पूर्ण वहुमतको सरकार ढालेर ढल्दैन
सुभाष न्यौपाने
आफ्नो वहुमतको सरकार आफ्नै कारण ढल्दै छ ।
स्याऊको बोटमा हेर्नुस अब नास्पाती फल्दै छ ।।
यदि नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार फेरिन्छ वा ढल्छ भने आफ्नै पार्टीको कारणले ढल्न वा फेरिन सक्छ । जसरी हाम्रा प्रधानमन्त्री ओलीले भारतले मेरो सरकार ढाल्न खोज्दै छ भन्ने अभिव्यक्ति सुहाउँदो अभिव्यक्ति होइन । केपीजीलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने त नेकपाकै नेता र सांसदहरु हुन् ।
केपीजीलाई यदि भारतले प्रधानमन्त्री बनाएको हो भने उसलाई आफ्नो इच्छा अनुसारको नेपाल सरकारको गतिविधि चित्त नबुझेमा फेरबदल गर्न र हटाउन खोज्नु स्वभाविकै हो, यदि उसमा ताकत छ भने । होइन नेपालका त्यसमा पनि नेकपाका सांसदहरुले दिएको मतबाट केपीजी प्रधानमन्त्री बनेका हुन् भने अरुले हटाएर हटाउन सक्तैनन् । एउटा भनाई पनि छ ‘आफ्नो थैलैको मुख बलियो सिालाउनु संगीलाई दोष नदिनु’ । आफ्नो पार्टीका नेता तथा सांसदहरुलाई अध्यक्षले पार्टीको नीति स्पष्ट रुपमा नबुझाएर उनीहरुलाई गुम्राहमा राखेर सरकारले भनौ या प्रधानमन्त्रीले इतर र भितरको सम्बन्ध राखेर जुन दलको नेताले सरकार चलाउन खोज्छ उनीहरु सबै यसैगरी रुनुपर्छ ।
संसदीय पद्धतिमा अर्कालाई दोष दिएर आफू पानीमाथि ओबानो बन्न पाइँदैन । हिजो प्रधानमन्त्री चयन गर्दा हात उठाएर समर्थन गर्ने सांसदहरुले अहिले किन हात झिक्ने अवस्था आयो ? अरुहरुले त आफूलाई चित्त नबुझेपछि यसो गराउन पाए हुन्थ्यो भन्ने चाहना मात्रै हो । प्रत्यक्ष भूमिका निर्वाह गर्ने त नेकपा नै हो नि । त्यस्तै नेपाली कांग्रेसलाई के ओली सरकारका गतिविधि चित्त बुझेको होला र ? अहिले सदनमा नेपाली कांग्रेसका सबै गतिविधिहरु शून्य छन् भने सरकारले पनि उसले पेश गरेका विकास निर्माणको योजनाहरुलाई पूर्ण बन्देज जस्तै गरी वर्जित गरेको छ । ऊसँग सदनमा न त सरकार फेर्न सक्ने, ढल्न सक्ने तागत छ ।
त्यसैले नेपाली कांग्रेस चुप लागेर बसेको छ । ऊसँग सरकार ढाल्ने र फर्ने संसदीय हैसियत न भएकोले । प्रधानमन्त्री ओलीले मलाई प्रधानमन्त्री पदबाट हटाउने चाल भारतले खेलिरहेको भन्ने कुरा सार्वजनिक कार्यक्रममा गरिरहँदा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्किए, तपाईंको प्रधानमन्त्री पदबाट राजिनामा मैले मागेको होइन भन्न । अस्ति मंगलवार नेकपाको बैठकमा दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको चर्को विवादास्प्रद बहसका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ हो ।
असार १६ गते बसेको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउने सड्यन्त्र सुरु भइरहेको भन्ने अभिव्यक्ति बैठकमा कटाक्ष पूर्ण तरिकाले प्रधानमन्त्री ओलीले राखेपछि प्रचण्डले तपाईंको राजिनामा मैले मागेको हुँ भन्ने आक्रोशपूर्ण जवाफ दिएका थिए । यति मात्र नभई प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि सन्ध्या तिवारीको नाममा दर्ता गर्न गत असार १५ गते सोमवार निर्वाचन आयोगमा पठाएको भन्ने समेत सुन्नमा आएको छ ।
नेकपाको स्थायी कमिटीको बैठकभित्र अहिले विभिन्न कोणबाट सत्ता टिकाउ र सत्ता फेरबदलको खेल अलि बलाबलको प्रतिस्पर्धामा चलिरहेको छ । यसतो खेलमा पनि प्रधानमन्त्रीकै टिमले खेल जित्यो भने नेकपाभित्र फेरि अर्को खेलको आयोजना नगर्दा हुन्छ । जनताले सबै खेलाडी चिनिसकेका छन् । कुन व्यक्ति, कुन डिफेन्सर, कुन फारवर्ड र कुन किपर भन्ने । दलका नेता र झोले कार्यकर्ताहरुलाई त होला हाम्रो फलानो टिमले खेल जिते हुन्थ्यो भन्ने । तर जनतालाई यिनको खेलरुपी कलहभन्दा त सलहको पिर छ । किनभने सलहले त किसान अर्थात् नागरिकले लगाएको अन्नबाली नाश गरिदिन्छ । फालाएर खानेबेलामा अन्न नाश भएपछि के आउँला भन्ने पिरलोले जनतालाई सताएको छ ।
जनतालाई राजनीतिको कलहको खेतीसँग केही सरोकार छैन । किनभने नेपाली राजनीतिज्ञहरुले जति फुइँ हाँके पनि, जति डिङ हाँके पन उनीहरुले जनताको विश्वास धेरै ठाउँमा धेरै पटक गुमाएकै छन् । जनआकांक्षा पूरा गर्नतर्फ जनताले भोगेको जनताको प्रत्यक्ष शासन प्रणालीको जनताले अनुभूति गरिसके । यिनीहरु जुनसुकै खाले अनुहारले यो मुलुक चलाए पनि उनीहरु सबैभन्दा पहिले सालीतिरका सात पुस्ता र जेठो सासुतिरका नौ पुस्ताको पेट भर्नतिर लाग्छन् भन्ने । यिनीहरुको राजनीतिसँग अहिले जनता अघाइसकेका छन् भन्दा अत्युक्ति नहोला ।
त्यसैले कुनै दल कुनै खेमा वा कुनै समूहले गुहार माग्दैमा अब जनता गुहारिदिने पक्षमा छैनन् । किनभने बग्न लागेको वा डुब्न लागेको अवस्थामा खोला तथा पोखरीबाट बाहिर किनारमा ल्याउने चाहिँ जनता, खोला पोखरीबाट किनारमा आइसकेपछि त्यही जनतालाई जसले डुब्न र बग्न दिएन त्यसैलाई ढुङ्गाले हान्ने नेता । यति हुँदाहुँदै पनि सन्ध्या तिवारीले नेकपा एमाले दर्ता गरिन् भने गोपाल किराँतीले नेकपा माओवादी दर्ता गरेको कुरा बाहिर आएपछि सँगसँगै समस्या पनि आएको हो भन्ने आशंका पनि उब्जिन सक्छ ।
एउटा खेमा नेकपा माओवादीमा गए अर्को खेमा त नेकपामै रहला नि । त्यस्तै एउटा खेमा नेकपा एमाले बनेर गए अर्को खेमा त नेकपामै रहन्छ होला नि । यी दुवै खेमाले दुई दल दर्ता गर्नु भन्नुको यी दुवै खेमामा वहुमतको विश्वास नभएको पनि बुझिन्छ । एउटा सरकार विघटन र अर्को सरकार गठनका सन्दर्भमा लकडाउनका सय दिन बित्दासम्म देखिहाल्यो ओली सरकारको मोडालिटी । त्यत्ति मात्र होइन कात्रोमा गोजी हालनेसम्मको काम नेपाली जनताले देखिहाले । आफूले त्यसरी हसुर्दासम्म पनि उनीहरुले कालापानी, लिपुलेकको झगडा र नयाँ नक्सा नामको छारो नेपाली जनताको आँखामा हाले, राहतको नाममा र उपचारको नाममा ।
उनी गएर अर्को जोगी आए पनि कान चिरेको र कमण्डलु बोकेकै हुने छन् । जनतालाई ती नयाँ जोगीबाट पनि खासै महत्वाकांक्षी आशा र अपेक्षा चाहिँ रहने छैन । यिनको पोल उनले खोल्ने छन् र सुन्न पाइने छ । त्यत्ति मात्र नयाँ हुने छ । संविधानले नै दिएको अधिकार, प्रयोग गरेर यदि कसैले आफ्नो सरकार टिकाउँछ भने नि जनताको कुनै आपत्ति रहने छैन । त्यही अधिकार प्रयोग गरेर त्यसैभित्रको एउटा समूहले सरकार ढालेर अर्को सरकार गठन गर्ने तरखर गर्छ र वातावरण बनाएर नयाँ समीकरणमार्फत् पनि अर्को सरकार गठन गरिहाल्यो भने जनताको तर्फबाट न त दीपावली नै हुन्छ न त टाउको दुखाई ।
यदि यो सरकार गैहाल्यो भने जानेसँग जनतालाई डर छ । किनभने जानेबेला कतै बिगारेर पो जान्छ कि ? तर आउनेवालासँग पनि बनाइहाल्छ भन्ने विश्वास चाहिँ छैन । यो पंक्ति लेख्दै गर्दा यस पंक्तिकारले एउटा भनाईलाई सम्झ्यो त्यो भनाई हो नेपाली कांग्रेस बाँकेका नेता युवराज शर्मा गौतमको । उनी कहीँ पनि सार्वजनिक समारोह तथा कार्यक्रमलाई सम्बोधन गर्दा भन्ने गर्थे ‘विपक्षीसँग लड्न म एक्लै तयार छु, मलाई आफन्तदेखि बचाउ’ । अहिले प्रधानमन्त्री केपी ओलीलाई पनि त्यस्तै भएको छ । नेपाली कांग्रेस पार्टीलगायतका अन्य राजनैतिक दलहरुलाई त उनले दुईतिहाई वहुमतको सरकारको नाममा हेकुलाले पेलेकै थिए ।
तर उनी आफ्नै सहयोगी साथीहरुको भवचक्रबाट कसरी उम्कने भन्ने सञ्जालमा फसेका छन् । यदि त्यो जालो अझ झाँगिदै गयो भने उनी राजिनमा दिनुपर्ने अवस्थामा पनि पुग्न सक्छन् । पार्टीको स्थायी समितिको बैठकमा वरिष्ठ नेतालगायत धेरैजसो नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन भनेर प्रधानमन्त्री ओलीमाथि अर्को दबाब परेपछि ओलीजी आफ्ना सहयोगी मन्त्री तथा माननीय एवं पार्टीका नेताहरुसँगको सघन परामर्शमा व्यस्त रहेको भन्ने पनि बुझिएको छ । बैठकमा नेकपाका नेताहरुबाट प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने भनेर दिएको चर्को दबाबलाई उनले आफ्नो अपमान गरेको बताइरहेका छन् । स्थायी कमिटी सदस्यहरुको माग अनुसार बोलाइएको स्थायी कमिटीको यो भन्दा पहिले बसेको बैठकले पनि प्रधानमन्त्रीले प्रधानमन्त्री पद वा पार्टी अध्यक्ष एउटा पदबाट राजिनामा दिनुपर्ने भन्ने खालको आशय प्रकट गरेका थिए ।
त्यतिबेला खासै निर्णय नगरी लोलोपोतोकै शैलीमा प्रधानमन्त्री ओलीले मिलेर जाने भन्ने भाषाको प्रयोग गरेर पार्टीको स्थायी कमिटीको बैठक स्थगत भएकोले पनि पुनः बैठक बस्नुपरेको र अघिल्लो बैठक पछाडि प्रधानमन्त्रीका क्रियाकलापहरु त्ति उपयुक्त नदेखिएको र असहमत पक्षलाई पेलेरै लाने, थाङ्नामा सुताउन खोज्ने प्रकृतिले बढावा पाएको हुँदा यो बैठकबाट केपी ओलीसँग प्रधानमन्त्री पद र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा माग गरिएको हो भनेर पार्टीका असहमत पक्षका नेताहरु भन्छन् । प्रधानमन्त्री पक्षधरको बैठक एकातिर भइरहँदा अर्कोतिर पार्टी नेतृत्वको इतर पक्षधरहरुको बैठक पनि सम्पन्न भएका छन् ।
अघल्लो बैठकमा प्रधानमन्त्री पक्षधर हुन् कि भन्ने शंकाको घेरामा प्रचण्ड पक्षधर नेताहरुले राखेका गृहमन्त्री बादल पनि प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्ने भनेर प्रष्ट भइसकेका छन् । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी दलहरुले सरकारको विरोध सरकारको कार्यशैलीको आधारमा विरोध, समर्थनको कुरा जाहेर गर्ने आफ्नो ठाउँमा छ । तर वर्तमान सन्दर्भमा नेकपाभित्रको आन्तरिक कलह र किचलोको बारेमा अन्य राजनीतिक दलहरुले धारणा राख्नु र टिप्पणी गर्नु न त आवशयक छ न त उपयुक्त नै । त्यसैले कुनै पनि दलको आन्तरिक सहमति, विमतिको विषयलाई अन्तरदलीय रुपमा बाहिर ल्याएर अरु राजनैतिक दलहरुले टिप्पणी गर्नु राम्रो पनि नहोला ।
यदि हल्ला सून्छौँ भने तमासे बनेर हेर न । सल्लाह लिन आउँछन् भने गोप्य मन्त्रणा देऊ । अर्काको आन्तरिक विषयमा बीचमा प्याच्च बोल्ने कमा नगर । अब वर्तमान राजनीतिको सन्दर्भमा नेपाली जनताले कुनै पनि राजनैतिक दलहरुसाग केही अपेक्षा गरेका छैनन् । सत्तासीन राजनैतिक दल र सरकारको रबैया देखिहालेका छन् । मुलुकभरिका जनत कोरोनाको महामारीमा रुमलिरहेको बेलामा सरकार नागढुङ्गदेखि माथिको क्षेत्रलाई राजधानी र राज्य मानेर स्वास्थ्य सुरक्षालाई कडाईका साथ लागू गर्दै गर्दा आजका दिनसम्म पनि नागढुङ्गा बाहिरको क्षेत्रमा भइरहेको कोरोनाका विरामीहरुलाई राख्नका लागि बनाएका क्वारेन्टाइनहरुमा धेरैजसो क्वारेन्टाइनहरु अलपत्र र असुरक्षित अवस्थामा रहेका छन् । संक्रमण भएकाहरुप्रति अझै पनि दुव्र्यवहार छ । एकातिर रोग र अर्कोतिर रोजगार गुमेका जनताले भोग्नुपरेको भोकको समस्या समाधान गर्नतर्फ सरकार जिभ्रो मात्र चलाउँछ । यसरी सरकारको रबैयासँग आजित भएका जनतालाई यो सरकार जानु र अर्को सरकार आउनुमा केही फरक छैन ।
सरकारका पदाधिकारीहरु महामारीको वहानामा जनताको नाममा भ्रष्टाचारलाई संस्थागत रुपमा अगाडि बढाउँदै आउनु पनि अहिलेको सरकारको विरुद्धमा आफ्नै दल नेकपा जागेको पनि हुन्छ । जनताको सरकारप्रतिको चाहना भनेको भ्रष्टाचार उन्मुलन र अधिनायकवादको अन्त्य । राजनैतिक दलहरुको तथा सरकारको विशेष एजेण्डा र विज्नेसमा छलफल हुँदा नेपाली जनताले चासोका साथ सुनिरहेका हुन्छन् । देखिरहेका हुन्छन् । तर जनता चुप लागिरहेका हुन्छन् । यस अवस्थामा सरकारका हाइतेहुइतेहरुले जनताले केही बुझेका छैनन् र जान्दैनन् भन्ने नेताहरुको अहमता र ठूल्याईँ प्रवृत्तिको जनताले राम्रोसँग अध्ययन गरिरहेका हुन्छन् । वर्तमान सन्दर्भमा सत्ताधारी दलको कुनै पनि खेमाले जनतासँग गुहार नमागे हुन्छ ।
जनता अहिले कुनै पनि खेमालाई बोक्ने पक्षमा छैनन्, दुवै खेमाका केही झोलेहरु वाहेक । कुनै पनि मुलुकमा कुनै कालखण्डमा कार्यकारिणी अधिकार सहित ओहदामा रहेका व्यक्तिहरु पनि कहिलेकाहींँ आफ्नै कार्यशैलीको कारण विवादति र अपमानित हुने गर्छन् । त्यही अपमान र सम्मानको विषयलाई लिएर नेकपाका दुई खेमाभित्र राजनैतिक विवाद चर्किँदै गएको छ । जसको कारण प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नुपर्ने अडान एउटा पक्षको छ भने अर्को पक्षले किन राजिनामा दिने ? राजिनामा दिनु पर्दैन भनेर चर्काचर्की रुपमा विमति र विवाद अगाडि बढिरहेको छ ।
दलीय विवाद वा अन्तरसंघर्षको नाममा देशलाई क्षति पुग्ने गरी आफ्नो पक्षमा आन्तरिक जनमत अर्थात् मन्त्री सांसदहरुलाई प्रभाव पार्ने खालको आर्थिक वा अन्य कुनै वहानामा देशको ढुकूटीलाई चलाउने र रित्याउने कार्य यदि कुने पक्ष वा खेमाबाट भयो या भएको सून्नमा आयो भने यस्तो जरजर अवस्था भोगिरहेका नेपाली जनता जसले वर्तमान परिस्थितिमा सुखको स्वास फेर्न पाएका छैनन् । उनीहरुले पक्कै पनि बाँकी राख्ने छैनन् । कुकुर जन्ति, विरालो वाहुन र स्यालको विहेको शैलीमा गठन गरिने नेपालका राजनैतिक दलहरु र उनीहरुका नेताले नेतृत्व गरेको नेपाल सरकार जबसम्म यो मुलुकमा चल्छ तबसम्म जनता लेऊ हाम्ले खान्चम भन्ने परिपाटी फेरिँदैन तबसम्म यो मुलुकमा स्यालको विहेको उखान चलिरहने छ ।
