Goraksha

National Daily

परिवर्तनका संवाहकहरु त्यागी हुनुपर्छ

कविता पन्थी

सिद्धार्थ राजकुमार थिए, शक्तिशाली राजाका छोरा । सम्पन्नता र वैभवको कमी थिएन । उनी वैराग्यतिर नलागुन् भनेरै राजा शुद्धोदनले सम्पूर्ण सुखसयलको व्यवस्था गरिदिएका थिए । तर जस्तोसुकै सम्पन्नता, वैभव र रसरंगले सिद्धार्थ राजकुमारको मनलाई जित्न सकेन । उनले सत्ताशक्ति, सारा धनसम्पत्ति, भोगविलास क्षणिक हुन् भन्ने बुझेरै वास्तविक धन, शान्तिको खोजीमा लागे ।

सम्पन्नता, शक्ति र भोगविलासमा लागेर राजकाजमै रमाएको भए उनी शक्तिसम्पन्न राजा बन्थे । चक्रवर्ती सम्राट बन्थे । उनी सम्पूर्ण नश्वर कुरालाई त्यागेर सत्यको खोजीमा लागे, फलस्वरुप आफूले मात्र ज्ञान प्राप्त गरेनन्, सम्पूर्ण मानव समुदायलाई ज्ञान र शान्तिको मार्ग देखाइदिए । गौतम बुद्धले २९वर्षको उमेरमा गृहत्याग गरेको घटनालाई महाभिनिष्क्रमण भनिन्छ । त्यागको अनुपम उदाहरण हो यो ।

जनताका प्रतिनिधि नेतृत्ववर्गले जनताका दुःख आफ्नै ठान्नसक्ने क्षमता भएन भने जनता दुःखी हुन्छन् जनता खुशी बनाउन नसक्नु नै नेतृत्वको सबभन्दा ठूलो असक्षमता हो ।

यही त्यागमय चरित्रकै कारण सिद्धार्थ राजकुमार सामान्य मानवबाट महामानव बने, मानवबाट भगवान् बने । दिग्दिगन्तसम्म शान्तिको बाटो देखाउने अग्रदूत बने ।

हाम्रो पूर्वीय सभ्यतामा त्यागको ठूलो महिमा छ । शिवजीले समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष पिएर निलकण्ठ भएको कुरा हामी हाम्रा धर्मग्रन्थमा पढ्न पाउँछौ । राजा शीवि, ऋषि दधिचिको त्यागको कुरा पनि अनुपम छ । त्रेतायुगका राजा दशरथका छोरा रामको त्यागको महिमा ठूलो छ राजाका छोरा भैकन पनि पितृआज्ञाको पालना गर्न राम विभिन्न कष्ट सहदै १४ वर्ष वनवास बसेका थिए ।

त्यस्तै भारतका राष्ट्रपिता महात्मा गान्धीको सादा जीवन उच्च विचारका हामी प्रशंसक हौ । कुनै पदमा बहाल नभइकन पनि उनी राष्ट्रपिता कहलिए । एक थोपो रगत नबगाइकन त्यत्रो वर्षसम्म भारतमा साम्राज्य जमाएको ब्रिटिसलाई धपाउन नेतृत्व गरेका गान्धी त्यागका प्रर्तिमूर्ति हुन् । त्यही त्यागमय चरित्रकै कारण महात्मा गान्धीको नाम लिनासाथ श्रद्धाले हाम्रो शिर निहुरिन्छ ।
त्यागको भावना अत्यन्त पवित्र हुन्छ ।

त्यागले संसारलाई प्रकाशमान गर्छ । जसले जीवनमा त्यागको भावना अंगिकार गर्छ, उसले उच्च भन्दा उच्च मानदण्ड स्थापित गर्छ । त्यागमा ठूलो शक्ति हुन्छ । त्यागीहरु दिगदिगन्तसम्म पूजिन्छन् । ंइसामसिहले अरुको लागि आफ्नो जीवनको त्याग गरे । देशको लागि हाँसीहाँसी आफ्नो ज्यान बलिदान गर्ने शहिदहरु त्यही त्यागकै कारण सदैव पूज्य हन्छन् । त्यागमा स्वार्थ हुदैन, त्यागमा परोपकारको भावना हुन्छ त्यसैले त भोगीभन्दा त्यागी सर्वमान्य हुन्छ । नेपाली काग्रेसका संस्थापक नेताहरु गाणेशमान सिंह र कृष्णप्रसाद भट्टराई त्यागमय र सादाजीवनको चरित्रकै कारण सम्मानित छन् । डा. गोविन्द के.सी.पनि त्याग र निष्ठाका ज्वलन्त उदाहरण हुन् ।

श्रीमद्भागवत् गीतामा भगवान् श्रीकृष्णले त्यागबाट तत्काल शान्तिको प्राप्ति हन्छ, जहाँ शान्ति हुन्छ, त्यहाँ सच्चा सुख हुन्छ भनेका छन् । मानिस आफ्नो जीवनको सारा श्रम भौतिक वस्तुको प्राप्तिमा लगाउँछ । आफ्नो सीमित जीवनमा सबै पाउन चाहन्छ । यसैमा सारा जीवन बित्छ । मानिसले जति भौतिक सुख प्राप्त गर्दैजान्छ, उति उति नै सांसारिक तृष्णा बढ्दै जान्छ, उसलाई शान्तिपूर्वक बस्न दिदैन, बेचैनी बढाउँछ । त्यसैले मानिसले आफ्ना आधारभूत कुरा भन्दा बढी तृष्णा बढ्न दिनुहुदैन । आफ्नो बारेमा मात्र सोच्ने, आफ्नो सुखसयलको मात्र ख्याल राख्नाले मानिस संकिर्ण बन्छ । आशक्ति बढ्छ । हरेक मानिसले आफ्नो तर्फबाट केही त्याग गर्न सक्नुपर्छ । त्यागले अन्तस्करण पवित्र गर्छ । त्यागले मानिसलाई महान बनाउँछ । त्यागीहरु मानसिक रुपमा सबल हुन्छन् ।

जीवन जगतको यथार्थसँग परिचित हुन्छन् । जीवनको नश्वरता बुझेका हुन्छन् त्यसैले त आशक्तिबाट मुक्त हुन्छन् । जति धेरै त्याग त्यति जीवन सहज हुन्छ । त्याग जो सुकैले गर्न सक्दैन । संसारमा अत्यधिक भोगका कारण बद्नाम भएका मानिसहरु छन् । आफ्नो व्यक्तिगत कामना पुरा गर्नका लागि अरुको खुशी खोस्ने, अधिकार हनन गर्ने लोभीहरु भोगी हुन् । पूर्वीय दर्शनमा त्याग गर्नेहरु देव र अति भोग गर्नेहरु दानवको रुपमा चित्रित छन् । महाभारत शान्तिपर्व अन्र्तगत मोक्षधर्म पर्वको अध्याय १ सय ७६ मा त्यागको महिमाको वर्णन छ ।

शासन सत्ता संचालन गर्ने शासकहरु त्यागी हुनुपर्छ । लोभलालच, अत्यधिक क्रोध, अहंकार, असिमित स्वार्थले नेतृत्व कमजोर बन्नपुग्छ । प्रजातान्त्रिक परिपाटीमा जनता दास होइनन् । जनता मालिक, शासक दास हुने र जनइच्छा अनुरुप चल्ने व्यवस्था प्रजातान्त्रिक व्यवस्था हो । जनतालाई दासको रुपमा व्यवहार गर्नुहुन्न । समाज परिवर्तनका संवाहकहरु त्यागी हुनुपर्छ । सिंगो समाजलाई प्रगति र समुन्नतितिर लैजाने प्रतिबद्धता प्रस्तुत गरी राजनीति गर्ने नेताहरुमा त्यागी भावना हुनुपर्दछ । ज्ञान, गुण, नैतिकता, बौद्धिकता र क्षमता नेतामा आवश्यक गुणहरु हन् । परिश्रम र समर्पण नभइ सफल नेता बन्न सकिदैन । पद, प्रतिष्ठा, पैसा, सुविधा, स्रोत साधनमा हैकम कायम गर्न पाइने लालसा राखी नेता बन्नु सामन्ती प्रवृत्ति हो । अहिले नेतृत्ववर्गमा यही प्रवृत्ति विद्यमान छ । हाम्रो देशको विडम्बना नै यही हो । हरेक क्षेत्रमा नेतृत्व लिन चाहने व्यक्तिको संख्या धेरै छ, तर त्याग गर्न सक्ने नेता हामीले पाउन सकेनौ । जनतालाई सिंढीको रुपमा प्रयोग गर्ने नेता पायौ हामीले ।

जनता आपतमा पर्दा मुलुकमा विपत्ति पर्दा कसरी फाइदा लिन सकिन्छ भन्ने सोच राख्ने गरेका कारण आज देशका सबै क्षेत्र अस्तव्यस्त बनेका छन् । शिक्षा, स्वास्थ्य, संचारलगायतका महत्वपूर्ण क्षेत्रको अस्तव्यस्तता यतिबेला छताछुल्ल बनेको छ । नेता भनेको दिशानिर्देश गर्ने व्यक्ति हो । सहि समयमा सहि दिशानिर्देश गर्नु नेताको कर्म हो । हामीलाई अहिले जनबोली बुझने जननेता चाहिएको छ, अगाडि पछाडि भिडभाड बोकेर देशको दोहन गर्ने राजनेता चाहिएको छैन, आपदमा परेका बेलामा हामी छौ भनेर ओत दिने छहारी चाहिएको छ । जनताको मत बोकेर प्रतिनिधिको रुपमा छानिएर पठाएका प्रतिनिधिलाई हामीले अति विश्वास गरेका हौ । पैसा कमाउन, देश विदेश घुमफिर गर्न, शहरबजारमा भवन बनाएर विलासी जीवन बिताउन त पक्कै पनि उहाँहरु नेता बन्नुभएको होइन होला । नेताले विलासी जीवन बिताउन थाले भने जनता र नेताबिचको खाडल ठूलो हुन्छ । जनताका प्रतिनिधि नेतृत्ववर्गले जनताका दुःख आफ्नै ठान्नसक्ने क्षमता भएन भने जनता दुःखी हुन्छन् जनता खुशी बनाउन नसक्नु नै नेतृत्वको सबभन्दा ठूलो असक्षमता हो । सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त हुनु र त्यसमा आफ्ना विश्वास गरिएका नेताहरुको नाम आउनुले नेपाली जनताहरु नेतृत्वप्रति असन्तुष्ट बन्नुपर्ने अवस्था सृजना भएको छ ।

जीवनको नश्वरता बुझेका, त्याग गर्न सक्ने, परिवारमोहमा नफसेको नेतृत्व हामीलाई चाहिएको छ । हरेक साना ठूला निर्णय गर्दा जनताको भलो सोच्ने देवतूल्य व्यक्ति नेताको रुपमा चाहिएको छ । को आफ्नो को पराया भनेर सोच्ने बेला यो होइन । आँखामा आँसु मनमा देशभरी माया र आशा बोकेर नेपाल फर्कन चाहनेहरुको पीडा आफ्नै पीडा ठान्ने, पिता र माताको वात्सल्य दिनसक्ने व्यक्ति नेताको रुपमा चाहिएको छ । निश्चय पनि यसको लागि ठूलो त्यागको खाँचो छ ।