प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
महेन्द्रनगरकी किशोरी निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको दुई वर्ष पूरा भएको छ । तर, अहिलेसम्म अपराधी पक्राउ पर्नसकेको छैन । त्यो घटनापछि घटनास्थललाई जसरी प्रमाण नष्ट गर्ने मनसायले पोतपात, रंगरोगन र सफाई गरियो, त्यसबाटै घटनालाई रहस्यमय बनाएर अपराधीलाई उम्काउने खेल भएको बुझ्न सकिन्थ्यो ।
अनुमान गरिएझैँ दोषी अmभैसम्म पनि कारवाहीको दायरामा आउनसकेको छैन । त्यसपछि पनि थुप्रै बलात्कारका घटना भए । अन्य दुई बालिकाहरूको पनि यसरी नै हत्या भयो । तर कुनै पनि घटनाको अनुसन्धान प्रभावकारी देखिएन र अपराधीहरू कारवाहीको दायरामा आउन सकेनन् । यसरी राज्यका संरचनाहरूप्रति नागरिकको विश्वास टुट्ने शृङ्खलाको निरन्तरता रह्यो ।
प्रधानमन्त्रीले थुप्रै पटक संसद्मा बोल्दै स्पष्ट रूपमा ‘दोषीलाई कारबाही हुन्छ भन्ने कुरामा ढुक्क भए हुन्छ’ भनेर भनेका थिए । उनको त्यो अभिव्यक्तिबाट ठूलो आशा समेत गरिएको हो । त्यही आशाका कारण सडक प्रदर्शन र निरन्तरको अनशन पनि तोडिएका हुन् । तर, अब अनुसन्धानको प्रक्रिया समेत सम्बन्धित निकायको प्राथमिकतामा नपरेको भान हुन्छ । निर्मलाको आमाको पीडा दुई वर्षपछि पनि उस्तै रहेको समाचारहरू बनेका छन् ।
अधिकारकर्मीहरूको राज्यप्रतिको गुनासोयुक्त प्रतिक्रियाहरू पनि व्यक्त भएका छन् । तर, न त राज्यकै नेतृत्व, न त रानीतिक नेतृत्व, न त त्यस्ता अपराध निर्मूृल पार्ने र अपराधीलाई दण्ड दिने जिम्मेबारी बोकेर सेवा सुविधा लिइरहेका संयन्त्रकै नेतृत्वका लागि यो र यस्ता क्रुर अपराधका मुद्दाहरू प्राथमिकतामा पर्नसकेको महशुस भएको छ ।
आफै न्यायाधीश जसरी आफ्ना निकटहरूलाई खुलेआम ओत्ने प्रधानमन्त्रीको प्रवृत्तिका कारण पनि राज्यका अन्य संरचाहरूले पहुँच राख्ने सम्भावना भएका अपराधीलाई उन्मुक्ति दिने प्रयत्न गर्नसकेका हुन् । त्यसकारण दुई वर्ष अगाडि बलात्कारपछि हत्या गरिएकी निर्मला र त्यस्तै अमानवीय व्यवहारको शिकार बनेका अबोेध बालिकाहरूका अपराधी खोज्ने प्रक्रियाका बारेमा प्रधानमन्त्री स्वयंले देशबासीलाई जवाफ दिनुपर्छ र छिटोभन्दा छिटो अपराधीलाई कारवाही गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनु पर्दछ ।
मन्त्रीहरूमाथि उठेका ठूला-ठूला भ्रष्टाचारका सवालमा, उनीहरूको अनुचित मिलोमतोका सवालमा उठेका सन्दर्भहरूमा ‘उनीहरू’ ठिक छन् भन्दै सामान्य छानविन समेत गर्न नदिने प्रधानमन्त्रीको शैलीको प्रभाव सरकार मातहतका सबै संरचनामा पर्दछन् भन्ने हेक्का उनलाई हुनुपर्ने हो । आज चेपाङ बस्तीमा भएको आगजनी र सर्बोच्च अदालतबाट भएको विवादास्प्रद फैसलाहरु पनि आफ्नालाई ओत्ने प्रधानमन्त्रीको प्रवृत्तिबाट सिर्जित सन्दर्भ र घटनाहरू हुन् भन्न सकिन्छ ।
त्यसकारण अविलम्ब प्रधानमन्त्री स्वयम्ले यी सवालमा जवाफ दिनै पर्दछ । ‘अपराधी समातिन्छन् ढुक्क हुनुहोस्’ भनी संसद्मा दिएको अभिव्यक्ति अनुसारको काम कारबाही कहाँसम्म पुग्यो भन्ने कुराको पनि जानकारी दिनै पर्दछ । अपराधको शृङ्खला रोक्न र राज्यका संयन्त्रहरूलाई जनविश्वास जित्ने गरी लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार परिचालन गर्न पनि प्रधानमन्त्रीले अग्रसरता लिनै पर्दछ । यो सबै प्रक्रियाको सुरुवातमा उनले जनताका नाममा हालसम्मको अवस्थाका बारेमा सही र तथ्यपरक जानकारी आफै उभिएर दिनु पर्दछ ।
