समाजवाद कि मसाजवाद ?
डा.कृष्णराज.डी.सी.
विषय प्रवेश
‘समाजवाद’ राजनीतिशास्त्रमा अत्यन्त लोकप्रिय शब्द हो । संसारभर यसको आ-आफ्नो शैली र क्षमताका आधारमा विश्लेषण गरिएको पाइन्छ । संसारका हरेक राजनीतिक व्यक्तित्व वा राजनेताहरुले ‘समाजवाद’ शब्द खास गरी हरेक मुलुकको शोषित, पीडित वा सर्वहारावर्गका जनताको उत्थानको प्रयोजनको लागि प्रयोग गर्ने गरेको देखिन्छ ।
खास गरी समाजवादी मान्यतालाई विभिन्न राजनेताहरुले आ-आफ्नो क्षमता र मतका आधारमा विश्लेषण गर्ने गरेका छन् । अहिले संसार राजनीतिक दृष्टिले पुँजीवादी र समाजवादी गरी दुई खेमामा विभाजित भएको पाइन्छ ।
प्रशिद्ध ‘समाजवादी जनवाद’का प्रणेता वा साम्यवादका व्याख्याता महान् दार्शनिक कार्ल हेनरिच माक्र्सले समाजवादी जनवादको व्याख्या गरेका छन् । जस अनुसार मुलुकको सम्पूणर् सम्पत्तिमा कुनै पनि व्यक्तिको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताको साधनमा समाजको साझा अधिकार हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्तलाई आत्मसात गरिन्छ ।
खास गरी वर्गसंघर्षका माध्यमबाट समाजमा शोषक र शोषितवर्गका बीच निरन्तर आ-आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष भइरहन्छ र संसारमा अल्पसंख्यक शोषकवर्गले वहुसंख्यक श्रमिक वा मजदुरवर्गमाथि शोषण, दमन गर्दै आएका हुन्छन् । अन्ततः शोषकवर्गको पराजय र शोषितवर्गको विजय हुन्छ र सर्वहारावर्गको अधिनायकत्वमा हरेक मुलुकको शासन सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने मान्यता समाजवादी जनवादले अंगीकार गरेको पाइन्छ ।
यस वादका अनुयायीहरु चीन, उत्तर कोरिया आदि लगायतका देशहरुमा प्रचलित शासन व्यवस्था हो । खास गरी दार्शनिक माक्र्सले समाजको आदर्श वा महान् व्यक्ति नै सच्चा समाजवादी बन्नसक्छ, लोभी, स्वार्थी, पदलोलुपता आदिजस्ता तुच्छ प्रवृत्ति अँगाल्ने व्यक्ति समाजवादी कुरामात्र गरेर ऊ समाजवादको सच्चा अनुयायी बन्न सक्तैन भन्ने मान्यता प्रस्तुत गरेका छन् ।
आज हाम्रो समाजमा आर्थिक विषमता हटाई समानता ल्याउनुपर्छ भन्ने र देशको सम्पूणर् सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबै मिलेर सामूहिक खेती वा सामूहिक परिश्रम गर्दै राष्ट्रिय उत्पादनलाई महङ्खव दिई उपभोक्ताका साधनमा समाजका प्रत्येक व्यक्तिको साझा अधिकार हुनुपर्छ भन्ने मान्यता खालि सैद्धान्तिक रुपमा सुगा रटाई गर्दै गराउँदै आफू समाजवादको आदर्शबाट विचलित भई न घरको न घाटको बन्न पुगेका समाजवादका अनुयायीहरुलाई देख्दा उनीहरुउपर देश र देशबासीको दया लाग्नु स्वाभाविक हो ।
किनभने तिनीहरुले जे कुरा राजनीतिक आदर्शमा समाजसमक्ष फलाक्ने गर्दछन् तर व्यवहारमा लागू गरिएको कतै देखिएन । बरु समाजवादको नारा लगाएर मसाजवाद अर्थात् शक्तिको गुलामी गरी कसरी पद र प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने नितान्त स्वार्थी वा व्यक्तिवादी मानसिकताले ग्रसित रहेको अवस्था खास गरी अहिले हाम्रो देश नेपालको राजनीतिक पद्धतिमा देखियो मात्र होइन प्रत्यक्ष रुपमा नेपाली जनताले दुर्भाग्यका साथ भोग्नु पर्यो ।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउने सुनौला सपनाहरु देखाएर ‘स्वीच अफ ल्याण्ड’तर्फ देश र देशबासीलाई लैजाने हुन् कि भन्ने त्रासदी समेत यतिखेर नेपाली जनमानसमा उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ । खास गरी यो देशमा वहुदलीय शासन प्रणाली पछाडि र अगाडिका दिनहरुमा समेत नेपाली जनताहरुले विभिन्न प्रकारका सामाजिक, राजनीतिक, आर्थिक उत्पीडनहरु भोग्दै आएको इतिहास फेला पर्दछ ।
यस स्थितिमा सच्चा जनवादी वा समाजवादी चिन्तकहरु व्यावहारिक रुपमा देखापरिरहेका छैनन् । हिजोका राजनेताहरुले जुन आदर्श प्रदर्शन गरे र सो आदर्शलाई उनका उत्तराधिकारीहरु वा अनुयायीहरुले समेत आत्मसात गर्न सकेनन् । तसर्थ, नेपाली राजनीतिमा अहिले जुन प्रकारको समाजवादको कुरा गरिन्छ यो खालि हात्तीको देखाउने दाँतजस्तो हुन्छ कि भन्ने डर सबैलाई लाग्नु स्वाभाविकै हो ।
समाजवादीहरुले देशका जनतालाई गास, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा आदि निःशुल्क रुपमा उपलब्ध गराउने गरेका इतिहासहरु संसारमा देखिन्छन् । हुन त आजको कलियुगमा रामराज्यको परिकल्पना गर्नु मनका लड्डु घ्यूसँग खानु भनेजस्तै हुन जाला तर भन्नेहरु जोसुकैले पनि जनताकै वा लोककै कल्याण गर्ने कुराहरु गर्दछन् ।
लोककल्याणकारी राज्यको अवधारणाअनुसार संसारमा लोककै लागि निःस्वार्थी वा राजनेताहरु मन, वचन र कर्मले लागिपरेका उदाहरणहरु पनि पाइन्छन् । नेपालमा २००७ सालपूर्व नेपाललाई गोर्खा भन्ने गरिएको र नेपालीहरुलाई गोर्खाली भन्ने गरिएको इतिहास फेला पर्दछ । प्रजातान्त्रिक समाजवादका प्रणेता वीपी कोइरालाले आफूले दिएको एक अन्तर्वार्तामा सो कुरा उल्लेख गर्नुभएको छ ।
समाजवादी जनवाद आजको विश्वमा असम्भव भएको ठान्दै प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्ने वीपी कोइरालाले नेपालको सन्दर्भमा गाउँको विकास गर्नुपर्ने गाउँका प्रत्येक जनतालाई आधारभूत आवश्यकता गास, वास, कपास, स्वास्थ्य, सुरक्षा आदिका अवसरहरु प्रदान गरिनुपर्ने मान्यता प्रस्तुत गर्नुभयो ।
उहाँकै मान्यताअनुसार खास गरी २०४६ सालपछि नेपाली कांग्रेसको सरकार र दलले ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम लागू गर्यो तर सो कार्यक्रमले नेपाली समाजका वास्तविक गरिबहरु समक्ष भरथेग गर्ने काम गरेको उदाहरण भने कतै देखिएन । त्यसपछि समाजवादी जनवादको पक्षमा देखिनुभएका मदन भण्डारीले पनि आजको विश्वमा समाजवादी जनवाद वास्तविक रुपमा असम्भव हुने ठानी उहाँले जनताको वहुदलीय जनवाद (जबज)को सिद्धान्तलाई प्रतिपादन गरी नेपालबाट कम्युनिष्ट सिद्धान्तको एउटा नवीन मान्यता प्रस्तुत गर्नुभयो ।
जसले संसारका विभिन्न मुलुकहरुलाई आश्चर्यचकित पारिदियो र सोही सिद्धान्तकै आधारमा मुलुकमा उहाँले नेतृत्व गरेको दल नेकपा एमालेले विभिन्न समयमा वहुमत मात्र प्राप्त गरेन पछिल्लो चरणमा नेकपा माओवादी र नेकपा एमाले दुवैको संयुक्त गठबन्धनसहित जनसमक्ष आम निर्वाचनमा जाँदा करिब दुइतिहाईको वहुमत समेत नेकपाले प्राप्त गर्यो ।
विभिन्न समयमा मिलीजुली सरकार (ह्याङ पार्लियामेन्ट) बाट दिक्क भएका नेपाली जनताले अब यो पाँच वर्षसम्मको स्थायी सरकारले मुलुकलाई नयाँ गति र दिशा प्रदान गर्ने छ भन्ने आशा राखेका थिए र छन् पनि तर दुर्भाग्यवश यो दुइतिहाईको सरकार पनि जनताको आकांक्षा पूरा गर्नुभन्दा दलगत, व्यक्तिगत स्वार्थको प्रलोभनमा चुर्लम्म डुबेर नेपाली जनतालाई निराश बनाउनसक्ने पूर्वसंकेतहरु नेपाली राजनीतिको क्षितिजमा देखापरिरहेका छन् ।
यस स्थितिमा अब उप्रान्त मुलुकले कसरी निकाश पाउला, जनतालाई सुख, शान्ति कसरी प्राप्ति होला ? भन्ने चिन्ता विभिन्न बौद्धिकवर्ग, समाजसेवी तथा निःस्वार्थ राजनीतिज्ञहरुमा उत्पन्न भएको छ । यतिखेरको राजनीतिक अस्थिरताले फेरि पनि मुलुक गतिहीन बन्न जान्छ कि भन्ने चिन्ता उत्पन्न हुनु देशभक्त नेपाली जनताको लागि स्वाभाविकै हो । अझ कसरी उच्च ओहदामा खास गरी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने भन्ने नितान्त स्वार्थी वा व्यक्तिवादी मानसिकताले ग्रसित नेपाली राजनीतिक प्रवृत्तिले नेपाली जनताहरुमा राजनीतिप्रति वितृष्णा उत्पन्न गराइरहेको छ ।
१०४ वर्षीय राणातन्त्र र ३० वर्षीय निरंकुश पञ्चायतीतन्त्रबाट आजित भइसकेका नेपाली जनतालाई अहिले लोकतान्त्रिक गणतन्त्रले केही गर्ला भन्ने आशा जगाएको अवस्थामा राजनेताहरुले परस्परमा खिचातानी गर्नु निश्चित रुपमा राम्रो कुरा होइन । समग्र देश र जनताको चिन्ताभन्दा स्वगत स्वार्थ र कुर्सीको मोहले परस्परमा प्रतिस्पर्धा हुनु नितान्त गैरजिम्मेवारीपना हो ।
भन्न त समाजवाद सबैले भन्छन् तर समाजवादी चरित्र कतैतिर देखिएको पाइँदैन ।
आज यो देशको राजनीतिक इतिहासलाई नियाल्ने हो भने शक्तिराष्ट्रहरुकै गुलामी गरेर सत्तामा पुग्ने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति विगतदेखि वर्तमानमा कायमै रहेको देखिन्छ । राणाकालमा राणाहरुले तत्कालीन इष्टइण्डिया कम्पनीलाई रिझाएर शासन गरेका थिए ।
त्यसपछि पञ्चायतले पनि शक्तिलाई नै रिझाएर शासन गर्यो । यता लोकतन्त्र प्राप्तपछि पनि विभिन्न राजनेताहरु शक्तिराष्ट्रकै गुलामीमा शासन सत्ता सञ्चालन गर्न विवश बनेको देखिन्छ । हुन त यसप्रकारको विवशता भौगोलिक कारण पनि होला । किनभने नेपाल चारैतर्फ जमिनले घेरिएको भूपरिवेष्ठित मुलुक हो । यसको आफ्नै सामुद्रिक मार्ग कतै छैन । समुद्रिक मार्गको लागि छिमेकी राष्ट्र भारतको कलकत्ता बन्दरगाहमा नपुगी नेपालले कुनै पनि प्रकारको वैदेशिक व्यापार गर्न सक्ने अवस्था छैन ।
उता उत्तरको छिमेकी राष्ट्र चीनसँग ठूला-ठूला तथा अग्ला हिमशृंखलाहरुले गर्दा प्रत्यक्ष सम्बन्ध हुन पाएको छैन । अझ भिसा र पास्पोर्टबिना मित्र राष्ट्र चीनमा जान समेत नपाउने स्थितिले गर्दा चीनको माध्यमबाट सामुद्रिक मार्ग प्राप्त गर्नसक्ने कुरा झन परको रह्यो । तसर्थ हाम्रो समाजवाद विवशतापूर्वक मसाजवादमा जाला कि भन्ने डर लाग्नु स्वाभाविकै हो । यो त अन्तर्राष्ट्रिय कुरा भयो तर राष्ट्रिय राजनीतिको चरित्रलाई नियाल्दा पनि हरेक राजनीतिक दलभित्र समाजवादी चरित्र देखिएन ।
नितान्त व्यक्तिवादी वा स्वार्थवादी चरित्रले गर्दा दलहरुको एकता छिन्नभिन्न हुनजाने खतरा त्यत्तिकै देखिन्छ । उदाहरणको लागि निर्वाचनमा वहुमत प्राप्त गर्नको लागि पार्टीहरुले परस्परमा गठबन्धन गरी जनता समक्ष जाने र एउटा कमजोर दलको नेता शक्तिशाली दलको गुलामी गरेर सत्तामा पुग्ने प्रवृत्ति नै ‘मसाजवाद’ हो । हुन त मानक नेपाली व्याकरणमा ‘मसाजवाद’ शब्द छैन ।
यसलाई मानक नेपालीमा मालिस गर्ने, तेल घस्ने वा गुलामी गर्ने भनिन्छ । यसरी हरेक व्यक्तिले र हरेक दलले आफ्नो राजनीति निष्ठा र आदर्शलाई तिलाञ्जली दिएर आफ्नो सीमित स्वार्थ पूरा गर्नको लागि एक दलको नेता अर्को दलसँग मिली आफ्नो तुच्छ स्वार्थ प्राप्त गर्नु ‘मसाजवाद’ हो । प्रस्तुत शब्द जनबोलीमा प्रयुक्त शब्द हो ।
यसले आचार्य विष्णु गुप्त (चाणक्य)को भनाइ जस्तै स्वार्थसँगको खुसामद, बजारिया पण्डितले भनेका कुरा, दुस्मनसँगको मित्रतासँग भर पर्नु हुन्न भन्ने सन्देशलाई सार्थकता प्रदान गर्दछ ।
निष्कर्षमा भन्नुपर्दा कुनै एक दल, एक व्यक्तिको कुरा मात्र होइन अहिले समग्र नेपाली राजनीतिक चरित्रलाई नियाल्ने हो भने हाम्रो समाजवाद चाहे त्यो वीपीले भनेजस्तो प्रजातान्त्रिक समाजवाद होस् वा मदन भण्डारीले भनेजस्तो जनताको वहुदलीय जनवाद होस् यी दुवै प्रकारका वादहरुप्रति आस्था राख्ने आस्थिक नेपाली राजनेताहरुले आफ्नो आस्थामाथि विचलन सिर्जना गर्दै ‘जल्ले दियो खाजा उही मेरो राजा’ भनेझैँ कहाँ र कोसँग मिलेर आफूलाई फाइदा हुन्छ त्यतैतिर लागेको देखिन्छ ।
यो प्रवृत्ति तिनीहरुको लागि क्षणिक फाइदा त होला तर यसले नेपाली राजनीतिमा नकारात्मक रुपले दूरगामी प्रभाव पर्नजाने खतरा देखिन्छ । तर ‘मसाजवाद’को सुन्दर भविष्य भने देखिँदैन ।
