अर्थतन्त्रमा लकडाउन असर : छाता र रेनकोट पनि छैन बजारमा

  •   
  •  

खेमराज रिजाल
दाङ, १४ असार । मानपुरबाट एक घण्टा पैदल हिँडेर तुलसीपुर आइपुगेका छवि केसीले बजारमा छाता र रेनकोटसमेत पाएनन् । तुलसीपुर उपमहानगरपालिका–५ बीरेन्द्र चोक नजिकै बजारमा भौतारिइरहेका छवि वल्लो पसल र पल्लो पसल धाउँदा पनि छाता भेटाउन नपाउँदै प्रहरीले १२ बजिसकेको सन्देश दियो । छाता नलिएरै छवि घर फर्के ।

अहिले बजारमा सबैभन्दा बढी विक्ने भनेको छाता र रेनकोट नै हो । छाता र रेनकोट नेपालमै पनि बन्थे, तीन महिनाको लकडाउनले कारखाना बन्द भए । भारत र चाइनाका बजारबाट पनि छाता र रेनकोट आउन पाएका छैनन् । चाइनाबाट व्यापारीले झिकाएका सामानहरु केरुङ नाकामै अलपत्र छन् । छाता र रेनकोट त नमुना सामान मात्र हुन् । भारत र चीनबाट आउने धेरै उपभोग्य सामग्रीहरु बजारमा नआउनुले भर्खरै खुकुलो पारिएको लकडाउनमा पनि सन्तोषजनकरुपमा आर्थिक क्रियाकलापहरु बौरिन नसकेको व्यवसायीहरुको गुनासो छ । उपभोक्ताहरुको गुनासो भने फरक छ । उनीहरुले रोजेको सामान पाउनै मुस्किल पाइए पनि चर्को मूल्यबृद्धि शुरु भइसकेको छ ।

रहरको दालदेखि सोयाविनको तेलसम्म पनि चर्को मूल्यबृद्धि हुन थालेकोमा उपभोक्ता अधिकारकर्मीहरु समेत बोल्ने अवस्था छैन । किनकि खुकुलो पारिएको लकडाउनमा व्यापारी र ग्राहकका रोजाइँका सामान आउन पाएका छैनन् । अर्को समस्या भनेको गाउँका नागरिक सार्वजनिक यातायात नचलेका कारण बजारसम्म पुग्नै पाएका छैनन् । जसका कारण खुकुलो पारिएको लकडाउनमा व्यवसायीले सन्तोषको श्वास फेर्ने अवस्था देखिएको छैन । ‘अपूरा सामानबीच आधा दिन पसल त खोलेका छौं, तर पनि भाडासम्म तिर्ने कमाइँ हुँदैन, हाइ काढेरै बित्छ, आधा दिन’, तुलसीपुरका फेन्सी व्यवसायी हुर्मत डाँगी भन्छन् । आफूजस्ता तुलसीपुरका साना व्यवसायीहरु भारत र चीनको सीमा बजारसम्म पुगेर रोजाइँका सामान ल्याउँदै आएको बताउँदै अहिले लकडाउनका कारण त्यहाँ जान नपाउँदा रोजाइँका सामान पाउन अत्यन्तै कठिन भएको उल्लेख गरे । ‘केरुङ भन्सार नखुल्दा सामान त्यतै रोकिएका छन्, भारतबाट पनि रोजाइँका सामान आउने अवस्था छैन, यसले पनि बजार खुले पनि सन्तोषजनकरुपमा कारोबार हुन पाएको छैन’, डाँगीले भने । २० रुप्पेको मास्क र सय रुप्पेको सेनिटाइजर बेचेर आर्थिक चहल–पहल बृद्धि हुन नसक्ने पनि उनको अभिव्यक्ति थियो ।

अभावसगै मूल्यबृद्धि पनि
अघोषितरुपमा धेरैजसो दैनिक उपभोग्य सामग्रीहरुको अभावसँगै मूल्यबृद्धि पनि हुन थालेको छ । नेपालकै कषि पकेट क्षेत्र तथा भारतीय बजारबाट अउने खाद्य सामग्रीहरुको समेत मूल्यबृद्धि हुन थालेको छ । दोहोरो आउजाउ हुन नसक्दा यो समस्या देखिएकाले मूल्यबृद्धि शुरु भएको छ । लकडाउनअघि यहाँका ढुवानी व्यवसायीहरुले भारतीय सीमा बजारसम्म यहाँका उत्पादन बोकेर जान्थे र उताका सामान यता ल्याउँथे । तर अहिले उताबाट मात्रै एकोहोरो सामान ल्याउन जानुपर्दा ढुवानी भाडा महंगो पर्ने भएकाले सामानको पनि मूल्यबृद्धि भएको तुलसीपुरकै एकजना खाद्यान्न व्यापारीले बताए । यताबाट भारतीय सीमा बजारमा जाने ढुवानी व्यवसायीहरुले सिमेन्ट, तरकारी तथा जडिबुटी बोकेर जाने र तीनै गाडीले उताका सामान ल्याउँदा ढुवानी भाडा सहज हुन्थ्यो, तर अहिले उताबाट सामान लिनमात्रै खाली गाडि जानुपर्ने भएका कारण ढुवानी भाडा बढी हुने गरेको छ । लकडाउनले यसको तारतम्म मिलेको छैन । दोहोरो व्यापारको अवस्था सिर्जना गर्न र आन्तरिक बजारका गतिविधि बढाउन पनि सरकारले पहल गर्नुपर्ने व्यवसायीहरुको आग्रह छ ।

अर्को कुरा भारतमै पनि अधिकांश सामानको मूल्यबृद्धि भएको छ । त्यसैले भारतीय बजारबाट भर्खरै आउन थालेका दाल, चामल, गहुँ, तेल, बिस्कुटलगायत सम्पूर्ण सामानहरुको मूल्यबृद्धि भएको युवा व्यवसायी विनिल केसीले बताए । ‘चक्लेटदेखि रहरको दालसम्मको पनि मूल्य बढेको छ, जुन सामानहरु भारतीय बजारबाट आउँछन्’, केसीले भने ।

पेण्डिङमा सार्वजनिक यातायात…
लकडाउनलाई खुकुलो पार्दै दैनिक गतिविधि सञ्चालन गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गराउने कसरतमा लागेको सरकारले पछिल्लो समयमा सार्वजनिक यातायात समेत सामाजिक दूरी कायम गर्दै सञ्चालनमा ल्याउने उद्घोषसँगै अभ्यासहरु शुरु गरेको छ । तर अर्थपूर्ण निर्णयहरु हुन सकेका छैनन् । पटक–पटक सरकार र यातायात व्यवसायीहरुबीच भएका वार्ताहरु सार्थक बन्न सकेनन् । सार्वजनिक यातायात सेवा उपलव्ध नभएसम्म अर्थतन्त्रले गति लिन नसक्नेमा कसैको बिमति नभए पनि सार्वजनिक यातायात सेवा कसरी सञ्चालनमा ल्याउने मिलनविन्दु भेटिएको छैन ।

‘हामी सामाजिक दूरी कायम गरेर सार्वजनिक यातायात सेवा सञ्चालन गर्न तयार छौं, तर मजदुरको पारिश्रमिक, गाडीको इन्धनको जोहो हुनुपर्दछ भन्ने मात्रै माग सरकारसँग हो’, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन् । यातायात व्यवसायीहरुले यो विकराल अवस्थामा यात्रुहरुबाट डबल भाडा लिएर सेवा दिन नचाहेको बताउँदै उनले त्यसमा राज्यको केही सब्सिडीको पनि अपेक्षा गरे ।

जस्तो कि अहिले घोराही–तुलसीपुरमा बढीमा ३० सिटे सवारी चल्छन्, सामाजिक दूरी कायम गरी सेवा दिँदा १५ जना यात्रुमात्र बोक्नुपर्ने हुन्छ । १५ जना मात्र यात्रु बोक्दा इन्धन खर्च धान्न पनि मुस्किल हुने यातायात व्यवसायी बताउँछन् । यसमा राज्यले इन्धन सहुलियत वा भाडामै शेयर गर्न सके सार्वजनिक यातायात सेवा सञ्चालन गर्न पनि आफूहरु तयार रहेको पनि व्यवसायीहरुको भनाइ छ । अर्को समस्या भनेको लकडाउनको अवधिभर ग्यारेजमा थन्किएका सवारीको किस्ताको म्यादलाई पछाडि धकेलिनुपर्ने पनि छ । किनकि सार्वजनिक यातायात सेवामा व्यवसायीहरुको मात्र लगानी नभएर बैंकहरुको पनि छ ।

यसमा पनि सरकार गम्भीर हुनुपर्ने माग यातायात व्यवसायीहरुको रहेको छ । ‘सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याउनु हाम्रो मात्र दायित्व होइन, सरकारको पनि दायित्व हो, हाम्रा माग सम्बोधन गरे सरकारसँगको सहकार्यमा सामाजिक दूरी कायम गरी सेवा दिन तयार छौं’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले भने ।