Goraksha

National Daily

विकास निर्माण नरोक

अघिल्लो आर्थिक वर्ष विकास निर्माणका काम धेरै अधुरा रहे । विकास बजेटको ठूलो हिस्सा फ्रिज भयो । सरकारले यसलाई कोरोना संक्रमणको वहाना बनायो । त्यसो त यस अघिका वर्षहरुमा पनि न्यायसम्मत रुपमा विकास बजेट खर्च हुनसकेको अवस्था छैन ।

असारे विकासले पाउँदै आएको निरन्तरतालाई अहिले कोरोना संक्रमण गत्तिलो वहाना बन्यो । कतिपय स्थानमा सरकारले विकास बजेटलाई शीर्षकान्तर गरी कोरोना महामारी नियन्त्रणका काममा लगाएको समेत अभिव्यक्ति दिँदै आएको छ ।

यससँगै कोरोनाको संक्रमणको जोखिम अझै बढिरहेको भन्दै चालु आर्थिक वर्षको प्रथम चौमासिकमा पनि विकास निर्माणका कुनै पनि काम अर्थपूर्ण रुपमा सुरु हुनसकेका छैनन् ।

राष्ट्रिय गौरवका योजना तथा महत्वाकांक्षी विकास निर्माणका योजनालाई निर्वाध रुपमा सुचारु गर्ने सरकारको पटक–पटकको निर्देशनले पनि समग्रमा यो अवधिसम्म विकास निर्माणका कुनै पनि काम अर्थपूर्ण रुपमा सुरु हुनसकेका छैनन् ।

विकास निर्माणका काम ठप्प हुंँदा आन्तरिक वेरोजगारीको अवस्था समेत कमजोर बन्दै गएको छ । जसका कारण असंगठित क्षेत्रका मज्दुरहरुलाई साँझविहान रोजीरोटीकै समस्या पर्नथालेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण मुलुक कम्तिमा ६ महिनादेखि लकडाउनको अवस्थामा छ । लकडाउनकैबीच पनि राष्ट्रिय गौरवका योजनाहरु प्रभावित हुन नहुने भनिए पनि यहाँ निर्माणाधीन चारलेन सडकको काम कोरोना भाइरसको संक्रमण देखिएलगत्तै ठप्प प्रायः भएको छ ।

सामाजिक दूरी कायम गरेर एक स्थानमा बढीमा १० जनासम्म मज्दुरहरुलाई विकास निर्माणका कामममा लगाउन सकिने सरकारी अवधारणा पनि कार्यान्वयनमा आउनसकेको छैन ।

त्यसैगरी जिल्लाका अन्य ठेक्का प्रक्रियाबाट हुने कामहरु पनि सञ्चालनमा आउनसकेका छैनन् । मज्दुरको अभावको कारण देखाउँदै निर्माण व्यवसायीहरुले सम्बन्धित विषयगत कार्यालयमा म्याद थप गराउने प्रवृत्ति फेरि हाबी हुन थालेको छ ।

विद्युत लाइन विस्तारका काम होऊन् वा खानेपानीका ओभरहेड ट्याङ्की निर्माण तथा सिंचाईका क्रमागत योजनाहरु समेत अहिले स्थगनको अवस्थामा छन् । बजेटको अभावमा भन्दा पनि काम गर्ने इच्छाशक्तिको अभावमा यी कामहरु हुनसकेका छैनन् ।

तर यस बीचमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्, चुनढुङ्गा उत्खनन् तथा विक्री वितरणलगायतका काम भने सीमित पहुँचवाला व्यापारीबाट भइरहेका छन् ।

रोगको त्रास देखाएर जनतालाई भोकले मर्ने अवस्थाको वातावरण सिर्जना हुनु हुँदैन । यसका लागि असंगठित मज्दुरलाई दिनभरि काम गरेर साँझविहान हात–मुख जोर्ने अवस्था सिर्जना गर्नु तीनै तहका सरकारको दायित्व हो ।

अहिले आफ्नै देशमा जसोतसो दैनिक मज्दुरी गरी साँझविहानको छाक टारौँला भनेर कोरोनाको कहरसँगै स्वदेश फर्केका नेपाली श्रमिकहरुलाई काममा लगाउनका लागि विकास निर्माणका काम सुरु हुनुको कुनै विकल्प छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण व्यवस्थापन भइसकेपछि मात्र विकास निमार्णका काम गरौँला भनेर समय खेर फालिरहे त्यो सबैभन्दा बढी दुर्भाग्यको अवस्था हुने छ ।

आम नागरिकलाई भोकमरीको चपेटोमा पर्नबाट जोगाउनका लागि पनि उनीहरुलाई दैनिक काममा लगाउनु आवश्यक छ । त्यसका लागि विकास निर्माणका कामलाई गति दिन सकेमात्र पनि धेरै हदसम्म समस्या समाधान हुने छ । रोगको त्रास देखाएर भोकले मर्ने वातावरणको अन्त्य गरौँ । विकास निर्माणका कामलाई तत्काल सञ्चालन गरौँ ।