Goraksha

National Daily

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सको अनुभव

‘बिरामीको सेवा गर्न पाउँदा खुशी छु’

लिलाधर वली
दाङ, २९ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बिरामीहरु दाङमा पनि बढिरहेका थिए । उनीहरुको कोरोना विशेष अस्पताल बेलझुण्डीमा राखिने गरिएको थियो । संक्रमितहरु दाङसहित बाँके, बर्दिया, रुकुमलगायतका जिल्लाहरुका आउने गरेका थिए । तिनै कोरोना संक्रमितहरुको उपचार गर्ने एक जना नर्स हुन्, समीक्षा रिजाल । तुलसीपुर उपमहानगरपालिका दूधराश निवासी उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा कार्यरत रहेकी छिन् ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गर्दा कोरोना विशेष अस्पतालमा काम गर्न थालेकी रिजालले अहिले पनि संक्रमितको उपचार गर्दै आएकी छिन् । ‘कोरोना भाइरसको डरका कारण शुरुमा कोरोना अस्पतालमा काम गर्न जान्छु भन्दा घरमा बुबाआमाले मान्नुभएको थिएन’, उनले भनिन्- ‘तर मैले घरमा नर्स पढेको नै विरामीको उपचार गर्नका लागि हो, संकटकै समयमा काम गर्नका लागि हो भनेर बुबाआमालाई सम्झाएपछि उहाँहरुले मान्नुभयो ।’ आफू घरकी एक्ली छोरी भएकाले पनि शुरुमा अभिभावकहरू डराएको उनको बुझाई छ ।

‘गएको फागुनमा नर्सिङ क्लास पूरा गरेर घरमै बसेको थिएँ, काम गर्न कतै गएको थिएनँ’, उनले भनिन्- ‘घरमै बसेको समयमा घर नजिकै बेलझुण्डीमा कोरोना विशेष अस्पताल स्थापना भएपछि काम गर्ने अवसर जुरेको हो ।’ त्यही अवसरले अहिले आफूलाई धेरै कुरा सिकाई भएको समेत उनी बताउँछिन् । विश्वमा कोरोना संक्रमितका कारण ४/५ लाख मानिसहरुको मृत्यु भइरहेको थियो ।

दाङमा पनि दिनहुँ कोरोना संक्रमितहरु बढिरहेका थिए । पर्याप्त साधन र श्रोतको अभावमा कोरोना संक्रमितको उपचार गर्न समेत डक्टर, नर्सहरु डराउने अवस्था थियो । तर मलाई भने कहिल्यै डर लागेन । बिरामीको उपचार गर्नुपर्छ भन्ने मनमा सधै लग्थ्यो । त्यही भएर पनि म जोखिमको समयमा अस्पतालमा काम गर्न आएको हुँ ।

जोखिमको समयमा कोरोना संक्रमित बिरामीहरुको उपचार गर्न पाउँदा आफूलाई खुशी लागेको समेत उनको भनाइ छ । ‘संकटको बेला बिरामीको सेवा गर्न पाउँदा म खुशी छु’, उनी भन्छिन्- ‘कोरोनाको त्रासले डराएर घरमा बसेको भए, जोखिमको अनुभव लिनै पाउने थिइनँ, तर अहिले धेरै कुरा सिक्ने समेत अवसर पाएको छु ।’ हरेक व्यक्तिले व्यक्तिगत सुरक्षामा ध्यान दिने हो भने कोरोना सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने समेत उनी बताउँछिन् ।

कोरोनाका कारण मृत्यु भएका मानिसहरुको संख्यालाई हेर्दा डर लागे पनि उनीहरुको उपचारमा रातदिन खट्ने डक्टर, नर्स, ल्याव टेक्निसियनहरुलाई सम्झिँदा आत्मविश्वास बढ्ने गरेको उनी बताउँछिन् । त्यसैमा अस्पतालमा निको भएर घर फर्किदै गरेका बिरामीहरु तथा घर फर्किका व्यक्तिहरुले अस्पतालमा फोन गरेर धन्यवाद भन्दा समेत मन हर्षित हुने गरेको उनले भनिन् ।

पहिलेको तुलनामा अस्पतालमा अहिले धेरै कम बिरामी भएको उनी बताउँछिन् । उनका अनुसार बिरामीको उपचारका क्रममा धेरै सिकाई समेत भएको छ । ‘रुपन्देही, कपिलवस्तु, बाँकेतिरका मधेशी समुदायका बिरामीहरु आउँदा शुरु-शुरुमा भाषा नै नबुझ्निे समस्या रहेको थियो’, उनी भन्छन्- ‘तर अहिले काम गर्दै जाँदा सिकाई भएको छ । जसले गर्दा आफूलाई धेरै कुरा सिक्ने अवसर समेत प्राप्त भएको उनले बताइन् ।

तर अहिले कम बिरामीहरु आउने गरेको बताइन् । ‘अहिले त धेरै कम भएको छ । करिब एक महिनाअघि बिरामी राख्ने ठाउँसम्म हुँदैन थियो’, उनले भनिन्- ‘त्यो बेला त सुत्ने-खानेको समेत टुंगो हँुदैन थियो, बिरामीलाई उपचार र काउन्सिलिङ गर्नमै समय बित्यो ।’ अस्पतालमा उपचारसँगै कान्सिलिङ गर्ने, बिरामीहरुलाई पौष्टिक खाना खान लगाउने गरेको उनले बताइन् ।

त्यसका क्रममा दीर्घरोगी, बालबालिकालगायतका बिरामीहरुलाई बढी ध्यान दिने समेत बताइन् । काम गर्दै गर्दा एकजना बिरामीलाई बढी बिरामी आएपछि उनलाई डिस्जार्च गर्नुपरेको थियो त्यो बेला बिरामीको के हुने होला भनेर नराम्रो लागेको थियो तर पछि राम्रो भएर घर फर्किएको खवर पाएपछि खुशी लाग्यो ।

अस्पतालमा १४ दिन काम गरेपछि एक हप्ता अस्पतालकै क्वारेन्टाइनमा बसे । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घरमा गए । घरमा बुबाआमालाई आफूले कोरोना परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएपपछि आएको भने । तर गाउँघरका अरु मानिसहरुले जोखिमको समयमा अस्पतालमा काम गरेकी छोरीलाई किन घर बोलाएको भनेछन् । त्यो सुन्दा नराम्रो लगेको थियो । उहाँहरुको कुराले आमाले पनि नराम्रो मान्नुभएको थियो ।

त्यसैले दोस्रोपटक घर जाँदा कोरोना परीक्षणको रिपोर्ट हातमा लिएर घर गएको थिएँ । कसैले विश्वास नगरे उनीहरुलाई देखाउँला भनेर तर दोस्रोपटक घर जाँदा कसैले केही भनेनन् । ‘सुरक्षित तरिकाले काम गरेमा कोरोना सर्दैन, तर समाजमा कोरोनासम्बन्धी गलत बुझाईका कारण सबैलाई सर्छ भन्ने भ्रम छ, त्यसैले त्रास पनि छ’, उनले भनिन्- ‘सावधानी अपनाएर काम गरेमा सजिलै कोरोना सर्दैन भन्ने सबले बुझ्न आवश्यक छ ।’ उनले अस्पतालमा सबैले सहकार्य गरेर काम गर्न पाउँदा पनि खुशी लागेको बताइन् ।

त्यस्तै उनले बिरामीहरु अस्पतालमा उपचारसँगै पौष्टिक खाना, काउन्सिलिङबाटै राम्रो हुने गरेको बताइन् । ‘अस्पतालमा धेरै बिरामीहरु आउनुभयो, कतिपय बिरामीहरु कोरोना भनेपछि धेरै डराउनुभएको हुन्थ्यो’, समीक्षा भन्छिन- ‘त्यस्ता बिरामीहरुलाई उपचारसँगै काउन्सिलिङमा बढी ध्यान दिने गरेका छौं ।’ उनले बिरामीहरु उपचारपछि खुशीका साथ हात हल्लाउँदै घर फर्किँदाको क्षण आफ्नो जीवनको खुशीको क्षण भएको उनले बताइन् ।