आलश्यता हटाउन छतमा नृत्य : भन्छन्-‘कोरोनाले नाच्न सिकायो’
सुलोचना गौतम
दाङ १८ चैत । घोराही वजार क्षेत्र भित्र पर्ने धर्म नगर टोलमा अजकल बेलुकी ५ बजे तिर हल्लाखल्ला सुनिन्छ । त्यो हल्लासंगै टोलका अधिकांश घरधनीहरु र भाडामा बस्नेहरु आआफ्नो घरको छतमा उक्लन्छन् । छतमा उक्लिएका सबैले एक अर्कामा अभिवादन गर्दै हाँसो ठट्टा गर्छन् । एकै छिन्मा स्पिकरमा ठूलो आवाजमा गाना बज्न थाल्छ । अनी त्यो स्पिकरको गानाको तालमा नाच्न थाल्छन् ।
देशसंगै आफ्नो टोल पनि लकडाउनमा परेपछि दिन काट्ने र रमाउने उपाय खोज्दै जाँदा यस्तो उपाय फुरेको बताउछन् सो टोल निवासी किशोरचन्द्र गौतम । ‘शुरुका केही दिनमा त सबैजना छतमा त्यसरी निस्कनु भएन, निक्केकाहरु पनि लजाउनु भयो’ गौतम भन्छन्-‘अब त सबै मज्जाले नाच्नु हुन्छ, समय कटेको पत्तै हुँदैन ।’
शुरुमा भजनमा नाच्न थालेका टोलवासी अब जस्तो गानामा पनि नाच्ने भैसकेका छन्, अर्थात अब सबै अभ्यस्त भैसकेका छन् र डर अनी लाज भागी सकेको छ । महिला पुरुष सबै यो रमझममा साथी साथी हुने गरेका छन् ।
यसरी नाच्दा ‘बसीबसी पाट्टिएर बिरामी हुने झै भएको शरिरमा स्फूर्ती आएको’ उनको अनुभव छ । ‘यसो गर्दा आलश्यता हराउँदै छ’ उनले हौसिँदै भने ।
दिनभर घरमा गुम्सिएर बस्ने, सामन्य अबस्थाको भन्दा बढी खानपिन गर्ने र पट्यार लाग्दो दैनिकी थियो लकडाउनको दोस्रो, तेस्रो दिनसम्म । शरिरमा आलश्यता बढ्दो थियो । बजारमा रहेका जिमखानाहरु, जुम्बाहरु बन्द भएका थिए । त्यो परिस्थितिमा खोजिएको यो उपायले सामान्य रुपमा भए पनि व्यायामको काम गरेको बताउछिन् टोली निवासी माया पोख्रेल गौतम । ‘शरिर पाट्टिएर कुज्जीएला भन्ने डर भयो’ उनी भन्छिन्, ‘अब त आनन्द हुन्छ नाचेर रमाएर ।’ अब बिहानको समयमा पनि यो प्रकारको नृत्यलाई शुरु गर्ने साेंच बन्दै गरेको जानकारी पनि उनले दिइन् । ‘मलाई त शुरुमा छतमा नाच्न लाज लाग्यो, त्यसो त म आफैमा नाच्न नजान्ने मान्छे, झनै छतमा नाच्न भन्दा त शुरुमा गाह्रो माने’ माया हाँस्दै भन्छिन्, ‘यो कोरोनाले त नाच्ने नै बनायो ।’
सोही टोलका दीपक न्यौपानेले छतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि धेरैले यसबारेमा चासो पनि राखे । ‘भिडियो भाइरल नै भयो’ दिपक भन्छन्, ‘धेरैले गज्जव गरेछौ पनि भन्नुभयो ।’ यसरी नाच्दा ‘बसीबसी पाट्टिएर बिरामी हुने झै भएको शरिरमा स्फूर्ती आएको’ उनको अनुभव छ । ‘यसो गर्दा आलश्यता हराउँदै छ’ उनले हौसिँदै भने ।
घरभित्रै परिवाका सदस्यहरुवीच नाचेर व्यायाम गर्नेहरु त धेरै छन्, तर यो नौलो अभ्यास अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । ‘उहाँहरुको जस्तो छतमा गएर छिमेकीका साथ नाच्ने त गरेका छैनौ’ घोराही एकान्ट होटेल निवासी सपना गिरी भन्छिन्, ‘घरमै नाचेर, डोरी खेलेर शरिरलाई सन्तुलित राख्ने गरेका छौ ।’ बच्चाहरुलाई भुलाउनका लागि पनि यसो गर्नु उपयोगी भएको उनको अनुभव छ । बच्चाहरुलाई नचाउन र भुलाउन शुरु शुरुमा गाह्रो भएको भएता पनि अब भने उनीहरु पनि संगै नाच्ने गरेको उनी बताउछिन् । ‘दिनकाट्न पनि सजिलो, शरिरलाई सन्तुलित राख्न पनि सजिलो’ सपना भन्छिन्, ‘हामी त बिहान बेलुका नै घरभित्रै नाच्ने गर्छाै ।’
