Goraksha

National Daily

पुस्तक समिक्षा : विनोदको मनोविनोदमा मूल्यबोधको काव्यिक वकालत !

डा.नवराज लम्साल

कवि दुनियाँमा म अनौठा अनौठा संयोग र सन्दर्भ भेट्छु । कोही राम्रो लेख्छन् पनि र राम्रो चर्चा र प्रसिद्धि पाउँछन् पनि । कोही राम्रो लेख्छन् तर त्यसै अनुरूप सामाजिक स्वीकृति प्राप्त गर्दैनन् र कोही खासै लेख्दैनन् तर अनावश्यक चर्चाको भारी बोकेर हिँडिरहेका हुन्छन् । यी सबै भन्दा पर एउटा अर्को पनि विशेषता छ, त्यो हो लेख्ने, लेख्ने, थुपार्ने र सार्वजनिक गर्न मन नपराउने ।

कवि विनोद पोख्रेल यही वर्गका कवि हुन् । कविज्यूसँग मेरो व्यक्तिगत र भौतिक परिचय सुदूर छ तर अन्तरहृदयको परिचय अत्यन्त सुगम । यो पुस्ताकै थोरै सङ्ख्याका अब्बल पत्रकारहरूमध्येकै एक र मेरा अन्तरङ्ग मित्र विपुल पोख्रेलका पिता हुनुको सुसंयोगले नैै सायद सिर्जना र बुझाइको यति नजिक पुगेको हुँला । नत्र त उनी चलनचल्तीको भाषामा ‘छुपेरुस्तम’ कवि हुन् । पिताको डायरीमा पुत्रले हात हाल्ने हिम्मत नगरेको भए त यही सङ्ग्रह पनि दुर्लभ हुन्थ्यो, मेरा लागि पनि र तपाईँ पाठकका लागि पनि ।

कविको जीवनपृष्ठ नै कविताको भ्रुण हो । उनका हरेक कर्म आफैँ एकएक कविताजस्ता छन् । नेपाली पत्रकारिता, राजनीति, सामाजिक रूपान्तरण र शैक्षिक विकासमा विनोद पोख्रेलको योगदान दाङको सीमा काटेर बाइस जङ्घारपारि पुगेको छ तर उनी भने लुकी बसेजस्तो, स्वान्तसुखाय कवि । पदलाई नै प्राप्ति र चर्चालाई नै सफलता मान्ने वर्तमान नेपाली मनोविज्ञान भत्किएको दिन विनोद पोख्रेलहरूको खोजी हुनेछ ।

आज समय समयकै नियन्त्रणभन्दा बाहिरजस्तो देखिएको छ र त कविताको सुन्दर हरफमा समेत कविहरूले उत्साह र आशाका इन्द्रेणी भर्न पाएका छैनन् । यसरी उज्यालो उज्यालोकै बाटामा हिँडिदिएको भए मुलुकका आदर्श नागरिक र आदर्श लोकतान्त्रिक चरित्रलाई ‘मनी र मसल’ले किन बिस्थापित गर्थे र ?

सीधा राजनैतिक आग्रह त छैन तर सुराइ, छाता र एउटा ट्याङ्कामा विशाल सम्पन्नता देख्ने कर्मयोगी किशुनजी र ज्यान हत्केलामा राखेर माटोको सुरक्षा खोज्दै प्रवासबाट देश फर्कने वीपीद्वारा दीक्षित लोकतान्त्रिक चेतना नै कविचेतना भएर यस सङ्ग्रहका कविताहरूमा देखा परेका छन् । लोकतन्त्रको अर्थ राजनैतिक स्वतन्त्रताको नारा मात्र होइन । यो आर्थिक विकास र नागरिक आचरणको विषय पनि हो ।

यही सत्य बुझेका विनोद पोख्रेल कविका लागि कवि हुने दावाका साथ कविता लेखिरहेका छैनन् । सत्य कुरा त उनी मूल्यबोधको वकालत गर्न कविताको बाटो रोजिरहेछन् । यस्ता छन् उनका हरफ-

जसले आफ्नो अस्तित्व निर्माण गर्‍यो
त्यसैप्रति जिम्मेवारी निर्वाह गर्न नसक्नेले
के उन्नति गर्ला ?
के विकास गर्ला ?

देख्दा र पढ्दा सरल लाग्छन् यी हरफ तर यहीँभित्र छ वर्तमानको सत्य ।
हो, आशा र निराशा दुई पाटा छन् जीवनका । यसैको सन्तुलन हो लोकतान्त्रिक यात्रा । सिधै राजनीति गर्नेले पक्ष विपक्ष भन्लान् तर हरेक व्यक्ति भित्र आफू आफैँ पक्ष र आफैँ विपक्ष हुन्छ । यसैको सन्तुलित यात्रा र दुवैको स्वीकारोक्तिमा मात्रै जीवनले पूणर्ता आउँछ । पूणर्ता खोज्नेहरू आफैँ अपूणर् छन् । अपूणर् छन् र त अस्पष्ट छन् । अस्पष्ट छन् र त अपूणर् छन् । आफैँतिर नफर्कीकन र नकोट्याइकन आफ्नै जीवनको अतित व्यक्ति कविमा रूपान्तरण हुनै सक्तैन । आफैँलाई प्रश्न गर्नु जवाफदेही हुनुको प्रमाण हो ।

म को हुँ र लागेको छु, शिरले पहाड फोड्न
भैगो छोड्दे विनोद तैँले, आकाश पाताल जोड्न ।

प्रस्तुत सङ्ग्रह गीत र कविताको दोभान हो । गीतका सन्दर्भमा कोमलता बढी भेटिन्छ भने कविता कविताकै शैलीमा कतै वक्रोक्ति र कतै उपमा भएर आएका छन् । विषय खण्डित पनि छ कतै र कतै विषय सम्मिश्रणको कँसिलो गुच्छा पनि छ ।

कवि पोखरेललाई न त कवि दुनियाँको उछिनपाछिन दौडमा सामेल हुने रहर छ न त ठूलो प्राप्तिको महत्वाकाङ्क्षा । स्वान्तसुखाय अक्षरहरूसँग अन्तर चेतना विनिमय गरेर अक्षरसँग खेल्नुको मजामा छन् र यसैमा अर्थ खोजेपछि कविताहरू निर्दोष हुँदा रहेछन् । यस निर्दोष आग्रहभित्र समाजिक सुधारको अपेक्षासहित साँच्चै परिवर्तनको घनघोर आग्रह छ । उनी भन्छन् –

आफूलाई आफैँ सम्हालेर
निरन्तर निरन्तर हिँड्नुपर्छ
जिन्दगी हो जिउनुपर्छ ।
तिमी अघि बढ्नुको प्रक्रिया के हो ?
लक्ष्य कस्तो हो ?
मेरो लक्ष्य त छैन कुँदिएको
प्रक्रिया नियन्त्रणमा छैन ।

लामो समयको पत्रकारिता, दाङमा नेपाल प्रेस युनियन, लेखक सङ्घ, रापती साहित्य परिषद्आदि लोकतान्त्रिक तथा साहित्यिक संस्थाहरूको संस्थापक सदस्य तथा प्रवद्र्धक हुनु, पञ्चायत कालमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेर पटकपटक प्रहरी हिरासतमा पुग्नु, वीपी विचारको व्याख्या गर्दै समाज रूपान्तरणको जाग्रत सपनाको जगमा मानवताको वकालत गर्नुजस्ता जीवनका सजीव यात्राको अनुभव नै यी गीत र कविताका जग हुन् ।

२००७ सालमै राणा विरुद्ध होमिएर प्युठान कब्जाको नेतृत्व गरेका आफ्ना पिताश्रीको चेतनाको प्रभाव पर्नु, जय नेपाल पत्रिका प्रकाशनको सूत्राधारमध्ये एक हुनु र वीपी चिन्तन केन्द्र दाङको अध्यक्षका रूपमा क्रियाशील रहनुबाट आर्जेको गहिरो ज्ञान, अनुभव, दृष्टि र दृष्टिकोणको आलोकमा उजिलिएको छ उनको जीवन । त्यही जीवनको छायारूप हुन् यी गीत र कविताहरू ।

उनले मुलुकसँग, आस्थाको पार्टीसँग र कर्म खियाएको समाजसँग त्यो माटो, आस्था र कर्मको हिसाब मागेनन् । संघर्ष र प्राप्तिलाई जोखेनन् बराबरी तराजुमा । उनका सन्तानसमेतको योगदानलाई हेर्दा यस मुलुकको समाजिक र राजनैतिक परिवर्तनका लागि एकै घरको तीन पुस्ते लगानी छ तर हिसाब मागेका छैनन् ।

उनको लगानी निष्ठाको हो र कर्म कर्मयोगकै पर्याय । त्यसैले त उनी बिनाशृङ्गार पोखिदिन्छन् अभिव्यक्ति । किन त्यसो गर्छन् ? किनभने लेखेबापत कसैलाई खुसी पार्नु पनि छैन र कतै बेच्नु/बेचिनु पनि छैन । उनी आफैँ भन्छन् –

जे देख्यो, त्यही लेख्यो
जे भोग्यो, त्यही कोर्‍यो
साहित्यलाई मेकअप चाहिँदैन
शृङ्गारका नाममा बेइमानी चाहिँदैन ।

यी कविताका हरफ पढिरहँदा बीचमा भेटेँ एउटा पङ्ति । यो पङ्ति आफैँमा एउटा कविता हो –सत्य आफैँ सुन्दरता हो ।

समाजबाट सत्य मर्दैमर्दै गएको छ र त समाजको स्वरूप कुरूप हुँदै गएको छ । सुन्दरता खोज्छु भन्नेहरूको कुरूप देखिने कर्ममुहारबाट कवि आफैँ आजित छन् र भन्छन् :

भविष्यको चिन्ता भन्ने त कुरा न हो
भविष्यमा के हुने भन्ने कसलाई थाहा छ र ?
कुन विषयको चिन्ता गर्ने ? कसलाई थाहा छ र ?

सङ्घर्ष नै जीवनबोधको पहिलो शर्त हो । बिनामेहेनत र बिनापसिना धाराले जीवन फुको हुन्छ र फुको जीवन जीवन हुँदैन । जीवन रहस्य हो, रहस्य भित्रको पनि र बाहिरको पनि । अन्तरहृदयको सत्ता, उपल्लो चैतन्य सत्ता र यसको योगमा के छ ? त्यही योगफलको बोधबिना जीवन बुझिन्न ।

जीवन बाहिरी दुनियाँ पनि हो र भित्री उज्यालो पनि । जीवनप्राप्तिको मूल्य आफैँभित्र छ र परिणाम मूल्य पनि आफैँभित्रै छ । बाहिरको प्राप्ति क्षणिक हो । आज भित्रको उज्यालो मारेर बाहिरी उज्यालो जोहो गर्दै हिँड्नेहरूको अन्तिम परिणति अँध्यारै देखिएको छ । यही शाश्वत बुझेकै कारणले होला कवि विनोद पोख्रेलको जीवन सीधा, साधा र सरल छ । जहाँ सीधा, साधा र सरलपन छ त्यहीँ जीवनको पूणर्ता छ ।

भनिन्छ – पूणर्स्य पूणर्मादाय पूणर्मेवावशिश्यते । पूणर्बाट पूणर् झिकेपछि पूणर् नै बाँकी रहन्छ । कवि पोख्रेललाई लाग्छ जीवन त्यही पूणर्ताभित्रको पत्रे चट्टान हो ।

पत्रे चट्टान नै त रहेछ जीवन
सबै राम्रा, नराम्रा पक्ष
भोग्दै, थप्दै र बित्दै जाने ।
…………………………………..
मैले बुझेको यत्तिमात्र हो
जीवनको ब्रेक हुँदैन
जुनदिन यसमा ब्रेक लाग्छ
जीवन जीवन नै रहँदैन ।

अभिव्यक्तिमा खारिएको निख्खर सूक्तिमयता । भाषामा सरलता । कथ्य कथनको स्वच्छन्द बगाइ । फर्केर पुनर्विचार गरेजस्तो नलाग्ने गरी अनुभूतिको पहिलो झिल्का टपक्क टिपिएकोजस्तो अन्तरप्रवाह । रूपान्तरण, न्याय, समता र लोकतान्त्रिक चरित्रप्रतिको गहिरो अनुराग र अपेक्षा ।

पाठकको मनमा यी कविले कवि बन्ने अपेक्षाबिनै सत्य कुरा भन्नका लागि कविताको बाटो रोजेका हुन् भन्ने विषयबोध । यिनै हुन् उनको खास लेखकीय विशेषता । यही विशेषताले नै उनलाई कविका रूपमा उभ्याएको छ र फरक बनाएको छ ।

उमेरले कविज्यूको छोराका साथी भएर पनि पाण्डुलिपि पढेर अघिल्लो पुस्तामाथि यति लेख्ने संयोग मिल्नुलाई मैले मेरै धृष्टता ठानेको छु । अब नयाँ पुस्ताले मात्रै यस देशलाई रूपान्तरणसहितको नयाँ दिशा दिनसक्छ भन्ने कविज्यूको ठम्याइ रहेछ कि ! कविताले परिवर्तन होइन रूपान्तरण खोजेको छ र नयाँ चेतना र नयाँ व्यवहारको अपेक्षा गरेको छ ।

विपुलजीलाई, मलाई वा समाजका धेरै विपुलहरू र नवराजहरूलाई प्रस्तुत सङ्ग्रहले शिक्षाको रूपमा केही सार दिएको छ । धेरै लेखकहरू बुद्धको पुनरागमनको कल्पना गर्छन् र बुद्ध उपस्थितिको अपेक्षा गर्छन् तर कवि पोख्रेल सबैलाई बुद्ध बन्न आग्रह गर्छन् र सबैभित्र बुद्धत्व देख्छन् । बुद्धिले व्यक्तिलाई व्यक्तिबाट बुद्ध बनाउन सक्ने कवि विश्वासका यी हरफहरू उधृत गरेर आजलाई यत्ति भन्छु । बाँकी त कविज्यूका डायरीमा लुकेका अरू सिर्जनाहरू यसै गरी सँगालो बनेर आइरहून् र यसका लागि मेरा मित्र विपुलजीले विपुल सक्रियता जारी राखून् । हार्दिक कामना ।
द्वेष, द्वन्द्व, रिस र रागबाट
मलाई मुक्ति देऊ
पर्दैन भो तिमी आउन
बुद्ध ! मलाई बुद्धि देऊ

 

शब्दशिविर, चन्द्रागिरि १५, काठमाडौं ।