एक्ली नर्स !
विपुल पोख्रेल
कोरोनाको बिरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीलगातको पंक्तिको सम्मानमा सिंगो भारतले छतमा उभिएर झ्याली पिट्यो । सरकारको आह्वानमा भएको यो काममा राष्ट्रपतिदेखि बिपक्षी दलका नेताहरुले पनि उत्साहका साथ सहभागिता जनाए ।
नेपालमा पनि यसैगरी कोराना बिरुद्धका फाइटरको सम्मानमा केही गर्न पाए हुन्थ्यो भन्ने सोंच विकास भैरहेको थियो । सायद, अरुहरुको मस्तिस्कमा पनि त्यो सोंचको विकास भएको हुनुपर्छ । निकै मन छुने अभियान थियो त्यो ।
मनले केही रचनात्मक ढंगले स्वास्थ्यकर्मीको सम्मान गर्ने योजना बुँदीरहँदा सरकारका तर्फवाट पनि कता कता सुनियो, ‘स्वास्थ्यकर्मीहरुलाई सहयोग गरौं, डेरामा बस्ने स्वास्थ्यकर्मीलाई घरवेटीले असजिलो वातावरण नगराइदिनु होला’ भन्ने भावना ।
स्वास्थ्यकर्मी प्रति एउटा नागरिक र सिंगो राज्यको सम्मानभाव प्रकट भैरहँदा र उनीहरुको आत्मवल बढाउन सघाउ पु¥याउने चाहना संगठित बन्दै गर्दा मंगलबार दाङमा एउटा यस्तो घटना घट्यो, जस्ले निराश नै बनायो । सायद म मात्र हैन धेरैमा निराशा छायो होला !
घोराही स्थित बुद्ध हस्पिटलमा कार्यरत एकजना नर्स सिर्जना खड्का घरवेटीवाट निकलिएकी र होटेलमा बसेर अस्पताल जाउँ आउँ गरिरहेकी भन्ने खबर आयो ।
समाचार दिने कि प्रशासनलाई भनेर यो निकृष्ट कार्यलाई निरुत्साहित गर्न लगाउने ? भन्ने कुरा मनमा खेल्न थाल्यो । प्रशासनलाई जानकारी गराउने उचित ठाने मैले । गराए पनि । नागरिक दैनिकका संवाददाता देवेन्द्र बस्नेतले समाचार नै लेखे । नागरिक अनलाइनमा आयो पनि । त्यही समाचारलाई पत्रकार निशानदाजु भट्टराइले साभार गरेर आफ्नो जागरण अनलाइनमा हाले पनि ।
घरबेटी नारायण आचार्य, जो घोराही उपमहानगर पालिकाका बडा नं.२ का वडा सचिव हुन्, लाई नर्सलाई घरमा बस्न नदिएको आरोपमा प्रहरीले जिप्रका बोलायो र झण्डै ५ घण्टा उनी जिप्रका बसे ।
नर्स सिर्जनाले जाहेरी दिन मानिन् । ‘यती ठूलो रुप लेला भन्ने लागेकै थिइन’ मात्र भनिन् रे उनले । उनको भावभंगीवाट उनीमाथी केस नगर्न ठूलो दवाव परेको झै लाग्थ्यो भन्छन् उनलाई भेट्नेहरुले ।
बेलुका किशोरचन्द्र गौतमले आफ्नो फेसबुक स्टाटस्मा लेखे :
#केस ढिसमिस भो है#
राज्यनै पीडकसंग मिलेपछि एउटी किशोरी केका लागि र कसको भरमा लडून !
१)जाहेरी दिन मानिनन् रे नर्स नानीले।
२)नर्स नानीलाई वस्ने कोठा अन्तै व्यवस्था भो रे१
३)पीडक भनिएकालाई वडाध्यक्षले सान संग घर लिएर गए।
४)नर्सिङ संघ,चुक्क बोलेको सुनिएन।
#नर्स घरनिकालाकाण्ड मिलमतोमा सामसुम#
धेरै बोल्नेलाई कारवाही हुन सक्छ।
#सबैसत्ताको चरित्र यही हो। परीक्षा हाम्रो आवाजको ताकतको हो।
एक्ली भइन् नर्स । सिंगो भारतले सम्मान ग¥यो, गर्दैछ नर्सहरुको । त्यहाँका प्रधानमन्त्री मोदीले दूरदराजका स्वास्थ्य केन्द्रका नर्सहरुलाई फोन गरेर हौसला दिइरहका छन् । हामी कहाँ घरवाट निकालिएकी नर्सलाई ‘अन्तै बस्ने कोठा मिलाउने गरी’ केस मिलाइयो रे । के यो सवाल सिर्जना खड्काको मात्र हो ? नर्सहरुको संगठन कता हरायो ? अधिकारवादीहरु खै ? नागरिक समाज कहाँ गयो ? राजनीतिक नेतृत्वको दायरा भित्र यो विषय पर्दैन ? वार्ड अध्यक्ष स्वयम्ले मिलोमतो गराइ घरबेटीलाई प्रहरी परिसरवाट बाहिर ल्याउन हतार गरिरहेका थिए रे दिनभर । जनप्रतिनिधिको भूमिका त्यही हुनुपर्ने हो ? भावनात्मक रुपमा र आवाजमा ‘स्वास्थ्यकर्मीलाई सघाऔं’ भनेर मात्र पुग्छ यो बेला ? थुप्रै प्रश्नहरु जन्मिएका छन् ।
यी मध्य कुनै प्रश्नले म स्वयम्लाई गिज्याई पनि रहेको होला । तर, एउटा पत्रकारको दायित्व यस्ता प्रबृत्तिहरुलाई उदाङगो(एक्स्पोज) गर्ने नै हो । यो केसलाई पत्रकारिताले उदाङगो पार्दा समेत नर्स सिर्जना खड्का एक्ली देखिइन्, उनको व्याकअपमा कोही भएन । बरु दवावमा पारिइन् उनी ।
अन्तमा, यति चाँही लेख्छु, यो महामारीमा पीपीए विना पनि हाम्रा लागि आशाका केन्द्र बनेर बसेका तमाम स्वास्थ्यकर्मीहरु प्रति सम्मान छ, नमन छ । अब सिंगो समाज र राज्य उनीहरुको व्याकअपमा उभिनु पर्दछ । दाङकै बदनाम गराउने यस्ता घरवेटी प्रबृत्तिको बिरुद्धमा सबै एक हुनै पर्छ ।
