Goraksha

National Daily

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ द्वारा रु १ लाख २५ हजार राहत जम्मा

शिवराज खनाल

लमही चैत्र २३ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले क्षेत्र नम्बर १ का ४ पालिका र सो क्षेत्रमा केही भाग पर्ने घोराही उपमहानगरपालिकामा गरि १ लाख २५ हजार राहत रकम जम्मा गरेको छ ।

बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसले बिश्व जगतनै प्रभावित भएको अबस्थामा अतिबिपन्न गरिखाने बर्गलाई दैनिक उपभोग्य सामाग्रीको अभाब पुर्ती गर्न सघाउने उद्देश्य सहित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रमा पर्ने सबै पालिकाका साथै घोराही उपमहानगर पालिकालाई रु २५ हजारका दरले आइतबार उक्त रकम हस्तान्तरण गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पान्डेले जानकारी दिएका छन् ।

गढवा गाउँपलिकामा क्षेत्र नम्बर १ का सभापती भेषराज पान्डे, राजपुर गाउँपालिकामा नेपाली काङ्ग्रेसका महासमिती सदस्य जानकीलाल बस्नेत, राप्ती गाउँपालिकामा संबिधानसभा सदस्य सुशीला चौधरी, घोराही उपमहानगर पालिकामा नेपाली काङ्ग्रेस प्रदेश सभाका उम्मेदवार कमलकिशोर घिमिरे र लमही नगरपालिकामा महासमिति सदस्य कर्णबहादुर बुढाथोकीको नेतृत्वमा सो रकम हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति देवानजंग चौधरी र क्षेत्र नम्बर १ (क) का सभापती ताराबहादुर डिसिले जानकारी दिए ।

सम्पूर्ण पालिका र उपमहानगरका वडाहरुमा एकद्वार प्रणाली मार्फत व्यवस्थित तरिकाले अभिलेख राखी बिपन्न बर्गलाई नछुटाइ राहत वितरण गर्न कांग्रेसले स्थानीय सरकारलाई भनेको छ । त्यसैगरी गाउँपलिका र उपमहानगरपालिका क्षेत्र भित्र रहेका अति न्यून आयस्रोत भएका परिवारको अभिलेख राख्नसमेत काङ्ग्रेसले सम्बिन्धत पालिकाहरुसंग अनुरोध गरेको छ । कोरोना संक्रमणका लागि सरकारद्वारा थालिएका हरेक कदम प्रती नेपाली काङ्ग्रेसको साथ र समर्थन रहने जानकारी पनि राहत हस्तान्तरणका क्रममा कांग्रेस नेताहरुले पालिकाहरुलाई गराएका छन् ।