लकडाउन : थरिथरिका भोगाई, थरिथरिका सिकाई
खेमराज रिजाल
नेपालमा पनि कोभिड—१९को उच्च जोखिम रहेको विश्वस्वास्थ्य संगठनको चेतावनीसंगै सरकारले लकडाउनको अवधी लम्व्याएको छ । एक साताको लकडाउनको अवधिमा विभिन्न पात्रहरुले विभिन्न अनुभुति गरीरहेका छन् । केहिको भोगाई, केहिको बुझाई र सिकाइलाई गोरक्षा अनलाइन कलेक्शनमा आएका लकडाउनका अनुभुतिहरु संक्षिप्त रुपमा यहां प्रस्तुत गरिएको छ ।
छिमेकि मुलुक चिनबाट उत्पत्ति भएको कोभिड—१९ को संक्रमण विश्वका करीव २ सय मुलुमा फैलिएसंगै नेपालमा पनि फाटफुट रुपमा विदेशबाट आएका नागरीकहरुमा देखिन थालेको छ । त्यससंगै दाङ जिल्ला पनि भारतीय सिमासंग जोडिएकाले यहां पनि संभावित संक्रमण फैलन सक्ने जोखिम यथावतनै छ । यद्दपि यहांका विभिन्न आइशोलेशनमा उपचाररत सम्भावित संक्रमितको कोरोना परीक्षणमा भने सवैको नेगेटिभ रिपोर्ट आइसकेको छ । जिल्लाभरका १६ जना संकास्दप संक्रमितका स्वाव परीक्षण गर्दा कसैमा पनि कोभिड— १९ को संक्रमण देखिएको छैन ।
नेताहरु के गरी समय विताइरहेका छन् ?, जनप्रतिनिधिको दैनिकि कस्तो छ ? र शिक्षकको बुझाइ र सुझाव कस्तो छ भन्ने विषयमा प्रतिनिधिमुलक भोगाइ, बुझाइ र सिकाइलाइ यहां उल्लेख गर्न चाहन्छौं ।
लकडाउनलाइ होम पाठशाला बनाऔं : विजय जिएम, प्राचार्य गोरखा वोर्डिङ स्कुल तुलसीपुर
विजय जिएम अहिले आफु पनि होम पाठशालामा छन् । ‘ई लर्निङ’को अभ्यासमा छन् । लकडाउनभरको अवधिलाई होम पाठशालाका रुपमा लिन उनी आम विद्यार्थीहरुलाई आह्रवान गरेका छन् । गोरक्षसंगको कुराकानीमा उनले यसलाइ एउटा सिकाइको गतिलो अवसरका रुपमा लिन पनि सुझाव दिए । अहिले विद्यार्थिहरुको मनोवल बढाउनुपरेको छ । मानसिक विचलनबाट जोगाउनु आम अभिभावकको दायित्व हो । त्यसैले पनि वाल मनौविज्ञानमा कुनैपनि नकारात्मक प्रभाव पर्ने खालका समाचार सुचना र गलत अफवाहबाट उनीहरुलाइ टाढा राख्नुपर्ने उनको अर्को सुझाव हो ।
कोभिड—१९को विश्वव्यापी संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन सुरु गरेको एक साता पार भैसकेको छ । यसबीचमा हतारहतारमा एक कक्षादेखि ९ कक्षा सम्मका विद्यार्थिहरुको बार्षिक परीक्षा सम्पन्न भैसकेपनि एसइइ परीक्षा भने अझै पनि अन्योलमा छ । लकडाउनको समयमा विद्यार्थि र अभिभावक दुवैले यो समयलाइ एउटा नयां सिकाइका रुपमा पनि लिनुपर्दछ ।
अहिले अतालिने अवस्था होइन, तर सतर्कता भने अपनाउनै पर्ने समय हो । कोरोना भाइरसको अझै औषधि पत्तालागेको छैन । नन मेडिकल उपचारबाट पनि यसबाट जोगिन सकिन्छ । यसमा विद्यार्थिहरुको अहम भुमिका हुन्छ । लकडाउनको समयमा धेरै विद्यार्थिहरु मोवाइलमा झुण्डिइरहेको अभिभावकले गुनासो गरीरहेका छन् । त्यो स्वाभाविकै हो । तर पनि विद्यार्थि भाइवहिनिहरु यसमा आफै जिम्मेवारी बन्नुपर्दछ । युवा अवस्थामा विभिन्न तरंगहरु आउन सक्छन् । कोरोना केहि पनि होइन भन्ने सोंच पनि आउन सक्छ, तर यो होइन । कोरोनालाइ विश्व स्वास्थ्य संगठनलेनै महामारीका रुपमा परीभाषित गरीसकेको छ । हजारौंको ज्यान गैसकेको छ भने लाखौंमा संक्रमण देखा परेको छ ।
यो विषम परीस्थीतिमा आफु जोगिन र अरुलाइ पनि जोगाउन लकडाउनको पुर्ण पालना गर्न मैले विद्यार्थि भाइवहिनिहरुलाइ आग्रह गर्दछु । विद्यालयहरु बन्द छन् । तपाइ घरमै हुनुहुन्छ । तपाइ इन्टरनेटको पहुंचमा पनि हुनुहुन्छ । यो अवस्थामा सवैभन्दा पहिले इलर्निङलाइ फलो गर्नुस् । एसइइ परीक्षा दिने विद्यार्थिहरुले पहिले अध्ययन गरेका कुराहरु रिभ्यु गर्नुस् । खाना पकाउन पनि सिक्न सक्नुहुन्छ । घर वरपरको करेसावारीमा काम गर्न सक्नुहुन्छ । आफ्ना कपडा आफै सफा गर्नुस् । घरवरपर सरसफाइ गर्नुस् । वोरीङ फिल भएको अवस्थामा सिनेमा हेर्न पनि सक्नुहुन्छ ।
हो कोरोनाको विश्वव्यापी महामारीले वाल मनोविज्ञानमा नकारात्मक असर पनि परेको छ । यसमा अभिभावकहरुले पनि विशेष ध्यान दिनु आवस्यक छ । वालवालिकामा त्रास होइन, महामारीबाट लड्ने भरोसाको वातावरण सृजना गराउन सक्नुपर्दछ । पोसिलो खाना खाने विषयमा वालवालिकालाइ आश्वस्त पार्न सक्नुहुने छ । पारीवारीक मनोरन्जनमा समय विताउन सिकाउनुहुने छ । ताकि वालवालिकामा मनोवैज्ञानिक भयको अन्त्य होस । वालवालिकाहरुलाइ खेलौना बनाउन सिकाउनुस्, राम्रा चित्र बनाउन सिकाउनुस् । विश्वका अचम्मका कुराका विषयमा जानकारी गराउनुस् । समय धेरै छ । घरमै पनि सृजनात्मक बनाउने यो एउटा उपयुक्त अवसर पनि हो । आफु पनि बचौं, अरुलाइ पनि बचाऔं ।
राजनीतिकर्मी र स्थानीय सरकार अआफ्नै भोगाइमा
राजनीतिकर्मी र जनप्रतिनिधिहरुको भने अआफ्नै भोगाइ छ । लकडाउन भनेर घरभित्रै बसिरहने अवस्था पनि छैन, खुलेर मनोमानी रुपमा हिंड्ने समय पनि होइन । अरुलाई बुझाउने र आफुलाई पनि सुरक्षित राख्ने उनीहरुमा दायित्व छ । त्यसैगरी कालो बजारी नियन्त्रण गर्नु र उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य बस्तु उपलव्ध गराउनुपनि उनीहरुको दायित्व हो ।
सामाजिक दुरी कायमगर्दै अभियानमा : नरुलाल चौधरी (मेयर, घोराही)
लकडाउनको अवस्था अत्यन्तै सम्वेदनशिल अवस्था हो । यसलाई कार्यान्वयन गराउनु एउटा पाटो हो भने स्थानीय सरकार प्रमुखको हैसियतले बजारमा दैनिक उपभोग्य सामाग्रिहरुको अभाव सृजना हुन नदिनुपनि अर्को पाटो हो । तेस्रो पाटो भनेको आफ्नै व्यक्तिगत सुरक्षा पनि हो, त्यसकालागी पनि एउटा सामाजिक दुरी कायम गर्नु उत्तिकै महत्वपूर्ण सवाल हो ।
हो अहिले लकडाउनको अवस्था छ, सकेसम्म घरवाहिर निस्कनु उपयुक्त होइन, तर पनि हामी स्थानिय सरकारका नाताले यो गरीरहन दिन्न । त्यसैले मेरो दैनिकि विहानको शारीरिक अभ्यासबाट सुरु हुन्छ । एक्लै अभ्यास गर्छु । त्यसपछि सवै वडाध्यक्षहरुलाई फोन सम्पर्कगरी हरेक वडामा संभावित संक्रमितको तथ्यांक र बजारको अवस्थाको वारेमा जानकारी लिन्छु । त्यसपछि कुइरेपानीमा सन्चालनमा आएको क्वारेन्टाइनको फलोअप । आज तपाइले फोन गरीरहंदा म कुइरेपानीको क्वारेन्टाइनमा स्थलगत अनुगमनमा आएको छु । हातमा सेनीटाइजर दलेर मुखमा मास्क लगाइ सुरक्षित तवरले म यहां आएको छु । मैले यहां एउटा निश्चित दुरीमा रहेर सरोकारवालासंग जानकारी लिइरहेको छ । ताकि संभावित संक्रमितबाट म र अरु पनि बच्न सकुन् भनेर । दिउसो विपत व्यवस्थापनका वारेमा नियमित छलफल हुन्छ । सायद दैनिक जसो वेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा रहेका विरामीका विषयमा पनि जानकारी लिन्छु । बेलावेलामा प्रदेशको सामाजिक विकाश मन्त्रालय र संघिय मामिला मन्त्रालयमा पनि समन्वय गरीरहन्छु । यसरी लकडाउनको समयलाइ मैले सदुपयोग गरीरहेको छु ।
लकडाउनमा दुई पुस्तक : किर्तिबहादुर खड्का, सभापती नेका दाङ
लकडाउनको समयमा नेपाली कांग्रेस दाङका सभापति किर्तिवहादुर खड्काले भने विशेषगरी पुस्तक पढेर विताइरहेका छन् । अहिले उनले दुर्गा सुवेदीले लेखेको ‘विमान विद्रोह’ पुस्तक पढिरहेका छन् । दुइदिन अघि उनले ‘संसदमा विपि महेन्द्र टकराव’ पुस्तक दोहो¥याएर पढ्न भ्याए ।
तैपनि विश्व कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा जुटेसंगै नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेकाले दैनिकजसो समाचार अपडेट गरीरहेको खड्काको अभिव्यक्ति छ । उनकै भनाइमा म सवैभन्दा पहिले मर्निङवाकमा जान्छु । सामान्य पसिना आउन्जेल पैदल यात्रापछि घरमा फर्केर नुहाइधुवाइ गरी पुजापाठमा केहि समय वित्छ । त्यसपछि दाङ जिल्लामा लकडाउनका कारण मज्दुर एवं सर्वसाधारणले भोग्नुपरेका समस्या, स्वास्थ्यकर्मि र सुरक्षाकर्मिले भोग्नुपरेका समस्याका विषयमा जानकारी लिन्छु । त्यसपछि पार्टिका सवै तहका नेता कार्यकर्ताहरुमा यो विषयमा जानकारी गराउंछु । आफु वाहिर सकेसम्म जान्न, गैहालेपनि मास्क र सेनीटाइजरको प्रयोग गरेर मात्र निस्कन्छु । यो विषमा परीस्थीतिमा आफु सुरक्षित रहन र अरुलाइ पनि सुरक्षित बनाउन आम कार्यकर्ताहरुलाइ फोनबाटै निर्देशन दिन्छु । त्यसपछि समयसमयमा स्थानीय सरकारलाई पनि ध्यानाकर्षण गराउंछु । गाउघरमा पनि भिडभाड नगराउन सम्झाउंदै हिंड्ने गरेको छु । भोजभतेर, जुवातासलगायत भिड बढि हुने कुनैपनि काम नगरौं भन्ने गर्छु ।
हो, अहिले मुलुकमा एक साता भन्दा बढि लकडाउन भएको छ । यसलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउनु हामीसवैको साझा दायित्व हो । यदि संभावित संक्रमित भेटिए उनीहरुलाइ सुरक्षित रुपमा उपचार व्यवस्थापन गर्नु आवस्यक छ । त्यसैले पनि सवै तह र तप्कामा रहेका कांग्रेस कार्यकर्ताहरुलाई यो महान साझा अभियानमा सहयोगी भुमिका निर्वाह गर्न आग्रह पनि गर्दछु । कोरोना भाइरसको विश्वव्यापी महामारीका विरुद्धमा एकजुट भएर सामना गरौं ।
मर्निङवाकबाट दैनिकि सुरु गर्दै : जीवन गौतम (इन्चार्ज) नेकपा दाङ
लकडाउनको आज नबौं दिन, आज पनि मैले दैनिकि मर्निङवाकबाटै सुरु गरें । दैनिक जसो कम्तिमा एक घण्टा मर्निङ वाक गरेपछि केहि रिलिफ फिल हुन्छ । त्यसपछि घरमा आइ चियानास्ता र घर वरपरको सरसफाइ । परिवारका सदस्य सवैलाई आफ्नो व्यक्तिगत सरसफाइ तथा घरवरपरको सरसफाइका लागि आग्रह गर्दछु । त्यसपछि अहिलेको समय भनेकै कोरोनाको संभावित संक्रमणबाट जोगिने समय हो । पार्टिका सवै तह र तप्काका साथिभाइहरुसंग फोन सम्पर्क गर्छु । पार्टि इन्चार्जका नाताले जिल्लाका सवै स्थानमा व्यवस्थापन गरिएका क्वारेन्टाइन र आइशोलेशन वार्डका वारेमा जानकारी लिन्छु । त्यसको व्यवस्थापनका लागि आवस्यक सामाग्री र श्रोत साधन जुटाउने सवालमा प्रदेश सरकार र संघीय सरकारसंग नियमित सम्पर्क गर्छु ।
विशेष गरी दाङको वेलझुण्डिमा सन्चालनमा आएको कोरोना विशेष हस्पीटलको व्यवस्थापन समिति सदस्य भएका नाताले हस्पिटलको विषयमा नियमित जानकारी लिन्छु । लकडाउनको अवधि भएकाले आवस्यक काम वाहेक वाहिर चौकचौकमा चिया पिउने र साथिभाई जम्मा भएर गफिने अवस्था छैन । घरमै पाकेको खाना खाने, वाहिर हिंड्दा आवस्यकता अनुसार मास्क प्रयोग गर्ने र सेनीटाइजरको पनि प्रयोग गर्ने गरेको छ । हो अहिलेसम्म दाङका विभिन्न आइशोलेशन वार्डमा भर्ना भएका संकास्पद कोरोना संक्रमित कसैको पनि संक्रमण पुष्टि भएको छैन । हालसम्म परीक्षण गरीएका १६ जनामा सवैको रिपोर्ट नेगेटिभ आएको पनि यहांहरुलाइ जानकारी गराउन चाहन्छु । तर पनि जोखिमको अवस्था कायमै छ । भारतमा दिनहु संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपालमा पनि यसको उच्च जोखिम रहेको छ । त्यसमा दाङ पनि संक्रमण फैलन सक्ने अत्यन्तै जोखिमको जिल्ला हो । किनकि दाङ पनि सिमा क्षेत्रबाट नजिककै जिल्ला हो । त्यसैले लकडाउनको पुर्ण रुपमा पालना गरौं भन्न चाहन्छु आम जिल्लाबासी नागरीकहरुलाई । अनि लकडाउनलाइ पुर्णरुपमा कार्यान्वयनमा ल्याउन सुरक्षा निकायलाई सहयोग गर्न आम पार्टि नेतृत्व तथा विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुलाई आह्वान गर्न पनि चाहन्छु । आफु सुरक्षित बनौं, अरुलाइ पनि संक्रमणबाट जोगाऔं ।
