Goraksha

National Daily

रिपोर्टरको डायरी : सामाजिक दुरी कायम गर्नै मुस्किल

खेमराज रिजाल

शनिवार विहानको रेडियोमा तनहुको सव्जिमण्डमा अस्वाभाविक भिड बढ्नथालेपछि अनिश्चितकालका लागी स्थानीय प्रशासनले बन्द गरेको समाचार सुन्दा तुलसीपुरको सव्जिमण्ड झल्झल्ती सम्झें, किनकि त्यहांको अवस्था हाटबजारको जस्तै थियो ।

आइतवार विहानै तुलसीपुरमा भेटिएका ट्राफिक प्रहरीका डिल्ली आचार्यले भनिरहेका थिए, ‘दाइ आज त तुलसीपुर बजारमा झनै चहलपहल बढि छ । मानौं नेपालबन्दमा जस्तै गाडि नचलेर यात्रुहरु पैदल गन्तव्यतीर सोझिएका छन् । सामाजिक दुरी कायम भएको मलाई अनुभुति हुन सकेन, किनकि प्रहरी र प्रशासनले जतिसुकै आग्रह गरे पनि नागरीकले यसलाई आत्मानुभुति गर्न सकिरहेका छैनन् ।’ वेचैन मुडमा विजौरीमा भेटिएका उनको अभिव्यक्ति थियो यो ।

सुन्छु, घरघरमै टाइमपासका लागि तास खेलिन्छन् रे, सुटुक्क ५/६ जना मिलेर । तास खेलिरहंदा सामाजिक दुरी कसरी कायम हुन सक्छ र !

झसंग मैले घरमै रहनुभएका बृद्ध बुवालाइ संझें । उहांले सधैजसो गाउंलेहरुलाई झारफुक गर्ने गरेपनि लकडाउनको समयमा पुरै सेफ हुनुहुन्छ, झारफुक समेत बन्द गर्नुभएको छ अहिले । हामीलाई पनि घरवाहिर नजान घरीघरी आग्रह गरिरहनुहुन्छ । घरमा छिर्नेवित्तिकै सावुनपानीले हातधुन आग्रह गर्नुहुन्छ । तर युवा जमातमा भने अझैपनि यस्तो सुझ देखिन्न ।

घरनजिकैको चिया पसलमा अझै पनि दुईचारजनाको जमघट चलिनै रहन्छ, सवैले मलाई के भएको छ र ? यस्तै भनिरहंदा सामाजिक दुरीका विषयमा ख्यालै गरेको पाइदैन । ‘प्रहरीको रुट छलेर मोटरसाइकलमा हुइकिनेहरुको सोंचाइमा कत्तिपनि परिवर्तन आएको छैन, दुईसय मिटरको दुरीमा पटक पटक वाइकिङ गर्ने प्रबृत्ति रोकिएन’—तुलसीपुर उपमहानगरपालिका—१७ का वडासचिव गेहराज पौडेल भन्छन्, ‘अहिले सरकारप्रति गुनासो गर्नुभन्दा नागरीकहरुको सोंचाइमै समस्या छ । किनकि लकडाउन बजार र हाइवेमा र केहि बस्तिहरुमा मात्र कायम हुन सकेको छ, अन्यथा लकडाउनको मर्म लागु हुन सकेको छैन ।’

काडमाण्डौबाट माइला दाजु ऋषिकेश रिजालले शनिवार राती फोन गर्नुभएको थियो, ‘यहां त लकडाउन पुरै कार्यान्वयन भएको छ, घरवाहिर ननिस्केको पुरै दुई साता भयो, त्यहां खतरा छ, घरमै बस्नु है ।’ तर यहां त मैले त्यस्तो अनुभुति गर्नै पाएको छैन । सुन्छु, घरघरमै टाइमपासका लागि तास खेलिन्छन् रे, सुटुक्क ५/६ जना मिलेर । तास खेलिरहंदा सामाजिक दुरी कसरी कायम हुन सक्छ र ! आफै नमरी स्वर्ग देखिन्न ?

‘तीन साता पहिले इटलीमा पनि यस्तै थियो’, फेसबुक वालमा विष्णु पौडेलले लेखेका थिए, ‘इटली सरकारले जनतालाई घरवाहिर ननिस्क भनेको जनताले मानेनन्, किनकि इटलियनहरु बढि सौखिन थिए, मजा र मनोरन्जन त्याग्न सकेनन्, अहिले यति असहज नियती भोगिरहेका छन् । स्पेनमा पनि लकडाउनलाई वेवास्ता गर्दा त्यस्तै हविगत भयो । नेपालका गाउगाउंमा भने अझैपनि चेतना फुरेको छैन । घरघरमा चुकुल लगाएर हुने जमघटलाई प्रहरी प्रशासनले कसरी निस्तेजगर्न सक्छ र ? जव नागरीकनै वेवास्ता गरीरहेका छन् भने ।’

कतैकतै सजगता पनि दखेको थिएं मैले । अघिल्लो सोमवार देउखुरीको फलकापुरमा आफन्त वितेको वेला मानोमिसाउन जांदा एउटा टोल बस्तीमा छिर्ने सडकमै सवारीसाधन चल्न रोक मात्र लगाइएको थिएन, नयां अनुहार बस्तीमा छिर्दा कहांबाट किन आउनुभो भनेर सोधिखोधि पनि हुन्थ्यो । तर दाङमा भने त्यस्तो देखिएन । विजौरी बजार अनुगमनका क्रममा पनि खासै उल्लेख्य रुपमा सामाजिक दुरी कायम गरेको अवस्था देखिएन ।

तुलसीपुर बजारमा त झनै समस्या । विहान ६ बजेदेखि ९ बजेको समयमा त मेला महोत्सव जस्तै हुन्छ बजार । कहिले कार्यान्वयन होला ? सामाजिक दुरी ? सामाजिक दुरी कायम नगर्ने सवालमा अझै पनि समस्या छ । किनकी हामीमा एकले अर्कालाई निगरानी गर्ने प्रबृत्ति पनि छैन, शंका गर्ने प्रबृत्ति पनि छैन । परिवारको एक जना सदस्य मात्रै संक्रमित भयो भने त्यस फैलावट जंगलमा लागेको डढेलो जस्तै हुने छ । कम्तिमा पनि एक महिना सामाजिक दुरी कायम गर्यौ भने…..। जोगिन सक्छौं, जोगाउन सक्छौं, कोभिड—१९ को संक्रमण ।