय आचरणभित्र लुकेको लोभ, लालच, अहंकार र स्वार्थले मानव सोच र चिन्तन स्वार्थतर्फ आकर्षित गरेको धेरै उदारहण हाम्रो समाजमा विद्यमान रहेको अवस्था छ । जति जोगी आए पनि कानै चिरिएको भनी उखानै बनेको छ । वास्तवमा यो उखान जाति, धर्म र संस्कृतिसँग नभएर समाजमा देखापर्ने छद्मभेषी प्रवृत्तितर्फ संकेत गरेको पाइन्छ । काम कहिल्यै नगर्ने, गरे पनि आफ्नो निहित स्वार्थका लागि गर्ने, फेरि पटक–पटक गर्छु भन्न नछाड्नेप्रति यो उखानले व्यङ्ग्य गरेको देखिन्छ ।

नेपालको वर्तमान राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि नेताको रवैया अहिले पनि यस्तै प्रवृत्ति उन्मुख भइरहेको देखिन्छ । चिल्लो, मसिनो कुरा गरी जनताको आँखामा छारो हाल्ने प्रवृत्ति अहिले पनि निकै बढेको छ । जसले गर्दा रीति, थिति, संस्कृति र संस्कार अनुकूल सच्चा र इमानदार आचरण वर्तमानमा खोजीको विषय बनेको छ । यति मात्र होइन, धन, दौलत र हैकमवादी चिन्तनको कारण इमानदार, सक्षम र योग्य व्यक्ति पनि अहिले पाखा लाग्ने अवस्था देखिरहेको पाइन्छ ।निर्वाचनको माहोल जताततै छताछुल्ल भइरहेको यस समय स्थानीय बुद्धिजीवीहरुसमेत विगत, वर्तमान र भविष्यको आँकलन गर्दैछन् । जति जोगी आए पनि कानै चिरेका त होलान् भनी नेताको मूल्यांकन गर्दैछन् । वास्तवमा के यो सत्य हो ? नेपालमा के योग्य व्यक्ति छैनन् ? के राजनीति सौदावाजीमा अगाडि बढेको छ ?

राणा शासनको इतिश्री भइसकेपछि राज्य सञ्चालन प्रक्रियामा देखिएको बेथितिलाई अन्त्य गर्न जनताले जुन धीरता, साहस र शक्ति नेतालाई दिए, सार्वभौम जनताको सरकार आए देशले के–के न परिवर्तन पाउँछ, नेपाल साच्चिकै स्वर्ग बन्छ भनेर जसरी आशा र भरोसा तथा विश्वास गरेका थिए, गणतन्त्र स्थापनापछि जनआवाजको कदर भइ उनका कथा र व्यथाले प्रश्रय पाउँछन् भनी जुन उत्साह र उमंग नेपाली जनमानसमा बढेको थियो, वास्तवमा बहुदलीय शासन पद्धति हुँदै गणतन्त्रात्मक शासन व्यवस्था आएको यति लामो समय व्यतित हुँदा पनि जनता सार्वभौम हुन नसकेको अवस्था किन ?

निर्वाचन प्रणाली संस्थागत हुँदा पनि जनताले यसको खासै अनुभूति गर्न पाएका छैनन् । अहिले नेतृत्ववर्गले राजनीतिक यात्रा निकै लामो हुन्छ, छोटो समयमा केही गर्न सकिँदैन । यो त विस्तारै हुँदै जाने हो भनी जसरी आफूलाई पानीमाथि ओभानो बनाई झुठको खेती गर्न लागिरहेका छन्, संविधान मूल कानुन निर्माण भइ राज्यले गति लिँदासम्म पनि कानुनी राज्यको अवधारणा विकास हुन सकेको छैन, कुर्सी प्राप्तिको दौडधुप बाहेक अरु केही नदेखिनु जनतामा राजनीतिक निराशा बढ्नु होइन र ? नेताले कुर्सी नपाउँदाको अवस्था र कुर्सी पाउँदाको अवस्था हेर्दा हिजो एक शासक थिए, रातो कार्पेटले एउटालाई स्वागत गरिन्थ्यो भने अब त धेरै शासक बने र धेरैले अवसर पाएको देखिन्छ ।

यदि यसरी नै शासक बढ्दै जाने हो भने भोलि यिनीहरुले नै आफूलाई प्राप्त भएको अधिकार र सुविधा आजीवन आफूले मात्र पाउने गरी राज्य दोहन नगर्लान् भन्ने आधार कमजोर देखिँदै छ । किनकि नेता–नेता मिलेर हिजो जेजस्तो राजनीतिक दाउपेच देखियो, संविधानपछिको शासन सत्तामा जे–जति राजनीतिक उतारचढाव भए नातावाद, कृपावाद तथा स्वार्थ र अवसरवादले जसरी प्रश्रय पायो, यदि त्यस्तै रवैया फेरि दोहोरिए राष्ट्रको राजनीतिक गतिशीलता कता पुग्ने हो ? संस्कृति र संस्कारलाई बङ्ग्याउँदै राष्ट्रिय पहिचान बनेको हिन्दु राज्यले परिचित नेपाल र नेपाली अस्तित्वमाथि खेलवाड गरी धर्मनिरपेक्षको नाममा खुलेआम अन्य धर्मको प्रचार गरेर सनातन सत्यलाई हटाउने जुन राजनीतिक चालबाजी गरियो, यो कतै विदेशी इसारामा राष्ट्रिय स्वाभिमानलाई बन्धक बनाउने चरित्र त होइन ? यसले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाउने खोजेको देखिन्छ ।

संस्कृति र संस्कारमाथि जसरी आक्रमण भइरहेको छ, देशको समृद्धिको नाममा राज्य नीतिमा जेजस्ता बेथिति देखिएका छन्, त्यसले जनताको प्रजातन्त्रप्रति वितृष्णा बढ्ने त होइन ? जनताको मनमा द्विविधा उत्पन्न गरी वर्षामा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भनेझैँ एउटै कुरालाई बारम्बार दोहो¥याउँदै योग्य र युवा जमातलाई विदेश पलायन गराइ आफैले एकलौटी शासन चलाउने जुन कार्य नेतृत्ववर्गबाट भइरहेको छ, यसले नेपाली मनमा चीसो बढाउला कि नबढाउला ? राजनीतिक परिदृश्यले एकातिर जनमानसमा निराशा देखाएको छ भने अर्कोतर्फ कमिशन र भ्रष्टाचारको जालोले निर्माण कार्यहरु अस्त–व्यस्त भएको पाइन्छ ।

हुँदा–हुँदा जनताले माग नगरेको स्थानमा नेताले आफ्नो निहित स्वार्थका लागि पुलपुलेसाजस्ता योजना बनाइरहेको पनि देखिन्छ । यति हुँदाहुँदै पनि नेताहरु अझै भनिरहेका छन्, हामी त जनताका प्रतिनिधि हौँ, हामी उनै जनताका खातिर काम गर्दैछौँ । वास्तवमा यो कस्ता विडम्बना हो ? राजधानीलगायत देशका विभिन्न स्थानलाई हेर्ने हो भने यहाँ नीतिकार त धेरै जन्मिए तर कसैमा नैतिकता आएन । यदि नैतिकता भएको भए जनप्रतिनिधिले यस्तो बेथितिको प्रवृत्ति अपनाउने थिएनन् । ठूला–ठूला होटलमा खाना र दानामा लुछाचुँडी गर्ने थिएनन् । प्रशासनिक दाउँपेचमा नेताहरु छिनाझप्टी गर्ने थिएनन् ।

आवश्यक कानुन र नीतिनियम बनाउनु भन्दा अनावश्यक कुरातर्फ पद, प्रतिष्ठा प्राप्तिभित्र नै रुमलिने थिएनन् । यो विडम्बना मान्नुपर्छ । फेरि नियम कानुनको अवरोध भनी घरआँगन अगाडिको फोहरको डंगुर हटाउन कानुनको खोजी गरिँदैनथ्यो । फोहरमाथि राजनीति गरी असल नियतले अगाडि बढेको नेतामाथि हिलो छ्याप्ने काम गरिँदैनथ्यो । पञ्चशीलमा आधारित परराष्ट्र नीति समेत कमजोर गराउनमा कसको बढी जिम्मेवारी हो ? यो अहिले जताततै प्रश्न उठिरहेको छ । नेताहरुको मुठीमा प्रशासनिक संयन्त्र जोडिनु वास्तवमा राष्ट्रियता कमजोर गराइ विदेशीलाई खेल्ने अवसर दिनु हो ।

अहिले राजनीतिज्ञहरु त आफ्नै स्वार्थमा अल्मलिएका छन् भने उनकै नीति निर्देशनमा बाँच्न सिकेका प्रशासकहरु पनि निहित स्वार्थतर्फ लागिरहेको देखिन्छ । राष्ट्र र राष्ट्रियताप्रति कसैको चासो छैन । अहिले जनता भनिरहेका छन्, के हामीलाई यही भनेर यो शासन पद्धतिका लागि मरिमेटेका हौँ ? सदन नीति निर्माणभन्दा वर्गस्वार्थतर्फ आकर्षित हुनु भनेको प्रजातन्त्रप्रति गम्भीर प्रश्न उठ्नु हो । के नेता सक्षम नभएका कारण यस्तो भएको हो त ? थिति र बेथिति बनाउन को बढी जिम्मेवार ?

भाइ फुटे गवाँर लुटे भन्ने उखान त्यसै आएको होइन । नेपालको राजनीतिक भविष्य पनि यसैको सेरोफेरोमा अघि बढेको छ । त्यो होइन म मात्रै योग्य भनी राष्ट्रिय राजनीतिमा बेथिति बढाइ आफ्नो शक्ति बढाउन खोज्नु यो कुन चाल हो ? वास्तवमा यसले कस्तो परिस्थिति निम्त्याउने हो ? एउटै थालमा भात खाएका भाइ–भाइबीच खाना, नाता छुट्याउने जुन सामाजिक कुरीति समाजमा देखिँदै छ, वास्तवमा यो राजनीतिक अगुवाको गलत चिन्तनले ल्याएको परिणाम होइन र ?

तसर्थ, राष्ट्रले खोजेको, जनताले रोजेको, राजनीतिक संस्कारको विकासमा अहिले सबैको चासो बढ्नुपरेको छ । समय आइरहेछ, अहिले प्रत्येक नेपाली चनाखो भएर आफूलाई असल संस्कृति र संस्कारी बनाउन जरुरी छ । आफूलाई आफ्नो अस्तित्वको लागि आफ्ना प्रतिनिधि छान्दा कोही कसैको मोलमोलाइचामा नफसी निर्धक्क भइ आफ्नो विचार संप्रेषण गर्नुपरेको छ । बिग्रँदै जान थालेको राजनीतिक गतिशीलतालाई सही र स्पष्ट दिसानिर्देशन हुने गरी नेतृत्व छनोट गरौँ । यो वर्तमानले हामीलाई मौका दिएको छ ।