Goraksha

National Daily

लोकतन्त्रमा निजामति सेवा र राजनीतिक दल

सुभाष न्यौपाने
स्थायी सरकारको रुपमा चिनिने संसारमा
राष्ट्रसेवक, जनसेवक भनिने लोकतन्त्रमा ।।
वहाल जागिरमा हुने सल्लाहकार राजनीतिमा
मूल्यांकन भएन हाम्रो भन्दै हिड्छन् भलिभातीमा ।।

संसारका हरेक देशको स्थायी सरकारको रुपमा चिनिने राज्य प्रणाली हो, निजामति सेवा । त्यसमा पनि लोकतान्त्रिक मुलुकभित्रको निजामति सेवा त राष्ट्रको अलंकारको रुपमा चिनिन्छ र चिनिनु पनि पर्छ । तर विडम्बना वहुदल हुँदै लोकतन्त्रसम्म पुग्दा हाम्रो मुलुकको निजामति सेवामा राजनीतिक अभ्यासले पूर्णता पाइसकेको छ ।

झ्वाट्ट हेर्दा उनीहरुको शैली कस्तो पनि देखिन्छ भने उनीहरुको राजनैतिक पहुँच पनि दलीय राजनीतिका, क्रियाशील कार्यकताभन्दा अग्रणी भूमिकामा देखिन चाहन्छन् । उनीहरुको तह र ओहदाको वर्गीकरण गर्न जनता राम्रोसँग सक्छन् । उनीहरुको चुलोमा आगो कसरी बलेको छ ? भन्ने कुरा पनि जनतालाई थाहा छ ।

कतिपय त यस्ता पनि छन् कि कार्यालय समय सुरुमा हाजिर हुने अवस्था अलि विलम्ब उपस्थित देखाएर मन्त्रीज्यू, प्रधानमन्त्रीज्यू वा अन्यज्यूहरुको निजी कार्यमा हाजिर लगाएर आफ्नो कार्यालय प्रमुखलाई विलमब उपस्थितिको कारण खुलाएर मन्त्रालय, विभागसम्ममा सिफारिस गर्न लगाउने चलन पनि नेपाली राजनीतिमा छ ।

उनीहरु कार्यालयमा हाजिर भएर कार्य गर्ने समयमा पनि वडा फुर्तिसाथ के–के न विशेष योग्यता भएको राष्ट्र सेवक देखाउन सेवाग्राहीलाई फुर्ति देखाउन पनि पछि पर्दैनन् । उनीहरुको योग्यता भनेको राजनीतिक हजुरियाको योग्यता हो । उनीहरु त्यही योग्यताको सागरमा डुबुल्किँदै रमाउन चाहन्छन् ।

त्यसैले उनीहरु बेला–बेलामा सम्मानको साटो अपमान खेपेर बस्नुपर्ने देखिन्छ । तैपनि बद्धि फिर्दैन तिनीहरुको । अनि सम्मान चाहिँ मन्त्री वा त्यो तहका नेताहरुको नजिकको मान्छे वा उनीहरुको निकटस्थ राजनैतिक सहयोगीको रुपमा सम्मान गर्नेको उनीहरुको ओहदा र ओहदा तहमा रहेर जनतालाई दिएको सेवाको मूल्यांकनको आधारमा सम्मान गर्ने ?

हाम्रो लोकतन्त्रमा कुनै पनि तहको आवधिक निर्वाचनमा पराजित भएका राजनैतिक दलका नेताहरुले जसरी आफ्नो महत्व र मूल्यांकनलाई उच्च राख्नको लागि जसरी राष्ट्रियसभामा जानको लागि तँछाड मछाड गर्ने गर्दछन् ।

त्यस्तै जागिरदारहरु पनि जो नक्कली राष्ट्रसेवक हुन उनीहरु नै सरकारले हाम्रो कार्यको उचित मूल्यांकन गर्न नसकेको भनेर गुनासो गर्ने गर्दछन् । जसरी राजनीतिमा पराजित हुनेहरुलाई थुपार्ने ठाउँ राष्ट्रिय सभा बनाएको छ सरकारले त्यस्तै हो ठगी खानेले खोजेको सम्मान पनि ।

उनीहरुको त्यो चाहनाप्रति न त जनताको सम्मान छ न त श्रद्धा नै । यसलाई सत्ता र राजनीतिको जात्रा भनेपनि हुन्छ । कर्मचारी र राजनीतिको सहयात्राबाट सञ्चालन हुने सत्तायात्रा अहिले सत्ता जात्राको रुपमा अगाडि बढेको छ । मुलुकमा जस्तोसुकै संकट परे पनि राजनीतिको जात्रालाई त्यो संकटले छोएको छैन ।

पुल्चोक, कुपण्डोलमा मच्छेन्द्रनाथको रथयात्राको क्रममा भएको स्थानीय नागरिक र सुरक्षाकर्मीबीच भएको झडप झ्वाट्ट हेर्दा सेलाएजस्तो देखिए पनि त्यो आगो निभेको चाहिँ छैन । बरु भुसको आगो जस्तो फैलिरहेको छ । हाम्रो देशमा जात्रा, पर्वहरु किन मनाइन्छ भन्ने विषयमा सत्ताधारीहरु न त अध्ययन गर्न चाहन्छन् न त अध्ययन नै गर्छन् ।

सत्ताको नेतृत्व जसले गरे पनि, जुनसुकै तन्त्रको नाममा सत्ता सञ्चालन भए पनि यो मुलुकमा सत्ता जात्रा चलि नै रहन्छ । यस विषयमा जति चर्चा गरिए पनि सबै नेताहरुको कार्यशैली आफ्नो अनुकूलताको आधारमा ताकपरे तिवारीकै शैलीमा सरकार र राजनीति चलाउने शैली देखिएकोले पनि मुलुकका सबै तह र निकायहरु सञ्चालन गर्ने सञ्चालकहरु सबैको एउटै प्रवृत्ति देखिएकोले पनि व्यक्तिलाई इंगित गर्नुभन्दा प्रवृत्तिलाई सुधार गर्नेतर्फ चाहे सरकार होस् चाहे राजनीतिका सञ्चालकहरु हुन्, हाम्रो राजनीति होस् वा सरकारको नीति होस् निर्णय गर्दा असाध्ये चाँडो निर्णय गर्न अघि सर्छन् तर कायान्वयनको लागि भने उनीहरु छमर्को हेरेर गर्ने गर्छन् ।

बुझ्नुपर्ने कुरा यदि देश र जनताको निमित्त कार्यान्वयन गर्ने उद्देश्य भए कार्यान्वयनको लागि छमर्को हेर्नुपर्ने थिएन । उनीहरु त सुखी आफू समृद्ध आफ्ना भन्ने नारा हाम्रो लोकतन्त्रमा परिभाषित गर्न खोज्छन् । चाहे राजनीतिज्ञ होस् चाहे राष्ट्रसेवक ।

राष्ट्रसेवकहरु आफूलाई असल राष्ट्रसेवकको रुपमा परिभाषित गर्नुभन्दा कुशल राजनीतिज्ञको पहिचान दिलाउन चाहन्छन् । उनीहरु जतिसुकै कुशल भए पनि राष्ट्रसेवकको पगरी गुथेर राजनीतिज्ञको पहिचान दिन चाहन्छन् । त्यो उनीहरुको ठूलो भुल हो । राष्ट्र सेवकले आफ्नो दौरा लगाएर आफ्नो ठाउँमा उभिए मात्र उनीहरु सम्मानित हुन्छन् ।

आफूलाई राजनीतिज्ञको नजिकको देखाउने र आफूलाई राजनीतिज्ञको परिचय दिन चाहने राष्ट्रसेवकहरुको कारणले गर्दा कुशल राष्ट्रसेवकहरु आफ्नो यथोचित मूल्यांकनबाट पछि परिरहेका छन् । त्यस्ता छद्मभेषीहरुलाई इमानदार राष्ट्रसेवकहरुले सराप्छन् पनि ।

उनीहरु ती कुरालाई खासै चासो दिँदैनन् । उनीहरु त आफूलाई कुशल राजनीतिका सल्लाहकारको रुपमा उभ्याउन चाहन्छन् । मुलुकमा जब–जब महामारीको प्रकोप बढ्दै जान्छ तब–तब राजनीतिज्ञहरुको दिमागमा कात्रोमा गोजी देखाइदिने सेटिङ गर्ने काम ती दिग्गजहरुले गर्छन् । राज्यलाई डि भँडवा दिग्गजहरुलाई सेवा पुरस्कारबाट पुरस्कृत गर्नुपर्ने दबाब पर्न थाल्छ अनि विभागीय प्रमुखअरु त्यस विषयमा असहमत जनाउने अवस्थामा पुग्छन् ।

किनभने उनीहरुले त जनसेवक, राष्ट्रसेवकलाई पुरस्कृत वा सम्मान गर्नुपर्ने चाहना राखेका हुन्छन् । उनीहरु आफ्नो राष्ट्रसेवक भन्ने पेशाको परिभाषाको परिचय दिन चाहन्छन् । उनीहरु खास राष्ट्रसेवकलाई सम्मान र पुरस्कृत गर्न चाहन्छन् ।

राष्ट्रसेवक नामका राजनीतिज्ञहरु सिफारिस नहुने अवस्था देखेपछि उनीहरु आफ्नो शिरविन्दु मथिल्लो तहबाट पहुँच पु¥याएर आफ्नो सिफारिस गराउन भरमग्दुर प्रयत्न गर्छन् । त्यति गर्दा कतिले भेटाइहाल्छन् पनि कतिले भेटाउँदैनन् ।
त्यति गर्दा सिफारिसमा पर्नेहरुले पनि बुझ्नुपर्ने हुन्छ कि आज एक्कासी दिएको नम्बर मात्र पर्याप्त हुँदैन । विगतका वर्षदेखिको कार्यसम्पादन, मूल्यांकन पनि एउटा प्रमुख आधार हो ।

तर जागिर खाने राजनीतिज्ञहरु भने जहिले आफ्नो सर्को चल्छ उतिबेलै सबै खाले मूल्यांकन गराएर आफू उत्कृष्ट राष्ट्रसेवकको विभुषणबाट विभुषित हुन चाहन्छन् । तर ती सबै व्यर्थ हुन् । नेपालमा जति–जति लोकतन्त्र परिभाषित हुँदै गइरहेको छ उति–उति लोकतन्त्रमाथि धमिरा लाग्ने परिपाटी पनि बढ्दै गइरहेको छ । जसले विभिन्न वहानामा लोकतन्त्रको खुट्टा काट्ने, धज्जी उडाउने आदि कार्य गर्न खोज्छन् ।

उनीहरु नै आफूलाई सबैभन्दा बढ्ता लोकतन्त्रको पहरेदारको रुपमा उभ्याउन खोज्छन् । जसरी आफूलाइृ स्थायी सरकारको रुपमा चिनाउन खोज्ने समूहभित्रका काम नगरेर मुनाफा खाने पंक्तिका ती कामदारहरु जसले आफूलाई सच्चा राष्ट्रभक्त, राष्ट्रसेवकको रुपमा चिनाउन खोज्छन् । तर नेपाली जनताले ती मुनाफाखोरहरुलाई चिनिसकेका छन् कि ती कस्ता राष्ट्रसेवक हुन् भनेर ।

अब त सार्वजनिक मूल्यांकन गर्ने पंक्तिका नागरिकको नजरमा पनि राज्यले सम्मान गरेका कर्मचारीहरु सम्मानित छन् कि छैनन् भनेर राज्यले अर्थात् सम्मानको निर्णयकर्ताहरुले बुझ्न जरुरी छ । जनता कसैलाई पनि त्यसै आरोप, प्रत्यारोपमा जाँदैनन् । राष्ट्रसेवक भन्नेहरु जनताको सेवक हुन् कि शासन भन्ने कुरामा जनता प्रष्ट छन् ।

सरकारले जनताको चाहनालाई कत्ति पनि मतलव नगरेर कर्मचारीका नाममा आफ्ना आसेपासे र झोलाबोकुवाहरुलाई सम्मान गर्ने परिपाटी बसाल्न खोज्यो भने ती सबै जनताबाट बहिस्कृत हुन सक्छन् । त्यसैले जनताको सरकार सञ्चालन गर्ने दलहरुसँग एउटा यति मात्र अनुरोध छ कि नागरिकवृत्तमा कतिको सहज र सम्मानित छन् त हामीले नम्बर दिएर सम्मान गर्ने राष्ट्रसेवक ।

ती राज्य सञ्चालक दलहरुले हरेक पटकको सिफारिसमा त्यस्ता मात्र राष्ट्रसेवकहरुलाई सम्मानको सूचिमा राख्ने काम गरुन् न कि विगतको जस्ता मूल्यांकन र सिफारिस प्रवृत्तिका घटनाहरु अब लोकतन्त्रका नाममा नदोहोरिउन् । सरकार आफ्नो कर्तव्यमा कत्ति पनि अविचलित रहेर अगाडि बढोस् ।

संसारको अगाडि लोकतन्त्र भन्ने नामलाई हाँसोको विषय नबनाइयोस् । राज्यले गर्नुपर्ने भूमिका निःस्वार्थ रुपमा निर्वाह गरेको आभाष सबै नागरिकले लोकतन्त्रकै नामबाट सन्देश प्राप्त गर्न सकून् । मुलुक अर्थात् सरकार संकटमा पर्दा जनता गुहार्ने, जनता संकट पर्दा देखेको नदेखेजस्तै गर्ने परिपाटीको अन्त्य होस् ।

त्यसैले राष्ट्रसेवकलाई राष्ट्रसेवककै भूमिकामा रहेर काम गर्ने परिपाटीको विकास गर्न देऊ । राष्ट्रसेवकको मुकुण्डो लगाएरु राजनीतिज्ञ नबनाऊ । यदि राजनीतिज्ञ नै बनाउन भन्छ भने राष्ट्र सेवक भन्ने महासागरबाट बाहिर निकाल अनि जस्तो झोला बोक्ने र बाकाउने हो त्यसै गर ।