Goraksha

National Daily

कोरोनाको चपेटामा भिजिट नेपाल–२०२० : बामे सर्दै थियो, उभिनै पाएन

बालाराम खड्का
दाङ, २६ साउन । आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याएर पर्यटनलाई पनि व्यवसायसँग जोड्ने गरी शुरु भएको नेपाल भ्रमण बर्ष–२०२० शुरु भएको भर्खरै तीन महिना पुग्नै थालेको थियो, भर्खरै बामे सर्न थालेको नेपाल भ्रमण बर्ष उभिन नपाउँदै कोरोना संक्रमणको चपेटामा प¥यो ।

लाखौं पर्यटक भित्र्याउने र करोडौंको आर्थिक समृद्धिको लक्ष्य लिएर उभिन थालेको नेपालको पर्यटन कहिले उठ्ने हो, थाहा छैन । कोरोना संक्रमणको सबैभन्दा बढी थिचोमिचोमा परेका छन्, पर्यटन व्यवसायी र गुमनाम हुन थालेका छन्, पर्यटकीय धरोहरहरु ।

धार्मिक आस्थाका भगवानसँग पनि सामाजिक दूरी कायम गर्नुपरेको छ, मनोरम दृश्यलाई धित मर्नेगरी नियाल्न सकिएको छैन । सांस्कृतिक धरोहरमा धमिराको गोला र माकुराको जालोले अशोभनीय बनाएको छ । अब थला परेको पर्यटनलाई कसरी उकास्ने भन्नेमा पर्यटन व्यवसायी तथा धार्मिक संस्थाहरुको चिन्ता छ । पर्यटन भ्रमण बर्ष शुरु हुनै थाल्दा चीनको बुहान प्रान्तमा देखिएको कोरोना भाइरसको संक्रमणले विश्वका कुनै पनि मुलुकलाई नछोएको अवस्था छैन ।

पर्यटनलाई अर्थतन्त्र बनाएका मुलुक त विश्वभरी शुरु भएको लकडाउन र बन्द भएका अन्तर्राष्ट्रिय उडानले गन्तव्य पुग्न कोभिड–१९ को पर्खाल लगाइदिए । नेपालमा पनि यसको प्रभाव प्रत्यक्षरुपमा प¥यो ।

धार्मिक पर्यटनको धरोहर काठमाडौको पशुपतिनाथको मन्दिर होस् वा दाङ जिल्लालाई चिनाउने विश्वकै अग्लो त्रिशुल भएको पाण्डवेश्वरी धाम तथा पाण्डवहरु स्वर्ग पसेको प्रवेशद्वारका रुपमा विश्वास गरिएको धार्मिक एवं पर्यटकीय गन्तव्य प्यूठानको स्वर्गद्वारी अहिले सुनसान छन् । स्वर्गद्वारीको अखण्ड ज्योति निभ्ने हो कि भन्ने चिन्ता, गौशालामा रहेका गाईलाई परालकै समस्या, पर्यटकहरु पुग्ने र सहयोग गर्ने आधारहरु कमजोर बन्दै गए ।

दाङ जिल्लाकै सन्दर्भमा पनि हरेक स्थानीय पालिकाले भ्रमण बर्ष २०२० लाई स्वागत गरिसकेका थिए । हरेक पालिकाले बार्षिक कार्ययोजना बनाएर भ्रमण बर्षलाई सफल बनाउनेतर्फ उन्मुख पनि थिए, तर सामना गर्नुप¥यो कोरोना भाइरसको विश्वव्यापी संक्रमणको ।

यससँगै सरकारले बैशाख १ गतेबाट लागू हुनेगरी भ्रमण वर्ष सचिवालयको कार्यालय विघटन गर्ने निर्णय समेत भएको अवस्था छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सोहीअन्र्तगत दाङमा नेपाल भ्रमण वर्ष २०२० को तयारी तीव्र पारिएको थियो । भ्रमण वर्षलाई सफल बनाउनका लागि समितिहरु गठन गर्नेदेखि वार्षिक कार्यतालिका सार्वजनिक गर्ने काम भएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को सरकारको नीति तथा कार्यक्रमले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै सोही लक्ष्यअनुसार दाङका दशवटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी पुस १६ गते भव्यरुपमा औपचारिक कार्यक्रम गरी उद्घाटन समेत भएका थिए । दाङमा पनि थुप्रै पर्यटकीय तथा धार्मिक स्थलहरु रहेको र पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने भन्दै उत्साहका साथ अभियान थालिएको थियो ।

यसै प्रसंगमा ५ नं. प्रदेश सरकारले पनि दाङको बेलझुण्डीमा प्रदेश एक्स्पोको आयोजना ग¥यो, जुन प्रदेश सरकारको ऐना थियो । त्यसको झण्डै तीन महिनामै त्यो अभियान कोभिड–१९का कारण थला प¥यो जिल्लाका पनि सबै कार्यक्रमहरु स्वतः रद्द गरिए ।

तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि घुम्न जाउँ तुलसीपुर अभियानको शुरु गरेको थियो । घुम्न जाउँ तुलसीपुर अभियानको लोगो र बार्षिक पर्यटनको कार्यतालिका प्रकाशित गरी अभियानका क्रममा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

त्यसका लागि होमस्टे स्थापना तथा पर्यटकहरुको आकर्षणका लागि यहाँको कला संस्कृतिलाई पनि माथि उठाउने र पहिचानमा ल्याउने काम शुरु भएको थियो । कुमाल गाउँमा होमस्टेदेखि मगर होमस्टेलगायतका पर्यटकलाई आकर्षण गर्ने योजना बनाइसकिएका थिए । तर कोभिड–१९ को विश्वव्यापी महामारीसँगै अब यसको अन्त्य नहुञ्जेलसम्मका लागि सबै अभियान रोकिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

‘पहिले कोभिडको संक्रमणबाट बचौं, त्यसपछि पर्यटन उद्योगतर्फ हामी फेरि फर्कने छौं, महामारीका बीचमा पर्यटनलाई कसरी चलाउन भन्ने सोच्नै सकिएको छैन’, पाण्डे भन्छन्– ‘यसको प्रभाव त विश्व पर्यटनमै परेको छ ।’ पर्यटकीय स्थलहरुको सुधारको काम भने सुचारु भएको बताए । ‘कोरोनाको संक्रमण अन्त्य नभए सम्मका लागि अभियान अन्त्य भएको छ, कोरोनाको अन्त्यसँगै शुरु हुनेछ’, पाण्डेले भने । उनले कृषि, वन, पुरातात्विक स्थल, एयरपोर्टलगायतका विकास र पूर्वाधार निर्माणको काम भने सुचारु भएको बताए । संघीय प्रदेश सरकारबाट यसका लागि करिब १ करोड बढी बजेटसमेत आएको बताइएको छ ।

घोराही उपमहानगरपालिकाले पनि सबै क्षेत्रको विकाससँगै पर्यटकीय क्षेत्रको आधार सबै खडा भए पनि कोभिड–१९ का कारण पर्यटन बर्ष सफल पार्न नसकिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उनले सबै कुरा पछिल्लो समयमा सहज बन्दै गएको अवस्थामा कोभिडका कारण जटिलता थपिएको भन्दै आन्तरिक पर्यटन भित्र्याउने आधार पनि नरहेको बताए ।

‘पर्यटनसँगै सबै क्षेत्र अहिले थलिएको छ, पर्यटनबाटै समृद्धि हासिल गर्ने आधारशीला हुँदाहुँदै पनि परिस्थिति जटिल बनेको छ’, उनले भने । घोराही उपमहानगरपालिकाको चेपेतालमा भने डुंगा सञ्चालन गरेको बताए । उनले घोराहीमा मात्र २५ ताल रहेको भन्दै पर्यटनबाटै रोजगार र आयआर्यजनमा वृद्धि गर्न सकिने भए तापनि अहिलेको कठिन परिस्थितिमा त्यो सम्भव नभएको बताए । उनले पर्यटकीय तथा धार्मिकस्थलको भौतिक सुधारका काम भने हुने बताए ।

लमही नगरपालिका र यहाँका गाउँपालिकाले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य थियो । त्यसका लागि पर्यटकीय स्थलहरुको विकासका लागि केन्द्र तथा प्रदेश सरकारले बजेट पनि विनियोजित गर्दै आएको छ । ती स्थानीय निकायहरुले पनि अहिलेको अवस्थामा बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउन नसकिने बताएका छन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले यही अवस्था रहिरह्यो भने पर्यटनदेखि सबै क्षेत्र प्रभावित हुने बताए । यहाँका स्थानीय सरकारले पनि भ्रमण बर्षलाई लक्षित गरी बजेट तथा अन्य कार्यक्रम तय गरिसकेको अवस्थामा कोरोनाका कारण भ्रमण बर्ष अन्ततः स्थगन भयो । दाङमा पर्यटन तथा धार्मिक सुन्दरता थपिँदै जाँदा पर्यटनको पर्खाईमा रहेको पर्यटकीय धार्मिकस्थलहरु हाल सुनसान छन् ।

भ्रमण बर्ष २०२० लाई मध्यनगर गर्दै जिल्लामा होटलहरुमा पनि लगानी गरिएको थियो । ठूला–ठूला होटलहरु खुल्नुका साथै लगानी पनि बढाइएको थियो । तर पछिल्लो अवस्थामा कोभिड–१९ सँगै ती होटलहरु पनि बन्द जस्तै छन् । केही होटलहरु सञ्चालनमा आए पनि केही भने अझै सञ्चालनमा आउन सकेका छैनने ।

एक जिल्लाबाट अर्को जिल्लामा मानिसको आवत–जावत रोकिएसँगै व्यापार व्यवसाय पनि ठप्प भएको होटल व्यवसायीहरु बताउँछन् ।पर्यटन तथा धार्मिक क्षेत्रमा चहल–पलह नहुँदा ती व्यवसायी पनि धरापमा परेका छन् । त्यस्तै कोभिड–१९ ले पर्यटनमात्र होइन पर्यटकीय तथा धार्मिक क्षेत्र वरपर व्यापार व्यवसाय गर्नेहरुको रोजीरोटी पनि धरापमा परेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु नआउँदा व्यापार पनि बन्द भएको व्यवसायी रामकुमार खत्रीले बताए । ‘पहिले–पहिले दैनिक सयौं व्यक्तिहरु आउनुहुन्थ्यो, हाल सुनसान छ, व्यापार पनि बन्द गरिएको छ संक्रमणको त्रास पनि त्यतिकै छ’, उनले भने ।

दाङ जिल्ला धार्मिक तथा पर्यटकीय स्थलहरुका साथै सुन्दरताले भरिपूर्ण दाङमा पाण्डवेश्वर धाम, गोरक्षरत्ननाथ मन्दिर रिहारबाबा र बाघनाथ मन्दिर, पुरन्धारा झरना, छिल्लीकोट, चमेरेगुफा, सवारीकोट, बाह्रकुने दह, मन्ठोर्या, अम्बिकेश्वरी मन्दिर, दंगीशरण राजाको दरबार, चखौराको थारु म्युजियमलगायतका ऐतिहासिक मठमन्दिरहरु हाल सुनसान छन् । दाङ जिल्ला दक्षिण एसियाको ठूलो उपत्पकाका रुपमा परिचित छ । यहाँको हावापानी र भूबनावट पनि त्यत्तिकै मिलेको छ । पूर्वमा धानखोला र पश्चिममा पुरन्धारासम्म जोडिएको दाङ जिल्लामा प्रशस्त पर्यटकीय तथा धार्मिकस्थलहरु रहेका छन् ।

राज्य पुनर्संरचनासँगै दाङ प्रदेश नं. ५ मा पर्छ । प्रदेश नं. ५ को सबैभन्दा ठूलो पर्यटकहरुको गन्तव्यको रुपमा लुम्विनीलाई लिने गरिन्छ । त्यसका साथसाथै प्यूठानको स्वर्गद्वारी, सँगसँगै पछिल्लो समयमा यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

दाङस्थित धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशुल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् । पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशुल हेर्न आउनेको संख्या पनि बढ्दै गएको थिाये । त्रिशुल ७ हजार ७ सय १८ किलोग्राम फलाम, २२६.३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २ सय ४ किलोग्राम पित्तलले बनाइएको छ । उचाई ५५.५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशुलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको भए पनि विगत ५ महिनादेखि भने सबै सुनसान छ ।

ऐतिहासिक तथा धार्मिकरुपमा निकै महत्वपूर्ण मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेका थिए । तर हाल भने सुनसान छ । त्यस्तै जिल्लाको अर्को पर्यटनको सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको थियो । त्यहाँ हालै बुद्धको मूर्ति स्थापना गरिएको छ भने अन्य विकासका काम भने सुचारु छन् ।

वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र मनोरञ्जन लिन आउने गरेका छन् । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट समेत वनभोज तथा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् । लकडाउन अगाडिसम्म उद्यानमा सार्वजनिक बिदाको दिन कम्तीमा १०÷१२ वटा टोली वनभोजका लागि आउने गरेका थिए भने अन्य दिनमा टोली वनभोजका लागि आउने गर्दछन् ।

चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र फूलहरुका बगैँचासमेत रहेका छन् । त्यहाँ मिनी चिडियाखाना तथा बालबालिका लागि मिनीरेल समेत सञ्चालनमा आएको छ । अर्को पर्यटकीय तथा धार्मिक गन्तव्य बन्न सक्ने जनकपुरपछिको दोस्रो स्थानमा पर्ने कोइलाबासको रामजानकी मन्दिर ब्यवस्थापन तथा प्रचार–प्रसार नहुँदा ओझेलमा परेको कोइलावासवासीहरुले बताएका छन् ।

सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरे पनि हाल मन्दिर दर्शन गर्न आउने पर्यटकहरुको संख्या शून्य नै छ । त्योसँगै त्यहाँ भारतबाट पनि चुरे पहाड हेर्न मानिसहरु ठूलो संख्यामा आउने गरे पनि हाल कोभिडका कारण सबै बन्द रहेको वडाध्यक्ष सद्धाम सिद्धिकीले बताए । तर सो स्थानमा पार्क निर्माणको काम भने भइरहेको छ । पछिल्लो समयमा त्यसको विकासका लागि गाउँपालिको भने चासो देखाएको छ ।

त्यस्तै बबई गाउँपालिकामा रहेको पुरन्धारा झरना पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । त्यहाँ पनि पर्यटकहरु झरना हेर्न जाने गरेका थिए । तर कोभिड–१९ सँगै त्यहाँसम्म जानेहरुको संख्या पनि न्यून छ । त्यस्तै दाङको तुलसीपुर–४ मूलकोटमा रहेको चमेरेगुफा पनि पर्यटकहरुको रोजाइँमा पर्ने गरेको थियो ।

तुलसीपुरको शिर प्राकृतिकरुपमा रहेको गुफाको विकास र विस्तार गर्न सके गुफा पनि दाङको पर्यटकीय गन्तव्यको रुपमा विकास हुने देखिन्छ । त्यहाँसम्म पुग्ने सडकको स्तरोन्नति र त्यस क्षेत्रमा होमस्टे निर्माण गर्न सके त्यस क्षेत्रका स्थानीयहरुको आयस्तर बढ्ने पनि देखिएको छ । चमेरेगुफाको विकासको लागि गुरुयोजनासमेत बनेको थियो । तर हाल त्यहाँ पनि सुनसान छ । त्यस्तै दाङकै जंगलकुटी, सवारीकोट छिल्लीकोट पनि पर्यटनको राम्रो सम्भावना बोेकेका क्षेत्रहरु हुन् ।

त्यस्तै जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगारबाबा, रिहार, ज्यामिरे दह, चरिङ्गे दहलगायतका स्थानहरु पनि पर्यटकीय र रमणीय क्षेत्रहरुको रुपमा विकास हुँदै गएको थियो । जो–कोही पनि त्यहाँसम्म पुग्ने गरेका थिए । पछिल्लो समयमा त्यो पर्यटन पनि कोभिडकै चपेटामा परेको छ ।

हाल वाह्य तथा आन्तरिक पर्यटक शून्य नै छ । त्यसैगरी घोराहीमा धार्मिकस्थलको रुपमा अम्बिकेश्वरी मन्दिरको पुनःसंरचना गरिएको छ । दैनिक सयौंले पूजाआजा गर्ने मन्दिरमा अहिले दर्शनार्थीहरुको संख्यामा निकै कमी देखिन्छ । कोभिड संक्रमणको अन्त्य भएपछि मात्रै पर्यटकीयस्थलहरुका ढोका खुल्ने बताइन्छ । आशा गरौं, पर्यटकीय धरोहरका ढोका चाँडै खुल्नेछन् ।