Goraksha

National Daily

खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउँदै राप्ती

तिर्थराज ज्ञवाली
देउखुरी, २६ साउन । मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा राप्ती गाउँपालिकामा रहेको दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसंँग परामर्श बैठक सम्पन्न गरि खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ ।

केन्दका सचिव कुमारराज श्रेष्ठको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोबर्धन रावतको प्रमुख आथित्यतामा भएको बैठकले जैविक विविधता संरक्षण गर्नु अति आवश्यक रहेको ठहर गर्दै आगामी दिनमा राप्ती गाउँपालिकासंग समन्वय गरि दोलाई खोलामा असुरक्षित माछा मार्ने कार्यको पुर्ण रुपले रोग लगाउदै जलीय जैविक जीवको संरक्षण गर्ने निर्णय गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. ५ का अध्यक्ष गोबर्धन रावत, वडाका सदस्यहरु, टोल बिकास सस्था प्रतिनिधिहरु, गाँउका अगुवाहरु, कुलोपानी अगुवाहरुलगायत वडाका सम्पूर्ण सरोकारवालाहरुको उपस्थिति रहेको बैठकमा सामुदायिक नदि हस्तान्तरण प्रक्रिया बारे छलफल गरिएको थियो ।

देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिनु भएको छ ।

बैठकमा सचिब कुमारराज श्रेष्ठ, प्रबक्ता केपी घिमिरे, सल्लाहकार कमल गौतम र कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले सामुदायिक नदि हस्तान्तरण प्रकृया बारे जानकरी गराएका थिए । बैठकले सर्बसम्मत रुपले राप्ती गाउँपालिका वडा नं. ५ स्थित दोलाई खोला सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि लैजाने निर्णय समेत गरेको छ ।

संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको समेत फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिनुभएको छ ।

खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि वढाउने परामर्श बैठकमा वडा अध्यक्ष गोवरधन रावत, टोलविकास संस्थाका बामदेव चौधरी, सामुदायिक वनका छविलाल चौधरी, वडा सदस्य गणेश चौधरी, संस्थाका पूर्व अध्यक्ष कमल गौतम लगायतले आफ्ना विचारको साथमा यस अभियानको फाईदाका वारेमा प्रस्टाउनु भएको थियो ।