उपाध्यक्षमा चुनाव जित्दा …

  •   
  •  

आफैमा दुर्गम पालिका, बंगलाचुली गाउँपालिका । तर, उपाध्यक्ष यमुना घर्तीले दुर्गम भन्न पाउने छैनिन् । पालिकाको प्रत्येक भूगोल उनले मजाले नापेकी छिन् । धेरै बस्ती र भूगोल पैदल नै नापेकी छिन् भने केही भूगोल ‘स्पिलेण्डर बाइक’ को सहायतामा नाप्दै आएकी छिन् । असार २२ मा यो पंक्तिकारले उनको मोवाइलमा घण्टी बजाउँदा उनले पालिकादेखि घरसम्मको पहाडीबाटो स्पिलेण्डरबाट छिचोल्दै थिइन् ।

जीवनमा पहिलो खुशी स्मरण गर्न आग्रह गर्दा उनले स्थानीय तहको चुनावमा जनताले मत दिएर उपाध्यक्ष पदमा अनुमोदन गरेको दिनको सम्झना गरिन् । स्थानीय तहको चुनाव तात्दै थियो । चुनावी माहोलले सबैलाई छोप्दै थियो । राजनीतिक दलहरुले उम्मेद्वार तय गर्दै थिए । टिकटको लागि त्यति उनको दबाब थिएन । भए पनि ठीक छ, नभए पनि ‘विद्रोह’को अवस्था थिएन । टिकटको लागि दाबेदार पार्टीभित्र अरु पनि थिए । तर भाग्य नै अघि हिडेपछि कसको के लाग्छ ?

पार्टीले उनको नाममा उपाध्यक्षको उम्मेद्वारी टुङ्ग्यायो र उनी बंगलाचुली गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार भएर चुनावी मैदानमा होमिइन् । टिकट पाउनुभन्दा चुनाव जित्नु ठूलो चुनौती थियो । पालिकाका धेरै भूगोल उनको लागि पनि नयाँ नै थिए । पहाडी ठाउँ तत्कालीन ‘चार गाविस’ बनेर नयाँ पालिका बनेको थियो । चुनावी प्रचार सुरु भयो । जनताका बीचमा प्रतिबद्धता भयो । मतदानको दिन आयो, मतदान भयो ।

त्यसैदिन साँझबाट मत गणना समेत सुरु भयो । मनमा एक किसिमको डर पनि थियो । तर प्रत्येक वडाबाट प्राप्त मतको ग्राफ प्रतिस्पर्धीभन्दा माथि नै थियो । अन्तिम परिणाम आउँदा प्रतिस्पर्धी भन्दा ८७१ मत नै बढी आयो । ‘त्यो बेला धेरै खुशी भएको थिएँ’–उनले भनिन्–‘जनताको सेवा गर्ने अवसर प्राप्त भयो ।’

कम बोल्ने, बोलेका कुरा पूरा गर्ने उनको स्वभाव छ । स्वभाव चिन्न नसक्नेका लागि उनी ‘घमण्डी’ मानिन सक्छिन्् तर त्यो यर्थाथ होइन । उनको दोस्रो खुशी चुनावपछि काठमाडौं यात्रासँग जोडिएको छ । चुनावी सभामा पाटी अध्यक्ष प्रचण्डले उम्मेद्वारलाई भन्नुभएको थियो ‘चुनाव जितेर आउनुुहोला, काठमाडौंमा भेट हुने छ ।’ उनी पनि चुनाव जित्ने लिष्टमा परिन् । चुनाव जितेपछि पार्टीले जनप्रतिनिधिको लागि काठमाडौंमा प्रशिक्षणमा बोलायो । पार्टीले बोलाएपछि प्लेन चढेर काठमाडौं पुगिन् ।

‘देशभरका जनतप्रतिनिधि जुटेका थिए, पार्टीबाट चुनाव जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता थियो । पार्टी अध्यक्ष प्रचण्डले जनप्रतिनिधिले गर्ने कामको बारेमा प्रशिक्षण दिनुभयो । देशभरका साथीहरुसँग बसेर सिक्ने अवसर प्राप्त भयो । चुनाव अघि पार्टी अध्यक्षले भनेको कुराको धेरै सम्झना आयो ।

त्यो क्षण जीवनको अर्को खुशीको हो’ उनले भनिन् । त्यसैगरेर उनले अर्को खुशीको क्षण घरपरिवारसँगको छ । २०७५ बैशाख । गते भुलेको छु । घरपरिवारले घुम्न जाने प्रस्ताव गर्नुभयो । त्यसको व्यवस्थापन म आफैले गरे । श्रीमान, ससुरा र म भएर चन्द्रागिरी, पोखरा र अन्य ठाउँको अवलोकन गरियो । त्यो बेला ससुरा ज्यादै खुशी हुनुभयो र मलाई आशीर्वाद समेत दिनुभयो । त्यो बेला पनि निकै खुशी भएको थिएँ ।

यो पनि मेरो जीवनको अर्को खुशीको क्षण हो । त्यसैगरेर अर्को खुशी उनको विकास निर्माणसँग जोडिएको छ । जनप्रतिनिधि भएसँगै धेरै जिम्मेवारी थपिएको थियो । पहाडी र दुर्गम पालिका भएकाले धेरै समस्या थियो । मानव सूचकांकमा समेत पालिका कमजोर थियो । सडक, बत्ती, खानेपानी, स्वास्थ्य, शिक्षा सबै क्षेत्र कमजोर नै थियो । लामो समयपछि जनताले सबैभन्दा नजिकको सरकार प्राप्त गरेका थिए । नागरिकको अपेक्षा धेरै थियो । त्यो स्वाभाविक पनि थियो । ती अपेक्षालाई सम्बोधन गर्नुको विकल्प थिएन । पालिकाले पनि आप्mनो नीति कार्यक्रम र बजेटबाट सम्बोधन गर्दै आयो ।

र, गाउँ–गाउँमा बत्ती बले र टोल–टोलमा सडक पुगेका छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । धेरै ठाउँमा वर्थिङ सेण्टर स्थापना भएका छन् । ‘त्यो देख्दा पनि खुशी प्राप्त हुन्छ’ उनले भनिन–‘जनताको घरमा बत्ती, सडक, स्वास्थ्य, शिक्षा अन्य विकास पुग्दा त्यो बराबरको खुशी जनप्रतिनिधिलाई अर्को हुँदैन ।’

न्यायिक समिति संयोजक समेत भएकोले न्याय दिलाउन पाउँदा खुशी मिल्ने गरेको उनले बताइन् । ‘न्याय माग्न धेरै आउनुहन्छ, छलफल, सम्वाद गर्छौं । दुवै पक्षको कुुरा सन्छौँ । सकेसम्म दुवै पक्षलाई जित/जितको महशुस गराएर फर्काउने गरेका छुु, दुुवै पक्षले जितेको महशुस गर्दा धेरै खुशी लाग्ने गरेको छ’ उनले भनिन ‘यो पनि अर्को खुशीको क्षण हो ।’ बुबा वीरबहादुुर रायमाझी र आमा बसन्ता रायमाझीको कोखबाट २०४२ बैशाख २७ मा घोराही उपमहागरपालिका १९ को बोल्दीमा उनको जन्म भएको हो । सामान्य परिवार, पहाडको बसाई । काम नगरी खान नपुुग्ने । त्यही अवस्थामा उनको बाल्यकाल बित्यो ।

घोराही १८ को प्रावि मसिनाबाट उनको औपचारिक शिक्षा प्रारम्भ भयो । मसिना प्राविबाट सुरु भएको औपचारिक शिक्षाको ग्राफ धेरै माथि जान सकेन । त्यसमा धेरै कारणले काम गरेको छ । गाउँकै स्कूल मर्पेसबाट कक्षा ८ उत्तीर्णसँगै उनको औपचारिक शिक्षामा पूर्णविरामी लागेको छ ।

उनको जीवन पनि सरल र बक्र दुुवै रेखामा हिडेको छ । पहिलो विवाहमा उनको शौभाग्यले साथ छोड्यो । २०५८ सालमा उनको विवाह रोल्पाका यादव थापासँग भएको थियो । विवाह पूर्व दुवै जना भूमिगत थिए । यमुुनाले तत्कालीन नेकपा माओवादीको महिला संगठनमा काम गर्ने र यादवले विद्यार्थी संगठनमा थिए । भूमिगत भएकै अवस्थामा प्रेम भयो र विवाह भयो । मुलकमा शान्ति स्थापनासँगै थापा विदेश हानिए तर त्यो विदेशी भूमि उनको लागि आफनो हुुन सकेन । विदेशबाट उनी सकुशल फिर्ता भएनन् ।

भाग्यमा जे थियो, उनले पनि त्यो सहिन । २०६८ सालमा बंगलाचुुली २ मर्पेसका लुुमाकान्त घर्तीसँग उनको दोस्रो विवाह भयो । विवाहपूर्व भेटघाट र चिनजान थिएन । उहाँ पनि एकल र म पनि एकल । आफन्तले कुरा लिएर घरमा आउनुभयो । राजनीतिक र अन्य विचार मिल्ने । त्यो भएर मैले ‘एस’ गरिदिएँ र विवाह भयो । विवाहसँगै यहाँसम्म पु¥याउने श्रीमानको योगदान महत्वपूर्ण छ । जुन योगदालने सधैँ उनलाई थप ऊर्जा दिने गरेको छ ।

२०५६ सालदेखि पार्टीका विभिन्न संगठनमा बसेर काम गरेको अनुुभव उनीसँग छ । ‘राजनीति त्यत्ति सहज छैन । त्यो उनले पनि स्वीकार गर्छिन् । र भन्छिन ‘त्यही कठिन क्षेत्रमा हात राखेर आज खुशीका रँगहरु तपाईसँग बाँड्न पाएँ ।’

घर्ती बंगलाचुली गाउपालिका उपाध्यक्ष हुन् ।
प्रस्तुती : इन्द्र डि.सी.