अन्ततः बुटबल धागो कारखानाको अस्पतालमा
संक्रमितको ट्राभल–हिस्ट्री
खेमराज रिजाल
दाङ, ३२ साउन । असि नाघे पनि बाँच्ने रहर, रहर हुँदाहुँदै पनि संक्रमण लुकाउने रहर । यस्तै प्रवृत्तिको शिकार भएका छन् लमही नगरपालिका–२ का एक जना महिला । जो आफू संक्रमित भएको जानकारी पाउनेबित्तिकै काठमाडौंको एउटा सरकारी अस्पतालबाट भागिन् । किनकि उनी दाङकै अस्पतालमा कोरोनाको उपचार सेवा लिने ध्यानमा थिए । उनले आफ्नो रोगको समस्या गंगालाल अस्पतालमा भन्नै पाएनन् ।
मुटुरोगी समेत रहेका उनी उमेरले पाको थिइनन् । त्यसैले शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि यहाँबाट एम्बुलेन्समा त्यहाँ पुगे । एम्बुलेन्स रोकिएकै थियो । किनकि उनी उपचारपछि सोही एम्बुलेन्समा फर्कने योजना बनाएका थिए । तर अस्पतालमा कोरोना परीक्षण पोजेटिभ आएको गाइँगुइँ सुनेपछि उनी काठमाडौंको आइसोलेशनमा बस्न चाहेनन् ।
परिवारका सदस्यहरु पनि सँगै थिए । सोही एम्बुलेन्समा फर्केपछि उनीहरु कोरोना संक्रमितको उपचार हुने अस्पताल बेलझुण्डीमा आए । तर उनको कोरोना परीक्षणको रिपोर्ट थिएन । त्यसैले अस्पतालले भर्ना नलिएरै उनलाई सम्बन्धित स्थानीय पालिकामा पठायो ।
लमही पुगेपछि मात्र उनलाई देउखुरीको आइसोलेशन वार्डमा पठाइयो, राप्ती प्राविधिक शिक्षालयमा । अन्ततः उनी कोरोना पोजेटिभ प्रमाणित भए, किनकि उनको उमेर बाँच्नेलायकको थियो । तर उनलाई संक्रमण बढेसँगै भेण्ट्रीलेटरको आवश्यकता प¥यो, सम्भवतः उनलाई त्यहाँबाट बुटवल धागो कारखानामा सञ्चालित म्यादी कोरोना अस्पतालमा पठाइँदै छ ।
उनको स्वास्थ्यलाभको कामना सबैले गरेका छन् । यद्यपि, रोग लुकाएकोमा भने धेरैको गुनासो छ । उनी जुन एम्बुलेन्समा काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा पुगेका थिए, सोही एम्बुलेन्समा उनी दाङ फर्के तर एम्बुलेन्स चालक भने अनभिज्ञ छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ कसरी हुने हो, जिल्ला सरकार पनि अनभिज्ञ छ ।
बबई गाउँपालिकाका एक जना व्यक्ति तेस्रो मुलुकबाट लकडाउनकै अवधिमा यहाँ आइपुगेका हुन् । लक्षण नदेखिएको भन्दै गाउँपालिकाले उनलाई होम क्वारेन्टाइनमा बस्न भन्यो तर उनी हरेक टोल–टोलमा तीज गीतमा नाँच्न पुगे । मादलको तालमा उनी आफू संक्रमित हुनसक्ने कुनै प्रवाह नै गरेनन् । स्थानीय तहले शंकास्प्रद संक्रमित भन्दै उनको स्वाब परीक्षणका लागि पनि लियो ।
तर स्वाब दिएपछि पनि उनको टोल–टोलमा घुमफिर भने रोकिएन । विहान ५ बजेदेखि राति १० बजेसम्मै उनी सामाजिक दूरीको प्रवाह नै नगरी एउटा असल नागरिकको भूमिका निर्वाह गरे । अन्ततः उनको पिसिआर रिपोर्ट पोजेटिभ आयो । उनी सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ अब झनै समस्या बनेको छ । किनकि उनी धेरै टोलमा छाडा तालले सम्पर्कमा आए ।
अन्ततः उनको रिपोर्ट पोजेटिभ भएपछि मात्रै स्थानीय पालिकाले सूचना संकलन गर्दै छ । उनी कहाँ–कहाँ घुमे भन्ने सन्दर्भमा । तर सबैको स्वाब संकलन गर्न स्थानीय पालिका कतिसम्म सफल हुन्छ भन्ने आम नागरिकले हेरिरहेका छन् । हाल उनी सहित अर्का एक जना पनि बेलझुण्डीको कोरोना विशेष अस्पतालमा उपचाररत छन् । तर उनीहरुको सम्पर्कमा आएकाहरुलाई स्वाब परीक्षण स्थानीय पालिकाबाट अझै पनि हुनसकेको छैन ।
बाँकेको नेपालगञ्जका धेरै उच्च ओहदाका कर्मचारी, व्यापारी एवं राजनीतिकर्मीहरुले पनि नेपाल सरकारको कोटामै सोर्स लगाएर निःशुल्क रुपमा कोरोना परीक्षण गरे । तर जब रिपोर्ट पोजेटिभ आयो, उनीहरुलाई अस्पताल ल्याउनै सकिएको छैन । प्रहरीले पनि उनीहरुलाई खोज्नसकेको छैन । प्रहरी स्रोत भन्छ– ‘अपराधीलाई खोज्नु र संक्रमितलाई खोज्नु भिन्नै पाटो हो, सकेसम्म उहाँहरु नै अस्पताल पुगे हुन्थ्यो ।’
यी त उदाहरण मात्रै हुन् । धेरै संक्रमित समुदायमा हुन सक्छन्, जसले रोग छिपाएरै घरमा बसिरहेका छन् । तर सरकारले परीक्षणको दायरा बढाउनै सकेको छैन । न त अस्पतालमा भर्ना हुनका लागि सहज उपचार पद्धति नै छ ।
त्यसैले संक्रमितहरुले अस्पतालभन्दा आफ्नै र आफन्तको घर रोज्ने गरेका छन् । जब संक्रमणले विरामीलाई मृत्यु शैय्यामा पु¥याउँछ त्यसपछि मात्रै उनीहरुले अस्पतालको भरोषा रोज्छन् । यो अत्यन्तै दुर्भाग्यको अवस्था पनि हो ।
किन लुकाइन्छन् संक्रमित
कोभिड–१९ को संक्रमण प्राणघातक रोग होइन । यद्यपि यसको औषधि र खोप अझै पनि बनेको छैन । यसले ती विरामीहरुलाई मात्रै बढी अक्रान्त बनाउँछ जुन मुटु, कलेजो, मृगौला, फोक्सो र अन्य दीर्घरोगी हुन्छन् । ती विरामीहरुलाई कोरोनाको संक्रमण देखियो भने सम्भवतः काल निम्त्याउनु जस्तै हो ।
एक जना चिकित्सक भन्छन्– ‘गम्भीर संक्रमणका विरामीलाई उपचारका लागि राज्यको स्वास्थ्य प्रणालीले भ्याउनै सक्ने अवस्था छैन, अर्को कुरा आइसोलेशनमा पनि लक्षण नदेखिएका विरामीलाई पनि पूरै स्वस्थ बनाएर पठाउने गरी पौष्टिकताको व्यावस्थापन छैन ।’ यहीँकै बेलझुण्डी कोरोना अस्पताल होस् वा नारायणपुर र राप्ती गाउँपालिकाको आइसोलेशन वार्ड ।
त्यहाँका विरामीलाई कस्तो खाना खुवाइन्छ ? के–कस्तो सुविधा छ ? भनेर अझैसम्म पनि केही कुरा बाहिर आउनसकेको छैन । चर्चामा छ, आइसोलेशनमा सङ्लो दाल र भात अनि मागेको बेला पानी पनि पाइँदैन ।
यो अवस्थामा अस्पताललाई नै विश्वास गर्ने अवस्था छैन । किनकि त्यहाँ भर्ना भएका विरामीकै अनुसार अस्पतालमा शारीरिक इम्युनिटी बढाउनका लागि कुनै पौष्टिक खाना दिइन्न । खानाका ठेकेदारले पैसा अनुसारको खाना खुवाउँछन्, जुन कोरोनाका संक्रमितका लागि उपयुक्त खाना होइन ।
स्थानीय सरकार र स्थानीय प्रशासनको गहन भूमिका नदेखिँदा अहिले संक्रमितहरु नै गाउँटोलमा छाडा प्रवृत्तिमा घुमिरहेका छन् । यसले संक्रमणको दरलाई अझै बढाउनसक्ने पनि चिकित्सकहरुले चेतावनी दिएका छन् । किनकि परीक्षण नै नभएका कारण दाङमा भयावह अवस्था नदेखिएको हो ।
यदि परीक्षणको दायरा बढाउँदै जाने हो भने मात्रै संक्रमणको बृद्धि दर जानकारी हुने छ । तर स्थानीय पालिका यो विषयमा गुमनाम छन् । उनीहरुलाई प्रदेश सरकारको निर्देशन छ, सकेसम्म कम नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला नेपालगञ्ज र बुटवल पठाउने । यहीँकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईवटा पिसआर मेसिन भए पनि त्यहाँ परीक्षण गर्न नमुना लगिँदैन ।
राजनीतिक इगो बोक्नेहरुकै कारण पनि यहाँ अधिक्तम परीक्षण हुनसकेको छैन । दाङ जिल्लामा दैनिक परीक्षण कति हुन्छ भन्ने सन्दर्भमा यहाँका स्थानीय सरकार नै वेखबर छन् अनि हेलचक्राईका कारण कोरोनाको संक्रमण समुदाय तहमै पुगिसकेको छ । जुन परीक्षण गरे मात्रै थाहा हुने छ ।
