अड्कियो औद्योगिक क्षेत्रको फाइल
अमरराज आचार्य
दाङ, ३२ साउन । घोराही उपमहानगरपालिका वडा न. ३ को लक्ष्मीपुरमा स्थापना गरिने भनिएको प्रादेशिक औद्योगिक क्षेत्रसम्बन्धी फाइल मन्त्रिपरिषद्मा गएर रोकिएको छ ।
औद्योगिक क्षेत्र घोषणाका लागि सबै प्रक्रिया पूरा गरेर फाइल मन्त्रिपरिषद्मा पुगेर अड्किएको लामो समय भइसकेको भए पनि निर्णय भने हुनसकेको छैन । लामो समयसम्म मन्त्रिपरिषद्मै फाइल अड्किएपछि औद्योगिक क्षेत्र घोषणा समेत हुनसकेको छैन भने अन्य काम समेत अगाडि बढेको छैन ।
सरकारले औद्योगिक विकास गरी देशमा रोजगार सिर्जना गर्ने र उत्पादन बढाउने भनिरहँदा घोषणाका लागि पुगेको फाइल भने अगाडि बढ्नसकेको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जिल्लामा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको फाइल सरकारलाई बुझाइसकेको जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालक समितिका अध्यक्ष नन्दकिशोर बस्नेतले आफूहरुको तर्फबाट सबै प्रक्रिया सकेर सरकारलाई फाइल बुझाएको बताए ।
‘अब मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ’–अध्यक्ष बस्नेतले भने–‘आफूहरुले फाइल बुझाएको लामो समय भए पनि घोषणा हुनसकेको छैन ।’ घोषणा गराउनका लागि सबैले पहल थाल्नुपर्ने उनको भनाई छ ।
जिल्लाको लक्ष्मीपुरमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्र बनाउनका लागि कुनै समस्या नरहेको उनले बताए । घोषणा भएसँगै अन्य काम अगाडि बढ्ने अध्यक्ष बस्नेत बताउँछन् । ‘दाङमा औद्योगिक क्षेत्र बनाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग रहन्छ’–अध्यक्ष वस्नेतले भने ‘सरकारले औद्योगिक क्षेत्र स्थपना गरेर देशमा रोजगार सिर्जनासँगै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।’
औद्योगिक विकासबाट देशको विकास गर्न सकिने उनी बताउँछन् । औद्योगिक क्षेत्र स्थापना भएमा जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । घोराही उपमहानगरपालिका वडा ३ मा रहेको ५ सय ५० विगाह क्षेत्रफललाई औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गरिएको छ ।
जिल्लामा औद्योगिक क्षेत्र घोषणा भएपछि उद्योग स्थापनासँगै जिल्लावासीले रोजगारको अवसर प्राप्त गर्ने छन् । रोजगारका लागि विदेशिने युवाहरुको संख्यामा समेत कमी आउने आशा जिल्लावासीले गरेका छन् । अहिले रोजगारको लागि जिल्लाबाट लाखौँ युवाहरु विदेशिने गरेका छन् । दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ ।
दाङमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रमा कुनै विवाद नरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । ‘सबैको सहयोगले विवादरहित तरिकाले अगाडि बढेको छ’–अध्यक्ष भुसालले भने–‘औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनीतिक दल, सरकारी निकाय, व्यवसायी तथा सरोकारवालाहरु मिलेर अगाडि बढाएको भए पनि लामो समयदेखि रोकिँदा अन्योल सिर्जना भएको छ ।’ घोराही उपमहानगरपालिकाले नगरसभाबाटै उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरिसकेको छ ।
संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्दै आएको छ ।
सुरुमा करौँतीडाँडामा ८६ विगाह जग्गामा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो । औद्योगिक क्षेत्रका लागि जग्गा कम हुने भएपछि उक्त क्षेत्र घोराही उपमहानगरपालिका लागि ल्यानफिल साइडको रुपमा प्रयोग गर्न थालियो ।
त्यसपछि सरोकावारवालासँग समन्वय गरेर जग्गा खोज्ने क्रममा घोराही ३ वडामा औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो । मानव बस्ती न्यून रहेको, सहरी क्षेत्रबाट टाढा, वन क्षेत्र भए पनि न्यून रूखविरूवा रहेको, पानीको सुविधा, सहज रुपमा सडक, विद्युतको सहज रुपमा पु¥याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्न समेत सहज हुने भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
दाङमा औद्योगिक क्षेत्र घोषणा भएपछि करिब ३ वर्षभित्रमा सञ्चालनमा आउने उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले बताए । घोषणा भएपछि सबै कामहरु फास्टट्रयाकबाट हुने उनले बताए । उक्त क्षेत्रमा कृषिजन्य, साना तथा मझौला उद्योग स्थापना गरिने छ । ठूला तथा प्रदूषण हुने खालका उद्योगहरु स्थापना हुने छैनन् ।
औद्योगिक क्षेत्रमा आफ्नो जमिन नभएका र जग्गा किनेर उद्योग तथा व्यापार गर्न नक्नेहरुलाई प्राथमिकता दिने छ । व्यवसायीहरुलाई व्यवसाय गर्न तथा उद्योग स्थापना गर्न समेत सहज हुने छ भने जिल्लामा उत्पादन समेत बृद्धि हुने छ । औद्योगिक क्षेत्र घोषणा भएमा जिल्लामा स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रने अपेक्षा समेत निजी क्षेत्रको छ ।
