के हो आइसोलेशन ? के हो क्वारेन्टाइन ?
कोरोना संक्रमण पछि केही शब्दहरु बढी प्रयोगमा आएका छन् । ती मध्य दुई शब्द हुन् आइसोलेशन र क्वारेन्टाइन । यी शब्दले स्वास्थ्यका सन्दर्भमा के अर्थ बोक्छन् त ? अनी के फरक छ आइसोलेशन र क्वारेन्टाइनमा ? चिकित्सकहरु तथा अन्य जानकारहरुको सहयोगमा गोरक्षकर्मी खेम रिजालले आइसोलेशन र क्वारेन्टाइनलाई यहाँ प्रष्ट्याउने प्रयास गरेका छन् ।
क्वारेन्टाइन
क्वारेन्टाइन भनेको सामान्यतया स्वास्थ्य परीक्षण जस्तै हो । कुनैपनि मानिस वा पशुपंक्षि स्वस्थ छ छैन भनेर परीक्षण गर्ने माध्यम क्वारेन्टाइन हो । पछिल्लो समयमा कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिइरहेको समयमा कुनैपनि संकास्पद संक्रमित वा संक्रमण फैलाउन सक्ने व्यक्तिलाई कुनै सिमित स्थानमा राखी स्वास्थ्य अवस्थामा निगरानी गर्नु क्वारेन्टाइन हो । क्वारेन्टाइन घरमै पनि हुन सक्छ, होटलको कुनै एक कोठामा पनि हुन सक्छ, स्वास्थ्य संस्थामा पनि हुन सक्छ । क्वारेन्टाइनमा बसेको व्यक्ति अर्को व्यक्तिसंग सम्पर्कमा आउनुहुंदैन । आफुले प्रयोग गर्ने सामानहरु भिन्नै हुनुपर्दछ । आफु सुत्ने र घुम्ने स्थान पनि कुनै निश्चित तोकिएको स्थानमा हुनुपर्दछ । अर्थात क्वारेन्टाइन भनेको सामान्य बुझाइमा स्वयम् पाक्य खाएजस्तै हो वा अझै स्पष्ट भन्नुपर्दा क्रिया बसेका व्यक्तिहरुले गर्ने व्यवहार जस्तै हो ।
धर्मिक परम्परा अनुसार पनि विशेषगरी छोरा(बुहारीले क्रिया गर्नुको अर्थ पनि सम्भावित संक्रमणसंग जोडिएको हुन्छ । किनकी मृतकलाई विशेषगरी स्याहार सुसार गर्ने व्यक्ति पनि संक्रमित हुन सक्छ भनेर धार्मिक परम्परा अनुसार तेह्र दिनसम्म क्रिया बस्ने चलन थियो । त्यस्तै अहिले क्वारेन्टाइनको अवधि पनि सामान्य तया १४ दिन तोकिएको छ । यदि कुनै व्यक्तिमा भाइरसको संक्रमण रहेछ भने ती भाइरसले लक्षण देखाउन बढिमा १४ दिनसम्मको समयावधि लाग्छ । त्यसैले संकास्पद व्यक्तिलाई यो अवधिभरी क्वारेन्टाइनमा राख्ने गरीएको हो । यो मुलुकका विभिन्न स्थानमा व्यवस्थापन गर्न सकिन्छ । सम्भव भएसम्म औषधी उपचारको पनि सामान्य व्यवस्थापन गरीनुपर्दछ । क्वारेन्टाइनमै रहंदा कुनैपनि व्यक्तिलाई संक्रमणका लक्षणहरु धेरै देखिए वा संक्रमण प्रमाणित भैसकेको अवस्था हो भने तुरुन्तै क्वारेन्टाइनबाट हटाएर आइसोलेशन वेड भएको स्वास्थ्य संस्थामा पठाउनु पर्दछ ।
आइशोलेशन
आइसोलेशन भनेको खासगरी संक्रमण प्रमाणित भैसकेका विरामी अथवा संक्रमणको लक्षण देखिइसकेका विरामीलाई भिन्नै राखेर उपचार गरीने बिधी हो । कुनैपनि सरुवा रोग प्रमाणित भैसकेपछि त्यस्ता विरामीबाट अन्यत्र संक्रमण फैलन नपाओस भनेर विशेष सावधानीसहित उपचार गर्न आइसोलेशन वेडको व्यवस्थापन भएको हुनुपर्दछ । त्यस्तो वेडमा अक्सिजन, आइसियु तथा आवस्यक परेको समयमा भेण्टिलेटरको समेत व्यवस्थापन भएको हुनुपर्दछ । संक्रमण प्रमाणित भैसकेको विरामीलाई संभव भएसम्म एउटा सिंगल क्याविनमा राखेर उपचार गरीनुपर्दछ । त्यसमा स्वास्थ्यकर्मिहरुले समेत विशेष सावधानी अपनाउनु जरुरी हुन्छ । स्वास्थ्यकर्मिहरुलाई समेत संक्रमण फैलन नदिनका लागि गुणस्तरीय सेनीटाइजर, ग्लोव, मास्क, चस्मा तथा पिपिइको व्यवस्थापन हुनु अत्यन्तै आवस्यक छ । यदि महामारीकै रुप लिइसकेको अवस्थामा भिन्नै कोठा सम्भव भएन भने फराकिलो हलमा कम्तिमा एक मिटरको फरकमा वेड व्यवस्थापन गरी स्वास्थ्य उपचार पनि गर्न सकिन्छ । आइसोलेशन अहिले प्रचार गरेजस्तो सवै स्वास्थ्य संस्थामा व्यवस्थापन हुन सम्भव छैन । हरेक संक्रमितलाई अलग्गै स्थानमा राखेर उपचार गरीने विधिनै आइसोलेशन हो ।
