कोरोना संक्रमण : डर मृत्युसँग कि मृत्युको कारणसँग ? चिन्ता कि चिन्तन ?
निकेशकुमार लम्साल
यो लेख कोरोना भाइरसबाट चिन्ताग्रस्त छैन, बरु चिन्तनग्रस्त छ । यो लेख कोरोना भाइरसकै बारेमा होइन, तर प्रसँगबस उत्पन्न परिस्थितिको चर्चा चाहिं गर्दछ । त्यसैले खुला र रचनात्मक मनस्थितिमा यो लेख पढ्नुहुन समस्त पाठक वर्गमा हार्दिक अनुरोध गर्दछु ।
मृत्युसँगको साक्षात्कार
आजभोली साथीहरुसँग संवाद गर्दा अन्त्यमा एउटा शर्तमा ती टुंगिने गरेका छन्, “… कोरोनाबाट बाँचिएछ भने …” । मृत्युको डर अहिले हरेक व्यक्तिको मनोविज्ञानमा मडारिएको छ । अँग्रेजीमा एउटा भनाई छ, धजभचभ लयतजष्लन ष्क कगचभ भखभचथतजष्लन ष्क उयककष्दभि अर्थात् जहाँ हरेक कुरा अनिश्चित हुन्छ, त्यहाँ प्रत्यक कुरा संभव हुन्छ । त्यसमा पनि मृत्यु शाश्वत सत्य हो । जीवनयापनका प्रत्येक पलमा हामी मृत्युका सम्भाव्यताहरु टारिरहेका हुन्छौं । तर पनि हामीलाई मृत्युसँग डर लाग्छ भन्ने नै हाम्रो बुझाइ रहेको छ । हामी जीवनको विषयमा जति कुरा गर्छौं,े मृत्युको विषयमा त्यति छलफल गर्दैर्नौ, गर्न रुचाउँदैनौं । तर हामीले एक पटक चिन्तन गरौं, हामीलाई आफ्नो मृत्युप्रति डर लाग्छ कि आफ्ना प्रियजनको मृत्युप्रति ? हामीलाई डर
मृत्युसँग हो कि मृत्युको कारणसँग ?
सामान्यतः हामी कसैको पनि मृत्यु चहँदैनौं । यद्यपी हामीलाई आफ्नो मृत्युभन्दा पनि आफ्ना प्रियजनको मृत्युप्रति बढी डर लाग्छ । त्यसको एउटा उदाहरण हो, हामी आफ्ना प्रियजनहरुसँग संवाद गर्दा कसैले पनि मलाई केही नहोस्, तिमीलाई होस भन्दैनौ; बरु तिमीलाई केही नहोस्, जे हुनु मलाई नै होस् भन्छौं । यसका पछाडी भावनात्मक सम्बन्ध पनि छन्, तर सुषुप्त चेतनाले पनि काम गरेको हुन्छ । मृत्यु आफैमा चेतनाशुन्य अवस्था हो । कुनै पनि व्यक्ति आफ्नो मृत्युबाट आफै प्रताडित हुँदैन बरु आफन्तको मृत्युबाट भावनात्मक र भौतिक रुपमै प्रताडित हुन्छ । जब मृत्यु अवश्यम्भावी भएर अगाडी खडा हुन्छ, हामीलाई मृत्युसँग होइन मृत्युको कारणसँग डर लाग्छ किनभने कारणसँग मृतकले खप्ने पीडा र सामाजिक प्रतिष्ठा र आत्मसन्तुष्टिको विषय गाँसिएको हुन्छ । उदाहरणका लागि हामी कसैको मृत्यु हुँदा पीडा नभई सजिलै प्राण त्याग गरोस् भन्ने चाहन्छौं । त्यस्तै हवाई दुर्घटनामा कुनै प्रियजनको निधन भयोे भने त्यसले त्यति पिरोल्दैन जति उसलाई कुनै उपचार हुन सक्ने रोग लागेकोमा उपचार गर्न नसकेर भएको निधतले पिरोल्छ ।
महान दार्शनिक गौतम बुद्धले चारवटा शाश्वत सत्यको चर्चा गर्नू भएको छ– मानव जीवनमा दुःख सर्वव्यापी छ, दुःखका कारणहरु हुन्छन्, ती कारणहरुको अन्त्य गरेर दुःखबाट मुक्ति पाउन सकिन्छ र त्यसका लागि आठवटा सत्यमार्गहरु प्रदान गर्नु भएको छ । यीनै चार सत्यलाई आधार मानेर हामीले कोरोना संक्रमण र यस्तै विषयमा विज्ञानको विकास, सामाजिक परिवेश र राज्यको उपस्थिति सम्बन्धी संक्षिप्त चर्चा गरौं ।
विज्ञानको विकास
विज्ञान सबै समस्याहरुको समाधान होइन र यसले प्रकृतिलाई निषेध गर्दैन । विज्ञानले सामान्यतः कारण र प्रभावहरुको अध्ययन गर्दछ ताकी हामी यसको सामञ्जस्यतामा व्यवहार गर्न सकौं र केही हदसम्म अज्ञानताका कारण संभावित क्षति टार्न सकौं । विज्ञानले हाम्रो दैनिकीलाई धेरै हदसम्म सजिलो, सुरक्षित बनाएको विषयमा दुविधा छैन तर यसको प्रयोगका आधारमा वरदान वा अभिशाप दुवै हुनसक्छ । एउटा सानो कथा प्रस्तुत गर्दछु– एकजना बाले छोरालाई भनेछन्, “नजिकैको जङ्गलमा एउटा सेतो र अर्को खैरो, दुईवटा स्यालहरु घमासान युद्ध गर्दैछन् ।” छोराले तुरुन्तै प्रश्न सोध्यो, “कसले जित्छ बा?” बाले जवाफ दिए, “तिमीले जसलाई मिठो खान दिन्छौ, बलियो बनाउछौ र सहयोग गर्छौ, त्यसैले जित्छ ।”
विज्ञान समग्र मावन जातिको साझा हितमा उपयोग हुनुपर्नेमा यो अन्तराष्ट्रिय व्यापारको प्रमुख वस्तु बनेको छ । मध्यम तथा न्यून आय भएका देशहरु अत्याधुनिक प्रविधिहरु न त खरिद गर्न सक्छन् न अध्ययन अनुसन्धान गरी विकास गर्न सक्छन् । स्वास्थ्य क्षेत्र पनि त्यसैगरी चपेटामा पारिएको एउटा क्षेत्र हो । मध्यम तथा न्यून आय स्तर भएका देशमा अत्याधुनिक स्वास्थ्य सुविधाको त के कुरा, आधारभूत स्वास्थ्य सेवा समेत सिमित मात्रामा उपलब्ध हुन्छ । उदाहरणका लागि आज पनि संसारभरी मृत्युका प्रमुख दश कारणहरुमध्ये झाडापखाला नवौं प्रमुख कारण हो जसको संक्रमणबाट वार्षिक चौध लाखभन्दा बढी मानिसले ज्यान गुमाउछन्, त्यस्तै क्षयरोग दशौं प्रमुख कारण हो जसको संक्रमणबाट वार्षिक १३ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँछन् । त्यसमाथि अन्तराष्ट्रिय अर्थतन्त्र कसरी नियन्त्रण गरिन्छ भन्ने छुट्टै पाटो छँदैछ ।
विज्ञानले आजका मितिसम्म जे जति प्रगति वा सफलता हासिल गरेको छ, त्यो अद्वितीय छ तर स्वयं वैज्ञानिकहरु नै स्वीकार्छन् कि हामीले जे जति जान्न खोजिरहेका छौं, त्यसको तुलनामा यो न्यूनतम हो । अझँ भनौं हामीले जान्नु पर्ने विषय के कति छ भन्ने नै हामीलाई थाहाँ छैन । त्यसैले विज्ञानको विषयमा अहंकारी हुनु महान मूर्खता हो । भौतिक विज्ञान, रसायन विज्ञान वा जीव विज्ञान लगायत “प्योर साइन्स” मा हामीले जति सफलता हाँसिल गरेका छौं, सामाजिक विज्ञानमा हामी निकै पछाडी छौं किन भने अहिलेसम्म पनि हामीले त्यसलाई विज्ञानको मूलधार मान्न हिच्किचाइरहेका छौं । कारोना संक्रमणलाई पनि यी दृष्टिकोणबाट विश्लेषण गरिनुपर्छ ।
मर्सी कर्प्सद्वारा प्रकाशित सन् २०१८ को तथ्यांक अनुसार संसरभरी वार्षिक ९० लाख मानिसहरु भोकमरीका कारण गर्छन र त्यो उत्पादनको कमीका कारण होइन, त्रुटीपूर्ण वितरण प्रणालीका कारण हो ।
सामाजिक परिवेश
समाजका विभिन्न पक्षहरु हुन्छन् जस्तै आर्थिक, सांस्कृतिक, राजनितिक, लैंगिक, सामाजिक, आदि जुन विज्ञान हो । तर हामीले त्यसको अध्ययनमा खासै रुची देखाएका छैनौं । मूलधारको मानिएको विज्ञानभन्दा समाज विज्ञान यस अर्थमा फरक छ कि भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र तुलनात्मक रुपमा बढी स्थीर छन् तर सामाजिक विज्ञान अत्यन्त चलायमान छ । जब समाजको पद्धती हाम्रो बुझाईभन्दा बाहिर छ, त्यसमा हाम्रो नियन्त्रण नहुनु स्वभाविक हो । समाज अनियन्त्रित भएपछि सामाजिक प्राणी मानवको जीवनमा दुःख कष्ट आइपर्नु स्वभाविक हो ।
उदाहरणका लागि मर्सी कर्प्सद्वारा प्रकाशित सन् २०१८ को तथ्यांक अनुसार संसरभरी वार्षिक ९० लाख मानिसहरु भोकमरीका कारण गर्छन र त्यो उत्पादनको कमीका कारण होइन, त्रुटीपूर्ण वितरण प्रणालीका कारण हो । त्यस्तै प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ र यसलाई पनि विभिन्न सामाजिक आयामहरुसँग जोडेर हेर्ने गरिएको छ । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्यांक अनुसार संसारभरी वार्षिक झण्डै ८ लाख मानिसले आत्महत्या गर्छन र ती मध्ये ७९ प्रतिशत मध्यम तथा न्यून आयस्तर भएका देशका मानिस हुन् ।
सामाजिक परिवेशलाई सुधार गरेर कतिपय मानव जीवनमा आइपर्ने दुःख वा समस्याहरु नै रोकथाम गर्न सकिन्छ भने शतप्रतिशत पिडाको बोधलाई न्यूनिकरण गर्न सकिन्छ । उदाहरणका लागि कुनै श्रीमानको निधन हुँदा श्रीमतीलाई पर्ने भावनात्मक पिडा केही हदसम्म कम गर्न सकिएला तर उसले भोग्नु पर्ने भौतिक समस्याहरु (यी समस्याले भावनात्मक पिडालाई नविकरण गरिरहन्छन्) धेरैहदसम्म न्यूनिकरण गर्न सकिन्छ ।
राज्यको उपस्थिति
कार्ल माक्र्सले राज्य निजी सम्पत्तिको रक्षार्थ र सम्पत्तिका मालिकहरुले सम्पत्ति विहिनहरुलाई शोषण गर्न बनाएको संयन्त्र हो भने पनि उहाँ स्वयंले पनि योभन्दा उत्तम विकल्प दिनु भएन र आजका मितिसम्म पनि हामीसँग अर्को विकल्प छैन । “सरकार” र “राज्य” भन्ने शब्द सामान्य बोलीचालीमा पर्यायवाची जसरी प्रयोग हुने गरेका छन् तर यी फरक हुन् । राज्यको नेतृत्वदायी शक्ति चाहिं सरकार हो तर आफैमा राज्यको पूर्ण स्वरुप होइन ।
यद्यपी सरकारको नेतृत्वदायी भूमिका रहने भएकाले यसको काम कारवाहीले राज्यका गतिविधिहरुमा निकै असर पर्छ । सरकारको भूमिका प्रभावकारी भएन भने राज्यको उपस्थिति फितलो हुन्छ, जनताले अभिभाकत्व महशुस गर्दैनन्, राज्यप्रतिको दायित्व पूरा गर्दैनन्, नियम कानूनको पालना गर्न आकर्षित हुँदैनन् र राज्य असफल हुन्छ ।
तर विडम्बन “वैश्य युग” का अधिकांश सरकारहरु ठूला व्यापारिक संस्थानका संचालक समितिजस्ता भएका छन् । संकटको घडीमा समेत तिनिहरु नफा घाटाको हिसाब गरेर मात्र निर्णय लिन्छन् र आफ्नो व्यक्तिगत मुनाफासमेत वृद्धि गर्न खोज्छन् । दुष्ट परे भने बरु कम्पनी डुबाउँछन्, आफूलाई उकास्छन् । त्यसकै एउटा उदाहरण कारोना भाइरसको विश्वव्यापी महामारीको अवस्थामा समेत सरकारहरु कसरी नाङ्गो नाच नाच्दैछन् भन्ने विषयमा भारतीय पत्रकार आनन्दस्वरुप वर्माको “संसारलाई एबसर्ड थिएटर बनाउँदै सरकारहरु” शीर्षकको लेख मिति २०७६ चैत्र १८ गतेको नयाँ पत्रिकामा प्रकाशित भएकाले त्यसैलाई नै अध्ययन गर्न अनुरोध गर्दछु ।
नेपालको परिवेशमा हामी सबै भुक्तभोगी नै छौं, पछि उपयुक्त समयमा फेरी चर्चा गरौंला ।
डर लाग्छ भनेर पहाड उक्लिदै नउक्लिनु हदैसम्मको कायरता हुन्छ तर डर लाग्दैन भनेर भीरबाट हामफाल्नु पनि उत्तिकै मूर्खता हुन्छ । हामीले परिस्थिति अनुसार “क्याल्कुलेटेड रिस्क” लिनु पर्छ । कोरोना संक्रमणको वर्तमान अवस्था पनि हामीले गरेको विज्ञानको विकास, हाम्रो सामाजिक परिवेश र राज्यको उपस्थितिको अनुपातमा नै सामना गर्नु पर्ने भएकाले ती पाटालाई थप चलायमान बनानु पर्छ । जे जति गर्न सकिन्छ गरौं, संयमित बनौं, सावधानी अपनाऔं, सुरक्षित रहौं । यस्ता समस्या भविष्यमा पनि पक्कै आउँछन् । सुदृढ तयारी गरौं । वि.सं. २०७२ सालको भूकम्पमा पनि हामीले अनेक महान सिद्धान्त उपर प्रण गरेका थियौं तर बिर्सियो । विलियम सेक्सपियरले भनेका छन् “व्यवहारमा पनि त्यति नै महान् बन जति तिमी विचारमा महान छौ” ।
स्मरण गरौं ।
अन्त्यमा, हामी विपरितहरुको एकत्वलाई स्वीकार्ने दार्शनिक संस्कारका मानिस हौ । मृत्यु जीवनको विपरित नभई अभिन्न अँग हो । मृत्यु बिना जीवन अपूर्ण हुन्छ । मृत्यु टार्न त नसकिएला, मृत्युको पीडालाई टार्ने कोशिष गरौं । बाबु मोशाय जिन्दगी बडी होनी चाहिए लम्बी नही … (आनंद, १९७१)
