Goraksha

National Daily

संझौ, ‘जो डरगया, वह मरगया’

सुशीला आचार्य

आज भोलि सामाजिक संजालमा केही भिडियो क्लिपहरु खुबै चर्चामा छन् ।
एउटा क्लिपमा परिवारको सबैभन्दा सानो सदस्यले “ए आद्मी कौन हे फ्याम्ली फोटो फ्रेममे भि है” अर्को सदस्यले “बुद्धु ओ हमारे पापा हे, जनता करफु कि वजसे घर पे हिं है ।”
त्यस्तै अर्को क्लिप : “आज भोली श्रीमानहरुलाई ठिक्क प¥याछ । अरु बेला मिटिङ्ग भन्दै हिड्थे, अहिले २४ घण्टा घरमै बस्न प¥याछ ।”

यी दुई क्लिप केबल प्रतिनिधि मात्रै हुन् । यस्ता धेरै छन्, जसले इंगित गर्दछ कि हामीहरुको जीबनशैली कति ब्यस्त अनि भागाभाग छ । परिवारसंग बसेर एकछिन फुर्सदिला कुराकानी गर्ने समय छैन । परिवारका साना साना सदस्यले अभिभाबकको राम्रोसंग अनुहारसमेत हेर्न पाएका थिएनन् । यस्तै यस्तै जीवनशैलीमा कट्दै थिए हाम्रा दिन ।

अहिले लकडाउनले जीवनशैली फेरिदिएको छ । सामाजिक संजालमा पोस्ट गरिने प्रायजसो तस्बिरहरु आफ्नो करेसाबारीमा काम गर्दै गरेका हुन्छन् । त्यो पनि परिवार सहितका । त्यस्तो तस्बिर देख्दा मन प्रफुल्लित हुने गर्दछ । त्यस्तै पारिवारिक रमाईलोका दृश्यहरु आज भोली देख्न पाईन्छ ।

परिवारमा नाचेका दृष्य उस्तै रहर लाग्दा छन् । समाचारका बाइलाइनमा नाम आउने ब्यक्तिहरुका नितान्त व्यक्तिगत अनुभब आउन लागेका छन् । मानिसहरुका हिजोका ब्यबहार आज छुटेका छन् । ती यादहरुका बारेमा भनाईहरु आउन लागेका छन् । कथा अनि कबितामा बिशेष गरी अनुभव व्यक्त गर्ने समय निस्किएको छ । कथा कविताका बिषयमा सुनसान सडक, चरा चुरुङ्गि, प्रकृतिले स्थान पाएका छन् ।

सकारात्मक सोचौं । आफु सुरक्षित भएको स्वीकारौ । भोलिको चिन्ता नगरौ । धेरै अन्दाज नगरौ । मनलाई स्थीर राख्ने अभ्यास गरौ । अहिले म छु भन्ने महसुस गरौं । हसाँउने कार्यक्रमहरु हेरौं । खुलेर हासौं । मनमा लागेका, आएका भावनाका कुराहरु आफ्नो कुरा सुन्ने बुझिदिनेसंग शेयर गरौ ।

मानिसहरु घर भित्रै रमाउन थालेका छन् । मेरो मिल्ने मध्यकी एक जना साथी अहिले घरमै छन् । उनलाई लकडाउन अघी फुर्सद थिएन । तर, अचेल फुर्सदै फुर्सद ।
‘म त बिहानै काममा हिड्ने राती घर फकिर्ने गरेको मान्छे । आजभोली त घरमै रमाउदै छु । छोराछोरीको नाँच हेर्ने । यस्तै यस्तै’ उनले सुनाए –‘मलाई आफ्नै बारीमा के के छन् भन्ने पनि थाहा थिएन । अहिले त तरकारी पनि रोपेको छु ।’

फेसवुकमा बिहानै एकजना साथीसंग कुरा हुँदै थियो । म्यासेन्जरमा फोटो पनि आयो । तर, मानिसको भिडको फोटो । “हेर न मान्छेको जात के भएको होला । जति भने पनि नलाग्ने । किन जान पर्छ होला भिडगर्न । हिजोदेखि त मन डराएर आएको छ ।”

फेसवुकमा हिजो आज एउटा तथ्यांक पनि भाइरलनै भएको छ । भारतबाट आएका संक्रमित व्यक्तिसंग सिमनामा बसेका व्यक्तिमध्य दश जना दाङका छन अरे । यो कुरा सुन्दा मन झसंग गर्छ ।

“राति राम्रोसंग निद्रा लागेन मनमा डर आयो” यि र यस्तै कुराले सवैको मनमा डरले प्रवेश पाएको छ ।

यस्ता कुराले मानिसमा मनोसामाजिक समस्या निम्तिन सक्छ । हिजो जुन परिस्थितिसंग हामी हिडिरहेका थियौं, बाँचिरहेका थियौ, त्यो परिस्थिति एकाएक परिबर्तन हुँदा हामीमा डर उत्पन्न हुनु स्वाभाबिक हो । हरेक मानिसलाई आफ्नो अस्तित्व प्यारो हुन्छ । यही अस्तित्वको डर पनि हुन्छ । साथै, आफुसंगै जोडिएका आफ्ना मान्छे, परिवारलाई पनि केही पो हुने हो कि ? भन्ने डर फेरि छुट्टै हुन्छ । जब मनमा एउटा डर सुरु हुन्छ, तब त्यो बिस्तारै रुखको जरा फैलिएझै फैलन थाल्छ । अनि समस्या सुरु हुन थाल्छ ।

अहिलेको बाहिरी अबस्थालाई हामीले चाहेर पनि रोक्न सक्दैनौ । केबल सक्छौ, आफ्नो सोचलाई, आफुलाई, आफ्नो मनलाई परिवर्तन गर्न । हामीले गर्न सक्ने भनेको आफु अगाडि आएको यो समयलाई आत्मसात गर्ने र उच्च सतर्कता अपनाउने । यो समयलाई परिवारसंग भरपुर रुपमा रम्ने, अप्रत्यक्ष भए पनि साथीहरुसंग बिताउने, सामाजिक सञ्जालमा गु्रप बनाएर कुराकानी गर्ने समयका रुपमा लिनु पर्दछ । ति कुराकानीका बिषय सधै कोरोना संक्रमण भने हुनुहुँदैन, फरक फरक बिषयहरुमा खुलेर छलफल गर्ने आदत बसाउनु पर्दछ ।

यो बेला आफ्ना सबलपक्षहरु खोजौं । आफुलाई नकारात्मक लाग्ने वा अरुचिको बिषयमा ध्यान नदेऔं । अरुको नकारात्मक ब्यबहारका बिषयमा धेरै चासो नदिऔं । सकारात्मक सोचौं । आफु सुरक्षित भएको स्वीकारौ । भोलिको चिन्ता नगरौ । धेरै अन्दाज नगरौ । मनलाई स्थीर राख्ने अभ्यास गरौ । अहिले म छु भन्ने महसुस गरौं । हसाँउने कार्यक्रमहरु हेरौं । खुलेर हासौं । मनमा लागेका, आएका भावनाका कुराहरु आफ्नो कुरा सुन्ने बुझिदिनेसंग शेयर गरौ । मनमा आएको डर भगाऔं । सुरक्षितसंग बसौं । सामाजिक दुरी कायम गरौं ।

हिन्दीमा एउटा भनाई छ नि “डरके आगे जीत है । जो डर गया, वह मर गया ।” हामीहरुलाई मर्नु छैन, बाँच्नु छ । अझै त कैयौं सपना पुरा गर्नु छ । त्यही भएर आफु जहाँ छौं त्यही सुरक्षित बसौं । सरकारले भनेको लकडाउनको पालना गरौं । अहिलेको परिस्थितिको अचुक उपाय यही नै हो ।