सधैँ कर्ममा विश्वास गर्ने लगनशील, मिजासिला, हँसिलो मुहार र खुसीका साथ देखिने उनलाई मैले फोनमा कुरा गर्दागर्दै उनी मभएको ठाउँमा आइपुगेँ । नेत्रअधिकृत शालिकराम गौतमलाई मैले भन्दै थिएँ– ‘तपाईँका खुसीहरू सम्झनुहोस् ।’
उनले भने– ‘म सधैँ खुसी रहने मान्छे, मेरो खुसी नै सेवा हो, भन्नुहोस् के सेवा गरु ?’ शालिकरामका खुसी खोतल्दै जाँदा उनले आप्mनो पहिलो खुसी लीलावती बज्यैले संसार देख्दा लागेको सुनाए । वि.सं २०५८ सालको कुरा हो गते र दिन मलाई अलि याद भएन, तुलसीपुर–१० की लीलावती गिरीको घरमा पुगेँ । म त्यतिबेला एनएविपीमार्फत नेत्रहीन पुनःस्थापना कार्यक्रमअन्तर्गत फिल्डवर्करको रूपमा काम गर्थेँ ।
राप्ती आँखा अस्पतालबाट म सर्वेक्षणको लागि त्यहाँ पुग्दा उहाँको दुवै आँखा मोतियाविन्दुका कारण बन्द भएको रहेछ । उहाँको परिवारले नजिकै आँखा अस्पताल भए पनि उपचारको लागि ल्याउनुभएको रहेनछ । उहाँलाई धेरै काउन्सिलिङ गरेर अस्पताल पु¥याएँ र उहाँको अप्रेशन पनि सफल भयो । उहाँले त्यसको भोलिपल्ट मैले सबै देखेँ, संसार देखाइदिनुभयो भन्दै मलाई अँगालो मार्दा जीवनकै पहिलो खुसी महसुस भएको थियो । उनी खुसी हुँदा मलाई पनि निकै खुसी लागेको थियो । किनभने मेरो सानो सहयोगले उनले संसार देख्न पाइन र अन्धकारमा बितेको उनको जीवन उज्यालोमा परिणत भयो ।
गौतमले अर्को खुसी राप्ती आँखा अस्पतालले नेत्रसहायक पढ्न लागेको सुनाए । मलाई दोस्रो खुसी प्राप्त त्यतिबेला पनि साच्चिकै भएको थियो, गाउँको एउटा सामान्य परिवारमा जन्मिएको मान्छे, फिल्डवर्करको रूपमा काम गरेको व्यक्तिलाई विश्वास गरेर पढ्न पठाउँदा मलाई त्यस दिन असाध्यै खुसी लागेको थियो । किनकि म पनि अब दक्ष प्राविधिक हुने भएँ भनेर मलाई रातभरि निद्रा नै लागेन । खुसीले गर्दा अब कसरी पढ्ने, पढ्न जाने भयो, प्राविधिक लाइनमा पढ्दा अब मेरो जीवन केही परिवर्तन हुन्छ, अब म पनि प्राविधिक तर्फको शिक्षा लिन पाउने भएँ भनेर म निकै खुसी भएको थिएँ ।
वि.स. २०६१ सालमा म नेत्रसहायक पढ्न सुरु गरेँ र मैले त्यस विषय अध्ययन गर्न पाउँदा निकै खुसी लाग्यो । यसैगरी नेत्र सहकायक पढेर पास गर्दाको दिन पनि अर्को खुसी प्राप्त भएको सुनाए । ‘अब जीवनको एउटा बसन्त पार भयो, म पनि अब आफनो खुट्टामा उभिन पाउने भएँ, अब केही गर्नुपर्छ भनेर मैले मनमा धेरै सोचेँ, त्यसपछि नेत्रसहायकको सर्टिफिकेट हातमा पारेर फर्र्किएँ, त्यस पललाई पनि मैले खुसीको पलको रूपमा सम्झिन्छु’ गौतमले सम्झिए ।
किनकि त्यो बेलामा एउटा स्यूजाजस्तो विकट गाउँमा जन्मेर प्राविधिक लाइन्, त्यसमा पनि आँखा जस्तो संवेदनशील क्षेत्रमा पढ्न पाउनु र सेवा गर्न पाउनु चानचुने कुरा होइन । त्यसैले पनि मलाई नेत्रसहकायक पढ्न पाउँदा र पढेर सेवा गर्न पाउँदा निकै खुसी लाग्छ । उनले वि.सं. २०६३ सालमा नेत्र सहायकको प्रमाणपत्र हातमा परेको सम्झन्छन् । ‘गौतम भन्छन्, ‘हेर्नुहोस जीवनमा धेरै संघर्ष गरेर म यहाँसम्म आएको छु, संघर्षभित्र पनि धेरै खुसीहरू प्राप्त हुने रहेछन् । उनले वि.सं. २०५८ सालमा एसएलसी पास गर्दा पनि खुसी लागेको बताए । उनले अब आफ्नो जिम्मेवारी थपिएको र अब आफूले केही गर्नुपर्छ भन्ने त्यतिबेला सोच पलाएको सुनाए ।
गौतमको अर्को खुसी वि.सं. २०६० सालमा घरमा छोराको जन्म हुँदा पनि लागेको सुनाए । ‘म त्यतिबेला पनि खुसी भएको थिएँ, मेरो घरमा छोरा र लक्ष्मीको रूपमा छोरीको जन्म भएको थियो’, उनी भन्छन् । वि.सं. २०३७ सालमा साविक स्यूजामा जन्मेका शालिकराम गौतम, राप्ती आँखा अस्पतालमा फिल्ड वर्कर, नेत्रसहयाक हुँदै हाल नेत्रअधिकृतको रूपमा काम गरिरहेका छन् । गौतमले सबै साथीभाइ, घरपरिवार र अस्पतालले आफूलाई सहयोग र काम गर्ने हौसला दिएकोमा पनि खुसी व्यक्त गर्दछन् ।
‘मलाई यहाँसम्म ल्याउनमा परिवारका सबै सदस्यहरूको पनि साथ र सहयोग छ, आमा, बुबा, श्रीमती, दाइभाइले पनि मलाई निकै सहयोग गर्नुभएको छ’, गौमतम भन्छन् । त्यस्तै गौतमले अर्को खुसी छोराले पुलचोक इन्जिनिरिङ कलेजमा स्कलरसिपमा नाम निकाल्दाको लागेको सुनाए । छोरालाई मेडिकल क्षेत्रमा पढाउने आफ्नो इच्छा भएको तर छोराको इच्छा इन्जिनियरिङतर्फ पढने इच्छा गरेको बताए । ‘पुलचोक कलेजमा नाम के निक्लेला भनेको छोराले नाम निकाले भन्दा खुसीको सीमा नै रहेन’, गौतमले भने । उनले छोरीले पनि कक्षा १२ मा साइन्स पढ्दै गरेको भन्दै छोराछोरीको प्रगति र लगनशिलताले आफूलाई खुसी तुल्याएको बताउँछन् ।
उनले नेपाल नेत्रज्योति संघका पदाधिकरी अफिसका सबै डाक्टर प्रशासकहरूको पनि आफूलाई यहाँसम्म ल्याउनुमा ठुलो हात रहेको भन्दै उहाँहरूको विश्वास जितेर काम गर्न पाएकोमा खुसी व्यक्त गर्दछन् । ‘मैले सबैलाई रिझाएको छु, मलाई सबैले विश्वास गर्नुहुन्छ, त्यसमा पनि मलाई खुसी लाग्ने गर्छ’, गौतमले भने । गौतमले अरुको सेवा गर्न पाउँदा गरिब, दुःखी र असहायलाई सहयोग गर्न पाउँदा खुसी हुने गरेको बताउँछन् । उनले मानिस खुसी रहनु आत्म सन्तुष्टि नै भएको बताउँछन् । मानिस खुसी र सुखी रहनु भनेकै आत्मसन्तुष्टि प्राप्त गर्नु हो । जसले जे कर्म र काम गरेको छ त्यसैमा रमाउनु पर्छ अनि जीवन खुसी हुन्छ’ उनले भने ।