कोरानाले सम्झाएको पाठ
कविता पन्थी
समय परिवर्तनशील छ, कतिबेला के हुन्छ कसैलाई पत्तो हुदैन । अहिले विश्वसमुदाय समयको कहरलाई भोग्दैछ । पृथ्वीमा रहेका सबै प्राणी, चिजवस्तुहरुको समान अस्तित्वबोध अहिले हामीले गरिरहेका छौ । सानो प्राणी, के ठूलो प्राणी, निर्धो, बलवान्, बुद्धिमान सबैको समान रुपमा जीवित रहने चाहना हुन्छ भन्ने बुझ्नलाई अब ढिलो गर्नु हुन्न ।
अहिले के सानो देश, के कमजोर, शक्तिशाली, ठूलो देश सबैलाई आँखाले पनि देख्न नसकिने भाइरसले आतंकित बनाएको छ । के गाउँ के शहर जताततैका मान्छेलाई कोरोनाको त्रासले त्रसित बनाएको छ । सबै वर्ग, उमेर, लिंग, देशका सबै मानिस कोरोना त्रासदीले त्रस्त बनेका छौं । कहिल्यै कल्पना पनि गर्न नसकेको समस्या विश्व मानव समुदायले भोगिरहेको छ । केही समय आगाडि छिमेकी देश चिनको मात्र समस्याको रुपमा रहेको कुरा अहिले विश्वकै टाउको दुखाइको बिषय बनिसकेको छ ।
अहिलेको समयमा सम्पूर्ण विश्वका मानिसहरुको समस्या साझा छ । साझा धरती, साझा समस्या, समाधान पनि साझा तरिकाले निस्किने कुरा निश्चितप्रायः छ । ‘लोका समस्ता सुखिनो भवन्तु’ भन्ने हाम्रो पूर्वीय आदर्शलाई आत्मसात गर्दै वर्तमान संकटवाट पार पाउन एकअर्कामा सहयोगी बन्नुपछ ।
भौतिक सम्पन्नताको उन्मादले मैमत्त देशहरु निरुपाय बनेका छन् । शास्त्रार्थ परिक्षणमा होडबाजी गर्ने, धन, सम्पन्नता र बैभवमा मात्र विश्वास गर्ने देशहरुले पनि बिस्तारै प्रकृतिको ताण्डव बुझ्दैछन् । सोचेंजस्तो कहिं पनि हुन्न, हाम्रो जन्म पनि हाम्रो इच्छा होइन, यास संसारमा जे जति कृयाकलाप यहाँ घटित हुन्छन्, अरुबाटै संचालित हुन्छन् भन्ने अस्तित्ववादी चिन्तन प्रमाणित भएको छ । भौतिम सम्पन्नता मात्र पनि सबै थोक होइन रहेछ । भगवान गौतम बुद्धले भनेजस्तै संसारमा जताततै दुःखैदुःख छ, जन्मनु पनि दुःख हो, मर्नु पनि दुःख हो । बाँचेन्जेल पनि विभिन्न किसिमका दुःखहरुको सामना गर्नुपर्छ । त्यस्तै प्रकारको दुःखको सामना अहिले मानवजातिले गरेको छ । मानव चेतनशील प्राणी हो । जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि नआत्तिन जानेको छ मान्छेले । आफ्नो ज्ञान र बौद्धिकताले छिट्टै नै मानिसले यो त्रासदीबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ ।
मानव सभ्यताको विकाससंगै विकास भएको बिश्वव्यापिकरण, सबै क्षेत्रमा देखा परेको पाश्चात्यीकरण, बढ्दो चरम भौतिकता र विलासी प्रवृत्ति कति ठिक कति बेठिक आ मुल्यांकन गर्नुपर्ने भएको छ । हाम्रो पूर्वीय दर्शन र चिन्तनको अपादेयता नबुझी पाश्चात्य सभ्यताको अन्धो अनुकरण गर्दा हामीले धेरै कुरा गुमाएको महसुस आज भइरहेको छ । हाम्रा दैनन्दिनका चालचलनहरु, संस्कारका कुराहरु, खाद्यसामग्रीको रुपमा प्रयोग गरिने सामानहरु कति उपयोगी र लाभकारी रहेछन् भन्ने कुरा वर्तमान विपत्तिले महसु गराएको छ । दुःख नपरी चेतिदैन भने झै यो महामारीको दुःले आफ्ना सभ्यता, संस्कार र संस्कृतिको महत्वबोध हुन्छ भन्नेमा हामी आशावादी छौं । यो विपत्तले हामिलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने कुरालाई बुझाएको छ ।
चिनमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको बेलामा त्यहाँ रहेका नेपालीहरु नेपाल फर्कन आतुर भएको कुराबाट विश्वको जुन कुनामा गएपनि आपत् विपद्मा आफ्नै घर प्यारो हुन्छ भन्ने प्रमाणित हुन्छ । काम, माम र अवसरको खोजीमा विदेशिएका नेपालीहरु विपदको यस घडीमा देश सम्भिएर आए भने कोहीले देशको लागि आवश्यक सामानको जोह गर्न पनि पछि परेनन् । आफ्नै देशभित्र पनि शहर पसेकाहरु गाउँ सम्झेर फर्किए । काठमाण्डौबाट दुई तिन दिनमा ५ लाख भन्दा बही बाहिरिए भन्ने संचार माध्यमबाट सुनियो । शहरहरु खाली भए गाउँ भरिए । गाउँमा भएको पुख्र्यौली सम्पत्ति कौडीको भाउमा बेचेर शहरमा बल्लतल्ल घर बन्ने जग्गामा रमाउन पुगेको अहिलेको पुस्तालाई आफ्नो गाउँको महत्वबोध भयो कि ? एस.एल.सी.पास नहुँदै विदेशको सपना सजाउने हाम्रा भविश्यका कर्णधार युवालाई संसारको जुन कुना पनि आपदविपदबाट मुक्त हुँदैन, समस्या र आपतमा जस्तै भएपनि आफ्नी आमाको काख प्यारो हुन्छ भन्ने लाग्यो कि ?
अहिलेको समयमा सम्पूर्ण विश्वका मानिसहरुको समस्या साझा छ । साझा धरती, साझा समस्या, समाधान पनि साझा तरिकाले निस्किने कुरा निश्चितप्रायः छ । ‘लोका समस्ता सुखिनो भवन्तु’ भन्ने हाम्रो पूर्वीय आदर्शलाई आत्मसात गर्दै वर्तमान संकटवाट पार पाउन एकअर्कामा सहयोगी बन्नुपछ । सरकारले यो विपद् नेपालमा फैलन नदिन लकडाउन गरेको छ, शंका लागेकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । त्यसको पालना गर्नु हाम्रो दायित्व हो । यस्तो समयमा निम्न आय भएका दैनिक काम गरेर जीविकोपार्जन गर्ने वर्गहरुलाई बाँच्न समस्या हुन्छ । हुनेखानेले आफुले सकेको सहयोग गर्नुपर्छ । संकटको समयमा अवसरको रुपमा लिएर कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, औषधी सामग्रीमा समेत भ्रष्टाचार गर्ने, औषधी उपचारमा सहयोग नगर्ने जस्ता कामहरु गर्नुहुँदैन ।
धर्म गर्न मठमन्दिर नै पुग्नुपर्छ भन्ने छैन, समस्यामा परेकालाई सहयोग गर्नु नै धर्म हो । सत्कर्मले नै जीवन सार्थक हुन्छ । हामी कोही पनि अजराम्बर छैनौ, जीवन अनित्य छ, जीवनको अनित्यताको बारेमा अहिले बोध नगरे कहिले गर्ने ? समयले अहिले हामीलाई आत्ममूल्यांकन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । सधै दौडधूप गरिरहनुपर्नेलाई आफ्नो लागि सोच्ने, चिन्तन गर्ने मौका मिलेको छ । ध्यान गरौं, साधना गरौं, जीवन र जगतलाई अझै नजिकबाट चिन्ने प्रयत्न गरौं ।
तिलोत्तमा, २ शंकरनगर, रुपन्देही

अहिलेको समयमा सम्पूर्ण विश्वका मानिसहरुको समस्या साझा छ । साझा धरती, साझा समस्या, समाधान पनि साझा तरिकाले निस्किने कुरा निश्चितप्रायः छ । ‘लोका समस्ता सुखिनो भवन्तु’ भन्ने हाम्रो पूर्वीय आदर्शलाई आत्मसात गर्दै वर्तमान संकटवाट पार पाउन एकअर्कामा सहयोगी बन्नुपछ ।