Goraksha

National Daily

खुशी एक कला (Happiness Is an Art)

ब्रह्माुकमार माधव तिमिल्सेना

आज जीवनमा के यस्तो चीज छ जसको अभाव हरएक मानवलाई खट्कीरहेको हुन्छ । निश्चय नै त्यो अभाव सुख र शान्तिको हो । हामीलाई सच्चा सुख कुनै व्यक्ति,बस्तु पदार्थबाट प्राप्त हुन सक्दैन । हाम्रो खुशीको आधार हामी आफै वन्न सक्नुपर्दछ । खुशीको सञ्चार आफैबाट गर्नुपर्ने हुन्छ । हामी जे छौ त्यसैमा रमाउन सिक्नुपर्छ र खुशीको अनुपम उपहार खोजिनुपर्छ । हरेक सानो सानो कुरामा खुशी वाँटौ । खुशी सदैव सञ्चित राखौ ।

आज मानवले लिन जानेको छ तर दिने पालोमा सहजताका साथ स्वीकार्न जानेन त्यसैले दुखको महसुस गरिरहेको हुन्छ । कसैले भनेका छन् मनुस्य र पशुमा एउटै भेद छ कि मनुस्यले हाँस्न जानेको छ परन्तु पशुले हाँस्न सक्दैन । हर्ष त हरेक मनुस्य चाहन्छ तर कुनै परिस्थिति यस्तो श्रृजना भैदिन्छ उसको मन विक्षिप्त हुन पुग्दछ । एकाग्र मन हुनलाई ईश्वरीय ज्ञान र राजयोग साधनाको आवश्यकता छ तर यस कलियुगी दुनियाँमा वा विकारी जीवनमा मनमा दुःख शोक अफसोच चिन्ता आदीको लहरले एकाग्रता हुन दिदैन । मनमा खुशी नहुनुको कारण कुनै न कुनै चिजको अप्राप्ती वा कमीको महसुसता वा कुनै चिजबस्तुमा हानी पुग्नु हो । परिणाम जिन्दगीमा हरेश खादै मानिसले भन्दछन म त मरे केही गर्न सक्दैन । सर्व आशा र भावना समाप्त गरिदिन्छ । कार्य गर्देजाँदा लड्नु स्वभाविक हो उठ्ने प्रयास नगर्नु कायरता भनौ दुर्भाग्य हो ।

जीवनमा हर्षित दृष्टिकोण धैर्यता,सन्तोषीभाव र आत्म–विश्वास तथा पुरुषार्थको प्रवलतामाथी निर्भर रहन्छ । तसर्थ आउनुहोस पाठकगण, तपाई हामी सवै मिलेर खुशीको लहरबाट सागर बनौ र सदैव खुशीको प्रकम्पन फैलाऔं । वर्तमान समयमा सवैभन्दा ठूलो दान भनेकै खुशी हो । जो पनि हाम्रो सम्वन्ध सम्पर्कमा आउँछन् उनीहरुलाई खुशी मिलोस् यही शुभभाव बनि रहनुपर्दछ । खुशी यस्तो खजाना हो जुन जति बाड्यो त्यति बढ्दै जान्छ ।

हामी देख्दैछौ मानव व्यस्तताको नाममा अस्तव्यस्त वन्दै गईरहेकोछ । आजको मेशिनयुक्त जीवन निरस हुदैछ । मानिसमा हुनुपर्ने धेरै गुणहरु मध्ये एउटा मुख्य गुण हो खुशी । खुशी मानवको श्रृंगार हो । आत्माको पौैष्टिक खुराक हो खुशी । भगवानबाट प्राप्त एक अनुपम उपहार हो,जसलाई हामीले गर्भ अवस्थाबाटै सांसारिक रंगमञ्चमा लिएर आएका हुन्छौ । तसर्थ हाम्रो अन्तरमनमा हमेशा खुशी वसीरहन्छ । आफूसँग भएको कस्तुरीको सुगन्धलाई थाहा नपाएर त्यसैको खोजीमा बाहिर बाहिर हिड्ने कस्तुरी मृगसमान हामी आफूभित्रको खुशी शान्ति र आनन्दको प्राप्तीका लागी वार, रेस्टुरा,चलचित्र नाइटक्लव ,राम्रा आभूषण र मीठो परिकारको प्रयोगमा खुशी खोज्ने प्रयासमा तल्लीनछौ ।

यी साधनहरुबाट प्राप्त अल्पकालीन खुशी जुन अचानक विधुतको लाइनपछिको अध्यारो झै क्षणभरमा विलिन हुन्छ र मनमा अन्धकार छाउँछ । दीर्घकालीन खुशी हुन त आफू तथा सवैप्रति सकारात्मक चिन्तन हुनुपर्दछ । हाम्रो मनमा जस्तो संकल्प चल्दछ त्यसको प्रभाव बातावरणमा पनि अवश्य पर्दछ । संसारमा सवैभन्दा छिटो उड्ने रकेट भन्दापनि विचार तिव्र वेगमा उड्न सक्छ । हो, हाम्रो मनमा जस्तो सोचको मन्थन भयो अरुको वारेमा जे सोचिन्छ त्यस्तै तरंगहरु प्रवाहित हुन्छन् । जस्तोसुकै समस्यामा खुशी गायव नहोस् त्यसको एउटै अचूक औषधी हो सकारात्मकता । स्थायी खुशी बनाइ राख्न आफू र सर्व आत्माहरुमा सद्भावको विकास गर्नु अत्यावश्यक छ । हामीले जे सोच्दछौ त्यही पाउँछौ र जे दिन्छौ वदलामा त्यही हामीतर्फ फर्किन्छ । जसरी नदीमा आएको बाढीको प्रवाहलाई बाँध आदीले बदल्न सकिन्छ र जन धनको हानीलाई रोकेर जनकल्याणकारी कार्यमा सदुपयोग गर्न सकिन्छ ।

ठीक त्यसैगरी हाम्रो मनलाई विवेकरुपी बाँधद्धारा नियन्त्रित गरेर सही दिशा निर्देश गरी नकारात्मक तथा व्यर्थ संकल्पहरुलाई सकारात्मक शुद्ध एवं पवित्र संकल्पतर्फ लैजान सक्छौ । मनलाई एक मिल्ने साथी सरह सम्झाँउनुपर्छ । प्रेम एवं आनन्द खुशी शान्ति जस्ता मनका मौलिक गुण तथा स्वरुप पुनः धारणा गर्न अभिप्रेरित गर्नु पर्छ । जसबाट अलौकिक शक्तिको अनुभूति हुन्छ र अतिइन्द्रिय सुखको भाग्य सहजै प्राप्त हुन्छ ।

अद्यात्मले कर्म सिद्धान्तलाई स्वीकार गर्दछ । प्रत्येक क्रियामा बराबर तर विपरित प्रतिक्रिया हुन्छ भन्ने विज्ञानको सिद्धान्त अनुसार कर्मको परिणाम भोग्नै पर्ने मान्यता अद्यात्ममा रहेको छ । परन्तु विज्ञानले शरीरलाई सवै कुरा मान्नुले मानिसहरु सम्झन्छन शरीर छुटेपछि वा मृत्युवरणपछि सवैकुरा समाप्त । वास्तवमा त्यस्तो हुदैन । शरीरको अस्तित्व तवसम्म रहन्छ जवसम्म शरीरमा आत्मा हुन्छ । विज्ञानका साधनले सम्पन्न आजको मानव अभावै अभावको महसुुुस गरिरहेकोछ । हाहाकार तर्फ बढिरहेको वर्तमान परिवेशमा अव अद्यात्म नै पथप्रदर्शक वन्न सक्छ । समुन्नत विज्ञानले समेत सृष्टिको उत्थान र पतनको रहस्य जान्न सकेन ।

विज्ञानले निर्जिव पदार्थलाई सर्वशक्तिमानको रुपमा प्रस्तुत गरिरहेकोछ भने अद्यात्म दैवी संस्कृतीद्धारा स्वर्णीम संसारको मार्गमा अग्रसर छ । भौतिक संसाधनको भरपुरताले दिव्य संस्कार दिन नसक्नुको परिणाम हो विकृतीको साम्राज्य । संस्कारवान भएर पनि भौतिक साधनहरु भएनन भने जीवनमा भड्काव आइरहन्छ नै । तसर्थ अव अद्यात्म र विज्ञानको समन्वयका रुपमा पुलको आवश्यकता छ । धर्म सम्प्रदायमा अल्झिएर अद्यात्मबाट सयौ कोष टाढा भैरहेको मानवीय व्यवहारमा आद्यात्मिक प्रकाशको जरुरी भैसकेको छ । धर्म,वणर्,लिंग,जाती र रंगभेद विरुद्धमा जीवनलाई रुपान्तरित गर्नसक्छ आद्यात्मिकताले । विनाश र विकृतीको कालीमा छाइरहेको यस विकराल घडीमा आद्यात्मिकताको दियोले आशाका किरणहरु प्रदान गर्न संभव छ ।

स्वस्थ र प्रशन्नताको लागी शारीरिक श्रमको त्यतिकै आवश्यकता छ । श्रमबाट प्रदत्त आनन्दको विकल्प मनोरंजनको कुनै साधन वन्न सक्दैन । विडम्वना! आजको मानव विज्ञानका साधनलाई सुखको परिकल्पना साकार पार्ने असफल प्रयासमा तल्लिन छ । आधुनिकताको भेषमा सजिएका योगी र सांसारिक लिप्ततामा चुर्लुम्म डुवेका भोगीका वीच धेरै कुरा फरक हुन सक्लान तर भौतिक भोगका लागी सवैको समान साझेदारी ह्वात्तै बढिरहेको पाइन्छ । मोवाइलमा पटक पटक रिचार्ज गर्न समय निकाल्न सक्नेले आफू र सहयात्रामा सहयोगीलाई आत्मिक उन्नती प्रगती तथा जीवनलाई खुशहाल बनाउन रिचार्ज गरेको खै ? यही उल्टो चक्रले तहस नहस वनादैछ मानव समाजलाई । साधनामा सहायक हुनुपर्ने साधनको हावीका कारण आन्तरिक शक्ति खुशी पलायन तर्फ उन्मुख हुदैछ । खुशी र सुख आपसमा फरक चिज हुन । सुख हुदैमा खुशी हुनसक्छ भन्ने हुदैन ।

सुख भौतिकतासंग सम्वन्धित छ भने खुशी आत्मियतासंग । एकजना विद्धानले भन्नु भएकोछ — खुशी भनेको एउटा स्वतःस्फूर्त निर्णय हो । ज्बउउष्लभकक ष्क ब क्भाि म्भअष्कष्यल ,,, भनिन्छ “खुशी जस्तो खुराक छैन चिन्ता जस्तो विष छैन ।” अर्कोतर्फ भनिएकोछ जो हाँस्न जान्दैन त्यो वाँच्न जान्दैन ।

मुस्कान मनमा प्रवाह भइरहने विचारहरुको अविनाशी संग्रह हो । स्वभाविक तथा सन्तुलित जीवन मानसिक रोगको सञ्जिवनी बुटी हो हांसो । विश्व स्वास्थ्य संगठनको हांसेर बांच्न सिकौ भन्ने नाराले पनि यसको सान्दर्भिकता स्पष्ट हुन्छ । मुस्कुराइर्रहने स्वभावले मानिस भित्रको पवित्र कञ्चन निर्मल हृदयको प्रतिनिधित्व गरिरहेको आभाष हुन्छ । हांसो स्वस्थ मन एवं तनको संयोजन हो । मुस्कानयुक्त सुन्दर अनुहार स्वस्थ्य सुखी एवं सन्तुलित जीवनको आधार एवं सफल जीवनको मेरुदण्ड हो दिनमा एक पटक खुलेर हाँस्नु पागलपना कदापी होइन अपितु एक प्रकारको चिकित्सा हा,ेऔषधी हो । प्रेमवूर्वक हांसिएको हाँसोले शरीरका मांशपेशीहरु फैलिन सहयोग पुग्दछ ।

मनोविश्लेषकका अनुसार सहजतापूर्वक प्रेममा रमेर हाँस्नाले १ लाख ७२ हजार किरणहरु अनुहारबाट बाहिर निस्किन्छन जसका कारण अनुहारमा कान्ति आउँछ । साथै करिव ५५ बटा रोगहरुको केवल एउटै उपचार हो हाँस्नु । भौतिक विज्ञानले भन्छ–रोग निवारणार्थ हास्यभाव एक अचूक निशाना हो । यो हृदयको बृद्धि र विकासको कारण हो ।यसले फोक्सोलाई फैलाउँछ र त्यसका अन्तरंग पर्दाहरुलाई रक्तसञ्चार गरी पुष्ट पार्न सहयोग मिल्दछ । एउटा मानिस जसलाई हाँस्ने वानी थियो,उ सदैव हाँसी नै रहन्थ्यो । जव उसको मृत्यु भयो चिकित्सकहरुले उक्त व्यक्तिको यकृत(कलेजो) को परीक्षण गरियो । अचम्मको कुरा उसको कलेजो यति कठोर पाईयो कि लौराले प्रहार गर्दा समेत फुटेन । यस प्रयोगबाट पनि हामीले सहजै वुझ्यौ कि हास्य–भाव कति उपयोगी र आवश्यक छ ।

सकारात्मक सोच वा दृष्टिकोण भएका मानिसहरु हिलोको वीचमा कमल देख्छन भने नकारात्मक दृष्टि वा सोच हुनेहरु उज्यालो चन्द्रमाभित्र पनि दाग देख्छन । धेरै मनुस्यहरु अरुको अवगुणमा तत्काल चासो राख्दछन वा ध्यान दिन्छन यद्यपी उसभित्रका गुण एवं विशेषताहरुको वेवास्ता गर्ने गर्दछन् । जति हामी गुणको चिन्तन र गुणग्राही दृष्टि राख्छौ त्यति नै हामीमा खुशी र आनन्दको सञ्चार हुन्छ । दुषित मन हुने व्यक्तिले अरुको कमी कमजोरी तथा अवगुण नै खोजीरहन्छ । जीवनको प्रत्येक पलमा सकारात्मक सोच राख्नु पुण्य आत्माको कर्तव्य हो । जीवन एक यात्रा हो, संसार एक रंगमञ्च हो भन्ने भावनाले हरेक परिस्थितीलाई स्वीकार्न सिकाउँछ र जीवन सन्तुलित बनाउँछ । जीवनमा सहनशीलताको गुण धारण हुनुको कारण सवैमा शुभभावना वनिरहन्छ । विगतलाई संझेर दुखित हुनुको सट्टा त्यसबाट शिक्षा वा अनुभव लिएर अगाडी बढ्ने प्रयासले जीवन सुखमय आनन्दमय र रोमाञ्चित बन्न पुग्नेमा शंका रहदैन । हामी दुःखी हुनु वा खुशी हुनुमा अरुको दोष होइन आफ्नै कर्म वा विचारको परिणाम हो । हामी त्यती नै खुशी रहन सक्छौ जति निर्णय गर्छौ वा चाहन्छौ । खुशीको मात्रा घटाउने वा बढाउने रिमोट कन्ट्र«ोल हाम्रै हातमा छ । एउटा सर्वमान्य भनाई छ अधिक इच्छाले अच्छा वन्न दिदैन । जवसम्म इच्छाको त्याग गर्न सकिदैन तवसम्म खुशी र आनन्दको प्राप्ती प्रायः असम्भव छ । हाम्रा मौलिक गुण खुशीलाई किनेर पाउने चाहानाले हामी अशान्त र दुखी बन्दै गईरहेकाछौ वर्तमान परिवेश साक्षी छ ।

बाह्य संसारमा रमाउने होइन यसमा कुनै बुद्धिमानी मानिदैन अपितु संसार हाम्रो अन्तर हृदयमा विद्यमान भएकोले यसै भित्री संसारमा रमाउन सक्ने मानिसले सदैव सुखी आनन्दित शान्तिपूर्ण जीवन यापन गर्न सक्षम हुन्छ । आफूसँग जुन कुरा छ, जुन स्थान र परिवार छ, स्वयंको औकात र धरातल छ त्यसमा रम्न नजान्नाले आनन्द लिन नसकिएको हो । जुन कुराको अभाव छ, जे छैन त्यही कुराको मात्र चिन्ता गरेर सधै दःुखी हुनेहरुको संख्या अधिक छ हाम्रो समाजमा । आफ्नो दुःखमा भन्दा छिमेकीको सम्पन्नतामा ईश्र्या गर्ने व्यक्ति कतै खोजीरहनु पर्देन । यो ठूलो कमजोरी हो मानव सभ्यता कै कलंक हो भन्दा अन्यथा नहोला । आज मनको खुशी हराएको होइन स्मृती हराएको हो । चाहान्छ मानिस खुशी, तर दिनभरी दःुखै दुःखका कुरा गर्छ भने खुशी कहाँबाट मिल्छ ? स्वस्थ्य हुन चाहान्छ तर विहान उठेदेखि रोग अनि विरामी र महामारीकै चिन्तन गर्छ भने त्यो व्यक्ति कसरी खुशी र स्वस्थ रहला? १ मिनेटको हाँसोको लागी हाँस्य केन्द्रमा हजारौ रुपैया खर्च गर्न मानिस आज तयार छ । यद्यपी आफैभित्रको खुशी नियाल्न सकिरहेको छैन । यो नै आजको मानवको मूल कमजोरी हो । फलस्वरुप स्वतः प्रस्फुटित हुने हाँसो महंगोमा किन्न पुगेको छ, त्यो पनि क्षणिक रुपमा । हरेक दिनलाई अन्तिम सँझिदै आफूसंग उपलव्ध साधन स्रोतमा सन्तुष्ट हुने कला नै सर्वोत्तम मानिन्छ । शरीर र आत्मा वा चैतन्य शक्तिको ज्ञान नहुनाले मानिस मृत्युदेखि डराईरहेको छ । यो संसारमा स्थायी कोही छैन हामी २ दिनका पाहुना हौ । यस रंगञ्चमा अभिनय गर्दैछौ र निश्चित समय भएपछि फर्केर जाने हो भन्ने कुरालाई आत्मसात नगर्नुको कारण हाय हाय त्राही त्राही गर्ने गर्दछ । पुरानो सामाजिक कथन छ अरु घोडा चढ्यो भन्दैमा आफू घरको धुरी चढ्नु हुदैन । तसर्थ अनुभवले भन्छ आफैसंग समाउन सक्नु एउटा अनुपम कला हो । इच्छा आकांशा एवं तृष्णाको घेरालाई जति खुम्च्यायो त्यति नै मानव आफूभित्र खिचिन पुग्छ । तर आफूभित्रको भावना तरंग वा संकल्पमा एकाग्र हुदै जाँदा सन्तुष्टि प्राप्त हुन्छ । शाश्वत मान्यता छ — अकल्याणको पर्दाभित्र पनि कल्याणका दृश्यहरु लुकेका हुन्छन केवल उचित समयको प्रतिक्षामा रहनुपर्दछ । आशामुखी हुने स्वभावले कयौ कुराहरु स्वतः मिल्दै जान्छन ।

नराम्रा विचारहरुबाट रगतमा एक प्रकारको विष उत्पन्न हुन्छ । त्यो विष शरीरको जुन भागबाट वाहिर निस्कन्छ त्यसलाई रोग भनिन्छ । यदि क्रोधी व्यक्तिले जसलाई टोकेको छ उसको मृत्युसम्म हुनसक्छ । घृणा र स्वार्थका विचारबाट हृदयरोग हुन्छ । भय र दरिद्रताको विचारले अजीर्ण तथा मन्दाग्नि हुने प्रवल संभावना रहन्छ । निराशा र चिन्ताको विचार मनमा आएमा आन्द्राहरुको रोग(पाचन प्रणाली) तथा वदला लिने भावनाले मस्तिष्कलाई हानी गर्दछ । शोक घुन समान छ । जस्तो घुनले चनालाई भित्रबाट खाएर खोक्रो गरिदिन्छ त्यस्तै शोकले शारीरिक वललाई नष्ट गर्दछ । जो मानिसहरु अरुको डाह गर्छन तिनीहरुको स्वास्थ्य गिर्दे जान्छ । शारीरिक रोगहरुको मुख्य कारण अशुद्ध विचारहरु हुन । यदि शरीररक्षा आरोग्यताको आवश्यकता छ भने सदा आफ्नो मनमा शुद्ध र पवित्र विचारहरुलाई आउन दिनु पर्दछ । एक जना व्रिटिश डाक्टरले वैज्ञानिक प्रयोगहरुद्धारा के सिद्ध गरेका छन् भने भय,चिन्ता,ईश्र्या,द्धेष र उदासिनताबाट पसिना,थुक,स्वास र रक्तमा विष उत्पन्न हुन्छ र प्रेम दया,खुशी आनन्द आरोग्यताका विचारहरुबाट आरोग्यता र वलवान वनाउने तत्व उत्पन्न हुन्छ ।

यस्तै वालकहरुलाई आमा तथा धाई आमाले क्रोधित भएर दुध खुवाउनाले उनको दुध विशाक्त भै वालक मुर्छा भएर मृत्युसम्म भएको देखिएको छ । मृत्यु भएन भने रोगी त अवश्य हुन्छ नै । आशावान र प्रशन्न मन शारीरिक स्वास्थ्य सुधार तथा बृद्धिमा जति सहायता गर्दछ उति सहायता अन्य उपाय वा औषधी आदी गर्न सक्दैन । मनको प्रशन्नताले भोक राम्रो लाग्छ र मल–मूत्र सफा निश्कासन हुन्छ । शरीर वलवान र सुन्दर हुन्छ तथा भय चिन्ता अप्रशन्नताले निर्वलता आदी सव रोग निम्त्याँछन् त्यसैले यदि जीवनमा सुखी आनन्दित र सुरक्षित वनाउनु छ भने शरीरको साथै मनलाई पनि सुधार्नु अति आवश्यक छ । मनमा जागृत हुने खुशी अन्य लाखौ औषधीहरुमा एक अनौठो र प्रवल औषधी हो । विचारहरुमा रोगलाई हटाउने शक्ति हुन्छ । संसारका समस्त वस्तुहरुको निर्माण गर्ने मनमा शक्तिहरुको सम्वन्धमा आज हामीले जे भूल गरिरहेका छौ त्यो दुःखद पक्ष हो । शान्तिको समयमा त सवै आफ्नो कामलाई ठीक रीतिले गर्दछ तर मनुस्यत्व त्यसैको नाम हो जो दुःख वा अशान्तिमा पनि मनमा घवरावट आउन नदेओस् र आफ्नो मनलाई अधीन राखोस् । खप्तड बाबाद्धारा लिखित विचार–विज्ञानमा मनोवैज्ञानिक परिक्षणबाट प्रमाणित घटनावारे लेख्न सान्दर्भिक लाग्यो । एकजना वलवान ह्रष्टपुष्ट,उत्साही सभ्य पुरुष घुम्दै थाकेर आयो । त्यसवेला उसलाई जोडले भोक लागेको थियो । ठीक त्यही समयमा उसको परिवारजनको शोक पत्र पायो,त्यसलाई पढेर उ सुस्त र उदास भयो । एकैछिन पहिला विजोडले लागेको उसको भोक नजाने कता हरायो! उसका मित्रहरुले उसलाई जवरजस्ती भोजन गराए तर आश्चर्यको कुरा त्यस व्यक्तिको २ घण्टामै निधन भयो । यसबाट के बुझिन्छ भने एउटा निरोग,स्वस्थ मानिसलाई अतिशय भोक लागेको र उसको चित्तपनि भोजनालयमा भएको समयमा उसको रक्तको प्रवाह आमाशय र पाचनका अवयवतिर थियो । त्यो शोक समाचार आउने वितिकै रक्तको वेग मस्तिष्कतिर वग्न थाल्यो । उसका माँसपेशीहरु र खुट्टा निर्वल भए । अन्त्यमा तिव्र शोकले रक्त विशाक्त भएर उसको मृत्यु हुन गयो ।

जसरी स्वास्थ्य विचारहरुको अधीन छ उसरी नै प्रशन्न चित्तले हास्यभाव धारण गर्नाले स्वास्थ्यमाथि विलक्षण प्रभाव पर्दछ । त्यसैले यदि कुनै व्यक्ति आरोग्य चाहान्छ भने उसले प्राकृतिक उपायहरुलाई कार्यरुपमा परिणत गर्नुपर्दछ । हास्य भावले रक्त सञ्चार तिव्र हुन्छ साथै मस्तिष्कका ज्ञान तन्तुहरुमा स्फूर्ति फैलिन थाल्छ । मुस्कुराहट पवित्र हृदयको प्रतिविम्व हो । सुखी मानवको प्रमुख लक्षण मुस्कान हो । यो स्वस्थ मनस्थितिको उपज हो,सौन्दर्यको मूहान हा । मुस्कुराउन नसक्नु एक आन्तरिक पीडा एवं असन्तुष्टताको संकेत हो । सम्वन्धमा सुमधूरता ल्याउन, एक अर्काको हृदय जित्न,आद्यात्मिक व्यक्तित्व विकास गर्न र समस्या समाधान हेतु मुस्कुराउनु जरुरी छ । कुनैपनि जटिल समस्याको आधा समाधान मुस्ुकुराउनु हो । यहाँ प्रश्न उठ्नसक्छ यतिवेला तेस्रो विश्वयुद्ध जस्तै भएको यस संसारमा खुशीको कुरा असान्दर्भिक भएनर ? पाठक महोदय, दुःखी वेचैन तथा हतोत्साही भएर समाधान पनि त हुदैन । विज्ञान प्रविधिले सम्पन्न २१ औं शताव्दीमा भाइरसको महामारीले विश्व आतंकित मात्र हैन एक किसिमले ध्वस्त हुने संघारमा छ । त्यसैले डर चिन्ता मानसिक असन्तुलनलाई आन्तरिक आत्मा जागृती, मनको शसक्तिकरणबाट व्यवस्थित गर्नु नै यस्तो विपत्तिको सुरक्षा कवज हो । वर्तमान परिवेशमा अरुलाई देखाउन खुशी हुदै हाँसौ भनिएको हैन तर आफैभित्र खुशीको सञ्चार गरौ । मनको अन्तर तरंगहरुमा सकारात्मक विचारहरुको प्रवाह गरौ,सवैप्रति दया करुणा र कल्याणका शुभभावनाहरु प्रसारित गरौ । अकालमा मृत्युवरण भएकाहरुका लागि शान्तिको योगदान दिऔं ।

जे हुन्छ राम्रैको लागि हुन्छ । मेरो मनको मनस्थितिलाई किन विचलित वनाउने? जसले यो दुनियाँको रचना गर्यो उसलाई के वनाउने कस्तो वनाउने भन्ने जिम्मेवारी पनि त होला । हरेक घटनाको पछाडी कुनै रहस्यको पर्दा लुकेको हुन्छ,यसले पनि केही सन्देश दिन खोजेको होला भन्ने वुझौ । तर जे होस् आफूलाई सम्हालौ,आतंकित नवनौ । सावधानी भएर शरीरमा कसरी रोगसँग लड्ने क्षमता वढाउन सकिन्छ त्यो तरिका अपनाऔं । चिन्ता छोडौ,प्रभु चिन्तन गरौ । महान व्यक्ति त्यही हो जो विपरित असामान्य अवस्थामा समेत स्वस्थितिमा रहनसक्छ र अरुलाई प्रेरित गर्न सक्छ । ओम् शान्ति ।।।

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराही,दाङ्गका प्रवक्ता हुन्