Goraksha

National Daily

सुनसान छ लमहीको रात्रिकालीन बजार

लकडाउनले सवारी साधन रोकिएपछि,,,

लिलाधर वली
दाङ, ५ असार । पूर्वबाट नाइट बस चढेर दाङ तथा पश्चिमतर्फ आउनेहरुमध्ये थोरै होलान्, जसले लमहीमा चिया नपिएको होस् । राती १ बजे किन नहोस् वा विहान भाले बास्ने समयमा नै किन नहोस्, लमहीमा यात्रुहरुलाई चियाले स्वागत गरिरहेकै हुन्थ्यो । एकनासका २० भन्दा बढी छाप्राहरु, ती छाप्रामा सजाएर राखिएका पेयपदार्थ, चाउचाउ, कुर्मुरेजस्ता प्लास्टिकका प्याकेटहरु अनि छेउमा चियादानी वा ताप्केमा भकभक उम्लिरहेको चिया । यो दृश्य रातभर लमहीमा कायम रहन्थ्यो ।

निद्राले हाई… काड्दै अधबैंसे महिलाहरु धेरै अनि किशोरी तथा बयश्क पुरुषहरु ती छाप्राका मालिक हुन्थ्ये र अनवरत चिया पिलाइरहन्थे । जाडो याममा एउटा मुढाको आडमा आगो सल्काइदिन्थे, यात्रुले आगो ताप्दै चियाको सुर्पी लिन्थे अनि गन्तव्यतर्फ लाग्थे । ठेलामा चाट र अण्डा बेच्नेहरुको आवाज पनि रमाइलो मान्थे यात्रुहरु ।

आजकल लमही बजारको विशेषताझैँ मानिने यो दृश्य हराएको छ । न त चिया चल्छ, न त यात्रुहरू नै देखिन्छन् । कोरोना संक्रमणका कारण सुरु भएको लकडाउनसँगै हराएको हो, लमहीको रात्रिकालीन व्यापार । त्यस्तो व्यापारमा आश्रितहरु अझै पनि आफ्नो व्यापारलाई निरन्तरता दिन सकिरहेका छैनन् । कहिलेदेखि फेरि चिया बेच्न रातभर यात्रुको प्रतीक्षामा फर्कने हो भन्ने कुराको जवाफ पनि उनीहरुसँग छैन ।

२४ घण्टा चल्ने पसल करिब तीन महिना बन्द हुँदा दैनिकी चलाउनै समस्या हुनथालेको लमही–५ को बसपार्कमा व्यवसाय गर्दै आएकी बसन्ती केसीले बताइन् । त्यही पसलको भरमा कोठाभाडा लिएर लमहीमा बसेकी उनी अहिले समस्यामा परेको बताउँछिन् । ‘यति लामो समयसम्म पसल बन्द गर्नुपर्ला भन्ने सोच्दै सोचिएन, तर अहिले पसल बन्द भएको पनि तीन महिना पुग्न लागिसक्यो’–केसीले भनिन्–‘पसल बन्द हुँदा आम्दानीको स्रोत बन्द भएको छ ।’ यो अवस्थाले गर्दा आपूmहरुजस्ता साना व्यवसायी मारमा परेको उनी बताउँछिन् ।

सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि जनजीवन सहज बन्दै गएको छ । विस्तारै सहरी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । बजारमा अत्यावश्यक पसलका रुपमा रहेका औषधि पसल, खाद्यान्न, तरकारी, डेरीलगायतका पसलहरुसँगै पछिल्लो समय अन्य पहलहरु समेत खुल्दै गएका छन् । तर, यातायातका साधन नचल्दा यात्रुहरु लक्षित लमहीको रात्रिकालीन चिया व्यवसाय सञ्चालनको सम्भावना भने अझै देखिएको छैन । जिल्लाका प्रमुख सहरहरुमा चलहपहल बढ्दै गए पनि लमही बसपार्क भने अझै सुनसान नै छ । ठेला व्यवसायीहरुले गर्दा रातिमा सधैँ खुल्ला हुने लमही बसपार्क करिब ८४ दिनदेखि बन्द रहेको छ ।

‘सरकारले अत्यावश्यक पसलहरुसँगै बजारमा थप पसल खोल्न छुट दिएको त छ तर त्यसले हाम्रो व्यवसाय खोल्न मद्दत गर्दैन’ केसीले भनिन्– ‘तर हामीलाई पूर्व–पश्चिम राजमार्गमा बसहरु नचल्दासम्म व्यवसाय चलाउन गाह्रो छ ।’ त्यहाँ दिउँसो भन्दा राति राम्रो व्यवसाय चल्ने उनीहरुको अनुभव छ । ‘टाढा–टाढाबाट मानिसहरु आउने हुनाले पानी, चाउचाउलगायत पेयपदार्थको विक्री राम्रो हुनेगरेको थियो’–११ वर्षदेखि व्यवसाय गर्दै आएकी केसीले भनिन्–‘त्यही विक्री गरेर चलेको जीवन, विक्री बन्द हुँदा समस्या परेको छ ।’

उनको जस्तै गुनासो घोराही उपमहानगरपालिका–५ भैसापथ्राका थम्मन खत्रीको पनि छ । विगत तीन वर्षदेखि लमहीको बसपार्कमा रात्रिकालीन व्यवसाय गर्दै आएका उनको पनि लमही बसपार्कमा रहेको पसल दिउँसोभन्दा रातमै चल्ने गरेको थियो । त्यसैले उनी दिनभर सुत्ने र रातभर व्यवसाय गर्ने गर्दै आएका थिए । ग्राहकको आवश्यकता अनुसार चाट, अण्डा, पानील तथा अन्य पेयपदार्थलगायत चाउचाउ, बिस्कुट, नम्किनलगायतका सामग्री बेच्दै आएको खत्री बताउँछन् ।

तर लामो समयसम्म भएको लकडाउनका कारण व्यवसाय बन्द हँुदा आफू समस्यामा परेको उनको भनाई छ । ‘व्यवसायले लमहीमा बस्नेदेखि घरखर्च चलाउन पुग्ने गरेको थियो’–खत्रीले भने–‘पसल बन्द भएको करिब तीन महिना हुन थाल्यो, अब भाडा कसरी बुझाउने भन्ने पिरले सताउन थालेको छ ।’

लामो समयसम्म पसल बन्द हुँदा आपूmलाई दैनिकी चलाउनदेखि पसल खोलेर बसेको जमिनको भाडा तिर्न समेत समस्या पर्ने अवस्था आएको उनी बताउँछन् । उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । सरकारले लामो समयसम्म लकडाउन घोषणा गर्दा लमहीमा बसका यात्रुहरु लक्षित रात्रिकालीन व्यवसाय गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् ।