कविता : सभ्यता पो पलायो
नारायण नेपाल
अँध्यारो उज्यालोतिरै धाउँदै छ
यहाँ मृत्युले जिन्दगी गाउँदै छ
भुलेको थियोे व्यक्तिले आफुलाई
चिन्यो बल्ल सिङ्गो अहङ्कारलाई ।।१।।
छुटेकाहरू फोनमा भेटिँदै छन्
गुनासाहरू सुस्तरी मेटिँदै छन्
थिए द्वारकै फूल टाढा बिराना
बन्यो आज संसार नै एक छाना ।।२।।
छ यो मौनतामा क्रियाशील मान्छे
बनेको छ नौलो कलाकार मान्छे
स्वयंभित्र हेर्दै छ ऊ फर्किएर
खसे दम्भ पाखण्ड थोत्रा भएर ।।३।।
बढेको छ संस्कारको झन् महत्त्व
बढ्यो स्वच्छतामा सबैको ममत्व
पुन: गाइए वेद-साहित्य -गाना
पुन: फर्किए चित्र आफ्ना पुराना ।।४।।
सबै एउटै बिन्दुको ध्यानमा छन्
नयाँ साधना वा नयाँ ज्ञानमा छन्
नयाँ त्रासले एकताआस ल्यायो
बिलायो अहम् सभ्यता पो पलायो ।।५।।
