लकडाउनसंगै किसानहरुलाई बाली भित्र्याउन चटारो
बालाराम खड्का
तुलसीपुर २०चैत । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड—१९को संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन जारीगरे पनि किसानहरुलाई भने बाली भित्र्याउन चटारो परेको छ । कामकाजी किसानहरु आफ्नो खेतवारीमा काम गर्न व्यस्त छन् । खेतवारीमा मसुरो, गहुँ, जहुँ, तोरीलगायतका अन्न तथा दलहन बाली भित्यान किसानहरु बिहान र साझ खेतबारीमै व्यस्त रहेका छन् । ‘‘लकडाउनमा घरमै बस्नुपर्नेहो, तर खेतबारीमा बाली पाकेको छ, बाली स्याहानुपर्ने बाध्यता छ’’ किसान कमला वलीले भनिन् ।
परिवारका सवै सदस्यहरु मास्क लगाएर खेतीवाली स्याहार्न मा व्यस्त भएको उनले भनिन् । एकातिर बाली पाकेको र अर्कोतिर कोरोना भाइसरको संक्रमणको जोखिम बढ्ने हो कि भन्ने चिन्तामा किसानहरु रहेका छन् । ‘‘लकडाउन हाम्रो सुरक्षाको लागि हो, बर्ष दिनसम्म खाने बाली पनी ढल्याउनुपर्ने समस्या छ’’ अर्का किसान विजयकुमार केसीले भने ।
किसानले लकडाउनमा धेरै समूहमा भन्दा पनि दुरी फरक पारेर आफुहरु खेतवारीमा व्यस्त हुने गरेको बताउछन् । तुलसीपुर उपमहानगरपालिकाका किसान प्रकास खड्काले अहिले मसुरो तोरी बाली स्याहार्न मास्क लगाएर खेतवारीमा काम गर्ने गरेको बताउछन् । ‘‘सवैले मास्क लगाएर खेतवारीमा जान्छौं, किनकि धुलोबाट पनि बच्ने र रोगको संक्रमणबाट पनि बच्न सकिने भएकाले मास्क लगाएर मात्रै बारीमा जान्छौं’’ खड्काले भने ।
त्यस्तै हाल सवै परिवार घरमा जम्मा भएको र यही समयमा खेतमा गहुँ पाकेकाले बाली भित्याउन आफुहरु लागेको किसान चन्द्रमाया वलीले बताइन्। ‘‘जोखीम त छ, जोखीम भएपनि खेतवारीमा बाली पाकेको छ, संक्रमणको त्रासमा पनि बाली भित्याउनु पर्ने समस्या छ’’ उनले भनिन् । जिल्लाको लमही, घोराही, तुलसीपुरलगायतका गाउँका किसानहरुलाई बाली भित्याउन चटारो परेको छ ।
त्यस्तै अन्य पशुपालन गरेका किसानहरुपनि गाई, भैसीलाई घाँस काट्न लकडाउनमा पनि खेतवारीमा जानुपर्ने वाध्यता भएको बताउछन् । ‘‘गाई भैसीले लकडाउन छ भनेर मान्दैन्न पशुका लागि पनि घासपात गर्नुपर्ने अवस्था छ’’ स्थानीय ओमकुमारी पुनले भनिन् । उनीहरु जस्तै जिल्लाका सवै किसानहरुले घासपातका लागि संक्रमणको त्रास हुदाँ हुदै पनि खेतवारीमा जानुपर्ने बाध्यता रहेको बताउछन् । त्यस्तै किसानहरुले भने खेतवारीमा काम गरेपनि संक्रमणबाट बचन सामाजिक दुरी र व्यक्तिगत सरसफाईलाई भने ध्यान दिएको बताउछन् ।
