नीतिबिनाको राजनीतिका विपरित ध्रुव हुन् : वीपी कोइराला
डा.कृष्णराज डी.सी.
विषय प्रवेश
मानिस सामाजिक प्राणी हो । तसर्थ, उसलाई समाज चाहिन्छ । समाजलाई सुसंगठित र सुव्यवस्थित रुपमा सञ्चालन गर्ने विधि, पद्धति वा नीति भनेको ‘राजनीति’ हो । यसलाई अभिधार्थमा प्रमुख वा मूल नीति भनिन्छ ।
पूर्वीय दर्शनमा आधारित आचार्य विष्णुगुप्तको ‘चाणक्य’ नीति, कौटिल्यको अर्थशास्त्र, महर्षि वाल्मीकिको रामायण, महर्षि ब्यासजीद्वारा रचित महाभारत, महर्षि शुक्राचार्यको शुक्रनीति तथा विभिन्न नीति उपदेशमा आधारित पुराणहरु, गीता दर्शन आदि शास्त्रहरुमा पनि परोक्ष वा अपरोक्ष रुपमा राजनीति भेटिन्छ भने अन्य विभिन्न राजनीतिज्ञद्वारा लिखित राजनीतिक दर्शनहरुमा त झन राजनीति नहुने कुरै भएन ।

पारिवारिक जीवनदेखि सामाजिक तथा राष्ट्रि र अन्तर्राष्ट्रिय जीवनमा समेत राजनीतिले मूल भूमिका निर्वाह गरेको हुन्छ । जनता के हो ? राज्य के हो ? संसारमा राज्यको उत्पत्ति कसरी भयो ? राजनीतिक पद्धति (पोलिटिकल सिस्टम) भनेको के हो ? राजनीति कला हो कि विज्ञान हो ? कानून भनेको के हो ? कानून निर्माणका सिद्धान्तहरु के-के हुन् ? राजनीतिक दल भनेको के हो ? राजनीतिमा दबाब समूह (प्रेसर ग्रुप) भनेको के हो ? कानूनको शासन (रुल अफ ल) भनेको के हो ? प्रजातन्त्र (डेमोक्रेसी) भनेको के हो ? निरंकुशतन्त्र भनेको के हो ? समाजवाद भनेको के हो ? साम्यवाद भनेको के हो ? संविधान भनेको के हो ? संविधान निर्माणका सिद्धान्तहरु के-के हुन् ? कल्याणकारी राज्य (वेल्फियर स्टेट) का अवधारणाहरु के-के हुन् ? सम्प्रभूता (सोभ्रिएन्टी) भनेको के हो ? आदि सबै राजनीतिलाई सञ्चालन गर्ने नीतिहरु हुन् ।
उपर्युक्त नीतिहरुका आधारमा कुनै पनि देश र त्यहाँका शासकहरुले आफ्नो शासन सत्ता सञ्चालन गरिरहेका हुन्छन् । खास गरी दक्षिण एसियामा विपरित राजनीतिक सिद्धान्त बोकेका दुई विशाल शक्तिशाली राष्ट्र चीन र भारतको बीचमा दुवैको साझा मित्रराष्ट्रको रुपमा रहेको नेपाल बाँच्ने मूल आधार भनेको असंलग्न परराष्ट्र नीति नै हो ।
यो नीति हिजो, आज र भोलि उत्तिकै महत्वपूणर् हुन जाने देखिन्छ । यही नीतिको अवलम्बनद्वारा नै नेपाल हालसम्म अस्तित्वशाली राष्ट्र बनेको छ ।
लोकतान्त्रिक शासन पद्धतिमा जनताको सर्वोच्चता हुन्छ भने अलोकतान्त्रिक वा निरंकुश अथवा तानाशाही राजनीतिक शैलीमा तानाशाहको अत्याचार जनताले विवशतापूर्वक स्वीकार्नुपर्ने हुन्छ । तसर्थ दक्षिण एसियाका नेपाल, भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान आदिजस्ता विकासशील राष्ट्रहरु यी दुवै शक्तिराष्ट्रहरुको चेपुवामा पर्न विवश बनेका छन् । यी राष्ट्रले चीन र भारत दुवैको अत्याचार वाध्य भएर सहँदै आएका छन् ।
‘मेरै गोरुको बाह्रै टक्का’ भन्दै यी दुई शक्तिशाली राष्ट्रहरुले आ-आफ्नो शक्तिको प्रदर्शन गर्दै आएका छन् । नेपालमा कानुनसम्मत शासन गर्ने नीति लिएर प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० सालमा मुलुकी ऐन जारी गरेका थिए । तर सो ऐनले कानूनको उपहास उडाएको हुँदा त्यसलाई जनतासमक्ष प्रस्तुत गर्ने हिम्मत उनले गरेनन् ।
त्यसमा ब्राह्मण, क्षत्री, वैश्य, शुद्र आदि विभिन्न जातजातिलाई असमान प्रकारको न्याय व्यवस्था बनाएको थियो । त्यसपछि राणाकालमै नेपाल वैधानिक कानून (२००४) जारी गरियो भने २००७ सालको राजनीतिक परिवर्तनपछि २०१६ सालसम्म संविधान निर्माणको प्रक्रिया सतत् चलिरहे पनि सफल हुन सकेन । फलस्वरुप वि.सं. २०१७ सालमा राजा महेन्द्रले वहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाई निरंकुश वा तानाशाही शैलीमा पञ्चायती व्यवस्थाको घोषणा गरे र पञ्चायती संविधान समेत जारी गरे । २०१९ सालमा उक्त संविधानमाथि संशोधन पनि गरियो ।
तर, प्रजातन्त्रवादी महान् नेता वीपी कोइराला जो राणाकालदेखि नै उनका पिता कृषणप्रसाद कोइरालादेखि प्रजातन्त्रको लागि संघर्ष गर्दै आएका थिए । उनलाई राणाहरुले सोही कारणले सर्वस्वहरण सहित देश निकालाको सजाय दिएका थिए । तसर्थ, वीपी कोइराला भारतको वनारसमा प्रवासमै वि.सं. १९७१ साल भाद्र २४ गते जन्मिएका थिए । उनको वास्तविक नाम चुडामणि कोइराला थियो । आफ्ना पिताको स्वर्गारोहणपछि उनी भारतमै प्रजातन्त्रको लागि संघर्ष गर्दै आएका मात्र थिएनन्, अंग्रेजहरुलाई भारतबाट धपाउने अभियानमा समेत उनी सहभागी भएका थिए । यसरी भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागी भएका कोइरालालाई तत्कालीन अंगे्रज सरकारले भारतको हजारीबाग जेलमा राखेको थियो ।
नेपालमा पनि राजा महेन्द्रले जब दलहरुमाथि प्रतिबन्ध लगाए तब उनलाई जेल हालेका थिए । विभिन्न समयका राजनीतिक क्रान्तिमा हेलिएका महान् राजनेता वीपी कोइरालालाई खानपानको अभाव, अन्य व्यवस्थापन पक्षको अभाव पटक-पटक जेल, नेल जानुपर्ने कारणहरुले गर्दा क्यान्सरजस्तो प्राणघातक रोगले आक्रमण गर्यो ।
भारतमा निर्वासित जीवन बिताइरहेका कोइरालाले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा इमर्जेन्सी (आपतकाल)को घोषणा गरेपछि दूरदर्शी कोइराला राष्ट्रिय हितको लागि स्वदेश नेपालमै फर्किनुपर्छ भन्ने नीति लिएर वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात गर्दै नेपाल फर्किएपछि उनलाई तत्कालीन राजा श्री५ वीरेन्द्रले जेल हाले । तर, उनको स्वास्थ्योपचारको लागि २०३५ सालमा श्री५ वीरेन्द्रले शैलजा आचार्य सहित वीपी कोइरालालाई बेलायतको लण्डनमा उपचारार्थ पठाएका थिए ।
त्यसबेला नेपाल सरकारले दुई राजनीतिक बन्दीहरु क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई गोली हानी मृत्युदण्डको सजाय दिएको थियो । यो समय २०३५ साल माघ महिनाको अन्तिमतिर थियो । बिबिसीका सम्वाददाता मणि राणा र धु्रवहरि अधिकारीले वि.सं. २०३५ सालमा बिबिसी सेवाको प्रयोजनको लागि लण्डनमा एउटा वीपी कोइरालाको अन्तर्वार्ता लिएका थिए । तर, विविध कारणले वा प्रतिकूल परिस्थितिलाई मध्यनजर गरी राजनेता कोइरालाको सो अन्तर्वार्ता प्रकाशन गरिएको थिएन ।
समयको अन्तरालमा आज उक्त अन्तर्वार्ताको सारांश जनसमक्ष प्रस्तुत गर्नु सान्दर्भिक मानिन्छ । सो अन्तर्वार्ताको सारांश यस्तो छ : ‘सुरुमा आफ्नो स्वास्थ्यको अवस्था तत्कालमा ठीकै रहेको बताउँदै वीपी कोइरालाले दक्षिण एसियामा साना तथा विकासशील राष्ट्रहरु बंगलादेश, पाकिस्ता, भुटान, नेपाल आदिको अवस्था नाजुक रहेकाले राष्ट्रिय हितको खातिर राजा तथा प्रजाबीच एकताको आवशयकता भएको बताएका थिए । राजा र प्रजाबीच मेल हुन नदिने तत्कालीन अराष्ट्रिय तत्वहरुले दुई राजबन्दीहरुलाई मृत्युदण्ड दिन लगाएको खुलासा कोइरालाले गरेका थिए ।
कि नेपाल सानो भुटान भएर बस्नुपर्यो होइन भने राजा र प्रजा (राष्ट्रिय शक्ति) एक भएर बस्नु पर्छ भन्ने वीपीको भनाई रहेको छ । कोइरालाले आफूलाई प्रधानमन्त्रीको कुनै लोभ नभएको बरु नेपालमा प्रजातन्त्रको स्थापना होस्, नेपालको आर्थिक विकास होस्, नेपाल गाउँ नै गाउँले भरिएको देश भएको हुँदा सर्वप्रथम यहाँ गाउँको विकास होस्, गाउँका मान्छेहरु गाउँमै बसून् भन्ने चाहेका थिए ।
अर्को एक जिज्ञासाको जवाफमा कोइरालाले पञ्चायतलाई भ्रष्टाचारतन्त्र र निरंकुशतन्त्र भएको बताएका थिए । उनको विचारमा पञ्चायती व्यवस्था वास्तवमा न त्यो पञ्चायत थियो न त प्रजातन्त्र नै ।’ वीपीको शब्दमा भनिएको छ ।
कोइरालाले नेपालमा राणाकालका जस्तै भए पनि राजा भए देश बलियो हुने बताएका थिए । तर निरंकुश राजतन्त्र होइन संवैधानिक राजा हुनुपर्यो भनी उनले भनेका छन् । स्वर्गीय राजा महेन्द्रले त्यसबेला आफूसँग ‘कि तिमी कि म मात्र राजा हुनुपर्छ’ भन्दा आफूले जनता र राजा दुवै आवश्यक छ भनेको बताएका छन् ।
प्रजातन्त्रमा दलीय कार्यक्रमहरुजस्तै जनताको सर्वोच्चता, जनताको सार्वभौमसत्ता र राजकीय सत्ता, पूणर् प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, कानूनको शासनको ग्यारेण्टी हुने कुरा उनले बताएका छन् । दलहरुको कारणले राष्ट्रियता कमजोर हुन्छ कि भन्ने एक सवालको जवाफमा कोइरालाले भनेका छन् ‘कमजोर हुँदैन बरु राष्ट्रियता झन बलियो हुन्छ’ जस्तै २००७ सालभन्दा पहिले जब नेपालमा राजनीतिक दलहरु थिएनन् त्यसबेला त नेपालको नामै थिएन ।
नेपालीलाई त्यतिबेला गोर्खाली भनिन्थ्यो । राजालाई पनि गोर्खाली राजा भनिन्थ्यो । काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्ने गरिन्थ्यो । विराटनगरदेखि दक्षिणतर्फको भूभागलाई मधेश भन्ने गरिन्थ्यो । राणाहरुले बाहुन, क्षत्री र मगरहरुको फरक-फरक कानून बनाएका थिए ।
तर पछि हामीले मेचीदेखि महाकालीसम्मका र हिमालदेखि तराईसम्मका सबै जातिहरु एउटै नेपाली जाति हुन् भनेर ‘जय नेपाल’को नारा लगाई गोर्खालीलाई नेपाली भन्यौँ । हामीले जातिवादको खुलेर विरोध गर्यौँ । राणाकालमा ब्राह्मण र क्षत्री नै सर्वेसर्वा हुन्थे । त्यसबेला मगर समुदायबाट अलि माथि उठेका व्यक्ति रणधीर सुब्बा मात्र थिए । अन्य दलित जातिहरुको त कुरै नगरौँ ।
के राणाहरु नै खराब थिए त ? भन्ने अर्को एक सवालको जवाफमा नेता कोइरालाले भनेका छन् : ‘होइन ‘राणा’ शब्द नै खराब थिएन । सुवणर् शम्शेर, महावीर शम्शेरजस्ता राणाहरु मेरा आत्मीय मित्रहरु पनि थिए । तर राणा शासन पद्धति वा सिस्टम नै खराब थियो ।’ के राणाहरु अंग्रेजको निर्देशनमा चल्थे ? भन्ने अर्को जिज्ञाशाको जावाफमा कोइरालाले भनेका छन् : ‘हो उनीहरु अंग्रेजकै निर्देशनमा चल्दथे । किनभने त्यसबेला बेलायतभन्दा माथि कोही थिएन ।
त्यतिबेलाको नेपाल बेलायतको नियन्त्रणमा थियो । आज नेपालले अपनाएको असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकदमै ठीक छ’ भन्ने सल्लाह वीपी कोइरालाले दिएका थिए । राजनीतिमा अन्योन्याश्रित सम्बन्ध छ र यो नीति एकदम ठीक भन्ने सन्देश कोइरालाले दिएका छन् ।
नीति र राजनीतिमा अन्तर
यसरी माथि उल्लिखित विविध प्रसंगहरुले नीति र राजनीतिका बीच अन्योन्याश्रित सम्बन्ध रहेको कुरा पुष्टि गरेका छन् । कुनै पनि राज्य समाप्त हुने खास कारण भनेको अराजकता नै हो भन्ने कुरा नीतिशास्त्रमा लेखिएको छ । उग्र नारा, उग्र विचार, उग्र अभिव्यक्ति र उग्र कार्यशैलीले कुनै पनि राष्ट्रलाई सही दिशाबोध गर्न सक्दैन । हामी जीवनभरि क्रान्तिको नारा लगाउँछौँ, के मानव जीवनको पर्याय क्रान्ति नै हो ? क्रान्ति वाहेक मानिसलाई शान्ति, सहिष्णुता, सद्भाव, सदाचार आदिको आवश्यकता पर्दैन ? नीति र सिद्धान्तबिनाको कुनै पनि क्रान्तिले सही दिशाबोध गर्न सक्दैन । ठोस नीति नभएकै कारणले नेपालमा राणा शासकहरुको पतन भयो । २३८ वर्ष लामो राजतन्त्रको पतन भयो । नरंकुश र तानाशाही नीतिको कारणले पञ्चायती शासन प्रणालीको पतन भयो । भारतमा इस्ट-इण्डियाको पतन भयो र त्यहाँका मुगल सम्राटहरुको पनि पतन भयो । इटालीमा मुसोलिनीको पतन भयो । शोभियत रुसमा जारशाहीको पतन भयो । जर्मनमा जर्मन तानाशाह हिट्लरको पतन भयो । फ्रान्स र बेलायतमा लुई १४औँ, लुई १६औँ जस्ता तानाशाहहरुको पतन भयो । जसले राजदरबारलाई विलासको केन्द्र बनाएका थिए भने आफूलाई साक्षात् ईश्वर ठान्दथे, रोमन तानाशाहहरुको पतन भयो । तसर्थ, कुनै पनि देशमा सही नीतिबिनाको राजनीति भयो भने त्यो लगामबिनाको घोडाझैँ छाडा हुन्छ । यस प्रकारको कुनीति वा भ्रष्टनीतिको विरोध गरी नेपालमा नेपाली जनताको सर्वोच्चता कायम गर्ने उद्देश्यले महान् नेता वीपी कोइरालाले राणा र पञ्चहरुको क्रूर तथा निरंकुश नीतिको विरोध गरेकाले उनलाई विभिन्न यातनाहरु स्वदेश तथा विदेशमा समेत दिइयो । हुन त आफ्ना स्वगत-स्वार्थहरुलाई त्यागेर देश र जनताका निमित्त प्राणको बलिदानी दिने महान् महापुरुषहरु कहिल्यै पनि क्रूर तथा तानाशाही सत्तासँग सम्झौता गर्दैनन् । संसारको इतिहासलाई नियाल्ने हो भने हरेक देशका नेताहरुले सिद्धान्तमा जनताकै दुहाई दिन्छन् । तर व्यवहारमा त्यसो गर्दैनन् । खासगरी एकदलीय वा निरंकुश शासन सत्ता भएका मुलुकहरुमा जनताहरु भेंडाजस्तै बनाइएका छन् । अहिले पनि विभिन्न वाद, विवादको नाममा नेपालमा बहुदलीय शासन शैलीलाई अन्त्य गरी निरंकुश वा एकदलीय तानाशाहीतन्त्र देश र देशवासीमाथि लाद्ने दुस्प्रयासहरु भइरहेका छन् । यदि यसो भयो भने ‘न रहे बाँस न बजे बाँसुरी’ भनेझैँ न त देश रहने छ न त जनता नै रहने छन् । तसर्थ, विभिन्न समयका नेपाल आमाका सपूतहरुले प्राणको बलिदान दिएर प्राप्त गरेको वर्तमान लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा सो राष्ट्रको संरक्षणको निमित्त यतिखेर सबै आस्था, विचार, सिद्धान्तमा विश्वास गर्ने राजनीतिक दल र त्यसका नेताहरु बुद्धिजीवीवर्ग, सबै जाति, सबै धर्म, सबै सम्प्रदाय, सबै वर्ग, सबै क्षेत्र एकजुट हुनु नितान्त आवश्यक छ । तर दुर्भाग्यको कुरा दलीय स्वार्थभन्दा पनि अझ तल झरेर व्यक्तिगत स्वार्थ तथा पद र प्रतिष्ठा वा कुर्सीको राजनीति गर्ने जुन नीच र घृणित प्रवृत्ति नेपालमा विगतदेखि वर्तमानसम्म पुनरावृत्ति हुँदै आएको छ । यसले उक्त प्रवृत्ति अँगालेका व्यक्ति र उनले आत्मसात गरेका दलहरुलाई रसातलमा त पुर्याउँछ नै तर सबैभन्दा ठूलो दुर्भाग्य देश र देशवासीलाई समेत समाप्त पार्छ कि भन्ने चिन्ता हो । हेक्का रहोस् यस किसिमको नीतिविहीन राजनीतिको विपरित ध्रुवमा उभिएर राजनेता वीपी कोइरालाले ठूलो संघर्ष गरेर आफ्नो सपना साकार हुन नपाउँदै यद्यपि सदाको लागि यस संसारबाट बिदा लिएर गए तापनि हाल मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । तर प्रवेश गर्नु मात्र ठूलो कुरा होइन । यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने चिन्ता बढी हो । हेक्का रहोस् वर्तमान सरकारले पनि आफ्नो आचरण, नीति, नियम, योजना र सिद्धान्तभन्दा तल झरेर यदि काम गर्न थाल्यो भने उसले असफलतालाई विवशतापूर्वक स्वीकार्नुपर्ने नै हुन्छ । यदि सत्तामोह, पदको मोह तथा अन्य व्यक्तिगत स्वार्थले उत्प्रेरित गर्यो भने कुनै पनि चक्रवर्ती सम्राट समेत असफल हुन जाने कुरा निश्चित छ ।
