यो कमेडि सर्कस होइन सरकार !
मनोज पौडेल
तपाईं म माथि जति कृपा गर्नुहुन्छ म तपाईंप्रति त्यति बफादार रहन्छु, तपाईं मलाई आशीर्वाद दिँदै गर्नुस् भगवन म हजुरका चरण स्पर्ष गरिरहन्छु ।
अंग्रेजीमा एउटा भनाइ छ ‘वन्स अ बोस अल्वेज अ बोस’ (एक पटकको मालिक, सधैँको मालिक), हो पनि त्यही, तपाईं यदि कसैको अगाडि एक पटक झुक्नुहुन्छ भने तपाईंलाई ऊसँग बारम्बार झुक्दा पनि तपाईंलाई फरक पर्दैन न अरु कसैलाई ।
किनकि चरित्र विकास हुने तपाईंको कार्य र चिन्तनले हो । दबित मानसिकताले स्वतन्त्रताको परिकल्पना गर्न सक्दैन र परनिर्भरताले आत्मसम्मान गुमाउँछ । भाइ प्रमित लिवाङ्गी भन्नुहुन्छ : आफ्नो घर नजिकै रहेको गरिब किसानलाई समय–समयमा उसको गर्जो टार्दिने जमिनदारले उसको खेतको आली मिचिरहन्छ, समय–समयमा उसको घरका कुखुरा हराइरहन्छ, अत्ति भयो भनेर उसले गाउँका भद्रभलादमीहरुलाई भेटछ, सबैले हो तिमी सही छौ, यसरी थिचोमिचो गर्न कहाँ पाइन्छ, तिमी आफ्नो हकहितको लागि लड हामी साथ दिन्छौँ भन्छन्, त्यही दिन जमिनदारकोमा भोज आयोजना गरिएको छ, सबै गाउँका भद्रभलादमी आएका छन् र आज किसानको कुखुरा होइन खसी हराएको छ ।
परीधि फरक हुनसक्छ तर समाज र देशको अवयव, परिस्थिति र वास्तविकता जहिले समान हुन्छ । राष्ट्र समाजको एक बृहत रुप हो जुन समाज, सामाजिक चिन्तन, सामाजिक व्यवहार भन्दा फरक अवश्य हुँदैन, मात्र फरक छ त बनोटको समाजको बनोट साधारण छ भने राष्ट्र जटिल । हाम्रो घरको तल्लो कोठामा एकजना बैंक प्रबन्धक बस्नुहुन्छ, उहाँको मानसम्मान गर्छ समाज, चिनेजानेका सबैले आदरपूर्वक होस् वा नचाहेरै किन नहोस् नमस्कार गर्छन ।
मै हुँ भन्ने पनि कहिलेकाहीँ सरसल्लाह वा सहयोगको लागि उनको दैलोमा आएको मैले देखेको छु । मेरै घर नजिक अर्का एक जना दाइको घर छ, पढेलेखेको हुनुहुन्छ, तर वेरोजगार हुनुहुन्छ, उहाँलाई कसैले गन्दैन पत्याउँदैन । बेकम्मा छोराछोरीलाई बाबुआमाले त गन्दैनन् अरु कसले गन्छ ? यही फरक हो आत्मनिर्भर हुनु र नहुनुबीचको । उत्तर कोरियालाई हेरौँ, सानो छ तर सम्पन्न छ, आत्मनिर्भर छ, शक्तिशाली छ, त्यसैले त आफूलाई शक्तिकेन्द्र भन्ने अमेरिका पनि उसको अगाडि नतमस्तक छ । हामी हेपिनुको विकल्प छैन, न त हामी आत्मनिर्भर छौँ न त हामीसँग शक्ति वा सामथ्र्य छ ।
भारतीय विस्तारवादले घाँटी थिचिरहँदा पनि धेरै जनप्रतिनिधिहरुलाई भारत रिझाउन र उसकै चाकडी कसरी गर्न सकिन्छ भन्नेको मात्र टन्टा देखेँ मैले । विशेषतः नागरिकता ऐनको सवालमा : नागरिकता ढिलो दिए भारत रिसाउँछ रे……हा..हा..हा..। यो पनि कुनै तर्क हो ? त्यसैले दाजु तिलक भण्डारी व्यङ्ग्य गर्दै भन्नुहुन्छ ‘एउटा वंशज किरो (यार्सागुम्बा) जो हिमालमा जन्मन्छ । जसले बिगार गर्न जानेको छैन उसको मोल २० लाख रुपैयाँ किलो छ र अर्को आगन्तुक किरो (सलह) जसले विध्वंसको आतंक मच्चाएको छ, उसको मोल २० रुपैयाँ किलो, यही हो आगन्तुक र वंशज बीचको फरक ।
भारतले वार्षिक करिब ३ बिलियन अमेरिकि डलर रेमिट्यान्स नेपालबाट आफ्नो देशमा भिœयाउँछ भने नेपालले वार्षिक जम्मा करिब १ बिलियन अमेरिकि डलर रेमिट्यान्स भारतबाट नेपाल भिœयाउँछ । तर पनि भारत हामीले नेपाललाई पालेका छौँ भन्छ, हामीलाई भिखारी भन्छ, जब कि नेपालको जनसंख्याभन्दा बढी त भारतमा मागेर खानेहरु होलान् । यसको कारण एउटै छ, हामी आत्मनिर्भर छैनौँ ।
नूनदेखि सूनसम्म भारतबाट ल्याउनुपर्छ, केही दिन नाका रोकिदिए यहाँ भोकमरी सिर्जना हुन्छ । साधन स्रोतहरु प्रशस्त छन् तर त्यसै लम्पट भएर सुतेका छन् । हामी ब्युँझन मात्र अबेर भएको हो । पुरानो पुस्ता ब्युँझने कुनै लक्षण छैन, त्यसैले पालो नयाँ पुस्ताको हो, अब ।
नेताज्यूहरु भन्नुहुन्छ : पहिले नेपालमा छपाई नहुने भएकोले भारतमा नक्सा छपाई हुन्थ्यो, जहिले पनि हामीले छपाई गर्न दिएको नक्सा भारतले दिएन अर्कै छापेर पठाइदियो । हाँसो लाग्ने कुरा हामी नयाँ पुस्ताका नेपाली हौँ, हामीलाई खुर्सानीको बोटमा चढाउन नखोज्नुस् । नक्सा छापाखानामा प्रिन्ट गर्न देको कि भारतमा एप्रुभलको लागि पठाएको ? कि सधैँ भिख माग्ने बानी परेका हामी, मालिक हाम्रो एउटा नक्सा बनाएर पठाइ बक्सियोस् भनेर गुहार मागेका थियौं ? उसको कृपाले छपाई गरेर पठाइदिएको कुरा प्रष्ट हुनुप¥यो, होइन भने यस्ता नचाहिँदा कुरा गर्नेलाई हार्दिक श्रद्दाञ्जलि बाहेक अरु शब्द छैन मसँग । माफ गर्नुहोला, यो श्रद्धासुमन तपाईंहरुको विशिष्ट चिन्तन, राष्ट्रप्रेमप्रति हो, वैयक्तिक रुपले कसैसँग मेरो गुनासो छैन । मैले एउटा आलेखमा माननीय र सम्माननीयहरुको चर्तिकलालाई इङ्गित गर्दै भनेको थिएँ–‘बज्रस्वाँठहरु ।’
यही विषयलाई लिएर धेरै साथीभाइ, बुद्धिजीवीहरुको रमाइलो प्रतिक्रियाहरु प्रत्यक्ष सुन्न पाइयो, खुशी लाग्यो र उहाँहरुको चेतना र मानसिकताको स्तर देखेर दया लाग्यो र उहाँहरुप्रति गहिरो समवेदना छ, मेरो । मैले यहाँ भाइ शंकर डाँगीले प्रयोग गरिरहने शब्द सापटी लिएँ – कसैसँग मेल खान गएमा जायज हुने छ ।
भन्ने र बोल्ने केही आधारहरु हुन्छन् ती आधारहरुमा टेकेर बोल्ने, लेख्ने, प्रशारण गर्ने वा अभिव्यक्ति दिने गरिन्छ । बिना आधार बोल्नेको कुनै मूल्य हुँदैन । भारतीय मिडियाले कुनै न कुनै आधारमा त नेपाली राजनीतिक पार्टी र नेताहरुलाई …… भनेका होलान् । आफ्नाले आफ्नालाई भन्ने हो त्यसैले उनीहरुले के भने मलाई उल्लेख गर्न मन लागेन, मानवीय गुण अरुलेभन्दा छाति बढी चसक्क हुने रै‘छ । तपाईंहरुले कुरो बुझ्नुभयो नि, बस् यत्ति काफी छ । ई.सं. १९९६ महाकाली सन्धि गर्न निजी स्वार्थको लागि पार्टी फुटाउने र विरोध गर्नेहरुको खुट्टा तान्नेहरु आज राष्ट्रवादी भएका छन्, किनकि सामान्य जनताले इतिहासको खबर र तथ्यहरुलाई दस्तावेज बनाएर राखेको हुँदैन, उसले वर्तमान हेर्ने हो ।
तर सचेत नागरिक थोर वहुत राष्ट्रिय राजनीतिमा चाख दिन्छ र झक्झक्याइरहन्छ ताकि फेरि कुनै गलत प्रवृत्तिले जरो नगाडोस् । बिडम्बना देशको जो सचेत छन्, शालीन छन्, इमानदार छन्, भिजन भएका छन् उनीहरु राजनीति गर्न चाहँदैनन, विरक्तिएका छन् नेपाली राजनीतिको फोहरी खेल देखेर । जो भ्रष्ट छन, जसको ५ पैसाको दिमाग छैन, उनीहरु राजनीतिमा छन, जग बलियो भए पो घर बलियो हुने हो ।
ओली बा उखान टुक्का भन्न मात्र होइन फलाम तातेको बेला हथौडा मार्न पनि सिपालु हुनुहुन्छ, नाकाबन्दीको समयमा हामी केही गरे भारतसँग झुक्दैनौं भन्नुभयो, वाहवाही पाउनुभयो । नेपालको पूर्णनक्सा उहाँकै सरकारले निकाल्यो वाहवाही पाउनुभयो । तर कस्तो पूर्णनक्सा ? ….. जुन भू–भाग हामीले १९६१ मा भएको नेपाल–चीन सीमा सन्धिमा राजा महेन्द्रको राष्ट्रप्रेमले गुमाएका थियौँ वा त्यो भू–भाग जुन हामीले दोस्रो पटक १९९६ मा महाकाली सन्धिमा ओली र देउवाबाको राष्ट्रप्रेमले गुमायौँ ।
कित्ताकाट गरेर अर्कोको नाममा पास गरिसकेको जग्गामा आली लगाउन मिल्छ कि मिल्दैन सरकार ? हामी जति कुर्ले पनि सीमा विवादमा चीन र भारत हामीभन्दा बलिया छन्, त्यसैले हामी नेपाली जनता आवेग वा संवेगमा आउनुपर्ने जरुरी देख्दिन म । नेताहरु सन्धि हस्ताक्षर गर्दा पढ्न पनि पढ्दैनन् क्या हो ? जनतासँग सत्य बोल सरकार ! आजको दिनमा हाम्रो सीमासम्बन्धी हाम्रो प्रमुख दस्तावेज महाकाली सन्धि हो नकि सुगौली ? अलिअलि कानुन त हामीलाई पनि आउँछ । मैले यो विचार व्यक्त गरिरहँदा धेरैलाई रिस उठिरहेको होला, मलाई पनि रिस उठिरहेको छ ।
यिनीहरुलाई नेता राजेन्द्र महतोले भनेजस्तै टुडीखेलमा टाङ्न मन लागेको छ । फेरि पनि कुर्सीमा बस्ने मोह साह्रै छ त्यसैले भन्दै हुनुहुन्छ : मलाई हटाउने चलखेल भारतले सुरु गरिसक्यो, मलाई गाह्रो भयो, आफ्नैले पाखा लगाउने जमर्को गरिसके । तपाईं मजाक धेरै गर्नुहुन्छ ओली बा ! यो राष्ट्रियताको सवाल हो, कमेडी सर्केस होइन सरकार ! फेरि पनि जनतालाई भेँडो बनाइराख्नुभएको हो ? २५ वर्ष अगाडि हजुरहरुले खेलेको फोहरी खेल धेरै सच्चा नेपालीले अझै बिर्सेका छैनन् र बिर्सने पनि छैनन् । मैले त यी दुई राष्ट्रघाती सन्धिको पुर्णपाठ पढेको छु, हजुरले पढ्नुभयो ? अवश्य पढ्नुहोस् ल !
